+
+
कथा :

जनमदिनको फूल

भानु बोखिम भानु बोखिम
२०७९ कात्तिक १० गते १६:३०

निर्मलाले निधारमा लत्रिएको कपाल बायाँतिर सार्दै झ्यालबाहिर नियालिन् । अँध्यारिदै गएको जावलाखेल चोक निकै व्यस्त थियो । झ्यालको बाक्लो सिसाले छेकेर चोकको हल्ला केही मत्थर भएको थियो । रेस्टुरेन्टतिर आँखा घुमाउँदा सामुन्नेबाट आइरहेको प्रशान्तलाई देखिन् । उसले हातमा रंगिचंगी फूलको झुप्पा बोकेको थियो ।

‘ह्याप्पी बर्थडे सिस्टर !’, प्रशान्तले निर्मलालाई बुके थमाउँदै बोल्यो ।

‘धन्यवाद प्रशान्त !’, उनले सामुन्नेको सोफा देखाउँदै भनिन्, ‘बस ।’

प्रशान्त निर्मलाको ठीक सामुन्ने बस्यो । टेबलमाथि कुहिना अड्याएर ठडिएका उनका हात एक अर्कामा खापिएका थिए । आँखाले निर्मलालाई नियालिरहेको थियो । निर्मलाले भर्खर हात परेको फूलगुच्छा मायाले सुमसुम्याई । त्यसपछि टेबलको एकछेउमा राखिन् ।

‘पुरै सप्राइज दियौ त,’ निर्मलाले भनिन्, ‘मेरो बर्थडे कसरी थाहा पायौ ?’

‘मैले अस्पतालबाट बाहिर आएको केही दिनमै थाहा पाएको थिए ।’ प्रशान्तले भन्यो ।

‘थाहा पाएको धेरै भइसकेछ त ?’

‘उम्,’ प्रशान्तले भन्यो ‘नौ महिनाजति भयो । त्यहाँ तपाईंले प्यान कार्डको फोटो राख्नु भएको थियो ।’

०००

उनीहरूको पहिलो भेट करिब पन्ध्र महिना पहिले अस्पतालमा भएको थियो । मानसिक वार्ड राखिएको प्रशान्तले आफूसामुन्ने उभिएको नर्सलाई  नियाल्यो ।

‘निर्मला सिष्टर’ छेवैमा उभिएको पुरुष कर्मचारीले भन्यो, ‘यसले औषधि खान मान्दैन ।’

प्रशान्त भने भुइँतिर नियालिरहेको थियो । उसलाई त्यो कर्मचारीको सम्बोधन अपमानयुक्त लाग्यो । कुनै प्रतिकक्रिया भने जनाएन । बिस्तारै टाउको उठाएर नर्सतिर नियाल्यो । जोरआँखा नर्सको छातीमा टासिएको परिचय–पत्रमा अडिए, निर्मला थापा, साईक्रोएटिक नर्स ।

‘प्रशान्त, किन औषधि नखाएको ?’, नर्सले उनको कुममा हात राख्दै भनी ।

प्रशान्त केही बोलेन । अस्पतालमा आएपछि पहिलोपटक कसैले उसको नाम लिएर बोलाएको थियो । यसले नर्ससंग आत्मिय अनुभुति गरायो । अरू कसैले उसको नाम लिएर बोलाउदैन थिए । अस्पतालको सबै कर्मचारीको बोली रूखोमात्र लाग्थ्यो ।

‘भन त,’ नर्सले फेरि नम्र भएर सोधिन् ‘किन औषधि नखाएको ?’

‘म पागल हैन सिष्टर’ प्रशान्तले भन्यो ।

‘यहाँ आउने सबै त्यसै भन्छन्’ पुरुष कर्मचारीले भन्यो ‘तर यहाँ सबै बौलाहा नै. . . . ’

‘तपाई चुप लाग्नुस् न ।’ निर्मलाले बोल्दै गरेको कर्मचारीलाई चुप लगाईन् ।

प्रशान्तमाथि मानसिक स्वास्थ्यको औषधि परिक्षण भइरहेको थियो । औषधि खान नमान्दा त्यहाँको कर्मचारीले हप्कीदप्की गर्थे । उस्तै पर्दा कुटपिट पनि हुन्थ्यो । एकजना पैंचालिस वर्षजतिको पुरुष थियो । ऊ पनि औषधि खान मान्दैन थियो । उसलाई त केही अस्पतालका कर्मचारीले कुटे पनि । प्रशान्तले उसको मानशिक अवस्था खराब हुनुको कारण थाहा पाएन । तर अरूले कुटपिट गरेको बेला त्यो मानिस पर्खालमा टाँसिएर रून्थ्यो र छोरीलाई सम्झिन्थ्यो । उसले ढिलो गरेर विवाह गरेको थियो । वैवाहिक सम्बन्ध राम्रो भएन । उसको नौ बर्षको छोरी आमासँगै गएकी थिइन्, जसलाई सम्झेर ऊ पिरोलिरहन्थ्यो ।

‘मेरो छोरी कहाँ होली’ उसले भन्थ्यो, ‘मलाई हेर्न पनि आउँदैन ।’

ऊ छोरीलाई सम्झेरै बरबराउन थालेको थियो । छोरी उसलाई हेर्न आउन सक्ने अवस्थामा थिइन । उसले छोरीलाई सम्झेको देखेर प्रशान्त आफ्नो दिदीहरू सम्झिन्थ्यो । जेठी दिदीको विवाह बुटवलमै भएको थियो । उनी एक बोर्डिङ स्कुलुमा पढाउँथिन् । कान्छी दिदीलाई सरकारी जागिरे हुनु थियो । उनी जोडतोडले लोकसेवा आयोगको तयारी गर्दै थिइन् ।

‘लोकसेवा पास गरिस् भने तँ पनि भ्रष्ट हुन्छेस् ।’ प्रशान्त कान्छी दिदीलाई कहिलेकाहीँ जिस्काउँथ्यो ।

‘भ्रष्ट हैन, राष्ट्रसेवक भन् ।’ कान्छी दिदी भन्ने गर्थिन् ।

‘परिभाषा त त्यहि हो, तर व्यवहारले त राष्ट्रसेवक घाममा सुकाउनु पर्छ ।’ प्रशान्तले व्यंगात्मक तरिकाले भन्यो ।

‘साह्रै नउडा मलाई,’ कान्छी दिदी हल्का च्याँठिदै बोल्थिन्, ‘बरू तयारी गर तँ पनि, भरपर्दाे जागिर यही हो ।’

‘ज्यानको भर छैन, तँलाई जागिर भरपर्दाे चाहिने ।’ प्रशान्तले व्यंग गर्यो ।

अक्सर बुटवल गएको बेला प्रशान्त र उसको कान्छी दिदीबीच हुने संवाद यस्तै हुन्थे । कुराकानीमा घोचपेच गरेपनि दिदीभाइमा धेरै प्रेम थियो ।

प्रशान्त काठमाडौंमा एक एनजिओमा काम गथ्र्याे । स्नाकोत्तर पढिरहेको थियो । लोकसेवा तयारीको चक्करमा कान्छी दिदीले स्नाकोत्तरको पढाइ पुरा गरेकी थिइन । उनको प्राथमिकता लोकसेवा आयोगको तयारी नै थियो । तर तयारी गर्दागर्दै कान्छी दिदीले एक दुर्घटनाको सामना गरिन् । लोकसेवाको परिक्षा दिन सुर्खेत गएकी दिदी घर फर्किनन् । बदलामा बाँके जिल्ला प्रहरी कार्यलायको फोन आयो ।

प्रशान्त काठमाडौंमै थियो । खबर आउनेबित्तिकै हवाई टिकट काटेर नेपालगञ्ज उड्यो । बुबा–आमा दुवै बुटवलबाट नेपालगञ्ज पुगे । कान्छी दिदी अस्पतालमा विक्षिप्त अवस्थामा थिई । दिदीले आफूलाई नचिनेकोमा प्रशान्तलाई नराम्रो झट्का लाग्यो ।

‘तपाईहरू उहाँको आफन्त हो ?’ नर्सले सोधी ।

‘हजुर ।’ प्रशान्तले भन्यो ‘के भएर यस्तो भो ?’

नर्सले इशारा गरेर अगाडितिर बढिन् । प्रशान्त नर्सको पछिल्तिर लाग्यो । एउटा कुनामा पु¥याएर नर्सले भनिन्, ‘उहाँमाथि गेंगरेप भएको छ ।’

नर्सको कुराले प्रशान्तले टाउको भारी भयो । नर्स सान्त्वना दिएर अघि बढी । प्रशान्त छेवैको बिरामी नभएको बेडमा बस्यो । बुबा–आमालाई यो कुरा कसरी सुनाउने भन्ने सोचेर चक्कर चल्यो उसको दिमागमा ।

सुनाउनु नै थियो । सुनायो पनि । उनीहरूलाई पनि छोरीमाथि भएको बलात्कारले चस्का लाग्यो । तर सम्हालिनुको विकल्प थिएन ।

केही दिनमा दिदीलाई घर लिएर आए । दिदी पहिलेको तुलनामा ठिक भएजस्तो लाग्थ्यो । तर मानसिक अवस्था सामान्य थिएन । अफिस बिदा लिएको धेरै दिन भइसकेको थियो । थप बिदा नमिल्ने भएकोले प्रशान्त काठमाडौं फर्कियो ।

हरेक साँझ घरमा आमा वा बुबामध्ये एकजनालाई फोन गथ्र्यो । कुराकानीको विषय भने सधै एकै हुन्थ्यो, कान्छी दिदीको अवस्था । पछिल्लो समय दिदीलाई अस्पताल लगिएको थियो । तर अस्पतालबाट आफैं उठेर हिँड्ने गरेको खबर उसले पाएको थियो ।

रातको दश बजेको थियो । प्रशान्तलाई जेठी दिदीको फोन आयो । ऊ अक्सर बुबा, आमासँग कुरा गथ्र्याे । दिदीसँग नियमित कुरा हुँदैन थियो । मनमा अनेक तर्कना गर्दै उसले फोन उठायो ।

‘के भयो दिदी ?’ प्रशान्तले सोध्यो ।

‘कान्छीले छोडेर गइन् प्रशान्त ।’ दिदीले रूँदै भनिन् ।

‘कता गईन् र ? राम्रोसँग ख्याल गर्नुभएन ?’ प्रशान्तले अत्तालिँदै सोध्यो ।

‘हराएको हैन । बितिन् भनेको के ।’ दिदीले रूँदै भनिन् ।

‘हँ, बुबाले त सब ठीक हँदैछ भन्दै हुनुहुन्थ्यो त ।’ प्रशान्तले सोध्यो ।

‘साह्रै थियो, तर ठीक हुन्छ भन्ने आश थियो । तैंले पीर लिन्छस् भनेर  साँचो कुरा नभनेको ।’

उसले त्यो रात नदिदाई बितायो । राती नै ट्राभल एजेन्सीमा काम गर्नेलाई टिकटको लागि भनेको थियो । बिहान उठेर एयरपोर्ट गयो । नौ बजे नै भैरहवा विमानस्थलमा उत्रियो । यो विमानस्थलबाट धेरैचोटी उसले धेरैचोटी ओहोरदोहोर गर्यो तर आजजति बिरानो कहिल्यै लागेको थिएन ।

दुई महिना बित्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको थिएन । दिदीको मिहिनेत, सरकारी कर्मचारी बन्ने सपना अनि बलात्कारी पक्राउ नपरेको कुराले प्रशान्त पिरोलिन्थ्यो । कहिलेकाही सपनामा दिदीलाई देखेर नराम्ररी झस्किन्थ्यो । यही कुराले ऊ असामान्य हुँदै गएको थियो । काम र पढाई दुवैमा ध्यान दिन सकिरहेको थिएन । नियमित अफिस जान छोडेको थियो । एकदिन कोठामै बसिरहेको बेला बुबाआमा आईपुगे । प्रशान्तको लागि बुबा–आमाको आगमन अप्रत्यासित थियो । तर उसले धेरै अचम्म मानेन ।

‘हामी एक्लो महसुस गरिरहेका छौ’ आमाले भन्नुभयो, ‘त्यै भएर तँलाई लिन आएको ।’

प्रशान्त बुटवल फर्कियो । उसलाई अफिसले सजिलै लामो बिदा दिएको थियो । लामो बिदा दिएकोमा प्रशान्त आश्चर्य र खुशी दुवै थियो । तर बुटवल गएपछि उसलाई दिदीको यादले झनै सतायो । ऊ कहिले दिदीको तस्वीर च्यापेर हिँड्थ्यो । कहिले दिदीको तस्वीरअघि बसेर संवाद गरिरहेको हुन्थ्यो । उसले पढाई र अफिस फर्किने कुरा बिर्सदै गएको थियो । बस्, आफ्नो बितेको दिदीलाई सम्झिन्थ्यो । बेलाबेला रून्थ्यो ।

एकदिन दिदीको कपडाहरू मिलायो । त्यसपछि दिदीका किताब र कापीहरू पल्टायो । ती लोकसेवा आयोगका तयारी सामग्रीहरू थिए । त्यसपछि मिलाएर राख्यो । त्यहिबेला बा आएर भने, ‘भोलि हामी काठमाडौं घुम्न जाने ।’

‘मलाई जाने मन छैन ।’ प्रशान्तले भन्यो ।

‘हामीलाई मन छ नि त’ बाले भने ‘तँ गईस् भने खुशी लाग्छ ।’

प्रशान्त बुबाआमाको लागि काठमाडौं आयो । तर एयरपोर्टबाट बाहिर आएको ट्याक्सी कोठामा गएन । अस्पतालअगाडि लगेर राखियो । यसरी ऊ  अस्पतालको मानसिक वार्डमा तीन महिना बस्नुपर्यो । बसाइ निकै कष्टकर थियो । केही सुधारको संकेत भएपछि फेरि बुटवल फर्काइयो । तर प्रशान्त पहिलेझैं अस्थिर भयो ।

एक साँझ प्रशान्तको बुवालाई प्रशान्तको साथी विनयले फोन ग¥यो । विनय प्रशान्तको अफिसको साथी थियो । उनीहरू अफिसमा मिल्ने साथी थिए ।

‘बुबा, प्रशान्तलाई लिएर आउनू, मैले अर्काे अस्पतालमा कुरा गरेको छु ।’

‘हुन्छ बाबु । म लिएर आउँछु ।’

प्रशान्तलाई फेरि अस्पताल भर्ना गरियो । ऊ अस्पताल बस्न मान्दैन थियो । तर जबरजस्ती राखियो अनि ऊमाथि औषधि परिक्षण सुरु गरियो । ऊ औषधि खान मान्दैन थियो । तर अस्पतालको कर्मचारीले जबरजस्ती खुवाउँथे । एकदिन औषधि खान नमानिरहेकै बेला निर्मला आइपुगिन् ।

‘औषधि खायौ भने तिमी जाति हुन्छौ ।’ निर्मला सम्झाएर अर्काे बिरामी हेर्नतिर लागिन् ।

निर्मलाले सम्झाए पनि प्रशान्तलाई औषधि खान मन लागेन । तर निर्मलाले हरेक दिन मायालु पाराले सम्झाउन थालिन् । त्यसपछि प्रशान्तले औषधि खान थाल्यो । बिना अवरोध उसको औषधि परिक्षण अघि बढ्यो ।

‘आज खुशीको कुरा छ ।’ महिना दिनपछि निर्मलाले प्रशान्तलाई भनी । प्रशान्तको बाया कुममाथि निर्मलाको दाया हात अडिएको थियो । प्रशान्तले टाउको बिस्तारै उठाएर निर्मलाको आँखामा नियालो । निर्मलाको आँखाले प्रशान्तलाई नै नियालिरहेका थिए । प्रशान्तले केही बोलेन तर उसका आँखा जिज्ञासु भएका थिए ।

‘तिमीलाई काम गर्ने औषधि थाहा भयो नि ।अब धेरै औषधि खानु पर्दैन । एउटै नियमित गरे पुग्छ ।’ निर्मलाले भनी ।

त्यसपछि प्रशान्त क्रमशः ठीक हुदै गयो । यो खबर पाएपछि उसका अफिसका साथीहरू बेलाबेला भेट्न आउन थाले । उसका कलेजका साथीहरू पनि आए । ऊसको आनिबानी पनि बदलिँदै जान थाल्यो ।

