+
+
सर्लाही ४ :

स्वतन्त्रको चेपुवामा गठबन्धनका उम्मेदवार

बिनु सुवेदी शैलेन्द्र महतो बिनु सुवेदी, शैलेन्द्र महतो
२०७९ कात्तिक ८ गते २०:२०
नेता अमरेशकुमार सिंहको भेला ।

७ कात्तिक, बलरा (सर्लाही) । सर्लाही–४ मा हामी पुग्दा स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह काठमाडौं जाने जहाज चढ्न सिमरा एअरपोर्ट पुगेका थिए । टेलिफोन संवादमा उनले भने, ‘मेरो बहुत राम्रो प्रभाव छ नपत्याए स्थानीय बासिन्दालाई सोध्नुहोस् ।’

बलरा नगरपालिका–५ सुदामा टोल नजिकैको सानो बजारमा चियापसलमा भेटिएका दुई युवकसँग कुराकानी गर्यौं ।

कुराकानीको बिट मारेर उनीहरु आ–आफ्नो मोटरसाइकलमा बस्दा थाहा भयो अमरेशका प्रचारक रहेछन् । किनभने मोटरसाइकलको अघिल्तिर अमरेश सिंहको फोटो टाँसिएको थियो । अमरेशले मतदातालाई ‘कन्भिन्स’ गर्न युवाहरुलाई यसैगरी मोटरसाइकलमा खटाएका रहेछन् ।

उसो त सर्लाही–४ का लागि अमरेश सिंहको नाम नयाँ होइन । यही क्षेत्रबाट उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भइसकेका छन् । तेस्रो पटकमा चाहिं उनी स्वतन्त्र हैसियतमा छन् ।

सर्लाहीमा कांग्रेसभित्र दखल राख्ने नेता थिए अमरेश । तर १४ औं महाधिवेशनमा प्रतिनिधि छनोट प्रक्रियादेखि कांग्रेसको राजनीतिमा उनको ग्रह बिग्रियो । पार्टीले टिकट नदिएपछि स्वतन्त्र लड्नुबाहेक उनले उपाय देखेनन् ।

कुनै बेला पार्टीमा सँगै खट्ने र एकअर्कालाई सघाउने सहयात्री नागेन्द्रकुमार यादव अमरेशकै प्रतिस्पर्धी छन् । नागेन्द्रलाई नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी लगायत सत्ता गठबन्धनमा रहेका दलको साथ छ ।

नागेन्द्र निवर्तमान प्रतिनिधिसभा सदस्य एवम् पार्टीको पूर्वजिल्ला सभापति हुन् । उनलाई सभापति जिताउन अमरेशले सघाएका थिए । कुनै बेला अमरेशको निकट मानिने वीरेन्द्र सिंह पनि अहिले नागेन्द्रसँगै छन् ।

सत्तारुढ गठबन्धनको समर्थन पाएका नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार यादव

संस्थापन पक्षमा लागेका उनीहरुको पार्टीमा बोलवाला चलेपछि कांग्रेसभित्रको राजनीतिमा अमरेश पाखा परेको चर्चा सर्लाही–४ मा छ । प्रतिनिधिसभा निर्वाचनमा टिकटको आश गरेका अमरेशलाई क्षेत्रबाट कारबाहीको सिफारिस भएपछि उनी आफ्ना पुराना सारथिहरुका विरुद्ध बागी उठेका हुन् ।

सत्ता गठबन्धनमै रहेको दल माओवादी केन्द्रका नेता शिवपुजन रायले पनि छोरी मधुमाला यादवलाई स्वतन्त्र उम्मेदवार बनाएर गठबन्धनको अवज्ञा गरेका छन् ।

कांग्रेसमा भाँडभैलो र प्रदेशसभामा पनि टिकट नपाएपछि शिवपुजनले आफ्नी छोरीलाई स्वतन्त्रबाट उम्मेदवार उठाएका हुन् ।

शिवपुजन राय र छोरी मधुमाला ।

२०६३ को मधेश आन्दोलनदेखि राजनीतिमा सक्रिय शिवपुजन २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन सर्लाही–६ मा मधेशी जनअधिकार फोरम नेपालबाट निर्वाचित भए ।

