+
+

महासचिव पोखरेलको निर्वाचन क्षेत्रमा किन भएन एमालेको तालमेल ?

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ कात्तिक ५ गते २०:११

५ कात्तिक, दाङ । मंसिर ४ को निर्वाचन एक्लै लड्ने घोषणा गरेको नेकपा एमाले पनि अन्ततः जसपा र राप्रपासँग तालमेल गरेर सत्ता गठबन्धनसँग प्रतिस्पर्धामा होमिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रसहित २५ स्थानमा तालमेल गरेको एमालेले महासचिव शंकर पोखरेलको गृह जिल्ला दाङमा भने कसैसँग तालमेल गरेन ।

राप्रपा र जसपासँग तालमेल नभएपछि महासचिव पोखरेल दाङ क्षेत्र नं. २ बाट एक्लै चुनावी मैदानमा छन् । उनको चुनावी प्रतिस्पर्धा गठबन्धनबाट उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेता एवं पूर्वमन्त्री रेखा शर्मासँग छ । शर्मालाई नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, जनमोर्चा र लोसपा गरी पाँच दलको साथ छ ।

महासचिव पोखरेलको निर्वाचन क्षेत्रमा तालमेल नहुने भएपछि राप्रपा र जसपाले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा प्रतिनिधि र प्रदेश सभा तर्फ उम्मेदवार उठाएका छन् ।

०७४ सालको निर्वाचनमा कांग्रेससँग चुनावी तालमेल गर्दा पार्टीलाई क्षति पुगेको भन्दै यो पटक सुरुदेखि नै अन्य दलसँग तालमेलको पक्षमा आफूहरु नरहेको दाङका राप्रपा नेताहरु बताउँछन् । ‘विगतमा हामीले गठबन्धन गरेर हेरिसक्यौं’ राप्रपाका जिल्ला अध्यक्ष क्षेत्रबहादुर बस्नेतले भने, ‘गठबन्धन गर्दा पार्टी झन् कमजोर भएको महसुस गर्यौं । विगतको समीक्षा गर्दै यो निर्वाचनमा कुनै दलसँग तालमेल गर्ने मनसायमा थिएनौंं ।’

उनले चुनावी तालमेलबारे जिल्लामा राप्रपा र एमालेबीच छलफल नै नभएको बताए । ‘उहाँहरु हामीलाई खोज्दै आउनु भएन, हामी पनि उहाँहरुलाई खोज्दै गएनौं,’ बस्नेतले भने ।

यता एमालेले जिल्लामा राप्रपासँग चुनावी तालमेल नै गर्न नचाहेको बताउँछ । पोखरेल हेभिवेट नेता र बलियो उम्मेदवार भएकाले अन्य दलसँग तालमेल गर्न आवश्यक नपरेको एमालेका नेताहरु बताउँछन् । आफ्नो संगठन बलियो भएकाले कसैको साथविना दाङमा निर्वाचन जित्ने दाबी एमालेको छ ।

शंकरलाई पर्न सक्छ भारी

पाँच दलको साथ रहेको सत्ता गठबन्धनविरुद्ध एक्लै जित निकाल्न महासचिव पोखरेलाई सहज भने छैन । यस्तोमा जिल्लामा चौथो शक्ति रहेको राप्रपाको साथविना एक्लै चुनावमा उभिदा पोखेरलाई सत्ता गठबन्धन भारी पर्ने सम्भावना देखिन्छ ।

स्थानीय तहको चुनावमा वडा अध्यक्षहरुले पाएको मत परिणाम हेर्दा जिल्लाभर राप्रपाको करिब ८ हजार मत देखिन्छ । यदि राप्रपासँग तालमेल हुन्थ्यो भने महासचिव पोखरेललाई जित निकाल्न सहज हुन्थ्यो । तर अहिलेसम्म कुनै विवादमा नपरेकी र सरल जीवनशैली भएकी माओवादी नेता रेखा शर्मा सत्ता गठबन्धनको तर्फबाट प्रतिस्पर्धामा रहेकाले पनि चुनावी नतिजा कसको पक्षमा जाला भन्ने चासो छ ।

दाङ क्षेत्र नं. २ मा सत्ता गठबन्धनकै मर्म अनुसार मत खसेमा भने पोखरेलले जित्न मुस्किल हुने देखिन्छ । वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा दाङ-२ मा पर्ने २७ वटा वडाध्यक्षहरुले पाएको मत हेर्दा एमालेभन्दा सत्ता गठबन्धनको धेरै छ ।

नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारहरुले ३३ हजार ५९३ मत ल्याएका छन् । नेपाली कांग्रेसका उम्मेदवारहरुले २३ हजार ३०१, माओवादी केन्द्रका उम्मेदवारहरुले १० हजार ४७८ र नेकपा एकीकृत समाजवादीका उम्मेदवारहरुले २ हजार ९४२ मत ल्याएका छन् । गठबन्धन दलको कूल मत ३६ हजार ७२१ र एमालेको ३३ हजार ५९३ मत हुन जान्छ ।

यस्तो अवस्थामा दाङ-२ मा पनि राप्रपासँग तालमेल भएको भए पोखरेलको जित निकाल्न सहज हुन्थ्यो । तर राप्रपाले उम्मेदवार नै खडा गरेकाले अब तालमेलको सम्भावना नरहेको राप्रपाका जिल्ला उपसभापति वंशीकुमार शर्मा बताउँछन् ।

निर्वाचनमा कडा टक्कर हुने भएपछि एमाले नेताहरु सत्ता गठबन्धनका दलभित्रै खेलेर भोट तान्ने रणनीतिमा छन् । दाङ जिल्लाका एमालेका एक नेताले अनलाइनखबरसँग भने, ‘चुनावमा महासचिवलाई ढुकचुक छ । त्यसैले भोट तानतुन नपारी नहुने स्थिति छ ।’

एमाले महासचिव पोखरेललाई यो निर्वाचन जसरी पनि जित्नुपर्ने दबाब छ । उनी ०५१ सालयताका संघ तर्फका कुनै पनि निर्वाचन प्रत्यक्ष जितेर संघीय सांसद बनेका छैनन् । ०६४ सालमा उनी समानुपातिकबाट सांसद बनेका थिए । त्यसैले यसपटकको निर्वाचन जसरी पनि जितेर पार्टी र संसदमा अझ बलियो प्रभाव पार्न पोखरेल चाहन्छन् ।

दाङ- २ माओवादी नेता कृष्णबहादुर महराको निर्वाचन क्षेत्र भएको सुरुमा महरासँग पोखरेलको भिडन्त हुने चर्चा थियो । तर महरा पछि हट्दा अहिले यो अवसर रेखा शर्माले पाएकी छन् । महराले ठाउँ छाडेसँगै उनी एमालेका पोखरेलविरुद्ध चुनावमा होमिएकी छन् ।

२०७० सालको पहिलो संविधानसभा र २०७४ सालको प्रतिनिधिसभामा समानुपातिक सांसद बनेकी शर्मा पहिलो पटक प्रत्यक्ष चुनाव लड्न लागेकी हुन् । उनी शंकर पोखरेलविरुद्धको प्रतिस्पर्धामा उत्साहित देखिन्छिन् । उनी भन्छिन्, ‘उहाँ (शंकर पोखरेल) प्रतिगमनको पक्षमा र म अग्रगमनको पक्षमा उभिएकाले यो लडाइँ लड्न असहज लागेको छैन ।’

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?