+
+

ओली नीति : आफू जित्न तालमेल, एकल प्रतिस्पर्धामा अरु नेता

सइन्द्र राई सइन्द्र राई
२०७९ कात्तिक ३ गते २०:५०

३ कात्तिक, काठमाडौं । सत्तारुढ गठबन्धनलाई चुनावी मैदानमा एक्लाएक्लै उत्रन चुनौती दिँदै आएको नेकपा एमालेले अन्ततः आफैंले समेत देशभर उम्मेदवार उठाएको छैन । प्रतिनिधिसभातर्फ १६५ मध्ये १४० निर्वाचन क्षेत्रमा मात्रै एमाले उम्मेदवार छन् । बाँकी क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल र केही व्यक्तिगत उम्मेदवारलाई समर्थन जनाएको छ ।

जसपालाई १७ र राप्रपालाई तीन सिट छोडेको एमालेले मकवानपुर–२ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाएको छ । डडेलधुरा र चितवन–३ मा नेपाली कांग्रेसबाट विद्रोह गरेका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको एमालेसँग रौतहट–३ मा उम्मेदवार नै छैन । प्रभु साहले एमालेको टिकट त्यागेर स्वतन्त्र उम्मेदवारी दिएपछि यो क्षेत्र सूर्य चिह्नविहीन बन्न पुगेको हो ।

रौतहटमा जस्तै डडेलधुरामा पनि एमालेसँग मतदान गर्न उम्मेदवार छैन । कांग्रेस बीपीका कर्ण मल्ललाई समर्थन गर्ने पार्टी केन्द्रको निर्णय विपरीत जिल्ला कमिटीले एक्लै चुनावमा जाने निर्णय गरिसकेको छ । अर्थात् प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध एमालेसँग आफ्नो उम्मेदवार रहेन । नवलपरासी–१ मा यसपटक पनि हृदयेश त्रिपाठीलाई नै एमालेको समर्थन छ ।

यसअर्थमा, मतदान अगाडि नै २५ निर्वाचन क्षेत्र एमालेले गुमाइसकेको छ । एमालेले नेताहरु भने अरु दलले यति पनि उम्मेदवार उठाउन नसकेको तर्क गर्छन् । ‘हामीले केही ठाउँ मात्रै छोडेको हो, नेपाली कांग्रेस त ९० मै खुम्चिएको छ नि’ एक स्थायी कमिटी सदस्य भन्छन् ।

२५ सिट छोडेर गरिएको तालमेललाई अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन भन्न चाहेको देखिँदैन । एक टेलिभिजन अन्तर्वार्तामा ओलीले कुनै दलसँग आफ्नो दलको गठबन्धन नरहेको र एक्लै मैदानमा उत्रिएको जिकिर गरेका छन् ।

तालमेलको प्रकृति हेर्दा पनि ओलीको अभिव्यक्ति र मनसाय बुझ्न सकिन्छ । मधेश प्रदेश छाड्ने हो भने जसपा, राप्रपा र राप्रपा नेपालसँग एमालेको तालमेल सानो संख्यामा मात्रै छ । मधेश प्रदेशका ३२, लुम्बिनीका ५, प्रदेश–१ का ४ सिट र सूदुरपश्चिमका १ सिट बाहेक जसपाले देशभर अलग्गै उम्मेदवारी दिएको छ ।

राप्रपाले पनि झापा, रुपन्देही र बाँके बाहेक एमालेसँग तालमेल गरेको छैन । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ, धेरै उम्मेदवार उठाउने दल नै राप्रपा भएको दाबी गर्छन् । ‘हामीले प्रतिनिधिसभातर्फ १४३ र प्रदेशसभातर्फ २८५ जनाको उम्मेदवारी दिएका छौं, सबैभन्दा धेरै उम्मेदवार नै हामी हो’, श्रेष्ठ भन्छन् ।

नेता जोगिने, कार्यकर्ता भिडाउने

सत्ता गठबन्धनविरुद्ध आंशिक तालमेल गर्न सहमत चारै पार्टी प्रमुखको चाहनामा एउटा समानता देखिन्छ, जसरी पनि आफूले जित्ने । एकअर्का दलले लिएको विचारधाराबीच ठूलो अन्तर भएपनि तालमेल गरिनुले चुनाव जित्ने उद्देश्य लिएकै प्रष्ट पार्छ ।

साम्यवादी समाजमा विश्वास गर्ने एमाले, मधेशी र जनजातिको एजेण्डामा आधारित जसपा, संवैधानिक राजतन्त्र भन्ने राप्रपा र हिन्दू राज्यको वकालत गर्ने राप्रपा नेपालबीच आकाशपातालको वैचारिक भिन्नता छ । तैपनि चुनाव जित्नकै निम्ति यी दलहरुले आफ्नो वैचारिक बाटो र प्रतिबद्धता थाती राखेका छन् । वैचारिक निष्ठा भुलेको आरोप खेपेर गरिएको तालमेल पनि ४५ निर्वाचन क्षेत्रमा मात्रै सीमित छ । तर यही आंंशिक तालमेलबाट पनि चारै पार्टीका प्रमुखलाई लाभ मिल्ने पक्का छ ।

वायाँबाट– केपी शर्मा ओली, उपेन्द्र यादव, राजेन्द्र लिङ्देन, कमल थापा र हृदयश त्रिपाठी ।

एमाले अध्यक्ष ओली र राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन एउटै जिल्ला झापाका हुन् । ओलीले झापा–५ मा राप्रपाको मत पाउँदैछन् भने लिङदेनले झापा–३ एमालेको मत पाउनेछन् ।

मकवानपुर–२ मा सूर्य चिह्नबाट उम्मेदवार बनेर राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई सुरक्षित गर्न चाहेका छन् ।

जसपा अध्यक्ष उपेन्द्र यादवले ओलीसँग तालमेल गर्नुमा भने सत्तारुढ गठबन्धनबीच भागबण्डामा कुरा नमिल्नु हो । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनप्रति असन्तुष्टि जनाएका यादवसँग यो बाहेक अर्को विकल्प एक्लै मैदानमा होमिनु मात्रै बाँकी थियो । तर यादवले मधेश प्रदेशसहित केही क्षेत्रमा मात्रै एमालेसँग तालमेल गरे, बाँकी क्षेत्रमा अलग्गै उम्मेदवारी दिए ।

यसरी तालमेल गरेर आफू जोगिने र देशभरका नेता–कार्यकर्ताले पार्टीका निम्ति हार्न समेत तयार हुनुपर्ने नीतिमा यी दलका प्रमुखहरुबीच अर्को समानता देखिन्छ ।

पार्टी अध्यक्षसहित शीर्ष नेता जित्न मात्रै हुने तालमेलप्रति लगभग सबै दलभित्र असन्तुष्टि देखिन्छ । ‘सत्ता गठबन्धन र एमाले हराएर मैले चुनाव जित्दैछु । तर तीन जिल्लामा मात्रै किन तालमेल भयो, मैले यो बुझ्न सकेको छैन’, राप्रपाका महामन्त्री कुन्ती शाही भन्छिन् । दैलेख–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेकी महामन्त्री शाही, पार्टी बैठकमा यो विषय उठ्ने बताउँछिन् ।

तालमेलबाट झापा–३ मा लिङदेन, रुपन्देही–३ मा दीपक बोहोरा र बाँके–२ मा धवल शमशेर जबराले एमालेको मत पाउँदैछन् । तर बाँकी क्षेत्रमा राप्रपा उम्मेदवार एक्लै प्रतिस्पर्धामा छ ।

