+
+

कास्कीमा सत्ता गठबन्धनको सकस : जहाँ गाह्रो, त्यहींका बागी साह्रो

कास्की २ का बागी उम्मेदवार महादेव गुरुङको अडानले एमालेको गढमा एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बराललाई जिताउने माधवकुमार नेपालको योजनामा ठेस लागेको छ । नेकपा एमालेसँग विद्रोह गरेर आएको एकीकृत समाजवादीलाई मात्र होइन, गठबन्धनलाई नै कांग्रेस नेता गुरुङको अडान टाउकोदुखाइ बनेको छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०७९ कात्तिक ४ गते १८:३८

४ कात्तिक, पोखरा । कास्की–२ मा स्वतन्त्र उम्मेदवारी दिएका महादेव गुरुङलाई एकीकृत समाजवादीका नेताहरूले फोन गरेर सहयोग माग्दा जवाफ पाए, ‘माधवकुमार नेपाललाई भनेर शेरबहादुर देउवालाई फोन गर्न लगाउनू, मेरो कुरा बताउँला ।’

असोज २६ गते कांग्रेस सभापति शेरबहादुर देउवाले गुरुङलाई फोन गर्दै राष्ट्रिय सभा वा अरू कुनै उपयुक्त पदमा सम्बोधन गर्ने प्रस्ताव राखे ।

नेपाली कांग्रेसभित्र बीपीदेखि गिरिजाप्रसाद कोइरालासँग निकट सम्बन्ध राखेर सधैं देउवा समूहसँग ‘बागी विचार’ राखेका गुरुङले देउवालाई जवाफ फर्काए, ‘म अगाडि बढिसकें । पद र पैसाका लागि उम्मेदवारी दिएको होइन, बरु कारबाही सहन्छु ।’

सत्तारुढ गठबन्धनको सिट बाँडफाँटमा यो क्षेत्र एकीकृत समाजवादीको भागमा परेको छ र नेता श्रीनाथ बराल उम्मेदवार बनेका छन् । गुरुङको अडानले सत्ता गठबन्धनको मद्दतमा बराललाई नेकपा एमालेको लाल किल्ला मानिएको यो क्षेत्रमा जिताउने माधवकुमार नेपालको योजनामा ठेस लागेको छ । नेकपा एमालेसँग विद्रोह गरेर आएको एकीकृत समाजवादीलाई मात्र होइन, गठबन्धनलाई नै कांग्रेस नेता गुरुङको अडान टाउकोदुखाइ बनेको छ ।

कांग्रेस सभापति देउवा बिहीबार र शुक्रबार दुई दिन पोखरा बसे । एकीकृत समाजवादी अध्यक्ष माधवकुमार र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि शुक्रबार पोखरामै थिए ।

पाँचदलीय गठबन्धनको पोखरा सभागृहमा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेला सुरु हुनुअघि कांग्रेस सभापति देउवाले गुरुङसँग भेट्न चाहेका थिए । कास्की–२ (ख) का प्रदेशसभा उम्मेदवार तथा देउवा पक्षका नेता विन्दुकुमार थापाले देउवालाई भेटेर छलफल गर्न गुरुङलाई फोनबाट प्रस्ताव गरेका थिए । तर गुरुङले भेट्नै अस्वीकार गरिदिए ।

त्यसपछि गठबन्धनका नेताहरूले अर्को प्रस्ताव गरे, ‘देउवालाई नभेट्ने भए, एकपटक माधवकुमार नेपाललाई भेटेर छलफल गर्नुपर्‍यो ।’ नेताहरूकै प्रस्तावअनुसार गुरुङले नेपाललाई भेटे । तर नेता नेपालको अनुहारमा खुसी झल्किने जवाफ उनले दिएनन् ।

नेता नेपालले आफूहरू प्रतिगमनविरुद्ध लड्दै एमालेबाट विद्रोह गरेको बताए । उम्मेदवारी कायमै राख्दा फेरि एमाले अध्यक्ष केपी ओली र प्रतिगमनकै लागि सहज हुने भएकाले कास्की–२ मा श्रीनाथलाई सघाउन गुरुङलाई आग्रह गरे ।

गुरुङले भने, ‘तपाईंहरूले एमाले र केपी ओलीसँग विद्रोह गरेजस्तै मैले पनि कांग्रेसका सभापति शेरबहादुरजीसँग विद्रोह गरेको हुँ ।’ ५२ वर्ष नेपाली कांग्रेसमै बिताएको व्यक्तिले त्यसै विद्रोह नगरेको गुरुङको भनाइ थियो ।

भावी दिनमा मिल्नसक्ने राजनीतिक अवसरको लोभ देखाएका नेपालले देउवा र प्रचण्डलाई भेट्न आग्रह गरेका थिए । तर गुरुङले देउवालाई आफूले नभेट्ने र प्रचण्डसँग पनि भेट्ने इच्छा नरहेको सुनाए । पैसाका लागि राजनीति नगरेको र आफू देउवाको दास नभएको गुरुङको जवाफ थियो ।

