+
+

गर्भावस्थामा डेंगुले सताए औषधि खान मिल्छ ?

डा. कुमकुम झा डा. कुमकुम झा
२०७९ कात्तिक ८ गते १४:०४
डा. कुमकुम झा

सर्वत्र डेंगुको सन्त्रास छ । गर्भावस्थामा रहेका कति महिलालाई पनि यसले सताएको हुनसक्छ । डेंगुको संक्रमण भएमा दुखाइ कम गर्न विभिन्न औषधि खाने गरिएको छ । सामान्य अवस्थामा यी औषधिले अरु असर नगर्ला । तर गर्भवतीले यस्ता औषधि खाँदा त्यसले गर्भको बच्चामा असर पो गर्ने हो कि ? धेरैमा यो संशय हुनसक्छ ।

गर्भावस्थामा सकेसम्म डेंगुबाट बचौं

गर्भावस्थामा डेंगु भएमा के गर्ने भन्दा पनि गर्भावस्थामा सकेसम्म डेंगु संक्रमणबाट बच्न सके राम्रो हुन्छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएको लुगा लगाउने, घर वरपर फोहोर पानी जम्न नदिने र झुल लगाएर सुत्ने गर्नुपर्छ ।

यदि केही गरी डेंगु लागिहाल्यो भने पनि धेरै आत्तिनु हुँदैन । डाक्टरको परामर्श लिएर पारासिटामोलको सेवन गर्न सकिन्छ । पेनकिलरको प्रयोग भने गर्नु हुँदैन ।

गर्भावस्थामा दुखाइ कम गर्ने औषधि

डेंगु संक्रमणले गर्भवती र पेटभित्रको शिशुको स्वास्थ्यमा प्रत्यक्ष असर गर्दैन । डेंगु हुँदा शरीर दुख्ने, टाउको दुख्ने, बेचैन हुने, अत्यधिक पेटको दुखाइ हुनेलगायत लक्षण देखिन्छ । त्यो दुखाइ कम गर्न गर्भवतीले पेनकिलरको सेवन गर्न मिल्दैन ।

अन्य व्यक्तिले यस्तो समस्या देखिंदा पेनकिलर प्रयोग गरे पनि गर्भवतीले यस्ता औषधि प्रयोग गर्न मिल्दैन । किनकि पेनकिलरको सेवनले गर्भवती महिला तथा बच्चामा जोखिम समेत निम्त्याउँछ । डेंगुको संक्रमण भइहाले पारासिटामोलको प्रयोगसम्म गर्न सकिन्छ, तर त्यसका लागि पनि डाक्टरको सल्लाह लिनुपर्छ ।

गर्भको बच्चामा समस्या हुँदैन

गर्भावस्थामा डेंगु भएमा पछि जन्मिएको बच्चामा कुनै खोट वा समस्या देखिने सम्भावना हुँदैन । गर्भावस्थामा डेंगु हुँदा गर्भवती महिलालाई भने समस्या हुनसक्छ । गर्भावस्था एकदमै संवेदनशील समय हुने भएकाले यस समयमा झन् अर्को समस्या थपिंदा झन् गाह्रो हुन्छ ।

डेंगुले गर्भवतीलाई थप जटिल बनाउन सक्छ

यसै पनि गर्भावस्थामा महिलामा प्लेटलेट्सको मात्रा कम हुन्छ र डेंगु संक्रमणले प्लेटलेट्स घटाउने भएकाले थप जटिलता निम्तिन्छ । शारीरिक दुखाइले पनि गर्भवतीलाई समस्या हुन्छ ।

गर्भावस्थामा देखिने अन्य समस्या

उच्च रक्तचाप, मधुमेह, पिसाबमा प्रोटिन देखिने र कब्जियतजस्ता समस्या पनि गर्भवती महिलालाई हुनसक्छ ।

जथाभावी औषधि नखाऔं

गर्भावस्थामा कुनै रोग लागेमा वा कुनै औषधिको सेवन गर्नुपरेमा डाक्टरको सल्लाह बिना प्रयोग गर्न हुन्न । औषधिको पनि विभिन्न क्याटगोरी हुन्छ ए, बी, सी र डी । त्यो क्याटागोरीमा गर्भवती महिलालाई दिने औषधि ए, बी क्याटागोरीका हुन्छन् । जुन आमा र बच्चाको लागि सुरक्षित हुन्छ ।

त्यसैले कुनै पनि समस्या देखिए अस्पताल गएर डाक्टरको परामर्श लिएर मात्र औषधि  सेवन गर्नुपर्छ, र त्यसले बच्चामा केही असर गर्दैन । गर्भवती महिलाले कुनै औषधि खानै हुन्न सबैले बच्चालाई असर गर्छ भन्ने हुँदैन ।

जब गर्भवती बिरामी हुन्छिन्

गर्भवती बिरामी भएर उपचार गर्नुपर्ने अवस्था आयो र समयमा नै उपचार गरे बच्चा सुरक्षित, सग्लो र स्वस्थ नै रहन्छ । तर बिरामी भएर समयमा उपचार भएन भने चाहिं बच्चा र आमालाई नै जोखिम हुनसक्छ ।

गर्भावस्थामा स्वास्थ्यको ख्याल

योजना बनाएर मात्र गर्भ राख्नुपर्छ । यसो गर्दा महिलामा कुनै स्वास्थ्य समस्या छ भने पनि त्यसको उपचार हुन्छ र गर्भावस्थामा हुने जोखिमलाई कम गर्न सकिन्छ ।

गर्भावस्थामा खानपान, स्वच्छताको पनि ख्याल राख्नुपर्छ । प्रशस्त मात्रामा पानी पिउने स्वस्थकर र पोषणयुक्त खानेकुरा खानुपर्छ । गर्भवतीले मानसिक तनाव लिने, धेरै धपेडी वा दौडधुप गर्नेजस्ता गतिविधि गर्नुहुँदैन । नियमित गर्भको परीक्षण र चिकित्सकको परामर्शले यस्ता जोखिममा कमी ल्याउन सकिन्छ ।

(प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. झासँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?