+
+

रुपन्देही-२ : विष्णु पौडेललाई हाइसन्चो, के गर्ला गठबन्धन ?

टोपराज शर्मा टोपराज शर्मा
२०७९ कात्तिक ५ गते १७:५४
नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल

५ कात्तिक, बुटवल । नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरेसँगै रुपन्देही २ मा सत्ता गठबन्धन उम्मेदवारविहीन बन्न पुगेको छ ।

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेकाले उम्मेदवार हुन अयोग्य भएको निर्वाचन अधिकृतको कार्यालयको निर्णयलाई सर्वोच्च अदालतले शुक्रबार सदर गरेपछि गुरुङ उम्मेदवार बन्ने ढोका बन्द भएको हो । अब यो क्षेत्रमा २०६४, २०७० र २०७४ को चुनावमा लगातार जितेर ह्याट्रिक गरेका नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेल प्रतिस्पर्धीविहीन जस्तै भएका छन् ।

दुईपटक अर्थमन्त्री, जलस्रोत, रक्षासहित उपप्रधानमन्त्रीको जिम्मेवारी पूरा गरिसकेका पौडेलसँग केही साना पार्टी र स्वतन्त्र गरी १५ जना उम्मेदवार चुनावी मैदानमा हुनेछन् । जसमा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस बीपीकी नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् । यस्तै रुपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवार छन् ।

यो क्षेत्रमा १८ जनाको उम्मेदवारी दर्ता भएकोमा राजु गुरुङ, हाम्रो नेपाली पार्टीका डा. निकोलस भनिने कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । कमल भुसाल उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च गएका छन् । उनको मुद्दाको पेशी कात्तिक १५ गते छ । यदि उनको उम्मेदवारी कायम भए उम्मेदवारहरु १६ जना हुनेछन् ।

असन्तुष्टि

गुरुङ उम्मेदवार बन्न नपाएपछि अब सत्ता गठबन्धन के गर्ला भन्ने प्रश्न उठेको छ भने मुख्य दल नेपाली कांग्रेसभित्र असन्तुष्टिका स्वर सार्वजनिक हुन थालेका छन् । स्थानीय तह चुनावको मतका आधारमा यो क्षेत्रमा नेपाली कांग्रेस सबैभन्दा बलियो थियो तर गठबन्धनको भागबण्डामा निकै कमजोर मत रहेको एकीकृत समाजवादीले पायो ।

गठबन्धनभित्र भागबण्डाको बारेमा छलफल हुँदै गर्दा कांग्रेसको आन्तरिक बैठकमा टिकटका लागि सिफारिस कांग्रेस नेता युवराज गिरीले राजु गुरुङको उम्मेदवारी विवादास्पद बन्न सक्ने संकेत गर्दै आफूलाई प्रतिनिधिसभामा टिकट दिएर गुरुङलाई प्रदेशसभामा उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । तर उनको कुरा नेताहरुले सुनेनन् ।

‘ रुपन्देही २ मा कांग्रेसले मात्रै जित्छ अरुलाई दिएर हुन्न भन्ने जान्दाजान्दै अरुलाई सुम्पने काम नेतृत्वको अकर्मण्यता र पार्टीमाथि धोका हो,’ कांग्रेसबाटै टिकटका लागि सिफारिस अधिवक्ता कृष्ण पोखरेलले भने, ‘त्यतिबेला युवराज गिरीले भनेको सत्य ठहरियो, यसको जवाफ नेतृत्वले दिनुपर्छ ।’

कांग्रेसकै युवा नेता विष्णु पोखरेल यसलाई जबरजस्ती पार्टी बलियो भएको क्षेत्र अरुलाई सुम्पिदाको परिणाम भएको टिप्पणी गर्छन् ।

अब गठबन्धन के गर्ला ?

माओवादी केन्द्रका रुपन्देही संयोजक निर्मल जीसी एमाले बाहेकका बाँकी रहेका उम्मेदवार मध्ये जो बलियो छ उसलाई समर्थन गरेर जान सकिने बताउँछन् । ‘निर्णय त केन्द्रले गर्ला तर यहाँ भएका मध्ये राम्रो उम्मेदवारलाई समर्थन गरेर जानेबाहेक अर्को विकल्प छैन,’ जीसीले भने । कांग्रेस रुपन्देही–२ का क्षेत्रीय सचिव प्रजापाल गिरीले पनि कसलाई समर्थन गर्ने भन्ने निर्णय केन्द्रको गठबन्धनको कार्यदलले नै गर्ने बताए । ‘अहिलेसम्म के गर्ने भन्ने छलफल भएको छैन, गठबन्धनको बैठक बसेर के गर्ने भन्ने बारे टुंगो लाग्ला,’ उनले भने ।

एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम विक सत्ता गठबन्धनको बैठकले गर्ने निर्णय अनुसार अघि बढ्ने बताउँछन् ।

पौडेलले २०७४ सालमा भारी मतका साथ कांग्रेसका उम्मेदवार युवराज गिरीलाई पराजित गरेका थिए । त्यतिखेर पौडेलले ४४ हजार ९ मत ल्याउँदा गिरीले २१ हजार ९४५ मत ल्याएका थिए । अघिल्लोपटक दोब्बरभन्दा बढी मतले जितेका पौडेलका लागि यो पटक निर्वाचन जित्न सहज देखिएको छ ।

बुटवल उपमहानगरको १ देखि १३, सैनामैनाको १ देखि ४ र तिलोत्तमाको १ देखि ६ नम्बर गरी २३ वटा वडा पर्ने रुपन्देही–२ मा प्रदेशसभा (क) तर्फ ६४ हजार ४५२ र (ख) तर्फ ६४ हजार २२५ जना गरी १ लाख २८ हजार ६७७ मतदाता रहेका छन् ।

रूपन्देही २ मा पर्ने बुटवल, सैनामैना र तिलोत्तमाका २३ वडामा स्थानीय तह चुनावमा वडाअध्यक्षहरुले पाएको मत अनुसार कांग्रेसको ३४ हजार ९५९, एमालेको ३३ हजार १८७, राप्रपाको ३ हजार ९२०, माओवादीको ३ हजार १८८, एकीकृत समाजवादीको १ हजार ३८२ र जसपाको १८३ हो । स्थानीय चुनाव यता एकीकृत समाजवादी, माओवादी केन्द्र र कांग्रेसबाट एक हजार बढी नेता–कार्यकर्ता एमाले प्रवेश गरेको क्षेत्रीय संयोजक बाबुराम पन्थीको दावी छ । ‘विष्णु पौडेलको विकल्प मतदाताले खोज्दैनन्,’ पन्थी दावी गर्छन् ।

राजनीतिक विश्लेषक ऋषि आजाद रुपन्देही–२ मा नेपाली कांग्रेसकै उम्मेदवार भएको भए पौडेलसँग रोचक प्रतिस्पर्धा हुन सक्ने तर अन्य दलको जोसुकै उम्मेदवार भए पनि पौडेललाई फरक नपर्ने अवस्था बनेको बताउँछन् । ‘रुपन्देही २ मा कांग्रेस बाहेक अरु दलले पौडेलसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत छैन,’ आजादको तर्क छ, ‘कांग्रेसका मतदाताहरु पार्टीले जित्ने सम्भावना भएको क्षेत्र अरुलाई दिएर कहिले कुन दलको, कहिले कुन दलको चुनाव चिह्नमा भोट हाल्न निर्देशन दिंदा पक्कै पनि सबै कार्यकर्ताले स्वीकार्ने अवस्था देखिंदैन ।’

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?