गुरुङ निकटका एक नेताले भेटबारे भने, ‘नेता नेपालले पटक–पटक आग्रह गर्नुभयो, तर उहाँले विद्रोह किन र कस्तो बेलामा गरिन्छ भनेर तपाईंलाई थाहा नै छ भन्नुभयो ।’

कास्की क्षेत्र नम्बर २ मा महादेव गुरुङको उम्मेदवारीले गठबन्धनका नेताहरूलाई एउटै पीर छ, ‘पूर्व मन्त्रीसमेत भइसकेका महादेवकै कारण चुनाव हार्ने त होइन ?’

यो क्षेत्रमा एमालेले रवीन्द्र अधिकारीको निधनपछि उपनिर्वाचनमार्फत संसदीय राजनीतिमा होमिएकी अधिकारीकी पत्नी विद्या भट्टराईलाई अघि सारेको छ । केपी ओलीकै जोडबलमा उम्मेदवार बनेकी उनलाई कास्कीमै एमालेको सबभन्दा बलियो उम्मेदवारका रूपमा हेरिएको छ ।

प्रचण्डलाई चुनौती : कास्की–३ कि बागी अनिता

शेरबहादुर र माधवकुमारलाई कास्की–२ मा महादेव गुरुङको उम्मेदवारीले हैरान बनाएको छ भने कास्की–३ मा बागीले माओवादी अध्यक्ष प्रचण्डलगायत नेताहरूलाई ‘टेन्सन’ थपेको छ ।

सत्ता भागबण्डामा माओवादीको पोल्टामा परेको कास्की–३ मा रामजी बराल उम्मेदवार छन् । तर शहीद पुत्री अनिता भुर्तेलले स्वतन्त्र उम्मेदवारी हालेकी छन् ।

प्रदेश सरकारका अर्थमन्त्रीसमेत रहेका बराल, संविधानसभा सदस्य दुर्गा विकलगायत नेताले शुक्रबार पोखरा आएका प्रचण्डलाई भेटेर आफ्नो कुरा राख्न प्रस्ताव गरेका थिए । तर भुर्तेलले अब प्रचण्डसँग राख्नुपर्ने आफ्नो कुनै कुरा नभएको भन्दै भेट्न अस्वीकार गरिन् ।

‘अब जे पर्ला सहौंला भनेर अगाडि बढिसकें, प्रचण्डलाई भेटेर भन्नुपर्ने कुनै कुरा नै छैन भनें’ भुर्तेलले अनलाइनखबरसँग भनिन्, ‘उम्मेदवारी फिर्ता गर्ने दिन नै प्रचण्डले फोन गरेर अन्य ठाउँमा व्यवस्थापन गर्ने बताउनुभएको थियो । यतिका वर्षसम्म फर्केर नहेर्ने, अहिले आएर प्रलोभन देखाएर विश्वास नगर्ने बताएँ ।’

माओवादी सशस्त्र संघर्षका क्रममा २०६१ वैशाखमा उनका बुवा राजविक्रम र आमा सीता भुर्तेललाई नेपाली सेनाले हत्या गरेको थियो । त्यो बेला आफू १५ वर्ष मात्रै रहेको र साना भाइबहिनीको अभिभावक बनेर हुर्काउँदा पार्टीले नहेरेको उनको गुनासो छ ।

यो पटक कास्की क्षेत्र नम्बर ३ बाट उनको नाम पनि केन्द्रमा सिफारिस भएको थियो । तर, प्रतिनिधिसभा र प्रदेश सभामा पनि टिकट नपाएपछि उनले बागी उम्मेदवारी दिएकी हुन् । एमालेले दामोदर बैरागीलाई उम्मेदवार बनाएको छ ।

क्षेत्र नम्बर २ र ३ मात्रै होइन, कास्कीका तीन वटै क्षेत्रमा गठबन्धन कसिलो बनेको छैन । टिकट वितरणलाई लिएर सबैजसो क्षेत्रमा असन्तुष्टि भएकाले जोखिम रहेको कांग्रेस प्रदेश सभापति शुक्रराज शर्माले बताए । यद्यपि चुनाव जित्ने उनको दाबी छ ।

सत्ता गठबन्धनमा आवद्ध दलहरूमा देखिएको खटपटलाई लक्षित गर्दै शुक्रबार भएको कार्यकर्ता प्रशिक्षणमा शीर्ष नेताहरूले एक भएर लाग्न र गठबन्धनलाई जिताउन अपील गरेका छन् । टिकट वितरण र पार्टीभित्रको असन्तुष्टिका कारण गठबन्धनलाई भोट नहाल्दा आत्मघाती हुने नेताहरूले बताएका छन् ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?