+
+
ब्लग :

आज बुझें, ऊ मेरो ‘क्रस’ रहेछ

संगीत मगर संगीत मगर
२०७९ कात्तिक ९ गते १३:४६

सेलिब्रिटी यौन दुर्व्यवहारका घटनाले सामाजिक सञ्जाल तातिरहेको छ । यसो त दैनिक रूपमा यौन हिंसा र बलात्कारका घटना आइरहेका हुन्छन्, तर सेलिब्रिटी प्रकरणले सबैको ध्यान तानिरहेको हुन्छ । निन्दा-चर्चा हुन्छ त्यस्ता प्रकरणको । हामीले सुन्ने यस्ता घटनामा अधिकांश पीडित नाबालिग छन् । यस्ता घटना सुनिरहँदा मानसिक रूपमा विचलित भइँदो रहेछ ।

यद्यपि म यहाँ यौन प्रकरणको कुरा गर्न गइरहेको छैन । म निजी जीवनको एक पुरानो कुरा उप्काउँदैछु । प्रेमको कुरा ।

किशोरावस्थाको प्रेममा आकर्षण बढी हुँदोरहेछ । त्यसैलाई प्रेम सम्झेर जिन्दगी फाल्नु चाहिं गलत हुनेरहेछ । जब आफ्नो जिन्दगी फर्केर हेर्छु सायद सबैको कथा मेरोजस्तै छ कि भन्ने लाग्छ । सबैले खुलेर भन्न चाहेनन् होला, त्यो अलग कुरा रह्यो । तर हामी सबैले उमेरको त्यो अवस्था पार गरेर आयौं । त्यो अनुभव लियौं । यो हाम्रो लागि ठूलो कुरा हो कि हामीले बाटो बिराएनौं ।

पहिले साह्रै अन्तर्मुखी स्वभावको थिएँ म । यसैले बाहिर साथी बनाउनुभन्दा पनि रेडियो र पत्रपत्रिका मेरा साथी भए । टिनएज हुँदा नै पत्रपत्रिका र रेडियोको माध्यमबाट किशोरावस्थाको समयमा हुने शारीरिक र मानसिक परिवर्तनबारे थाहा पाइसकेको थिएँ । यसैले आफूमा उमेरजन्य परिवर्तन देखिंदा तीव्र कौतुहलता लागेन । सकेसम्म सजग भइयो ।

सबैको जस्तै मेरो पनि ‘क्रस’ भएछ (त्यतिबेला क्रस भएछ वा फलानो फलानोको क्रस हो भन्ने कुरा निकै चर्चामा रहन्थ्यो) । नौ कक्षामा पढ्ने बेला एउटै कक्षा तर फरक सेक्सनमा पढ्ने केटा मन परेको सम्झन्छु । हाइट आम केटाको भन्दा केही कम थियो, हँसिलो स्वभावको केटा थियो ऊ । चिटिक्क मिलाएर ड्रेस लगाउने गर्थ्यो । फरक यत्ति हो कि ऊ सबैसँग खुलेर बोल्थ्यो मसँग बाहेक । म सबैसँग बोल्थें ऊसँग बाहेक । मेरो लजालु स्वभावका कारण ऊसँग प्रष्ट कुरा भन्न सकिनँजस्तो लाग्छ ।

यदि ब्रेकअप नभएर विवाह भएको भए सायद त्यो वैवाहिक जिन्दगीमा प्रेम हुँदैन थियो, मात्र जिम्मेवारी बाँकी हुने थियो । जब सम्बन्धमा प्रेम होइन जिम्मेवारी मात्रै बाँकी रहन्छ, तब त्यो सम्बन्ध बोझ हुन थाल्छ ।

तर ती दिनहरू रोमाञ्चक थिए । उसैलाई सम्झेर लेख्न सुरु गरें साहित्य । त्यतिबेला लेखेका प्रेमिल मुक्तकहरू आज पनि डायरीमा सुरक्षित छन् । उसैलाई सम्झेर प्रेम लेखें, उसैलाई कल्पेर विछोड लेखें । बाँकी जिन्दगीमा उसैलाई कल्पें । ऊ बिना त के बाँच्नुजस्तो लाग्थ्यो । ऊसँग भए जीवन खुसी हुने थियोजस्तो लाग्थ्यो । बाँच्नै सक्दिनँ कि भन्ने लाग्थ्यो तर उसको अघि म कहिल्यै बोल्न सकिनँ ।

सायद नबोलेरै म उसको प्रेममा थिएँ । नबोलेरै हाम्रो विछोड भयो अर्थात् एसएलसी सकियो । त्यसपछि हाम्रो बाटो अलग भयो । कलेज फरक भयो । त्योबेला फेसबुकको चलन थिएन न अहिलेजस्तो सञ्चार सहज थियो । छुट्टिसकेपछि बिस्तारै मनमा आएको भावना हराउँदै गयो । आफ्नै जिन्दगी र पढाइमा व्यस्त भएँ म । ऊ पनि कतै हरायो । क्रमशः मेरो स्मृतिमा ऊ तलतल पर्दै गयो ।

अचानक छ वर्षपछि एकदिन फेसबुकमा त्यही थरको मानिसको फ्रेण्ड रिक्वेस्ट आयो । प्रोफाइल खोलेर हेरें उही थियो । पहिले कमेन्ट आदानप्रदानपछि कुरा इनबक्समा आइपुग्यो । हालखबर सोधियो, कुराकानी भयो । उसले सोध्यो, ‘के गर्दैछौ ?’

सबै ठीक रहेको बताएँ । अब उसले मेरोबारे प्रशंसा गर्न थाल्यो, ‘क्या खुसी लाग्छ तिम्रो प्रगति हेरेर । ऊबेला नै तिमी अलग थियौ अरूभन्दा, थाहा छ ? मलाई तिमी साह्रै मन पथ्र्यो नि !’

म आश्चर्यचकित भएँ । एकछिन त केही लेख्न सकिनँ किनकि म पो उसको क्रस रहेछु । मेरो क्रसको पनि म क्रस रहेछु । सोधें, ‘मसँग त तिमी बोल्दैन थियौ कसरी मान्नु मैले ? अनि किन त्यो बेला नभनेको ?’

‘डर लाग्थ्यो नि ! तिमी हेर्दा मान्छे कुट्नेजस्तो । अनि तिमी मसँग बोल्दा पनि बोल्दैनथ्यौ । फेरि मेरो प्रपोज एक्सेप्ट त गर्ने थिएनौ । व्यर्थै मन टुक्राटुक्रा हुन्थ्यो । खासमा तिमीसँग बोल्नै डर लाग्थ्यो तिम्रो अस्वीकृतिसँग डर लाग्थ्यो,’ उसले सरासर लेखेर बतायो ।

मैले सोधें, ‘उसो भए आज भन्न डर लागेन ?’

ऊ लेख्छ, ‘नाइँ अहिले त च्याटमा पो भनेको । तिमीले मलाई च्याटमा कुट्ने कुरा भएन । रिस उठ्यो भने नि के गरौला र बढी गरे ब्लक न हो ।’

अनि हाहा…वाला इमोजी पठायो । मैले पनि उही इमोजी पठाएँ ।

कुराकानी भएको केहीबेरपछि सोच्न थालें, त्योबेला उसले मन पराउँछ भनेर थाहा पाएको भए अथवा उसले मैले मन पराउँछ भन्ने थाहा पाएको भए ? अथवा हामीबीच अस्वीकार हुने डर नभएको भए पक्कै पनि हामी सम्बन्धमा हुने थियौं । अनि केही समयपछि कि ब्रेकअप हुने थियो,  कि बिहे हुने थियो । ब्रेकअप भएको भए सायद केही समय हामी दुवै ‘डिस्टर्ब हुने थियौं । त्यसपछि आफ्नो–आफ्नो जिन्दगीमा फर्किएका हुने थियौं ।

तर यदि ब्रेकअप नभएर विवाह भएको भए सायद त्यो वैवाहिक जिन्दगीमा प्रेम हुँदैन थियो, मात्र जिम्मेवारी बाँकी हुने थियो । जब सम्बन्धमा प्रेम होइन जिम्मेवारी मात्रै बाँकी रहन्छ, जब त्यो सम्बन्ध बोझ हुन थाल्छ । किनभने आजको मितिमा उसको र मेरो बीचमा प्रेम हुन मैले कल्पना नै गर्न सकिनँ । किनभने उसको मान्यता मेरो मान्यता, जीवनप्रतिको हाम्रो दृष्टिकोण कहींकतै मिल्दैन । ऊ आफ्नो जिन्दगी र आफ्नो मान्यतामा खुसी छ अनि म पनि ।

कहिले कहिले वर्तमानमा पीडा खेप्नु आउने दिनको लागि सुन्दर हुँदोरहेछ । त्यो बेला मन पराएको मान्छे जीवनमा नहुनु साह्रै पीडादायी लाग्थ्यो, तर आज फर्केर हेर्दा जीवनको त्यो मोडमा त्यसरी मोडिनु हामी दुवैको लागि सही थियो । हामीबीच प्रेम थिएन मात्र आकर्षण थियो अविचलित किशोरावस्थाको ।

आज म प्रष्ट छु, किशोरावस्थामा कोहीप्रति आकर्षित हुनु सामान्य हो । साना कुरा नै ठूला-ठूला लाग्छन् त्यतिबेला । तर त्यो आकर्षणलाई ‘प्रेम’ सम्झेर अँगाल्नु हुँदैन । जिन्दगी लामो छ जुन बाँच्दै जाने कुरा हो । जीवनको यात्रामा आउने मान्छेहरूलाई फिल्टर हुन दिनुपर्छ समय र परिस्थितिसँगै ।

बच्चालाई जन्म दिनुजस्तो सजिलो छैन जीवन दिनु । बच्चा जन्माउन जति रहर गर्छन् त्यति नै संवेदनशील हुनुपर्छ हुर्काउन, संसारमा बाँच्न सिकाउन । वर्तमान समयमा हाम्रोजस्तो देशमा पुरातन र आधुनिकीकरणबीच हुर्किरहेका किशोरकिशोरीहरूको जीवन कठिन समयबाट गुज्रिरहेको छ । सूचना–प्रविधिको तीव्र विकास अनि उमेरसँगै आफूमाथि भइरहने शारीरिक र मानसिक परिवर्तनबारे सही ज्ञान नहुनु । अथवा सही बाटो देखाउन अभिभावक सक्षम नहुनुले आजका किशोरकिशोरीहरूको भविष्य डरलाग्दो छ ।

म देख्छु, घरबाट कलेज हिंडेका युवायुवती अन्तै पुग्छन् र नसाको हालमा भेटिन्छन् । बाबुआमाले आफ्नो प्रेम अस्वीकार गरिदियो भनेर किशोरावस्थामा भागेर प्रेम विवाह गरेका महिलाहरू लोग्नेले दुव्र्यवहार गरेर छोडेपछि काखमा बच्चा बोकेर रूँदै हिंडेको देखेको छु । प्रेम अस्वीकार हुँदा र आफ्नो प्रेमी वा प्रेमिकाले धोका दियो भनेर ज्यान दिनेहरूको समाचार पढेकै छौं ।

दिन र रात भएजस्तै जीवनको पनि आफ्नो नियम छन् । सुख छ, दुःख छ । उकाली छ, ओराली छ । राम्रा मान्छेहरू छन्, नराम्रा पनि छन् । हामीले बच्न सिक्नुपर्ने रहेछ, गलत संगत र प्रवृत्तिसँग । जीवनको अलग-अलग अध्याय छन् । हरेक अध्यायमा हामी सचेत हुन जरुरी छ । अनि जरुरी छ, तिनीहरूको लागि बाँच्न जो हाम्रो लागि रातदिन मेहनत गरिरहेका छन् । हामीलाई जीवन दिएका छन् र हाम्रो खुसीमा खुसी साट्न सधैं प्रतीक्षारत् छन् ।

अझ मलाई के लाग्छ भने सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि जीवनमा एउटा उद्देश्य राख्नु । अनि त्यो उद्देश्य सार्थक तुल्याउन गरिने दुःखकष्ट सजिलै पार गर्न सकियोस्, प्रेमकै बलमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?