कांग्रेसका अमरेश सिंहलाई पराजित गर्दै उनले जित निकालेका थिए । त्यतिबेला उनी रातो पासपोर्ट दुरुपयोग प्रकरणमा मुछिए । २०७० को चुनावमा उनी किसान छापबाट प्रतिस्पर्धा गरे, तर पराजित भए ।

२०७४ मा माओवादी पार्टीमा प्रवेश गरेर उनले सर्लाही ४ बाटै टिकट पाए पनि अन्तिम समयमा उनको उम्मेदवारी सर्वोच्च अदालतले खारेज गरिदियो ।

३० वैशाखको स्थानीय चुनावमा शिवपुजनले रामनगर गाउँपालिका अध्यक्षमा आफ्ना कान्छा छोरा राजाबाबु यादवलाई चुनाव जिताए भने यति बेला छोरी मधुमालालाई उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रेका छन् ।

यो क्षेत्रमा अमरेश र शिवपुजनबीच शक्तिको लडाईं बेलाबेला चलिरहन्छ । यस क्षेत्रमा अमरेश सिंहको जस्तै प्रभाव शिवपुजनको पनि छ । यसपालि छोरीले दिएको स्वतन्त्र उम्मेदवारीमार्फत प्रतिस्पर्धामा आएका शिवपुजनले आफ्नो प्रतिस्पर्धी अमरेशलाई नै मानेका छन् ।

नेताहरुबीचको प्रतिष्ठाको लडाईंले स्वतन्त्र उम्मेदवारहरु प्रतिस्पर्धा गरिरहेका बेला सत्ता गठबन्धन र एमाले जसपा गठबन्धनका आधिकारिक उम्मेदवारहरु भने दबावमा देखिएका छन् ।

२०५६ को संसदीय चुनावमा सर्लाही ४ बाट जितेका नागेन्द्र निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । उनी २०७४ को निर्वाचनमा समानुपातिक पद्धतिबाट सांसद भएका थिए । उनी पाँचदलीय गठबन्धनका संयुक्त उम्मेदवार बनेका छन् ।

यो क्षेत्रमा कांग्रेस महामन्त्री गगन थापा चुनाव लड्ने चर्चा थियो । संस्थापन पक्षकै भएका कारण नागेन्द्रले टिकट पाए ।

सर्लाही ४ मा गठबन्धन कांग्रेस–माओवादीको मात्रै छैन, एमाले र जसपाको पनि छ । जसपाका उम्मेदवार राकेश मिश्र २०७४ को निर्वाचनमा उनी यसै क्षेत्रमा राजपाबाट उम्मेदवार थिए र अमरेश सिंहसँग पराजित भएका थिए ।

अमरेशले २९ हजार ६७५ मतसहित निर्वाचित हुँदा राकेश २८ हजार १३६ मतमा सीमित भएका थिए । अन्य उम्मेदवारले जमानत समेत जोगाउन सकेनन् ।

राजपा फोरम गठबन्धनका उम्मेदवार रहेका राकेशलाई शिवपुजनको उम्मेदवारी अन्तिम समयमा खारेज हुँदा वाम गठबन्धनको समेत मत परेको चर्चा हुने गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि यस क्षेत्रमा २० जनाले उम्मेदवारी दिएका छन् । तीमध्ये नौ जना त स्वतन्त्र मात्रै छन् ।

गत स्थानीय तह निर्वाचनमा सर्लाही ४ भित्र पर्ने वडाहरुमा कांग्रेसको २३ हजार १३१, माओवादी केन्द्रको १८ हजार ६६५, लोसपाको १४ हजार ७३१, एमालेको ११ हजार ६७४, जसपाको ६ हजार ४३३, जनमत पार्टीको २ हजार ६१२, एकीकृत समाजवादीको ६०९ मत आएको थियो ।

उम्मेदवारहरु के भन्छन् ?

