+
+

पुस्तक समीक्षा : मन छुने ‘हृदय’

खगराज बराल, पीएचडी खगराज बराल, पीएचडी
२०७९ कात्तिक १२ गते १८:१५

असोज २९ गते म नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा एक महाकाव्यको विमोचन कार्यक्रममा पुगेको थिएँ । कार्यक्रम दिउँसो १ः०० सुरु हुनुपर्नेमा १ः३० सम्म पनि सुरु हुन सकेन ।

फुत्त बाहिर निस्केर अगाडि बढ्दा डबलीमा केही कार्यक्रम हुन लागेजस्तो लाग्यो । डबलीमा दर्शक तथा पाठकहरूका माझ डा. भगवान कोइरालालाई देखेँ । डबलीभन्दा केही पर डा. भगवान कोइरालाद्वारा लिखित ‘हृदय’ पुस्तकको बिक्री स्टल देखेँ ।

‘हृदय’ पुस्तकको विशेष संस्करणको मूल्य पच्चीस हजार रुपैयाँ राखिएको सुनेको थिएँ, स्टलमा सर्वसाधारण संस्करण बिक्रीमा राखिएको रहेछ । यो संस्करणको मूल्य छ सय पचास रुपैयाँ तोकिए पनि कार्यक्रममा पाँच सय पचासमा पुस्तक उपलब्ध भयो । मैले एक प्रति पुस्तक किनेँ र सरासर डा. कोइराला भएतिर लम्किएँ । मैले उहाँलाई सम्बोधन गरेर अभिवादन गरेँ ।

मैले मास्क खोलेँ, मुसुक्क हाँस्दै ‘ओ सचिवज्यू, कार्यक्रममा आइदिनुभयो, धन्यवाद’ भन्नुभयो । मैले किनेको पुस्तकमा डा. कोइरालाले आफ्नो दस्तखतसहित केही शब्द लेख्नुभयो । केही समय भलाकुसारी भयो ।

****

डा. भगवान कोइरालाको नाम नसुन्ने नेपाली सायदै होलान् । मैले धेरै पहिलादेखि डा. भगवान कोइरालालाई चिनेँ पनि साक्षात्कार हुन सकेको थिइनँ । नेपालको अति व्यस्त डाक्टर, त्यसमा पनि मुटुको सर्जन, डा. कोइरालासँग भेटघाट हुने र कुराकानी गर्ने अवसर पनि त्यति सम्भवको कुरा होइन ।

२०६६ सालमा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) ले सहसचिवका लागि पोजिटिभ एटिच्युट टुवार्ड ओक भन्ने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो । त्यस कार्यक्रममा डा. भगवान कोइराला, उमेश श्रेष्ठ जस्ता आआफ्नो कार्य क्षेत्रमा सफलता हासिल गरेका व्यक्तित्वबाट प्रशिक्षण दिन आउनुभएको थियो ।

मैले पहिलो पटक प्रत्यक्ष रुपमा डा. भगवान कोइरालासँग भेट्ने अवसर पाएको थिएँ । त्यो प्रशिक्षणमा आउँदा डा. कोइराला त्यति उत्साहित हुनुहुन्नथ्यो । यसको कारण पनि उहाँले भन्नुभएको थियो, ‘हिजो एक बिरामीको अपरेसन थियो, रातभर निकै प्रयास गर्दा पनि बँचाउन सकिएन । मलाई त्यस घटनाले निकै दुःखी बनाएको छ । आजको प्रशिक्षण पनि प्रभावकारी हुँदैन होला । बरु, तपाईंहरूको जिज्ञासामा छलफल गरौं ।’

डा. कोइरालाले आफूले कसरी शहीद गंगालाल हृदय रोग केन्द्रको प्रमुख भएर सफलतापूर्वक कार्यकाल कसरी सम्पन्न गरेँ भनेर आफ्नो अनुभव सुनाउनुभयो । मैले डा. भगवान कोइरालालाई जिज्ञासा राखेको थिएँ, ‘तपाईं मुटु रोग विशेषज्ञ हुुनुहुन्छ । नेपालमा ओपन हार्ट सर्जरी सुरुवात पनि तपाईंको नेतृत्वमा भएको हो । मुटुको सर्जरीमा तपाईंको योगदान अतुलनीय छ । मानिसले मन दुख्यो भनेर मुटुलाई देखाउँछन् । कहिलेकाहीँ मेरो हृदय छिया छिया भयो पनि भन्छन् । कतिपयले कसम खाँदा पनि छातीमा (मुटु भएतिर) हात राख्छन् । कतिपयले त राष्ट्रिय गानको समयमा दाहिने हातलाई देब्रे छातीमाथि राख्छन् । मुटु र मस्तिष्कको कस्तो सम्बन्ध हुन्छ ? के मुटुले पनि मस्तिष्कको जस्तै निर्णय गर्न सक्छ ?’

