+
+
सरकारलाई निर्वाचन आयोगको प्रश्न :

‘शीर्ष नेताहरुले चढेको हेलिकप्टर खर्च कसले ब्यहोर्छ ?’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते २०:१३

७ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले चुनावी कार्यक्रममा जाँदा शीर्ष नेताहरुले चढेको हेलिकप्टर खर्च कसले बेहोर्छ भनी सरकारलाई प्रश्न गरेको छ । आयोगले सोमबार विज्ञप्ति निकालेर यसबारे जवाफ दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयलाई भनेको छ ।

आइतबार सुर्खेतमा आयोजित सत्तारुढ गठबन्धनको भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरु हेलिकप्टरबाट गएका थिए ।

यसबारे सोमबार नै आयोगले प्रधानमन्त्री कार्यालयसँग जवाफ माग गर्ने निर्णय गरेको हो ।

‘प्रधानमन्त्री, विभिन्न राजनीतिक दलको उच्च नेतृत्वमा रहेका व्यक्ति तथा मन्त्रीहरु समेतले हेलिकप्टर सेवा प्रयोग गरेको भनी विभिन्न सञ्चारमाध्यमबाट सूचना प्राप्त भएकोले त्यसरी हेलिकप्टर प्रयोग गर्दा लागेको खर्च कुन राजनीतिक दलको खर्चको सीमाभित्र पर्ने हो सो खुलाई पठाउन त्यसरी हेलिकप्टर सेवा प्रयोग गर्ने पदाधिकारीसँग सम्बन्धित राजनीतिक दलहरुलाई लेखी पठाउने’ आयोगको निर्णय छ ।

आयोगले यही प्रश्न गरेर हेलिकप्टर चढ्ने शीर्ष नेता आवद्ध पार्टीलाई पनि सोध्ने बताएको छ । प्रधानमन्त्री र मन्त्रीहरुले हेलिकप्टर प्रयोग गरेको विषयमा आयोगमा उजुरीसमेत परेको छ ।

यसरी हेलिकप्टर सेवा लिँदा लागेको खर्चको व्ययभार सरकारी कोषमा पर्छ कि पर्दैन भनेर पनि आयोगले प्रधानमन्त्री कार्यालयलाई सोधेको छ ।

मन्त्री वा सरकारका अन्य पदाधिकारीबाट सरकारी कोषबाट रकम व्यहोर्ने गरी कुन प्रयोजनमा हेलिकप्टर प्रयोग भएको छ भन्ने विषयमा समेत आयोगले प्रधानमन्त्री कार्यालयबाट जवाफ मागेको छ ।

निर्वाचन प्रचार प्रसारका सन्दर्भमा सरकारी साधन स्रोत (हेलिकप्टर तथा अन्य साधन समेत) प्रयोग गर्नु आचारसंहिता विपरीत हो ।

यस सम्बन्धमा अध्ययन गर्न आयोगले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाएको छ । ‘यदि अख्तियारको दुरुपयोग भएको हो भने निर्वाचन प्रचार प्रसारका सन्दर्भमा हेलिकप्टर लगायतका सरकारी साधनको उपयोग भएको विषयमा आवश्यक निगरानी तथा अनुसन्धान गरीदिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरी पठाउने’ आयोगको निर्णयमा भनिएको छ ।

हेर्नुहोस् निर्वाचन आयोगको पत्र 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?