+
+

रुकुम पश्चिममा के गर्दैछन् जनार्दन शर्मा ?

माओवादी निकट भात्री संगठन अखिल नेपाल जनसांस्कृतिक महासंले जिल्लाका विभिन्न ठाउँहरुमा ‘समाजवादी देउसी’ देउसी खेलिरहेको छ । सिंगारु र मयूर नाचमा पोख्त जनार्दन शर्मा जहाँ देउसी भैलो हुन्छ, त्यहाँ जनतासँग नाचेर हिडिरहेका छन् ।

यज्ञ खत्री यज्ञ खत्री
२०७९ कात्तिक ११ गते १३:५६

१३ कात्तिक, रुकुम पश्चिम । खैरो ट्रयाक सुट, स्पोर्टस् जुत्ता । साथमा केही सुरक्षाकर्मी र सहयोगी । एकसातादेखि जनार्दन शर्मा कार्यकर्ता भेटघाट र चुनावी प्रचारका लागी गाउँ पसेका छन् ।

मंगलबार चौरजहारी-सानोभेरी क्षेत्रमा कार्यकर्ता भेटघाट तथा अनुगमन गरेका शर्मा बुधबार सदरमुकाम खलंगामा घरदैलोमा थिए । रुकुम पश्चिममा एउटा प्रतिनिधी सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र छन् । अर्थमन्त्री समेत रहेका शर्मालाई माओवादी केन्द्रले सोही क्षेत्रबाट प्रतिनिधि सभाको उम्मेद्वार बनाएको छ ।

माओवादी शान्ति प्रक्रियामा आएसँगै २०६४ सालदेखि यस क्षेत्रमा शर्मा निरन्तर चुनाव लड्दै, जित्दै आएका छन् । ०४८ मा तत्कालीन जनमोर्चबाट पहिलो पटक चुनाव लडेका शर्मा कांग्रेस नेता गोपाल जी जङ्ग शाहसँग पराजित भएका थिए ।

पाँचौ पटक चुनावी मैदानमा होमिएका शर्मा यो पटक सत्तारुढ गठबन्धनका साझा उम्मेदवार छन् । माओवादीको प्रमुख प्रतिस्पर्धी कांग्रेस सहयात्री बनेको छ । अहिले शर्माका प्रतिस्पर्धी छन्, एमालेका नन्दलाल देवकोटा ।

तिहार मनाउँन गाउँ गएका शर्मा यतिबेला चुनाव लक्षित घरदैलोमा हिंडिरहेका छन् । बुधबार उनको प्रचार अभियान पछ्याउने उद्देश्यले हामी बिहान सात बजे उनको घर मुसिकोट- ५, शेरीगाउँ पुग्यौं । उनी प्रचारको काममा लागिसकेका थिए ।

शहीद भवनको अनुगमन गर्दै नेता शर्मा ।

बुधबारका लागि ५ वटा कार्यक्रम थिए । पहिलो कार्यक्रम- शेरीगाउँमै रहेको शहीद भवनको अनुगमन गर्ने । ७ः३० बजे नेता कार्यकर्तासँगै शहीद भवन पुगेका शर्माले भवनको अनुगमन गरे । सोही भवनकै अर्को कुनामा उनलाई भेटन जिल्ला स्थिति सुरक्षा निकायका प्रमुखहरू प्रतीक्षा गरिरहेका थिए ।

भवनको अनुगमनसँगै प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेसहितको टोलसँग जिल्लाको शान्ति सुरक्षाबारे छलफल गरे । अर्थमन्त्रीसमेत रहेका शार्मालाई प्रजिअ घिमिरेले जिल्लाको शान्ति सुरक्षाबारे जानकारी गराएका थिए । जुन सामान्यतया औपचारिकता वाहेक केही हुन्न । शर्माले पनि ‘आसन्न निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न’ निर्देशन दिएर अर्को औपचारिकता पुरा गरे ।

लगत्तै मुसिकोट नगरपालिका-५, कै मतदाताको घरदैलोमा गए । त्यतिबेला ८ः४५ बजेको थियो । उनको साथमा अरू ८/१० जना कार्यकर्ता थिए । तीमध्ये एक महेन्द्र केसी यसै क्षेत्रको प्रदेश (क) मा माओवादी केन्द्रका उम्मेदवार छन् । साथमा माओवादी नेता गोपाल शर्मा, बसन्त शर्मा, विमला केसी, गोविन्द रोकाय (सचिन) र ध्रुवविक्रम बुढाथोकीलगायतका माओवादी नेताहरू थिए ।

बस्ती प्रवेश गर्नासाथ स्थानीय होटेल व्यवसायी अनिलकुमार खड्को घरमा पुगे । हालचाल बुझे । चुनवा हो यति खेर नेताहरू जनताको समस्याप्रति बढी नै नतमस्तक हुने गर्छन ।

शर्माले पनि ‘होटेल व्यवसायीका समस्या के छन ?’ भनेर खड्कालाई सोधसहाले । खड्काले पनि ‘बाटो, विद्युत, खानेपानी’ चाहिएको कुरा सुनाए । उनले पालिकामा एउटा चिस्यान केन्द्र स्थापना गर्न माग गरे । शर्माले सहजै भने, ‘एक वर्ष भित्र यो हुन्छ ।’

बस्तीमा भेटिएका मतदातालाई शर्माले सन्चो विसन्चो सोध्ने, गाउँमा झुम्मिएर बसेकाहरूसँग हात मिलाउँदै, नमस्कार गर्दै शुभकामना बाँडे । रोचक कुरा ‘यस पटक मलाई नै भोट दिनुस है’ भनेर उनले कसैलाई भनेनन् ।

मैले चुनावी प्रचारमा हिंडेका शर्मालाई जनताले कुनै प्रश्न नगर्नु र उम्मेदवारले पनि आफ्ना भाबी योजनाबारे जनतालाई नबताउनुको कारण जान्न खोजे । उनले जनतालाई झुठ्ठा आश्वासन नदिने र बोलेका कुरा पूरा गर्ने बताए ।

‘झुठ्ठा आश्वास बाँड्दिनँ । हुनै नसक्ने काम ६ महिनाभित्रै गर्दिन्छु भन्दिन’, शर्माले भने, ‘अवको दुई तीन दिनभित्र घोषणा पत्र आउँदै छ । सबैकुरा त्यसमै हुन्छ ।’

देउसी टोलीसँग शर्मा ।

यसरी बिहान करिब ११ बजे घरदैलो सकेर शर्मा घरतिर लागे । घरमा उनलाई देउसी खेल्न आएको एउटा समूहले प्रतीक्षा गरिरहेको थियो । शर्मा पुग्नसाथ एक युवाले एकसेट मयूर लगाइदिए । अनि, शर्मा पनि सोही समूहको एक सदस्य झै ‘मयूर नाच’ नाच्दै देउसी खेल्न थाले । देउसी टोलीसँग फोटो खिचाए ।

त्यसपछि खाना खाएर सुसिकोट- ५, सोलावाङको अर्को कार्यक्रमका लागि हिँडे । त्यहाँ पुग्दा २ः ३० बजिसकेको थियो । सोलावाङ्गमा ‘सिंगारु नाच’सहितको देउसी, भैलो खेल्दै गरेको एउटा समूह शर्माको प्रतीक्षा गरिरहेको थियो । शर्मा त्यही समूहमा सरिक भएर नाच्न थाले ।
यतिबेला रुकुम पश्चिमका गाउँहरु संगीतमय छन् । प्रत्येक टोल टोलमा सिंगारु, मयूर र समाजवादी गीतहरू गुञ्जिन थालेका छन् । रुकुम पश्चिम कला संस्कृतिमा पनि धनी छ । बालबालिका, युवा, बयस्कदेखि जेष्ठनागरिकसम्म आ-आफनो समूह बनाएर देउसी भैलो खेल्छन् ।

माओवादी निकट भ्रातृ संगठन अखिल नेपाल जनसांस्कृतिक महासंले जिल्लाका विभिन्न ठाउँहरूमा ‘समाजवादी देउसी’ देउसी खेलिरहेको छ । शर्माले त्यसको भरपुर सदुपयोग गर्दै आएका छन् । सिंगारु र मयूर नाचमा पोख्त शर्मा जहाँ देउसी भैलो हुन्छ, त्यहाँ जनतासँग नाचेर हिंडिरहेका छन् ।

ठूला चुनावीसभा तथा घरदैलो अभियान कात्तिक १७ गते पछि मात्रै गर्न पाइने निर्वाचन आयोगले बताएको छ । त्यसैले शर्माले सानो समूह तथा थोरै व्यक्ति भेट्ने क्रमलाई निरन्तरता दिइरहेका छन् । वडा नम्बर ४ र ५ मा बुधबार भएका कार्यक्रममा सीमित मतदाता थिए । निर्वाचन आचारसंहिताले ठूलो संख्यामा भेला गर्न नपाउने भएकाले स-साना भेटघाटलाई महत्व दिएको शर्माले बताए ।

यसपछि शर्मा सोलावाङकै एउटा घरमा छिरे । जहाँ केही युवाहरू उनलाई कुरेर बसेका थिए । १२/१५ जनाको समूहमा रहेका उनीहरूले शर्मा त्यहाँ पुग्नासाथ जिल्लामा रोजगारी चाहियो भने । शर्माले चुनावी वाचाकै शैलीमा भने, ‘अबको हाम्रो फोकस भनेकै यूवालाई स्वरोजगार बनाउँनु हो । पाँच वर्षभित्र यो समस्या हल हुन्छ ।’

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?