चर्चामा रहेका नेताहरु रेखा थापा मोरङ–३, रवीन्द्र मिश्र काठमाडौं–१, विक्रम पाण्डे चितवन–३, कुन्ती शाही दैलेख–१, धनबहादुर बुढा कालिकोट, ज्ञानेन्द्र शाही जुम्ला लगायतले पनि तालमेलको लाभ पाउन सकेनन् । कतिसम्म भने चितवन–३ मा आफ्नो उम्मेदवार फिर्ता गरेर एमालेले राप्रपाका विक्रम पाण्डेलाई नभएर कांग्रेसका विद्रोही दिनेश कोइरालालाई समर्थन जनाएको छ ।

जबकी देशभर तालमेल भएमा जसपा र राप्रपाका उम्मेदवारलाई मात्रै लाभ पुग्ने नभएर एमालेकै सिट संख्या समेत बढ्ने देखिन्छ । गएको स्थानीय चुनावमा वडाध्यक्षका उम्मेदवारले पाएको मतकै आधारलाई हेर्दा पनि यी दलहरुबीच देशब्यापी गठबन्धन हुँदा ४० निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन पछाडि पर्नेछ ।

हेर्नुहोस्, तालिका-

दल देशभर गठबन्धन भए अहिलेको गठबन्धन
सत्ता गठबन्धन १२४ १३६
एमाले गठबन्धन ४० १९
नेमकिपा

तर अहिले ४५ निर्वाचन क्षेत्रमा मात्रै तालमेल गर्ने निर्णयले १९ निर्वाचन क्षेत्रमा मात्र सत्ता गठबन्धन पछाडि छ । अर्थात् देशव्यापी तालमेल हुँदा एमाले नेतृत्वको गठबन्धनलाई दोब्बर फाइदा पुग्नेछ । यसले चुनावपछि ओलीलाई प्रधानमन्त्री बनाउने एमालेकै निर्णयलाई पनि बल पुग्न सक्थ्यो भने देशभर एमालेका उम्मेदवारलाई केही सहज हुने थियो । किनकि सानै संख्यामा भएपनि जसपा, राप्रपा र राप्रपा नेपालसँग देशभर मत छ ।

एमाले नेताहरु त्यो तथ्य स्वीकार्छन् । ‘देशभर तालमेल हुँदा पक्कै सजिलो हुने थियो । मेरै क्षेत्रमा पनि राप्रपाको चार हजार भोट छ’, एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ भन्छन् । सिन्धुपाल्चोक–२ का उम्मेदवार तामाङले २०७० र २०७४ को निर्वाचनमा राप्रपाकै पशुपति शमेशर राणालाई हराएका थिए । तर झापामा राप्रपाको भोट ओलीले पाउँदै गर्दा सिन्धुपाल्चोकमा भने तामाङले तालमेलबाट कुनै मत पाउने छैनन् ।

ताप्लेजुङमा योगेश भट्टराई, धनकुटामा राजेन्द्र राई, सुनसरी–२ मा भीम आचार्य, सुनसरी–३ मा भगवती चौधरी, भक्तपुर–२ मा महेश बस्नेत, काठमाडौं–९ मा कृष्णगोपाल श्रेष्ठ, चितवन–२ मा कृष्णभक्त पोखरेल, लमजुङमा पृथ्वीसुब्बा गुरुङ लगायतको निर्वाचन क्षेत्रमा तालमेलकै कारण सत्ता गठबन्धन पछाडि गर्ने देखिन्छ । तर यस्तो सुविधा एमालेका यी नेताहरुले पाउन सकेनन् ।

ओलीकै चाहना नहुँदा देशब्यापी गठबन्धन बन्न नसकेको बुझ्न गाह्रो पर्दैन । किनकि एमालेमा ओली एकल निर्णय गर्न सक्ने सामर्थ्य राख्छन् ।

सम्भव छ देशब्यापी तालमेल

सत्ता गठबन्धनबाट जसपालाई अलग गरेर चुनावी नतिजा सुधार्ने आधार तयार पारेको एमाले र ओलीको चाहेको भए देशब्यापी गठबन्धन असंभव पनि थिएन । गणतन्त्र नेपालमा राजसंस्थाकै वकालत गर्ने राप्रपासँग गृह जिल्ला झापामा तालमेल गरिसकेकाले बाँकी क्षेत्रमा पनि गठबन्धन गर्दा एमालेलाई संसदीय गणितमा फाइदै थियो ।

जसपा सहितको सत्ता गठबन्धन कायम रहँदा ९ क्षेत्रमा (स्थानीय चुनावमा वडाध्यक्षहरुले पाएको मतका आधारमा) मात्रै अगाडि रहेको एमालेले त्यो संकटबाट मुक्त हुने चाहना राख्नुले देशब्यापी गठबन्धनको प्रस्ताव स्वाभाविक मान्न सकिन्छ । तर स्वयं ओलीकै चाहना नहुँदा देशब्यापी गठबन्धन बन्न नसकेको बुझ्न गाह्रो पर्दैन । किनकि एमालेमा ओली एकल निर्णय गर्न सक्ने सामर्थ्य राख्छन् ।

१९ नवप्रवेशीले प्रतिनिधिसभा सदस्यकै टिकट पाउनुले पनि जसपा, राप्रपा र नेपाल नेपाल सहितको देशब्यापी गठबन्धन संभव थियो भन्ने तर्कलाई नै बल पुग्छ । किनकि साँझ प्रवेश गर्ने र भोलिपल्ट सूर्य चिह्न लिएर उम्मेदवार हुने प्रवृत्तिबाट एमाले बनाउन लामो संघर्ष गरेका नेताहरुले टिकट नपाएकै तथ्य प्रष्ट्याउँछ ।

बारा–१ का एकवाल मिया, धनुषा–४ का उमाशंकर अरगरिया, गोरखा–२ का अब्दुश मिया, काठमाडौं–६ का सर्वेन्द्र खनाल, पर्सा–४ का जालिम मिया, कपिलवस्तु–३ का मंगलप्रसाद गुप्ता, कपिलवस्तु–२ का बृजेशकुमार गुप्ता लगायत एमाले उम्मेदवार नवप्रवेशी हुन् । यदि चुनाव जित्नकै लागि नवप्रवेशीलाई टिकट दिने हो भने त्यसको साटो गठबन्धन गरेर ती क्षेत्रहरु छोड्दा बढी फाइदा पुग्न सक्थ्यो ।

तर तालमेल गरेर अरु दलका उम्मेदवारलाई सघाउनु ओलीको विगतका अभिव्यक्ति, अडान र निष्कर्ष विपरीत थियो । ओलीले गठबन्धनबाट देश नबन्ने भएकाले एमाले एक्लैले बहुमत ल्याउने दाबी गर्दै आएका छन् । महासचिव शंकर पोखरेल लगायत उनी निकट नेताहरुले पनि एमाले एक्लै जित्ने ओलीको अडानलाई सहयोग गरिरहेका छन् । त्यही अडान पुष्टि गर्न पनि ओली सहित केही नेताको निर्वाचन क्षेत्रमा मात्रै तालमेल गरेर बाँकी क्षेत्रमा एकल प्रतिस्पर्धा गर्ने नीति लिइएको हुन सक्छ ।

दलगत रुपमा हेर्ने हो भने यसको लाभ राप्रपालाई बढी पुगेको छ । अध्यक्ष लिङदेनसहित राप्रपाका तीन नेताका निम्ति मात्रै तालमेल गरिएकोमा पार्टीभित्र असन्तुष्टि भएपनि देशभरको मत आफ्नै चिह्नमा पर्नेछ । यसले समानुपातिक तर्फ मत बढेमा राप्रपा राष्ट्रिय दल बन्नेछ । ३ प्रतिशत थ्रेसहोल्ड कटाउन नसकेकै कारणले राप्रपा २०७४ को चुनावमा राष्ट्रिय दल बन्न सकेको थिएन ।

लेखकको बारेमा
सइन्द्र राई

विशेष संवाददाता राई राजनीतिक ब्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?