+

फुटबल स्टार बन्न चाहन्थे सोमबहादुर, आर्मी बनेपछि एथ्लेटिक्समा चम्किए

२०७९ कात्तिक  ३ गते १३:१२ २०७९ कात्तिक ३ गते १३:१२

फुटबल खेलाडी बन्ने सपना पूरा नभए पनि सोमबहादुर एथ्लेटिक्सको सफल खेलाडी बनेका छन् । नेपालमा एथ्लेटिक्सको ४०० मिटर र ८०० मिटर दौड विधामा पछिल्लो सात वर्षदेखि उनी लगातार च्याम्पियन हुन् । 

फुटबल स्टार बन्न चाहन्थे सोमबहादुर, आर्मी बनेपछि एथ्लेटिक्समा चम्किए

३ कात्तिक, पोखरा । २०६९ मा नेपाली सेनाको सिपाही बन्नुअघि गोरखाका सोमबहादुर कुमालले फुटबलको स्टार खेलाडी बन्ने सपना देखेका थिए । स्कुल पढ्दा मोजाको भकुण्डो बनाएर फुटबल खेलेका सोमबहादुरको लक्ष्य नेपाली सेनामा भर्ती भएपछि मोडियो ।

फुटबल खेलाडी बन्ने सपना पूरा नभए पनि सोमबहादुर एथ्लेटिक्सको सफल खेलाडी बनेका छन् । नेपालमा एथ्लेटिक्सको ४०० मिटर र ८०० मिटर दौड विधामा पछिल्लो सात वर्षदेखि उनी लगातार च्याम्पियन हुन् ।  ‘सेनामा भर्ना हुनुअघिसम्म मलाई एथ्लेटिक्सबारे केही थाहा थिएन । पहिलोपल्ट सेनामा जानकै लागि दौडको प्रशिक्षण गरेको हो । बरु मलाई फुटबलर बन्नु थियो’, अहिले सोमबहादुरलाई फुटबल खेलाडी बन्न नपाएकोमा कुनै पछुतो छैन ।

एथ्लेटिक्स प्रशिक्षक सुशील नरसिंह राणाको नजरमा उनी यो विधामा अन्तर्राष्ट्रिय स्वर्ण पदककै दाबेदार हुन् ।

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरा रंगशालामा बिहीबार सम्पन्न एथलेटिक्स च्याम्पियनसिपमा सोमबहादुरले नेपाल आर्मीका लागि चार गुणा ४०० मिटर रिले दौडमा तेस्रो स्वर्ण जिते । नवौं खेलकुदमै उनले ४०० र ८०० मिटर दौडमा स्वर्ण जितिसकेका थिए ।

उनले तीन स्वर्णमात्र जितेनन्, आफ्नो प्रदर्शनमा सुधार पनि ल्याएका छन् । ४०० मिटर दौडमा आफ्नै नाममा रहेको ह्याण्ड टाइम कीर्तिमान सुधार गरी ४७.९५ सेकेण्डमा दूरी पूरा गरे । उनका पहिलो प्रशिक्षक धनीराम चौधरीले सन् १९८५ मा बनाएको इलेक्ट्रिक टाइमिङको कीर्तिमानभन्दा कम समयमा उनको कीर्तिमान छ । आफ्नो पहिलो प्रशिक्षककै कीर्तिमानभन्दा कम समयमा दौड पूर गर्न सक्नुलाई सोमबहादुरले खेलजीवनकै कोशेढुंगा मानेका छन् ।

इभेन्ट खाली नगर्न दौडिएको पहिलो भए

२०७० वैशाखमा प्रधानसेनापति ट्रफीका लागि नेपाली सेनाका गणहरुबाट छनौट प्रतियोगिता हुँदै थियो । उनको भैरवीदल गणबाट ८०० मिटर दौडमा सहभागी हुने खेलाडी नै भएनन् । सोमले आँट गरे, तर उनी पहिलो भए ।

‘त्यतिबेला मैले २ मिनेट १३ सेकेण्डमा दूरी पूरा गरेको थिएँ । संयोगले सोही विधाको राष्ट्रिय कीर्तिमानधारी धनीराम गुरु खेल खेलाउन आउनुभएको रहेछ । उहाँले मेरो खेल मन पराउनुभयो’, सुरुवाती दिनबारे सोमबहादुर भन्छन्, ‘भदौमा उहाँसँग एक महिना प्रशिक्षण गर्दा मेरो टाइमिङ १ मिनेट ५९ सेकेण्डमा झरिसकेको थियो ।’

