+
+

सुर्खेत–२ : पूर्व सहकारीमन्त्रीविरुद्ध सहकारी अभियन्ता

थानीलाई अन्तरघातकै डर, विसीलाई अरुकै भर

यज्ञ खत्री यज्ञ खत्री
२०७९ कात्तिक ४ गते ८:२९

४ कात्तिक, सुर्खेत । नेपाली कांग्रेसका नेता हृदयराम थानी सुर्खेतमा सधैं प्रभावशाली नेताका रुपमा रहे । ०५१ सालमै संसदीय चुनाव लड्ने अवसर पाएका थानीको लगातार चार वटा चुनावमा एमालेका यामलाल कँडेलसँग हार्ने र हराउने खेल चल्यो ।

संघीयता आएपछि कँडेल प्रदेशतिर झरे । २०७४ को चुनावमा थानीले नयाँ प्रतिस्पर्धी पाए, नवराज राउत । वाम गठबन्धनको साझा उम्मेदवार बनेका एमालेका रावतले थानीलाई हराए । यो पटक एमाले राउतले उत्ति रुचि देखाएनन् ।

रावतले प्रदेशको समानुपातिक रोजेपछि एमालेले पूर्व गरिबी निवारण तथा सहकारीमन्त्री थानीसँग प्रतिस्पर्धा गर्न सहकारी अभियन्तालाई उम्मेदवार बनाएको छ ।

६२ वर्षीय थानी २०७३ मा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहकारी मन्त्री भएका थिए ।

एमाले उम्मेदवार अमृत विसी एमालेको सुर्खेत अध्यक्ष हुन् । पहिलो पटक सांंसदीय चुनावमा प्रतिस्पर्धा गरिरहेका ६३ वर्षीय विसी जिल्ला सहकारी संघ, सुर्खेतका अध्यक्ष पनि हुन् र सहकारी सदस्यहरुको बलमा चुनाव जित्ने दाबी गर्छन् । कांग्रेस उम्मेदवार थानीले भने विगतमा सांसद र मन्त्री हुँदा आफ्नो पहलमा भएका विकास निर्माणलाई देखाएर चुनावी प्रचार गरिरहेका छन् ।

थानीलाई अन्तरघातकै डर

सुर्खेत २ (१) मा सत्ता गठबन्धनबाटै २ उम्मेदवार मैदानमा छन् नेकपा एकीकृत समाजवादीका शिवप्रसाद उपाध्याय र  नेपाली कांग्रेसका कालीप्रसाद शाक्य । गठबन्धनबाट शाक्य भने पनि यहाँ नेकपा एकीकृत समाजवादीले पनि उममेदवार उठाएको छ ।

सुर्खेत  २(२) मा भने गठबन्धनबाट माओवादी केन्द्रका बिन्दमान विष्ट मात्र उम्मेदवार छन् । यसको अर्थ ०७४ को चुनावमा आफैंलाई पराजित गर्न भूमिका खेलेका माओवादी नेताहरु यो पटक थानीको साथमा छन् । तर थानीलाई आफ्नै पार्टीभित्र अन्तरघात होला कि भन्ने डर भने कायमै छ ।

सुर्खेत, कांग्रेसमा उपसभापति पूर्वबहादुर खड्का र नेता थानीले दुईवटा गुट चलाउँदै आएका छन् । खड्काले संस्थापन र थानीले संस्थापन इतर पक्षको नेतृत्व गर्छन् ।

गत मंसिरमा भएको १४ औं महाधिवेशनबाट सुर्खेतको नेतृत्वमा वर्चस्व जमाएको खड्का समूहले स्थानीय चुनावमा पनि थानी पइालाई बाइपास गरेको थियो । ९ वटा स्थानीय तह रहको सुर्खेतमा एउटा पालिकामा पनि थानी समूहले टिकट पाएन ।