डा कोइरालाले भन्नुभएको थियो, ‘तपाईंको प्रश्न आत्मिक र भावनात्मक छ । हाम्रा चालचलनमा हृदय भनेको मुटु हो । केही कसम खाँदा पनि छातीमा हात राख्ने गर्छन् । तर, निर्णय गर्ने भनेको मस्तिष्कले नै हो । मेडिकल्ली भन्ने हो भने मुटु त मासुको डल्लो हो, यसले शरीरलाई चाहिने रगत पठाउँछ । यसको काम त यान्त्रिक नै हुन्छ । कुनै पनि कुराले मानिसलाई छोयो भने सबैभन्दा पहिला मस्तिष्कले नै कार्य सम्पादन गर्छ । राम्रा कुरा, नराम्रा कुराको विश्लेषण मस्तिष्कले गरेपछि त्यसको असल मुटुमा देखिन्छ । स्वीच अन गर्दा बल्ब बले जस्तै मस्तिष्कको प्रतिक्रिया मुटुले पनि देखाउने हो । मेडिकल्ली मुटुले यान्त्रिक काम गर्छ, आत्मिक तथा भावनात्मक रूपमा मुटुले पनि मस्तिष्कको साथ काम गरेको हुन्छ । साँच्चै भन्ने हो भने मन र मस्तिष्क (दिमाग) टाउकामा नै हुन्छ ।’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा वि.सं. २०७४ मा प्रकाशित ‘स्मारिका’ मा डा. भगवान कोइरालाको ‘पेसामा व्यावसायिक आचरण, नैतिकता र कुशल व्यवस्थापन आजको आवश्यकता’ सम्बन्धी एउटा लेख प्रकाशित भएको थियो ।

त्यस लेखमा मन र वुद्धिको खेल उपशीर्षक पनि थियो । उक्त उपशीर्षकमा लेखिएको थियो, ‘मन र वुद्धि (दिमाग) बीचको सबैभन्दा लामो दुरी जम्मा ३० सेमी हो । तर व्यवस्थापन गर्न सबैभन्दा कठिन पनि यही हो । इच्छा र रहरलाई बेलगाम छोड्यौं भने हामी भित्र विकृत मानसिकता जाग्छ जसले हाम्रो नैतिकताको जग हल्लाउँछ । व्यक्तिगत चाहनालाई काबुमा राख्न सक्नु ठुलो चुनौती हो । यही नै मन र बुद्धिबीचको खेल हो । यो खेलमा आफ्नोस्तर आफैं तय गर्ने र कायम राख्ने हो, राष्ट्रको कानुनमा भएका कानुनी र नैतिक मान्यताको परिधिमा रहेर (पृ.१२४) ।’

स्मारिकामा भएका यी वाक्यहरूले मेरो मनमा जिज्ञासा उब्जाइदियो । कुनै दिन डा. कोइरालासँग सम्बाद गर्ने अवसर पाएमा मन र बुद्धिका सम्बन्धमा र यी दुईबीचको दुरीका सम्बन्धमा जिज्ञासा राख्ने विचार गरेँ ।

वि.सं. २०७६ सालमा त्रिभुवन विश्वविद्यालयमा उपकुलपतिको पदावधि सकिएको अवस्था थियो । त्यस समयमा म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव थिएँ । उपकुलपति सिफारिसका लागि सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्दा प्रा.डा. भगवान कोइरालाको नाम पहिलो थियो । तर डा. कोइरालाले उपकुलपति पदमा बस्न रुचाउनु भएन ।

नेपालको पुरानो र सबैभन्दा ठुलो विश्वविद्यालयको उपकुलपति पद डा. कोइरालाले नस्वीकार्नुले कोइराला दबाब र प्रभावमा काम गर्नु चाहनुहुँदैन भन्ने सङ्केत मैले बुझेँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति हुनु भनेको तातो कराहीमा बस्नुजस्तै थियो ।

