+
+

काठमाडौं–१ मा रमेश खरेललाई पछ्याउँदा‍‍‍

चुनावी प्रचारमा खरेल बाटो, पुल बनाउने जस्ता कार्यको फेहरिस्त सुनाइरहेका थिएनन् । ‘राज्यको ढुकुटीमा ब्रह्मलुट गर्नेलाई संसदमा पुर्‍याउन नहुने’ भनाइ उनी सबैजसो मतदातालाई सुनाउँथे । सुकुम्बासी भएकाले मतदाता व्यवस्थित आवासको सुरक्षा खोज्थे । स्थानीय विष्णुकुमारी राईले बस्तीलाई व्यवस्थित गर्नेलाई मत दिने वचन दिइन् ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ कात्तिक ४ गते १९:०५

शुक्रबार बिहान : ७ः१५ बजे ।
स्थान : ओमकारेश्वर मन्दिर, काठमाडौं महानगरपालिका वडा नम्बर ३१

काठमाडौं क्षेत्र नम्बर १ मा काठमाडौं महानगरपालिकाका चार वटा वडा पर्छन् । त्यसमध्ये ३१ नम्बर वडा पनि एक हो । शुक्रबार बिहान नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलले यो वडाको सुकुम्बासी बस्तीमा चुनाव प्रचार गर्ने कार्यतालिका बनाएका थिए ।

नेपाल प्रहरीका पूर्व डीआईजी खरेल हातमा प्रचार सामग्रीसहित बिहान ७ः१५ बजे ओमकारेश्वर मन्दिर आइपुगे । उनको साथमा अरू तीन जना थिए । तीमध्ये एक अञ्जना शाही यसै क्षेत्रको प्रदेश (ख) मा नेपाल सुशासन पार्टीको उम्मेदवार छिन् । बाँकी दुईसहित चारै जनाले हातमा प्रचार सामग्रीसहितको बन्द खाम बोकेका छन् ।

त्यो सामग्रीमा लेखिएको छ— ‘स्वतन्त्र राजनीतिक शक्ति नेपालको तर्फबाट २०७९ सालको विजया दशमी, शुभ दिपावली, नेपाल संवत् ११४३, छठ र इद पर्वको हार्दिक मंगलमय शुभकामनासहित सप्रेम भेट ।’ बन्द खामको आवरणको बायाँतिर काठमाडौं १ मा प्रतिनिधिसभा उम्मेदवार खरेलको तस्वीर छ । माथिल्लो भागमा नेपालको झण्डा र दायाँतिर काखमा बच्चा लिएकी आमाको तस्वीर छ ।

‘बच्चालाई काखमा लिएकी आमा’ सुशासन पार्टीको चुनाव चिह्न हो । बन्द खाममा पार्टीको परिचय तथा संक्षिप्त घोषणापत्र, उम्मेदवारको प्रतिबद्धता र उम्मेदवारी किन लगायतका प्रचार सामग्री छन् । बिहानको ७ः३० बजे खरेलको चुनावी प्रचार सुरु भयो ।

खरेलको पहिलो भेट स्थानीय यज्ञबहादुर शाहसँग भयो । ओमकारेश्वर मन्दिर पछाडिको भागमा रहेको चियापसलमा शाह अर्का एक प्रौढसँग गफिंदै थिए । शाह राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रदेश सभामा यसै क्षेत्रबाट उम्मेदवार बनेका रहेछन् । दुवैले आ–आफ्ना लागि मत मागे ।

यसपछि खरेलसहितको प्रचार टोली लक्षित स्थानतिर अघि बढ्यो । उनको टोली मन्दिरबाट ५०० मिटर जति पूर्व लागेपछि वागमती किनारमा रहेको सुकुम्बासी बस्तीमा पुग्यो ।

काठमाडौं १ मा तीन हजार बढी सुकुम्बासी मतदाता रहेको अनुमान छ । खरेलले शुक्रबार घरदैलो गर्न लागेको क्षेत्रमा बाक्लो सुकुम्बासी बस्ती छ । बस्ती प्रवेश गर्नासाथ स्थानीय लोकबहादुर लामाले ‘रमेश खरेलजी’ भन्दै बोलाए । खरेल उनको घरमा पुगेर मत मागे । ७२ वर्षीय लामाले खरेललाई मत दिने प्रतिबद्धता जनाए । लामाले उनलाई आश्वस्त पार्दै भने, ‘स्थानीय चुनावमा बालेनलाई दिएँ । अहिले तपाईंलाई नै हो ।’ यस पटक नयाँले जित्नुपर्ने लामाको तर्क थियो ।