कांग्रेस उम्मेदवार थानी र एमाले उम्मेदवार बिसी दुबैको व्यक्तिगत सम्बन्ध पनि राम्रो छ । दुबैको चुनावमा विकासे एजेन्डा पनि मिल्दाजुल्दा छन् ।

आन्तरिक कलहकै कारण ०७४ मा ६ स्थानीय तहको नेतृत्व जितेको कांग्रेसले यो पटक ४ पालिकामा खुम्चियो । प्रदेश राजधानी समेत रहकोे वीरेन्द्रनगर नगरपालिकामा गठबन्धनको साथ पाउँदा पनि मेयरमा खड्का समूहका उपेन्द्र खड्का झिनो मतअन्तरले पराजित भए । थानी समूहले  अन्तरघात गरेकै कारण पराजय व्यहोरोका खड्का समूहका नेताहरु बताउँछन् । त्यसको प्रत्यक्ष असर आसन्न चुनावमा देखिनसक्ने कांग्रेस नेताहरुको बताउँछन् ।

यद्यपि खड्का र थानी दुबैले स्थानीय चुनावको तिक्तता मेटिसकेको बताउने गरेका छन् । ‘पार्टीभित्रका आन्तरिक समस्या अहिले मिलिसकेका छन्, यहाँ यो वा त्यो पक्ष छैन,’ गत बुधबार पूर्वी सुर्खेतको गुर्भाकोटमा आयोजित पार्टीको कार्यक्रममा सुर्खेत १ का उम्मेदवार खड्काले भनेका थिए, ‘अनाहक विवाद नगर्नुहोला । कांग्रेस र गठबन्धनका उम्मेद्वारलाई जिताउनु होला ।’

पश्चिम सुर्खेतमा चुनावी प्रचार र घरदैलो अभियान चलाइरहेका थानी पनि पार्टी भित्रका सबै असन्तुष्टि मेटिसकेको बताउँछन् । ‘खड्काजी र म मिलिसकेका छौं । तपाईंहरुले पनि कुनै प्रकारको तिक्तता मनमा नराख्नु होला,’ थानीले मंगलबार बाबियाचौरमा आयोजित कार्यक्रममा कार्यकर्तालाई भनेका थिए । दुबैले आफूहरु मिलिसकेको सन्देश दिन खोजेपनि थानीलाई अन्तरघातको डर कायमै छ ।

जित्ने आ–आफ्नै दाबी

कांग्रेस उम्मेदवार थानी र एमाले उम्मेदवार बिसी दुबैको व्यक्तिगत सम्बन्ध पनि राम्रो छ । दुबैको चुनावमा विकासे एजेन्डा पनि मिल्दाजुल्दा छन् । वीरेन्द्रनगरलाई नमूना शहर बनाउने, खानेपानी समस्या समाधान गर्ने कृषि, पर्यटन, प्रविधि, जलविद्युत र सडक सञ्जाल दुवैको चुनावी एजेण्डामा छ ।

‘प्रतिस्पर्धी भएपछि म राम्रो, मेरा एजेन्डा राम्रा भन्नु स्वाभाविकै हो’, कांग्रेस उम्मेद्वार थानीले अनलाइनखबरसँग भने, ‘तर अहिलेको आवश्यकता थानीको हो भन्ने जनताको मनमा मात्रै होइन, स्वयं अमृत जीको मनमा पनि छ ।’

एमाले उम्मेदवार विसी पनि थानीप्रति सदभाव भए पनि जनताले आफूलाई जिताउने दाबी गर्छन् । ‘थानी मेरो आदरणीय नेता हो । उहाँप्रति मेरो सदभाव छ’ उनले भने, ‘तर जनताले नयाँ अनुहार चाहेका छन्, गाउँठाउँका चुनौतीको सामना गर्ने सामर्थ्य र भिजन मसँग छ । उहाँसँग प्रतिस्पर्धा गरेर विजयी भएर उहाँलाई नै जितको शुभकामना दिने अवसर दिन्छु ।’