‘थेङ्क्यु सिस्टर,’ प्रशान्तले निर्मलालाई भन्यो ।

प्रशान्त र निर्मला अस्पताल मानसिक वार्ड बाहिर भेटिएका थिए । निर्मला फुर्सदमा टहलिँदै थिई । प्रशान्त घुम्दै त्यहाँ आइपुगेको थियो । प्रशान्त ठीक हुँदै गएकोले उसलाई अस्पताल परिसरभित्र घुम्न छुट दिइएको थियो । तर कोही न कोहीले उसलाई निगरानी गरिरहेका हुन्थे ।

‘थेंक्यु किन नि ?’ निर्मलाले सेतो एप्रोनभित्र घुसाएको हात झिक्दै सोधिन् ।

‘तपाईंको मायाले म ठिक हुदै गएको छु’ प्रशान्तले छेवैको पर्खालमा अडेस लाग्दै बोल्यो ‘अरूले भए मलाई झन् धेरै पागल बनाउँथे ।’

प्रशान्तको कुरा सुनेर निर्मला मनमनै खुशी भई । तर यहि कुराले उनलाई भावुक पनि बनायो । बस्नको लागि बनाएको फलामे फलैचामा उनी बसिन् अनि प्रशान्तलाई बस्नको लागि इशारा गरिन् । प्रशान्त छेवैमा आएर बस्यो । ढेप्सिएर बसेको प्रशान्तले आफ्ना दुवै हात फलैचाको माथिल्लो भागमा चिलले पखेटा फिजाएझैं पसारेको थियो ।

‘धेरैलाई माया, प्रेम बकबास लाग्छ’ निर्मलाले प्रशान्तलाई भनिन् ‘तर खासमा प्रेम धेरै कुराको औषधि हो । स्वास्थ्यकर्मीले यो कुरा अझ धेरै बुझ्न जरुरी छ तर अधिकांशले बुझ्दैनन् । तर मायाले नै हो जीवनमा मान्छेलाई बदल्ने ।’

प्रशान्त एकछिन मौन बस्यो । निर्मलालाई नहेरेर अगाडितिरको दृश्यहरू नियाल्यो । फेरि निर्मलातिरै आँखा घुमाएर बोल्यो, ‘सिष्टर !’

‘हजुर, भन न ।’ निर्मलाले भनिन् ।

‘तपाईंले चाहिँ कसरी बुझ्नुभयो मायाको महत्त्व ?’

‘सोचेजस्तो माया नपाएर’ निर्मलाले निधारमा लत्रिएको कपाल पछाडि लग्दै बोलिन्, ‘जसले अँध्यारोमा बढि समय बिताउँछ, उसैले उज्यालोको महत्त्व बढी बुझ्छ ।’

‘सायद जीवनमा नसोचेको दुःख भोग्नुभयो ।’

‘उम, भोग्नु पर्दाेरहेछ प्रशान्त ।’ निर्मलाले भनिन् ।

‘मलाई सुनाउन मिल्छ ?’

‘सुनाउँला, तर आज हैन ।’

हिउँदको उदास दिन प्रशान्त घर फर्किंदै थियो । उसलाई लिनका लागि ठूलीदिदी आएकी थिईन् । बुटवलकै एकजना साथी पनि आएको थियो । बिदाको समय, उसले अस्पतालको केही कर्मचारीसँग फोटो खिच्यो । निर्मला उनलाई छोड्न बगैंचासम्म आई ।

‘प्रशान्त’ निर्मलाले रंगिन कागजले बेरेका वस्तु दिँदै भनिन् ‘यो तिम्रो लागि ।’

‘के हो सिष्टर ?’ प्रशान्तले समात्दै भन्यो ।

‘डायरी छ,’ निर्मलाले भनिन् ‘यसमा नयाँ जीवनको कथा लेख्नू ।’

प्रशान्तले आफूले पकडेको समान बाहिरबाट नियाल्यो अनि सुस्तरी भन्यो, ‘धन्यवाद सिस्टर ।’

‘राम्ररी जाऊ है’ निर्मलाले भनिन् ‘फेरि भेटौँला ।’