सुकुम्बासी क्षेत्रमा खरेलको टोली रफ्तारमा थियो । भेटिएका मतदाता र कुरा गर्न चाहनेलाई खरेल आश्वस्त पार्ने कोसिस गर्थे । बस्तीमा झुम्मिएर बसेकाहरूलाई भेट्थे । हातमा प्रचार सामग्री थमाउँथे । मतदातालाई चाडपर्वको शुभकामना बाँड्थे । मतदातासँग उनको एउटै आग्रह थियो, ‘तपाईंको मत असल व्यक्तिले पाओस् ।’

टोली दक्षिणतिर लाग्दैथियो । उदयपुर गाईघाटका नवीन राई भेटिए । खरेललाई भेटेपछि उनी उत्साहित देखिए । वैदेशिक रोजगारीबाट फर्किएका उनले मतदाता नभए पनि खरेलको पक्षमा मत माग्ने बचन दिए । राईले भने, ‘तपाईंलाई चिनिरहेको छु । तपाईंको फ्यान हो म ।’ उनले खरेलसँगै फोटो पनि खिचाए ।

लामो समय प्रहरी सेवामा बिताएका तथा मिडियामा पनि छाइरहेका खरेल स्थानीयका लागि अपरिचित अनुहार थिएनन् । फरक–फरक जिल्लाबाट आएका सुकुम्बासीहरू त्यो बस्तीमा भेटिन्थे । खरेलले गृह जिल्ला सोध्थे । उनी भन्थे, ‘प्रहरीमा हुँदा तपाईंको ठाउँमा पनि कार्यरत थिएँ ।’ कतिपय त उनकै गृह जिल्ला काभ्रेका मानिस पनि भेटिन्थे । खरेलले भेटेका कति मतदाता नामावली गृह जिल्लामै थियो । तथापि, उनीहरूले खरेलप्रति सद्भाव राखेको देखिन्थ्यो ।

दक्षिणतिर प्रचार टोली अघि बढ्दै गर्दा मिलीजुली फाउण्डेसनकी प्रोजेक्ट को–अर्डिनेटर निर्मला परियार भेटिइन् । उनले खरेललाई भनिन्, ‘मेरो साथीले तपाईंलाई भोट दिनु भनेकी छिन् ।’ उनले आफ्नी आमालाई पनि ‘आमा’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गरिन् ।

स्थानीय मतदातालाई खरेलले नेतृत्व गरेको दलको नाम कमैलाई थाहा छ । २०७८ मंसिरमा पार्टी गठन गरेका खरेलले त्यसै सालको पुस २२ मा निर्वाचन आयोगमा दल दर्ता गराएका थिए । तर, खरेल परिचित अनुहार भएकाले उनले केहीलाई मात्रै ‘म पूर्व प्रहरी’ भने पुग्छ । ५२ वर्षीय रामबहादुर लामाले ‘डीआईजी सा’ब जय नेपाल’ भन्दै खरेललाई सलाम नै ठोके ।

खरेलको प्रचार टोलीको अर्को विशेषता थियो– मतदातासँग भेट हुन नसके घरमा प्रचार सामग्री गेटबाट छिराउने । संयुक्त आवास रहेको ‘चौबिस निकेतन परिवार’ आवासमा यो टोली छिर्‍यो । २४ घरको संयुक्त आवासमा एक जनालाई मात्रै खरेलले भेट्न पाए । तर, सबै घरमा प्रचार सामग्री गेटबाट छिराइदिए । यो आवास क्षेत्र सुकुम्बासी बस्तीसँग जोडिएको छ ।