सुर्खेत २ को विकास र त्यहाँको प्रचुर सम्भावनालाई अगाडि बढाउन आफैंले जित्नुपर्ने दुवै नेताको दाबी छ ।

‘म तीन दशकदेखि सुर्खेती जनताको सेवामा समर्पित भएको, जेलनेल खाएको जनताले देखेका छन् । विगतमा मैले गरेका जनप्रिय काम पनि देखेका छन्’ थानी भन्छन् ।

राष्ट्रिय राजनीतिमा एमालेको प्रभाव र जिल्लामा आफनो स्वच्छ छविका कारण पनि चुनाव जित्ने बिसीको दाबी छ । भन्छन्, ६०० बढी सहकारीको नेतृत्व गरेको छु । मेरो स्वच्छ छवि र इमान्दारीता जनताले नजिकबाट देखका छन् ।’

यस्तो छ अंक गणित

सुर्खेत २ मा तीन दशकदेखि कांग्रेस र एमालेबीच प्रतिस्पर्धा हुँदै आएको छ, र दुवै दलको अवस्था उस्तै देखिन्छ । २०४८ को आम निर्वाचनमा काँग्रेसका शिवराज जोशी विजयी हुँदा एमालेका बालाराम शर्मा पराजित भए । ०५१ को मध्यावधि निर्वाचनमा एमालेका यामलाल कँडेल विजयी हुँदा थानी पराजित भए ।

०५६ को संसदीय चुनावमा कांग्रेसले पुनः वर्चश्व जमायो । जिल्लाका ३ वटै निर्वाचन क्षेत्रमा कांग्रेसका उम्मेद्वार विजयी भए । सुर्खेत २ बाट हृदयराम थानी विजयी हुँदा यामलाल कँडेलले पराजय व्यहोरे ।

०६४ मा पहिलो संविधानसभा निर्वाचनमा भने सुर्खेतमा कांग्रेस नराम्रोसँग पराजित भयो । सुर्खेत २ मा एमालेका यामलाल कँडेल विजयी हुँदा थानी पराजित भए । ०७० को निर्वाचनमा जिल्लाका ३ वटै क्षेत्रमा कांग्रेसले जित हासिल ग¥यो । कांग्रेसका थानी विजयी हुँदा एमालेका कँडेल फेरि पराजित हुन पुगे ।

संघीयतापछि कँडेल मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशमा झरे । कँडेलको ठाउँमा एमालेले नवराज रावतलाई उठायो । सुर्खेत ३ मा तीनवटा संसदीय चुनाव हारेका रावतले वाम गठबन्धनको बलमा झण्डै ९ हजार मतान्तरले विजयी भए ।

सुर्खेत २ मा चौकुने, बराहाताल गाउँपालिका र पञ्चपुरी, वीरेन्द्रनगर नगरपालिकाका १४ वटा वडा पर्दछन् ।

३० वैशाखको स्थानीय निर्वाचनमा चौकुने माओवादीले जितेको छ । पञ्चपुरी नगरपालिका र बराहाताल गाउँपालिका कांग्रेसले जितेको छ भने वीरेन्द्रनगर एमालेले जितेको छ ।

स्थानीय निर्वाचनमा वडाध्यक्ष उम्मेदवारहरुले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस र एमालेवीच एक हजार मत अन्तर देखिन्छ ।

वडाध्यक्षमा कांग्रेसका उम्मेदवारले ३० हजार ६१२ मत पाउँदा एमालेले ३१ हजार ४०७ मत पाएको छ । माओवादीले ११ हजार ७३१, राप्रपाले ३ हजार ५२७, एकीकृत समाजवादीले २ हजार ९१ मत पाएको छ ।

सत्ता गठबन्धन दलको मत जोड्दा थानीलाई सहज देखिन्छ । उनी पुराना, प्रभावशाली र जनतामाझ भिजेका उम्मेदवार हुन् । तर बिसी पनि नयाँ र लोकप्रिय भएकाले थानीलाई चुनाव सहज नभएको कांग्रेस नेताहरु बताउँछन् ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?