‘भेट्नै पर्छ नि । मैले तपाईको जीवन पीडाको कथा सुन्ने बाँकी छ ।’ प्रशान्तले भन्यो ‘अहिले लाग्छु सिस्टर ।’

प्रशान्तको साथी र दिदी अघि नै ट्याक्सीमा चढिसकेका थिए । उनीहरू ट्याक्सीको पछिल्लो सिटमा बसेका थिए । प्रशान्त गएर चालक छेउको सिटमा बस्यो । ट्याक्सी अस्पतालबाट बाहिर गर्दा प्रशान्तले निर्मलालाई फर्केर हेर्यो अनि हात हल्लायो ।

त्यसपछि साता दिन बिते । निर्मलाले फेसबुकमा प्रशान्तको फ्रेन्ड रिक्वेस्ट देखिन् । तुरुन्तै एसेप्ट गरिन् ।

‘सिस्टर,’ फेसबुकमा म्यासेज आयो ‘सञ्चै हुनुहुन्छ ?’

‘म ठिक छु, तिमीलाई कस्तो छ ?’ निर्मलाले  सोधिन् ।

‘म ठिक छु । अस्पतालमा हुनुहुन्छ कि घरमा ?’

‘घर आइपुगेँ, तिमी कता छौ’ निर्मलाले मोबाइलको स्क्रीनमा बुढी औलाहरू नचाउँदै लेखिन् ।

‘म बुटवल छु, असाध्यै गर्मी छ ह्याँ ।’

त्यसपछिका दिनमा पनि बेला बेला निर्मला र प्रशान्तबीच फेसबुक म्यासेञ्जरमा कुराकानी हुन्थ्यो । एकदिन बिहानको एघार बजेतिर निर्मलाको फोन बज्यो । रातभरी अस्पतालमा काम गरेकोले उनी निदाएकी थिईन् । गाह्रो गरी आँखा खोलेर मोबाइल नियालिन् । मोबाइलमा प्रशान्त लेखिएको थियो । उनीहरूले केही दिनअघि फेसबुकमा नम्बर साटासाट गरेका थिए । तर एक अर्कालाई कल गरेका थिएनन् ।

‘हेलो,’ निर्मलाले बोलिन् ।

‘नमस्कार सिस्टर, निन्द्रामा हुनुहुन्छ हो ?’ प्रशान्तले भन्यो ।

‘नाईट ड्युटी थियो, भन न ।’ ओछ्यानमै तन्किँदै बोलिन् ।

‘म काठमाडौं आएको छु ।’ प्रशान्तले भन्यो ‘तपाईंलाई भेट्न मन लागेको छ ।’

चाँडै भेट्ने बाचा गरेर निर्मलाले फोन काटिन् । अनि निदाईन् । उठ्दाखेरि निर्मलालाई खुशी लागेको थियो । प्रशान्त काम गर्न भनेर काठमाडौ फर्केको थियो । पुरानो अफिसले नै काम गर्न बोलाएको थियो । प्रशान्त जीवनको पुरानै लयमा फर्किएकोमा निर्मला खुशी भई ।

निर्मला कोठाबाहिर गएर फलामे गेट खोलिन् । अगाडि प्रशान्त मुस्कुराउँदै उभिरहेको थियो । निर्मलाले कोठामा ल्याएर खाट अगाडिको कुर्शी देखाईन् । प्रशान्त ढाडको झोला निकाल्दै कुर्शीमा बस्यो ।

‘म्याडम, यो तपाईको लागि ।’ प्रशान्तले झोलाबाट कपडा निकालेर दियो ।

‘कस्तो राम्रो ।’ निर्मलाले कपडा हातमा लिदै भनिन् ‘बुटवलबाटै ल्याको ?’

‘सुनौलीमा किनेको, ईन्डियामा राम्रो पाउँछ ।’

‘थेङ्क्यु,’ कुर्ता सुरूवालको कपडा खोलेर छातीमा टास्दै भनिन् ‘कति राम्रो रहेछ ।’

निर्मला भान्साकोठातिर गएकी थिईन् । प्रशान्तले कोठा वरिपरी नियाल्यो । कोठा सामान्य थियो । कुनै सजावट थिएन । एकैछिन् निर्मला प्लेटमाथि चियाले भरिएका दुईवटा कप लिएर आईन् । एउटा प्रशान्तलाई दिएर अर्काे आफैले राखिन् ।

‘बुटवल गएर के के ग¥यौ त ?’ निर्मलाले  सोधिन् ।

‘खास केही गरिन् ।’ प्रशान्तले भन्यो ‘गएदेखि नै डायरी भने लेख्न थाले । आजकल हरेक दिनको घटना बेलुका डायरीमा टिप्छु । तपाईले दिएको डायरीको धेरै पेज भरिए नि । सबभन्दा पहिलेचाहि त्यसमा छोटो कविता लेखे ।’

‘तिमी कवितापनि लेख्छौ ?’ निर्मलाले सोधिन् ।

‘पहिले अलिअलि लेख्थे ।’ प्रशान्तले झोलाबाट डायरी झिक्दै बोल्यो ‘जागिर शुरू गरेपछि छोडेको थिए । तर फेरि लेख्न थालेकोछु । मैले अस्पतालबाट पहिलोपल्ट लेखेकोचाहि छोटो छ । सुनाउँछु है ।’

‘सुनाउन न ।’ चियाको कप ओठतिर लग्दै निर्मलाले भनिन् ।

प्रशान्तले बाँक्लो कभर भएको कालो डायरी पल्टायो । एकपल्ट आफैले माथिदेखि तलसम्म नियाल्यो । पढ्नु अघि निर्मलालाई हेरेर मुस्कुरायो । फेरि आँखा डायरीमै सजाउँदै पढ्न थाल्यो ।

तिमीले दिएको डायरीमा

लेख्दैछु,

तिमीले दिएकै जीवनको कथा

सायद,

डायरीमा अटाउने छैनन्

मैले बाँच्ने सम्पुर्ण समयहरू

धेरैधेरै आभार छ

यो प्रेम र मायाको लागि

नयाँ जीवनको लागि ।

कविता सुनेर निर्मलाले केहीपनि भनिनन् । चियाका कप पकडेर टोलाईरहिन् । प्रशान्तले जतनसाथ डायरी झोलामा राख्यो अनि चियाको कप हातमा लियो ।

‘तपाईको मायाले मेरो जीवन छ सिस्टर,’ प्रशान्तले भन्यो ।

‘तिमी जीवनको उही लयमा फर्कियौ, म एकदमै खुशी छु ।’ निर्मलाले भनिन् ।

‘धन्यवाद निर्मला सिस्टर, तर अझैपनि दिदीको यादले सताउँछ । साह्रै पीडा हुन्छ । यस्तै त रहेछ । सोचे जस्तो जिन्दगी नहुनेरैछ ।’

‘सोचे जस्तो त कहाँ हुन्छ र जिन्दगी ?’ निर्मलाले उदास हुदै बोलिन् ‘मैलेपनि के के सोचेर विवाह गरेको थिए, तर आज एक्लै बसिरहेको छु ।’

‘तपाईको कथा भन्न मिल्छ ?’

‘मिल्छ नि, आखिर भएको घटनालाई भन्न के छ र ?’

‘सुनाउनु न ।’

‘विवाह गर्नु अघि मनमा धेरै कुरा खेल्थे । जति कुरा खेलेपनि चाहना एउटा थियो कि श्रीमान असल  होस् । बालबच्चा हुन् । तर विवाहपछि श्रीमान कहिले आफ्नो भएनन् । भन्थे कि मैले बाआमाको करकापमा विवाह गरेको हँु । ऊ बाहिर जागिर खान्थ्यो । मैले नर्स पढेपनि काम गरेको थिईन् । बेला बेला बाआमाले बोलाउँदा घर त आउथ्यो । तर मसंगचाहि निहुँमात्र खोज्यो । पछि धेरै निहुँ खोज्न थाले । मैलेपनि बोली फर्काउन थालेको थिए । तर ऊ अझ आक्रमक भयो । धेरैचोटी कुटपिट ग¥यो । मैले आफ्नै बाआमाबाट कुटाई खाएको थिइन, तर श्रीमान नामको ब्यक्तिबाट खाएँ । यि दुःखपनि सहने नै सोचेको थिए, तर एकदिन उसले बाहिर श्रीमति र बच्चा राखेको थाहा पाएँ । त्यसपछि म माईती आएर बसे अनि काम गर्न थाले । अहिले म खुशी नै छु, बस् आफ्नै परिवार होस् भन्ने चाहनाचाहि पुरा भएको छैन ।’