चुनावी प्रचारमा खरेल बाटो, पुल बनाउने जस्ता कार्यको फेहरिस्त सुनाइरहेकै थिएनन् । ‘राज्यको ढुकुटीमा ब्रह्मलुट गर्नेलाई संसदमा पुर्‍याउन नहुने’ भनाइ उनी सबैजसो मतदातालाई सुनाउँथे । सुकुम्बासी भएकाले मतदाता व्यवस्थित आवासको सुरक्षा खोज्थे । स्थानीय विष्णुकुमारी राईले बस्तीलाई व्यवस्थित गर्नेलाई मत दिने वचन दिइन् । अरूलाई पटक–पटक हेरिएको सुनाउँदै उनले यसपटक नयाँ उम्मेदवारलाई मत दिने सोच बनाएको बताइन् ।

खरेल दोहोरो संवाद गरेका मतदाताको नम्बर माग्थे । आफ्नो नम्बरबाट मिसकल गर्थे । ‘अन्तिममा १०० भएको मेरो नम्बर है’ भन्दै सुनाउँथे । प्रचार टोली अघि बढ्दै बानेश्वर बहुमुखी क्याम्पस नजिक आयो । स्थानीय अच्युत प्रधानले परैबाट खरेललाई भने, ‘भोट तपाईंलाई दिने हो । जसरी पनि जित्नुस् ।’ खरेल उज्यालो अनुहार लगाए, पुलकित भए । प्रधानलाई धन्यवाद दिए । तिनकुने गैह्रीगाउँको चियापसलमा केही स्थानीय चिया गफ गरिरहेका थिए । खरेलले आफूले बोल्दै आएका कुरा दोहोर्‍याए । ‘भोट कसलाई दिने तपाईंहरूको अधिकार हो । असल व्यक्ति छान्नुहोला ।’ चिया पिइरहेका एकले भने, ‘यसपटक तपाईंलाई ।’

हातमा भएका र झोलामा बोकेका प्रचार सामग्री सकिन लागेका थिए । शुक्रबारको बिहानी प्रचारको अन्तिम ठाउँ शान्तिनगर तरकारी बजारलाई बनाउने खरेलले निर्णय लिए । टोली तरकारी बजार छिर्‍यो । सबैजसो स्टलमा पुगेर खरेलले प्रचार सामग्री थमाए । मत मागे । अरूलाई पनि भनिदिन आग्रह गरे । तरकारी बजारमा भएकाहरूमा धेरैजसो बाहिरका मतदाता थिए । उनीहरू केहीले खरेलसँग सेल्फी लिए । विजयको शुभकामना दिए । यहाँ पनि केहीले मूलधारका दलहरूप्रति आक्रोश पोख्न भ्याइहाले ।

शुक्रबार बिहानदेखि मध्यान्हसम्म खरेललाई पिछा गर्दा उनीप्रति शुभेच्छा राख्नेहरू उल्लेख्य मात्रामा भेटिए । तर, चुनाव हो उम्मेदवारको चुनाव चिह्नमा स्वस्तिक छाप लगाएर मतपेटिकामा नखसाउँदासम्म कसको बारेमा के भन्न सकिन्छ र ?

बिहानको प्रचार सकियो । जहाँबाट प्रचार सुरु भएको थियो त्यतैतिर टोली फर्कियो । हिंड्दै ओमकारेश्वर मन्दिर फर्कने क्रममा खरेल अनलाइनखबरसँग छोटो संवाद गर्न तयार भए ।

उनलाई हाम्रो पहिलो प्रश्न थियो :

सुरक्षा निकायको उच्च पदमा बसेको व्यक्ति अहिले राजनीतिमा सक्रिय हुनुहुन्छ । आफू मातहतको प्रहरी संरचना सञ्चालन गर्नु र सक्रिय राजनीति गर्नु कुन सजिलो हुने रहेछ ?

मेरा लागि केही पनि गाह्रो छैन । सुरक्षा निकायको युनिफर्म लगाउँदा आफूले आफूलाई भुईंमान्छे ठान्नुपर्दछ । नागरिकको सेवक ठान्नुपर्दछ । जुन पेशामा गए पनि सेवकको हिसाबले काम गर्नुभयो भने तपाईं जति ठूलो पदमा बसेर बाहिर आए पनि गाह्रो हुँदैन । तर, पदको दुरुपयोग गर्नुभयो भने समाजमा आउन गाह्रो पर्दछ । राजनीति पनि समाजसेवा हो । प्रहरीको सेवा पनि समाजसेवा हो । मलाई दुइटै उस्तै उस्तै लागेको छ ।

अरू दलभन्दा अघि नै घरदैलो प्रचारमा निस्कनुभएको छ । मतदाताले तपाईंप्रति राख्ने धारणा कस्तो छ ?