शिक्षाबाट मेरो सरुवा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भयो । त्यस समयमा नेपाल मेडिकल काउन्सिलको अध्यक्षलगायतका पद रिक्त थिए । सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा. भगवान कोइरालालाई नियुक्त गर्‍यो । सरकारको निर्णय मन्त्रालयमा आएपछि मैले डा. भगवान कोइरालालाई सम्पर्क गरेँ ।

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा सरकारले नियुक्त गरेकाले डा. कोइरालालाई अनुकूल समयमा मन्त्रालय आउन अनुरोध गरेँ । उहाँले दिनको बाह्र बजेको समय दिनुभयो र निर्धारित समयमा आउनुभयो । मैले बधाई दिँदै नेपाल सरकारले नियुक्त गरेको निर्णयानुसारको पत्र हस्तान्तरण गरेँ । त्यसपछि हामीले केही समय भलाकुसारी गर्‍यौं ।

मैले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नस्वीकार्नु र काउन्सिलको अध्यक्ष स्वीकार्नुको कारण सोधेँ । उहाँले तार्किक किसिमले आफ्नो कुरा राख्नुभयो । म निकै प्रभावित भएँ । मैले डा. भगवान कोइरालालाई चिन्दथे, तर डा. कोइरालाले मलाई चिन्नु हुँदैनन्थ्यो । काउन्सिलको अध्यक्ष नियुक्ति भएपछि दुवैले एक अर्कालाई चिन्न थाल्यौं । डा. कोइरालासँग बेला बेला भेट हुन्थ्यो, कतिपय सार्वजनिक कार्यक्रममा भेट हुन्थ्यो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा केही समस्या पर्दा मैले डा. कोइरालालाई फोन गरेर सल्लाह माग्थेँ, उहाँले मलाई सिधा, स्पष्ट र सरल सल्लाह दिनुहुन्थ्यो ।

नेपालका चिकित्सकहरू अमेरिकाबाट उपलब्ध हुने फेलोसिपमा जाने परम्परा नै बनेको छ । यसका लागि नेपालका चिकित्सकले संयुक्त राज्य अमेरिका (युएसए) को मेडिकल लाइसेन्सिङ इग्जामिनेसन (युएसएमएलई) मा सफल हुनुपर्छ । यस्तै फेलोसिप कार्यक्रममा डा. कोइराला पनि अमेरिका गएको ‘हृदय’ पुस्तकबाट जानकारी मिल्छ ।

‘मेरो जे वान भिसा भएकाले श्रीमतीले काम गर्न पाउने सुविधा थियो’ (पृ.५६) । यस प्रयोजनका लागि युएसएले जे वान भिसा उपलब्ध गराउँछ । यसका लागि सम्बन्धित देशको स्वास्थ्य मन्त्रालयको सिफारिस पत्र जरुरी हुने रहेछ । यस्तो सिफारिसमा ‘फेलोसिपमा जाने चिकित्सक आफ्नो देशमा फर्केर सेवा गर्नेछ, उसले अध्ययन गर्ने विषय यो देशलाई आवश्यक छ’ भन्ने निर्देशित वाक्य सम्बन्धित देशको मन्त्रालयले लेखिदिनुपर्ने रहेछ ।

यस्तो पत्र लेख्न मलाई सजिलो लागेन । फेलोसिपमा जाने चिकित्सकमा राष्ट्र«को नियन्त्रण नहुने र ऊ फर्कने ग्यारेन्टी राष्ट्रले लिन पनि नसक्ने अवस्था रहेछ । विगतमा फेलोसिपमा युएस गएकाका दश प्रतिशत पनि नेपाल नफर्केको जानकारी मैले मन्त्रालयबाट पाएँ । विगतमा दबावका कारण खुरुखुरु सिफारिस दिने गरेकामा मैले यसलाई अलि व्यवस्थित गर्न खोजेँ ।

यस सम्बन्धमा मैले नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. भगवान कोइरालाको सल्लाह लिएँ । उहाँले ‘आफू पनि यस्तै फेलोसिपमा अमेरिका गएको, नेपालमा चिकित्सकका लागि उच्च अध्ययन र अभ्यासको अभाव भएकाले विश्वका विभिन्न देशको चिकित्सकीय ज्ञान र अनुभव लिन यस्तो फेलोसिपमा पठाउनै पर्छ । नेपालमा थप अध्ययन र अनुभव लिने अवसर निकै कम छ वा छैन । यसलाई रोक्नु हुँदैन तर फेलोसिपमा जाने चिकित्सक नेपाल फर्कनै पर्ने प्रावधान अलि कडिकडाउका साथ राख्नु पर्छ । फेलोसिपमा जानेको अभिलेख राख्नुपर्छ । नेपाल मेडिकल काउन्सिलले यसमा मन्त्रालयसँग सहकार्य गर्न तयार छ, सहयोग गर्न तयार छ’, भन्नुभयो ।

डा. कोइराला, डा. अर्जुन कार्की जस्ता नेपालका प्रतिष्ठित चिकित्सक पनि फेलोसिपमा अमेरिका गई अध्ययन तथा अभ्यास गरी नेपाल फर्र्किएका उदाहरण पनि पाइयो । डा. कोइरालाको सुझावअनुसार फेलोसिपमा अमेरिका जाने चिकित्सकलाई व्यवस्थित गर्ने प्रयास सुरु गरे पनि मेरो सरुवा भएकाले चाहे जस्तो व्यवस्थित हुन सकेन ।

****

माथिका प्रसंग मैले डा. भगवान कोइरालाको कृति ‘हृदय’ पढ्दा मेरा मनमा आएका सम्झना हुन् । मैले पुस्तकका प्रत्येक शीर्षक पढ्दा डा. कोइरालालाई विगतका अनुभवका कसीमा राखेर हेरेँ ।

‘हृदय’ पुस्तकमा उल्लिखित विषय र मैले डा. कोइरालाका सम्बन्धमा बनाएको धारणा बिल्कुलै समान पाएँ । उहाँको जीवनीपरक अनुभव र अनुभूतिले यो पुस्तक उहाँले मस्तिष्कले होइन, मनले लेख्नुभएको हो ।

फाइन प्रिन्टले प्रकाशनमा ल्याएको डा. कोइरालाको पुस्तक हृदयको बिक्रीबाट प्राप्त हुने लेखकस्वको पचास प्रतिशत बालबालिकाको उपचारका निम्ति खोलिने बहुविशिष्टीकृत अस्पताल निर्माणमा खर्च हुने सन्देशले हरपाठकलाई गम्भीर बनाउँछ र सहयोग गर्न उत्प्रेरित गर्छ ।

पुस्तकमा लामाछोटा गरी अन्ठाउन्न शीर्षकमा डा. कोइरालाका अनुभव र अनुभूति पढ्न पाइन्छ । कुनै शीर्षक लामा छन्, कुनै निकै छोटा पनि छन् । ‘रुखको ग्य्राजुएसन’, ‘घरबार’, ‘अस्पताल सुध्रिँदै, घर बिग्रिँदै’, ‘मन्त्रीका सल्लाहकारसँग टकराव’, ‘मदिरापान र मांसाहार’ जस्ता शीर्षक दुई पृष्ठमा अटेका छन् भने ‘२०५८ जेठ १९’ भन्ने शीर्षक सबैभन्दा लामो छ, यो एघार पृष्ठको छ ।

पुस्तक पढ्दा सिलसिलाबद्ध भएर क्रमैसँग पढ्नुपर्छ । यो पुस्तक डा. कोइरालाको बाल्यकालदेखि वर्तमान समयसम्मको अनुभव र अनुभूति हो, यो लगभग समयक्रम मिलाएर लेखिएका हुनाले आफू खुशी शीर्षक चयन गरी पढ्दा पुस्तकको वास्तविक स्वाद पाउन सकिँदैन ।

पुस्तकमा रोचक र कौतुहल जगाउने प्रशस्त विषयवस्तु छन् । नेपालको पहाडी भूभाग पाल्पाको एउटा गाउँमा जन्मिएको व्यक्ति चिकित्सक बन्ने रहरमा उसले गरेका प्रयत्न, भोगेका हण्डर, जुधेका समस्याहरू, भोगेका आरोह र अवरोहहरू, हासिल गरेका उपलब्धि र सफलता, देशका लागि एक सच्चा नागरिकले गर्नुपर्ने कर्तव्य, पेसागत इमान सबै एउटै पुस्तकमा अध्ययन गर्न पाइन्छ ।

चिकित्सक बन्न तत्कालीन सोभियत सङ्घको आर्मिनिया र युक्रेनमा एमबीबीएस अध्ययन, बंगलादेशमा एमएस (सर्जरी अध्ययन), संयुक्त राज्य अमेरिका र क्यानडामा फेलोसिपमार्फत कार्डियोलोजीमा उच्च अध्ययन गर्दाका डा. कोइरालाका अनुभव र अनुभूतिले पाठकलाई तत्तत् स्थानमा पुर्‍याउँछ र रोमाञ्चित पनि बनाउँछ ।

एक चिकित्सक, त्यसमा पनि मुटुको सर्जन डा. कोइरालाको पुस्तक पढ्दा डा. कोइराला हाम्रो अगाडि मेचमा बसेर आफ्ना अनुभव तथा अनुभूति सुनाइरहनुभएको छ कि भन्ने भान हुन्छ । ‘म यसरी जङ्गिएपछि श्रीमती सान्द्रा डराइन् । ‘ए बाबा नकराउनू, यता आउनू’, भनेर तान्न थालिन् । सुशील पन्तले मलाई तानेर भन्नुभयो, ‘उनी त ठूलै मानिस हुन्, बढी नकराउनु ठीक हुन्न’ पृ.९१) ।

पुस्तक पढ्दै गर्दा कतै डा. कोइराला हाम्रै वरिपरि त हुनुहुन्न भनेर यताउता पल्याकपुलुक हेर्न पुगिन्छ । पुस्तकमा यस्ता परिवेश पटकपटक आउँछन् । पाठकलाई तान्न सक्नु र आफूसँगै हिँडाउनु सबै लेखकको खुबी हुँदैन ।

****

मैले ‘हृदय’ पढ्दा पुस्तकका लेखक डा. भगवान कोइरालालाई एक सर्जकका रूपमा हेरेको थिएँ । यो लेख पनि सर्जकको पुस्तक माथि लेखिएको हो । यहाँ म ‘हृदय’ पुस्तकको विस्तृत समीक्षा गर्दिनँ । बरु यहाँ केही विशेष मन परेका प्रसङ्ग मात्र उल्लेख गर्न चाहन्छु :

लेखक कोइरालाले पुस्तकमा पाल्पाली लवज पस्किनुभएको छः गणितमा मेरा जग नै अलि कमजोर थियो, एसएलसीमा ३२ जो ल्याएको थिएँ (पृ.१६) । केही द्वित्वको प्रयोगले लेखलाई मिठास बनाएको छः गणितसणित (पृ.१६)

लेखक चिकित्सा क्षेत्रका व्यक्ति भएकाले पुस्तकभित्र प्रशस्त अङ्ग्रेजी शब्दहरू भेटिन्छन् । यसरी भेटिनु पनि स्वभाविक छ । चिकित्सा क्षेत्रका शब्दहरूको नेपाली शब्द भेटाउन, पाउन र खोज्न पनि मुस्किल छ ।

अनि, नेपालीकरण गरेर भन्नुभन्दा अङ्ग्रेजीमा भन्दा बढी सम्प्रेषणीय हुने गर्छ । सिनियर, हाउस, युनिट, वान, सर्जरी, एक्पोजर, अफिसर, ब्लेसिङ इन डिसगाइज, कोर्स, डिग्री, हेल्थ, असिस्टेन्ट, जेनेरेटर, आईसीयु, ओपनहार्ट, क्लोजहार्ट, नियोनेट, ब्रेक, प्रेस्क्रिप्सन, अपरेसन थिएटर, कन्सल्टेन्ट, रजिडेन्ट, प्रोजेक्ट, एम्बुलेन्स, रेस्क्यु, ड्राफ्ट, फन्ड, ड्युटी, मेडिसिन, बेड, प्राइभेट, प्लेट, फ्री पार्किङ, स्टोर, इन्भेस्टिगेसन, सेन्टर अफ एक्सिलेन्स, ट्र्याक, डेस्परेट, टिचिङ, गेट, मिटिङ आदि ।

डा. कोइरालाले अधिकांश नेपाली अमेरिका अध्ययन वा कामका लागि गएपछि नेपाल नफर्कने विचारमा रहने र उतै बस्न प्रयास गर्ने प्रसङ्गलाई पुस्तकमा विशेष रूपमा उठाउनुभएको छ । अमेरिका बसाइका क्रममा धेरै नेपालीसँग बलियो मित्रता हुन सकेन । किनभने धेरैजसो नेपाली कानुनी वा गैरकानुनी रूपमा त्यहीँ बस्न चाहने तर म फर्किने उद्देश्यले गएको थिएँ (पृ.५९) ।

परिवारले केही वर्ष अमेरिका बस्ने प्रस्ताव गर्दा अस्वीकार गरेर डा. कोइराला तत्काल नेपाल फर्किनुभयो । केही वर्ष यतै बसे आर्थिक स्थिति अलि मजबुत हुन्छ अनि तपाईंलाई नेपालमा काम गर्न सजिलो हुन्छ (पृ.६६) । वास्तवमा डा. कोइराला फेसोसिप गरेपछि उतै बस्नुभएन । नेपाल फर्किएर चिकित्सा क्षेत्रमा उल्लेखनीय काम पनि गर्नुभयो ।

प्रायः नेपालीले विदेशमा अध्ययन तथा तालिमका क्रममा सिकेका ज्ञान, सीप र प्रवृत्ति नेपालमा आएपछि कार्यान्वयन गर्नै सक्दैनन्, गर्न सक्ने वातावरण हुँदैन । डा. कोइरालालाई पनि यस्तै अनुभूति भएको थियो । आफूले सिकेका ज्ञान र शिक्षण अस्पतालको काम गर्ने वातावरणको बीचको अलिकति पनि तालमेल मिलिरहेको थिएन (पृ.७१) ।

आफू एक्लैले मिहेनत गरे पनि साथीहरू र सिनियरहरूले प्रोत्साहन गर्दैनथे, बरु जिस्काउथे भन्ने कुरा लेखकले पुस्तकमा व्यक्त गर्नुुभएको छ । अस्पतालमा राति अबेरसम्म बसेर काम गर्थेँ । साथीहरू ‘किन अहिलेसम्म काम गरेको ? गोदवा पाउनु छ तँलाई ?’ भन्थे (पृ.३६) । यस्तो अवस्थामा कर्मशील व्यक्ति निराश हुनु स्वभाविकै थियो । तर म भित्रभित्रै निराश र अन्योलको अवस्थामा पुगिरहेको थिएँ (पृ.७१) ।

डा. कोइराला आफू पनि पटकपटक दुर्घटनामा पर्नुभएको रहेछ । एउटा डाक्टर, त्यसमा पनि सर्जन, जो दुर्घटना परेर हात गुमाउनु परेमा के हुन्छ होला ? उसको चिकित्सकीय ज्ञान र सीपको उपयोग कसरी हुन्छ होला ? यस्ता विषयमा पनि लेखक आफू परेका दुर्घटनासँगै कल्पना गर्नुहुन्छ । दुर्घटनाका परिणामले चिकित्सकीय सेवा मात्र होइन, परिवारमा पनि ठूलो असर पार्छ । त्यस बेला मेरो हात गएको भए परिवारका लागि म केही गर्न सक्दिनथेँ (पृ.१२३) । लेखकले अति संवेदनशील विषयको उठान आफ्नै दुर्घटनाबाट गराएका छन् ।

आफूले चाहेका कार्यक्रम आफूपश्चात उत्तराधिकारीले अगाडि नबढाउँदा हर कोहीलाई पनि दुःख लाग्छ । डा. कोइरालाले यस्तो अनुभव तथा अनुभूति पटकपटक गर्नुभएको छ । मुटु तथा फोक्सोसम्बन्धी सेवालाई पाँच विकास क्षेत्रमा विकेन्द्रीकृत गर्न आवश्यक ठानेर प्रस्ताव गरिएको अवधारणा बीचैमा तुहिएकामा मलाई ज्यादै दुःख लाग्छ (पृ.१२६) ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भएका बेथितिलाई लेखकले स्पष्ट शब्दमा लेख्नुभएको छ : त्यस बेला अस्पतालमा गर्न सकिने अधिकांश इन्भेस्टिगेसनहरू त्यहाँ नगरी बाहिर निजीतिर लैजाने गरेको, इमर्जेन्सीमा बिरामीहरूले उपचार गर्न सकिने स्थिति हुँदाहुँदै कमिसनको लोभमा बाहिर पठाउने गरेको पाइयो । यसैगरी अपरेसन थिएटरबाट महत्वपूर्ण तथा महङ्गा सामान प्रशस्त चोरी हुने गरेको, सामानहरू नोक्सान हुने, कामै नगरी ओभर टाइमको पैसा लिने, ल्याबमा हुनुपर्ने जति आम्दानी नहुने जस्ता कुरा त्यो रिपोर्टमा आए (पृ.१३८–१३९) ।