त्यसपछि एकछिन कोठामा सन्नाटा छायो । बिस्तारै निर्मलाले प्रशान्तलाई नियाल्यो, अनि प्रशान्तले निर्मलालाई ।

‘डिभोर्ष गर्नु भयो कि छैन ?’ सोधिन् ।

‘धेरै पहिले ।’ निर्मलाले भनिन् ‘सोचेका सपना सबै पुरा हुदैनन् प्रशान्त । नचाएको र नसोचेको परिस्थिति पनि सामना गर्नुपर्छ । तिमीले सामना गरेको घटनालाई पनि त्यस्तै सोच्नु, अनि सकारात्मक सोचेर सबैलाई प्रेम गर्नू ।’

प्रशान्तले कपमा रहेको चियाको अन्तिम घुट्कोलाई रित्यायो अनि आफू बसेको कुर्सीको खुट्टाछेउ कप राख्यो । उसले बायाँ खुट्टामाथि दायाँ खुट्टा खापेको थियो । माथि परेको खुट्टा हल्लाउँदै भन्यो, ‘अब फेरि विवाह गर्नुहोस् सिस्टर ।’

‘तीस कटिसकेँ, अब त मेरो लागि को होला र ?’ हल्का ठट्टाको शैलीमा बोलिन् ।

‘मेहन्दी हसनको एउटा गीत छ । मै सोचता हुँ की, ईतनी बढी है दुनियाँ, कोही त ऐसा भि होगा, जो मुझे चाहेगा ।’

‘अनि ?’ निर्मलाले सोधिन् ।

‘यो गीतमा भने जस्तै, तपाईंलाई माया गर्नेपनि कोही न कोही निस्केलान् नि । आखिर दुनियाँ यति ठुलो छ । यति धेरै मान्छे छन् ।’

‘कोही भेटिएछ भने सोचौंला है’, निर्मलाले मुस्कुराउँदै भनिन् ।

जावलाखेल चोकमा निर्मला र प्रशान्त विगतका कुरा सम्झिए । निर्मला कफीमा चिनी घोलिरहेकी थिईन् । प्रशान्तले पानी पिएर गिलास टेबलमा राख्यो ।

‘अनि मन मिल्ने मान्छे भेट्नु भयो कि छैन ?’ प्रशान्तले कफीमा चिनीको धुलो खन्याउँदै बोल्यो ।

‘छैन नि,’ निर्मलाले कफीको चुस्की लिँदै भनिन् ‘आफ्नो उमेर सुहाउँदोले त फूलपनि दिँदैनन् । बच्चाहरूले मात्र दिन्छन् ।’

निर्मलाको कुराले प्रशान्तलाई कफीले सक्र्याे । ऊ छातीमा हात राखेर खोक्न थाल्यो । निर्मलाले पानीको गिलास प्रशान्त नजिकै सारिदिई । प्रशान्तले पानी पिउँदै शान्त भयो ।

‘गाह्रो भयो कि ?’ निर्मलाले सोधिन् ।

‘ठिकै छ,’ प्रशान्तले भन्यो ‘तपाईं पनि ठट्टा गर्नु हुँदोरहेछ ।’

‘ठट्टा गरेको हैन, लागेको कुरा भनेको मात्र ।’

‘तर एउटा कुरा भनुँ ?’ प्रशान्तले भन्यो ।

‘भन न ।’ निर्मलाले कफीको कप ओठछेउ पु¥याउँदै भनिन् ।

‘फूल दिनेहरू त्यस्तो बच्चा पनि हुन्नन्,’ प्रशान्तले प्रशन्न मुद्रामा भन्यो, ‘ताकि उसले तपाईंलाई बच्चा दिन नसकोस् ।’

यसपालि निर्मलालाई कफीले सर्कियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?