तपाईंहरू पाँच वर्षमा आउनुहुन्छ, त्यसपछि फर्केर आउनुहुन्न भन्ने धेरैको गुनासो छ । ३३ वर्षसम्म केही नगरेकोे भन्दै अघि–अघि जितेका दलहरूप्रति आक्रोश व्यक्त गर्नुहुन्छ । जसले जित्दै आए उनीहरूलाई ढँटुवा भन्नुहुन्छ । निर्वाचित भएर गएका यसअघिका उम्मेदवारप्रति विश्वास देखिन्न । भनाइ र गराइमा फरक हुँदा नै मतदाताले उनीहरूलाई भरोसा गर्ने अवस्था छैन ।

म सबैजसो मतदाताकहाँ पुगें । जित्ने अवस्थामा म पुगिसके जस्तो लाग्छ । उत्साहित छु । मान्छेहरूले परिवर्तन खोजेका छन् । विवेकी र असल मान्छे संसदमा पुगेको देख्ने चाहना उहाँहरूको छ । म जित्नेमा ढुक्क छु ।

मूलधारका राजनीतिक दलको वडा तहमा संगठन भएकाले प्रचार गर्न सहज पनि होला । तपाईंको संगठन छैन । प्रचारका लागि तपाईंलाई कठिन भएको होला है ?

संगठन नभए पनि मूलधारका दलभन्दा मलाई सहज छ । आफ्नो क्षेत्रमा सफल नतिजा दिएको व्यक्ति हुँ । प्रहरी सेवामा रहँदाको मेरो सफल विगत छ । नागरिकले विगतको मेरो भूमिकाको परीक्षण गरिसक्नुभएको छ ।

मसँग प्रचारमा धेरै जना हुनुहुन्न । धेरै जना प्रचारमा हिंडेर मात्रै यो प्रभावकारी हुने भन्ने पनि होइन । मैले गरेको कर्म यस क्षेत्रका प्रत्येक दाजुभाइ, दिदीबहिनीलाई थाहा छ । प्रहरी सेवा तथा खेल क्षेत्रमा मैले गरेको योगदान सबैलाई थाहा छ । सुशासन अभियानमा लागेको छु । त्यसकारण प्रचारका लागि मलाई केही अप्ठ्यारो छैन ।

तपाईंले यही क्षेत्र रोज्नुको कारण  के हो ?

म यसै क्षेत्रको मतदाता हुँ । २० वर्षदेखि यही क्षेत्रमा बसेको छु । डेरा बस्दा पनि काठमाडौं १ मै बसेको थिएँ । जीवनको धेरै समय यहाँ व्यतीत गरें । साथीसँगी धेरै काठमाडौं १ मै छन् ।

प्रहरी सेवामा हुँदा दुई पटक काठमाडौंको इन्चार्ज भएँ । यहाँ मैले सेवा गरेको छु । शान्ति सुरक्षा तथा अमनचैनका लागि काम गरेको छु । इमानदारीपूर्वक काम गरें । यहाँका मतदाताले मलाई राम्रोसँग चिन्नुहुन्छ । यहाँका मतदाता विवेकी हुनुहुन्छ । कसैबाट प्रभावित हुनुहुन्न, उहाँहरूलाई कसैले प्रभावमा पार्न पनि सक्दैन । त्यसैले काठमाडौं क्षेत्र नम्बर १ रोजेको हुँ ।

यस क्षेत्रमा महानगरका चारवटा वडा छन् । तपाईं अलि अघिदेखि नै प्रचारमा निस्कनुभएको छ । तपाईंको प्रचार अहिले कुन चरणमा पुगेको छ ?

अहिलेसम्म म सबैजसोको घरदैलोमा पुगिसकेको छु । तर पनि, कतिपयको रमेश खरेल मेरोमा आएन भन्ने गुनासो छ । अहिले प्रत्येक घर पुग्ने हाम्रो कार्य पर्वहरूको शुभकामना दिनेगरी छ । कात्तिक १७ गतेपछि निर्वाचन प्रचारको शैली परिवर्तन हुन्छ । निर्वाचन आयोगले दिएको समय अनुसार फेरि घर–घरमा पुग्नेछु ।

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?