+

छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्दर हुने होइन

२०७९ कात्तिक  ४ गते १२:३१ २०७९ कात्तिक ४ गते १२:३१
छालारोग विशेषज्ञ भन्छन्- कस्मेटिक्सले अनुहार सुन्दर हुने होइन

अनुहारलाई कसरी सफा, चमकदार र मुलायम बनाउने ? कसरी आँखीभौंलाई चिरिच्याट्ट मिलाउने ? कसरी ओठलाई रसिलो बनाउने ? कसरी कपाललाई सुहाउँदो बनाउने ? यिनै खोजहरुले सौन्दर्य प्रसाधनको बजारलाई सधैं चलायमान बनाइरहन्छ ।

रुपरंगप्रति महिलाहरु थप सजग छन् । उनीहरु आफूलाई सकेसम्म आकर्षक देखाउने प्रयत्नमा हुन्छन् । उनीहरु अनुहार, कपालको स्याहारका लागि कुनै झन्झट मान्दैनन् । सौन्दर्य प्रसाधनका लागि खर्च गर्न कञ्जुस गर्दैनन् । यसैले त आज सौन्दर्य प्रसाधनको बजार फैलिंदो छ ।

तर सौन्दर्य प्रसाधनले वास्तवमै कसैलाई सुन्दर बनाउँछ ? अनुहारको चाउरीपन हटाउन, दागधब्बा लुकाउन, चायापोतो हटाउन दिगो र प्रभावकारी भूमिका खेल्छ ?

सौन्दर्य प्रसाधनको प्रभाव

कस्मेटिक उत्पादनले छालाको चाउरीपन, चाया पोतो दाग हटाउन सकिंदैन । किनकि छालाको चाउरीपन चाया पोतो र दाग विभिन्न कारणले आएको हुन्छ । यसको एउटा मात्र कारण हुँदैन । प्रत्येक व्यक्तिमा यो समस्याको कारण छुट्टै हुने भएकोले सबैमा कस्मेटिक उत्पादनले यस्ता समस्या हटाउन सक्दैन । यस्ता उपाय दिगो पनि हुँदैन ।

कुनै प्रकारको क्रिम प्रयोग गरेर सौन्दर्य बढ्ने छालाको प्रकार नै परिवर्तन हुने कालो मान्छे गोरो हुने होइन । छालाको रंग र छालाको बनावट वंशानुगत रूपमा नै तय हुने कुरा हो । तर मोइस्चराइजर, सनस्क्रिन जस्ता क्रिमको प्रयोग गरेर छालालाई बचाउन र छालाको स्वास्थ्यलाई राम्रो बनाउन भने सकिन्छ ।

स्किन केयर रुटिन

पछिल्लो समय यस्ता क्लिनिक नै सञ्चालनमा छन्, जसले सुन्दरताका लागि उपचारात्मक विधि अपनाउने गरेका छन् । उनीहरुले स्किन केयर रुटिन बनाइदिने गरेका छन् । छालाको सौन्दर्यको लागि यो प्रभावकारी हो ।

किनकि आफ्नो छाला कस्तो प्रकारको छ यसको लागि कस्तो खालको केयर गर्नुपर्छ भन्ने कुरा धेरैलाई थाहा हुँदैन । त्यसैले विशेषज्ञको सल्लाह लिएर स्किन केयर रुटिन अपनाउँदा छालाको सौन्दर्य भन्दा पनि छालाको स्वास्थ्य राम्रो हुन्छ । स्किन केयर गरेको मान्छे र नगरेको मान्छेको छालामा केही न केही फरक पक्कै हुन्छ ।

कुनै पनि व्यक्तिलाई सन एलर्जी हुन्छ भने औषधिको प्रयोग गर्दा यो कम हुन्छ । तर सन प्रोटेक्सन गरेन भने एलर्जी बारम्बार हुन्छ । त्यसैले एलर्जी कम गर्न सनप्रोटेक्सन क्रिम लगाउन सकिन्छ ।

अनुहारमा चाउरीपनको कारण 

अनुहारमा चाउरी पर्ने केही भित्री कारणले हुन्छ भने केही बाहिरी । भित्री कारण भनेको एउटा जेनेटिक र अर्को उमेर हो । चाउरीपनको बाहिरी कारण सूर्यको किरण हो । घाममा  काम गर्ने र अनुहारमा घामको किरण डाइरेक्ट पर्ने मान्छेमा छिटो चाउरी पर्छ, जसलाई ‘फोटो एजिङ’ भनिन्छ । भित्री कारणको लागि त खासै केही उपचार हुँदैन ।

एउटा निश्चित उमेरदेखि राम्ररी सनप्रोटेक्सन ग¥यो भने त्यो फोटो एजिङ हुने सम्भावनालाई कम गर्न सकिन्छ । अहिले चाउरीपनको उपचारको रूपमा ‘बुटोक्स’ पनि प्रचलनमा छ ।

चायापोतो हटाउने दिगो विधि छैन

अनुहारमा आउने चायापोतो, दाग आदि हटाउने दिगो तरिका त खासै केही पनि छैन । त्यसलाई केही कम गर्ने औषधि भए पनि पूरै निको पार्ने दिगो तरिका छैन ।

सौन्दर्य प्रसाधनले अनुहार बिगार्न सक्छ

अहिले बजारमा विभिन्न प्रकारका सौन्दर्य प्रसाधन उपलब्ध छन् । केही त नाम नै राम्ररी उल्लेख नगरिएका पनि छन् । त्यस्ता सौन्दर्य प्रसाधनको प्रयोगले अनुहारको चमक बढाउने भन्दा पनि अनुहारको छालालाई नै बिगार्न सक्छ ।

केही सौन्दर्य प्रसाधनले भने अनुहारको चमक बढाउन, मुलायम बनाउन भन्दा पनि भएको चमकलाई कायम राख्न र त्यसलाई बिग्रिनबाट बचाउँछ ।

अनुहारको समस्या

अनुहारमा देखिने मुख्य समस्या डन्डीफोर, चाउरीपन, चायापोतो, दाग र एलर्जी आदि हुन् ।

यी समस्या हुने मुख्य कारण जेनेटिक नै हो । धेरै समस्या उमेर हर्मोनल कारणले पनि देखा पर्छन् । छालाको राम्रो सरसफाइ नगर्ने, धेरै सूर्यको किरण र धुँवाधुलोको सम्पर्कमा आउने र छालाको हेरचाह नगर्ने कारण पनि यस्ता समस्या देखा पर्छन् ।

समाधान के ?

अनुहारमा देखापर्ने विभिन्न समस्याको कारण फरक-फरक हुने भएकाले । यसको समाधानको उपाय पनि फरक–फरक नै हुन्छ । चाउरीपनको उपचार बुटक्स भएजस्तै केही समस्याको समाधान लेजर, औषधिको सेवन तथा मलमको प्रयोगबाट पनि हुन्छ ।

(डा. लामासँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

अनुहार सौन्दर्य प्रसाधन
लेखक
डा. लैला लामा, वरिष्ठ छालारोग विशेषज्ञ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी