+
+

लक्ष्मीपूजामा कुलमानको आह्वान : जतिसक्दो बढी बिजुली खपत गरौं

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ७ गते १६:५०

७ कात्तिक, काठमाडौं । आज लक्ष्मीपूजा, बेलुकी झिलिमिली बनाउन अधिकांश घरमा फूल बत्ती सजाइँदैछ । नेपाल विद्युत प्राधिकरण भने ‘उज्यालो’को पर्व भएकाले आज कुनैपनि हालतमा कुनै क्षेत्रमा पनि बत्ती नजाओस् व्यवस्था गर्न विभिन्न कामको चटारोमा व्यस्त छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण विभाग प्रमुख मनोज सिलवालसहितको टोली दिउँसैदेखि काठमाडौंका विभिन्न सबस्टेसन र वितरण केन्द्र पुगेर बिजुलीको विश्वसनीय आपूर्तिको व्यवस्थाका लागि गरिएका कामको निरीक्षण गरिररहेको छ।

यही अवसरमा नेपाल विद्युत् प्राधिकरणले जतिसक्दो बढी विद्युत् खपत गर्न आग्रह गरेको छ । आन्तरिक रुपमा नै उत्पादन भएको बिजुली आज लक्ष्मीपूजाकै दिन पनि ४ सय मेगावाट भारत निर्यात गर्नुपरेको भन्दै कार्यकारी निर्देशक घिसिङले अझ करिब ५ सय मेगावाट बिजुली खेर जाने अवस्था रहेको बताए ।

‘देशभर विद्युतीय चुल्हो  र उपकरण चलाउनुपर्‍यो, विद्युतीय गाडीहरु प्रयोग गर्नुपर्‍यो,’ उनले भने,’देशको बिजुली देशभित्रै खपत गर्ने वातावरण बनाउन म सम्पूर्ण ग्राहकवर्गमा अनुरोध गर्छु ।’

सबै व्यवस्थापकीय काम सकेर कतै पनि समस्या नआउने गरी तयारी गरिएको कार्यकारी निर्देशक घिसिङले बताए । उनका अनुसार सबैजसो जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको अवस्था जाँच र मर्मत सम्भार भएको छ ।

कुनै स्थानमा समस्या आउने बित्तिकैसम्बन्धित स्थल पुगेर मर्मत गर्न नो-लाइटको टिमहरु तयारी अवस्थामा राखिएको छ ।

सबैभन्दा बढी विद्युतको माग काठमाडौं उपत्यकामा हुन्छ । आज उद्योगहरुमा बिजुलीको खासै माग नहुने भएकाले स्वदेशी बिजुलीले नै तिहार मनाउन पर्याप्त हुने घिसिङले बताए ।

स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखाल लगायतका सबस्टेसनलाई चुस्त अवस्थामा राखिएको घिसिङले बताए ।

विगतका वर्षमा जस्तै यो वर्ष पनि प्राधिकरणको घिसिङसहित उच्च अधिकारीहरुको टोली स्युचाटारको भारप्रेषण केन्द्रमा बसेर आपूर्ति व्यवस्थाको निरीक्षण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?