अमरेशकुमार सिंह, स्वतन्त्र

यति ग्यारेन्टी गर्छु कि म जित्छु । यहाँ जति बाटो, पुल लगायत विकासको काम भएको छ, लगातार सांसद भएर मैले नै गरेको छु । संसदमा जोडदार बोलेपछि मलाई कांग्रेसले टिकट दिएन भनेर जनतामा व्यापक आक्रोश छ । ममाथि अन्याय भएको जनताले भनिरहेका छन् । गठबन्धनकै दुवै उम्मेदवार बाहिरिया हुन् । यो क्षेत्रमा कसैको घर नै छैन ।

यो क्षेत्रमा दुईजनाको मात्रै प्रभाव छ, मेरो र शिवपुजन रायको । मेरो प्रतिस्पर्धा स्वतन्त्र उठेकी शिवपुजनकी छोरी मधुमालासँग हुन्छ । हामी गठबन्धनको बागी हौं । त्यसैले गठबन्धनले जित्ने अवस्था न्यून छ ।

म ३० वर्षदेखि राजनीतिमा छु । १५ वर्षदेखि निरन्तर चुनाव जित्दैछु । त्यसैले यो क्षेत्रको आवश्यकता मैले बुझ्छु ।

मधुमाला यादव, स्वतन्त्र

मैले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकी हुँ । बुवाले मलाई उठाउनुभएको होइन, जनताले उठाएको हो । युवामा परिवर्तनको चाहना छ, त्यसैले उनीहरुले मलाई परिवर्तनकै लागि उम्मेदवार बनाएका हुन् ।

शिक्षा, स्वास्थ्य क्षेत्रको सुधार, दाइजो प्रथा अन्त्य गर्ने प्रयास, महिलामाथि भइरहेको हत्या हिंसाविरुद्ध आवाज उठाउनेछु । यहाँको एकएक समस्याको लागि सदनमा आवाज उठाउँछु । जुन यहाँबाट जितेर गएका कसैले केही गरेका छैनन् ।

नागेन्द्रकुमार यादव, नेपाली कांग्रेस

मेरो जित्ने प्रमुख आधार गठबन्धनको मत हो । कांग्रेसका बागी अमरेश सिंह र माओवादीबाट शिवपुजन रायकी छोरी स्वतन्त्र उठे पनि मलाई खासै फरक पर्दैन । गठबन्धनको ५६ हजार मत छ । यदि ५–७ हजार मत घटे पनि दुईवटा प्रदेशसभा सदस्यसहित तीनैजना चुनाव जित्छौं ।

शिवपुजनकी छोरी (मधुमाला) लाई केही मुट्ठीभर कार्यकर्ताले मत दिन्छन् । यसपटक जमानत जोगाउन सक्दैनन् । अमरेश सिंहको पछाडि कति जनता छन् र ? उनी कांग्रेस नै छैनन् भने कांग्रेसको मत कसरी पर्छ ?

विगतमा पनि उनको काम पटक पटक जनताले हेरिसकेका छन् । म विगतमा पनि यही क्षेत्रबाट लडेको छु, जितेको छु । अहिले बाहिरिया भनेर हल्ला फैलाइँदैछ । जनता झुक्किंदैनन्, यो क्षेत्रमा म जित्दैछु ।

राकेश मिश्र, एमाले जसपा गठबन्धन

मेरो जित्ने प्रमुख आधार किसान आन्दोलन हो । पहिला सरकारले उखु किसानलाई दिएको अनुदान उद्योगीको खातामा आउँथ्यो । हाम्रो आन्दोलनले अब किसानको खातामा आउन थालेको छ ।

मेरो आन्दोलन बेथिति विरुद्ध हो, यसमा सारा किसान, जनता, बुद्धिजीवीको साथ छ । विगतमा थोरै मतले हारेको थिएँ ।

यसपटक सत्ता गठबन्धनमा बागी उम्मेदवारहरु छन् । हाम्रोमा त्यस्तो कुनै समस्या छैन । अमरेश सिंहले जहिल्यै पनि धाँधली गरेर जिते । यसपटक मैले जित्ने प्रबल सम्भावना छ ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?