सोही वर्ष प्रधानसेनापति ट्रफीमा ८०० मिटर दौडको स्पर्धामा दोस्रो भएपछि त्रिभुवन आर्मी क्लबमा उनले प्रवेश पाए । २०७२ को १२औं दक्षिण एसियाली खेलकुदको छनोट प्रतियोगितामा ४०० र ८०० मिटर दौडमा स्वर्ण जितेयता उनलाई नेपालभित्र आफ्नो इभेन्टमा दोस्रो हुनुपरेको छैन ।

प्रशिक्षण नै नगरी पहिलोपल्ट ८०० मिटरमा २ मिनेट १३ सेकेण्डको समय सुधार गरी राष्ट्रिय कीर्तिमान राख्न उनलाई ६ वर्ष लाग्यो । पहिलो प्रशिक्षक धनीराम चौधरीको १ मिनेट ५०.६० सेकेण्डको कीर्तिमान सुधार गरी नेपालमै भएको १३औं सागमा सोमबहादुरने १ मिनेट ५०.२५ सेकेण्डको नयाँ कीर्तिमानसहित कांस्य पदक जितेका थिए ।

‘पहिलो टाइमिङमा म २३ सेकेण्डले पछि थिएँ । कीर्तिमान बनाउन के सकुँला र भन्ने लागेको थियो । तर, गुरुले नै सिकाएर ममार्फत आफ्नै कीर्तिमान तोडाउनुभयो’, सोमबहादुरले धनीरामप्रति श्रद्धा व्यक्त गरे ।

२७ वर्षीय सोमबहादुर आफ्नो सफलताको श्रेय नेपाली सेनालाई नै दिन्छन् । एथलेटिक्समा संघर्ष, मिहिनेत र भाग्यको समिश्रणबाट सफलता निस्कने उनको अनुभव छ ।

‘म भाग्यभन्दा मिहिनेत र धैर्यमै विश्वास गर्छु । नत्र खेलकुदमा कोही पनि सफल हुँदैन’, उनले थपे, ‘मलाई राष्ट्रिय कीर्तिमान बनाउन ६ वर्ष लाग्यो । यो आजको भोलि हुने सुधार होइन । त्यसैले एथलेटिक्सलाई खेलको राजा भनिएको हो ।’

सोमले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि साढे दुई महिनाको तयारी गरेका थिए । अब उनले एसियाडमा राष्ट्रिय कीर्तिमान सुधार गर्ने र १४औं सागमा स्वर्ण जित्ने लक्ष्य राखेका छन् ।

‘यति तयारीले मेरो सपना पूरा हुँदैन । राखेप र एथ्लेटिक्स संघले मलाई कम्तीमा ६ महिना विदेशमा प्रशिक्षणको वातावरण बनाइदिएको खण्डमा आगामी सागमा म स्वर्ण जित्ने ग्यारेन्टी गर्छु’, सोमबहादुर आत्मविश्वासी सुनिए ।

लकडाउनको समयमा डाइट खानसमेत आर्थिक समस्या भएको अनुभव बताउँदै उनले सरोकारवाला निकायले खेलाडीको सुरक्षामा ध्यान दिनुपर्ने धारणा राखे ।

सोमबहादुरको अन्तर्राष्ट्रिय सहभागिता र सफलता

२०१६ १२औं साग– छैटौं
२०१७ एसियन च्याम्पियनसिप, भारत –सहभागी
२०१७ ब्रुनाइ ओपन च्याम्पियनसिप– स्वर्ण
२०१७ माल्दिभ्स ओपन च्याम्पियनसिप –स्वर्ण
२०१८ १८औं एसियाली खेलकुद, इण्डोनेसिया – राष्ट्रिय कीर्तिमान
२०१९ एसियन च्याम्पियनसिप, कतार– सहभागी
२०१९ १३औं साग– कांस्य

एथ्लेटिक्स नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सोमबहादुर कुमाल

धेरै कमेन्ट गरिएका

लेखक
कुशल तिमल्सिना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय