+
+

नोस्टाल्जिक बनाउने ५ देउसी-भैलो गीत

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक ८ गते १७:२३

काठमाडौं । तिहारमा के हुन्न ? मीठो पकवान, झिलिमिली उज्यालो, पशुपंक्षीको पूजा, चेली-माइतीको हार्दिकता, ढाका टोपी उपहार । अनि मधुर नाचगान पनि । कति सप्तरंगी पर्व ?

नाचगानको आफ्नो विशिष्ट र मौलिक शैलीले तिहारलाई पृथक बनाएको छ । जसै तिहारको कुरा आउँछ, देउसी-भैलो अभिन्न रुपमा जोडिन आइपुग्छ । ‘आहै भन भन भाइ हो, देउसीरे’ भन्दै घर-आँगनमा आइपुग्ने देउसे टोली हुन् वा ‘भैलिनी आइन् आँगन’ गाउँदै आउने भैलेनी टोली, तिहारको रातलाई संगीतमय बनाइदिन्छन् । यस्तो भाका सुन्दा हाम्रो हृदय हार्दिकताले गद्गद् हुने गर्छ ।

चाहे दूरदराजको गाउँमा होस् वा भौतिक सेवासुविधाले सम्पन्न सहरमा, चाहे देशमा होस् वा परदेशमा देउसी-भैलो गुञ्जिएकै हुन्छ । तिहारको रात विश्वभरका नेपालीमाझ गुञ्जिने साझा भाका हो यो ।

तिहारमा गाइने देउसी-भैलोको आफ्नै विधि र शैली छन् । विधिवत रुपमा अनि परम्परागत शैलीमा खेलिंदै देउसी-भैलोले औंसीको अँध्यारो रातमा उत्साहको भाका सुनाउँछ । सुख, समृद्धि र ऐश्वर्यको आशिष दिन्छ । अन्ततः घरबेटी आमै मन खोलेर दान-दक्षिणाका लागि तत्पर हुन्छिन् ।

यतिबेला रेडियो, टेलिभिजनदेखि मोबाइलको रिङटोनसम्ममा देउसी-भैलोको भाका गुञ्जिएको छ । युट्युबमा पनि देउसी-भैलोका केही यस्ता गीत छन्, जसले विश्वभरका नेपालीलाई नोस्टाल्जिक बनाइदिन्छ ।

अरुण उपत्यकाको ‘आहै झिलिमिली झिलिमिली’

म्युजिक नेपालको युट्युब च्यानलमा रहेको यो देउसी-भैलो गीत निकै रुचाइएको छ । परम्परागत शैलीमा मीठो भाका हालेर गाइएको यो गीतको भिडियो अहिलेसम्म १५ लाख पटक हेरिएको छ । नवीनकुमार खड्का र लक्ष्मीप्रसाद पराजुलीले संकलन गरेको यो देउसी गीतमा नवीनकुमार खड्का, पशुपति खड्का, बलराम समाल, अच्युत दवाडी, एमी खड्का र भीम बस्नेतले स्वर भरेका छन् ।

टंक बुढाथोकीको ‘ भन भन भाइ हो, देउसीरे’

गायक टंक बुढाथोकीले गाएको देउसिरे गीत निकै कर्णप्रिय छ । भिडियोमा उनले प्रहरीहरुसँग देउसी खेलिरहेको देखिन्छ । यो गीतको भिडियो अहिलेसम्म १ करोड ३२ लाख पटक हेरिएको छ ।

 

अक्षता अधिकारीको ‘झिलीमिली रातमा’

पछिल्लो समय युवापुस्तामाझ निकै चर्चित देउसी गीत हो यो । यसमा अक्षता अधिकारीले भट्याएकी छिन् । उनलाई नवाज अन्सारी, रोल्यान्ड कार्बेटी मिक्ली आदिले साथ दिएका छन् । यो गीतको संयोजन अल्मोडा राना उप्रेतीले गरेका हुन् । गीतको म्युजिक भिडियो निकै रोचक छ, जुन अहिलेसम्म एक करोड ४३ लाख पटक हेरिएको छ ।

 

अरुण उपत्यकाको ‘फूलको थुंगा टपक्कै टिपी’

परम्परागत शैलीमा भाका हालिएको यो देउसी गीतले जो कोहीलाई नोस्टाल्जिक बनाउँछ । म्युजिक नेपालको युट्युब च्यानलमा रहेको गीतको भिडियोलाई अहिलेसम्म ५४ लाख पटक हेरिएको छ । यसलाई नवीनकुमार खड्का, पुस्तका खड्का, हरिबहादुर खत्री, प्रकाश पराजुलीले गाएका छन् ।

 

यसपालिको तिहारै रमाइलो

फिल्म ‘कोहिनुर’मा समावेश ‘ए हजुर यसपालिको तिहारै रमाइलो’ गीत तिहारमा सर्वाधिक सुनिने गीतमध्येमा पर्छ । अन्जु पन्त र प्रमोद खरेलले गाएको यो गीतमा सुन्दर श्रेष्ठको शब्द र शम्भुजीत बाँस्कोटाको संगीत रहेको छ । फिल्ममा श्रीकृष्ण श्रेष्ठ र श्वेता खड्का फिचर्ड छन् ।

गीतलाई युट्युबमा हालसम्म ८१ लाखभन्दा बढी पटक हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?