शिक्षण अस्पतालको इमर्जेन्सीमा ल्याएका बिरामी एम्बुलेन्सबाट ओराल्नसमेत नपाउने, आउँदाआउँदै ए बेड खाली छैन, लैजानुस् लैजानुस् भनेर बाटैबाट फर्काउनेसम्म हुँदो रहेछ (पृ.१४५) । पुस्तकमा उल्लिखित यस्तै दृष्टान्तले शिक्षण अस्पतालको बेथितिलाई दर्साउँछन् ।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको कार्यकारी निर्देशक पदमा काम गर्दा परेका समस्या, दबाब तथा उल्झनलाई लेखकले मिहिन किसिमले उल्लेख गर्नुभएको छ । यति धेरै घिनलाग्दा राजनीतिक खेल हुने, चरम अनुशासनहीनता, भद्रगोल र अव्यवस्थित आर्थिक हिसाबकिताब भएकाले यो सफल हुने प्रोजेक्ट हो भन्ने मलाई लागेकै थिएन । त्यसैले म संलग्न हुन चाहन्नथेँ । रातभरि निद्रा लागेन (पृ.१४१) ।

****

चिकित्सा क्षेत्रका व्यक्तिले त डाक्टर भगवानको सङ्केतबाट नै सम्पूर्ण आसय बुझ्न सक्छन्, हृदय पुस्तकमा डा. भगवानले गैरचिकित्सा क्षेत्रका व्यक्तिले पनि सरल तथा सहज रुपले बुझ्न सक्ने गरी आफ्ना अनुभव र अनुभूतिलाई पस्किनुभएको छ ।

साहित्यमा नोबेल पुरस्कार विजेता भिएस नयपालका शब्दमा ‘साहित्य तब महान् बन्छ जब यसलाई साधारणदेखि साधारण व्यक्तिले पनि सहजै बुझ्न सक्छ, सहजै ग्रहण गर्न सक्छ’ भन्ने विचारलाई अनुशरण गर्दा डा. कोइरालको ‘हृदय’ सही जँचेको छ ।

नेपाली बृहत् शब्दकोशले हृदयलाई मुटु मात्र नभनेर ‘अन्तरात्मा, अन्तःकरण, चित्त, मन’ पनि भनेको छ । यस शब्दकोशले हृदयलाई ‘असल र खराब छुट्याउने शक्ति, विवेक’ पनि भनेको छ । मुटुले अभिधा अर्थ बोक्छ, हृदयले अभिधा, लक्षणा र व्यञ्जना अर्थ पनि बोक्छ । लेखक डा. भगवानले पनि पुस्तकको नाम मुटु राख्नुभएन, हृदय राख्नुभयो ।

यस पुस्तकमा मुटुका कुरा मात्र छैन, मुटु चिकित्साका व्यापक कुरा छन्, हृदयका कुरा छन्, हृदय छुने कुरा छन् । हाम्रामा ‘शहीद गङ्गालाल राष्ट्रिय मुटु केन्द्र’ छैन, ‘शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र’ छ नि । यस अस्पतालमा मुटुको मात्र उपचार हुँदैन, मुटुसँग सम्बन्धित निरोधात्मक तथा उपचारात्मक काम पनि हुन्छ, हृदयसम्बन्धी व्यापक काम पनि हुन्छ ।

मुटुको चिरफार गर्ने डाक्टर भगवानले आफ्नो जीवनको अनुभव र अनुभूतिलाई चिरफार गर्नुभएको छ ‘हृदय’ मार्फत । पुस्तक पढ्दा लक्षणा र व्यञ्जना अर्थ खोज्नु पर्दैन, अभिधा अर्थले नै पुग्छ । सिधासादा कुरा छ, नबुझिने कुरै छैन । शब्द नबुझेर शब्दकोश खोज्नु पर्दैन । पुस्तक पठनीय त छदैछ, यो पुस्तक सङ्ग्रहणीय पनि छ ।

यो पुस्तक किनेर आफूले पढेर स्कुललाई उपहार दिन पनि सकिन्छ, पुस्तक किनेर स्कुललाई उपहार दिन पनि सकिन्छ, बिहाबारी, जन्मदिन आदिमा पनि यो पुस्तक उपहार दिन सकिन्छ । पुस्तक किनेर यसबाट प्राप्त हुने लेखकस्वको पचास प्रतिशत इन्स्टिच्युट अफ चाइल्ड हेथ नाम गरेको बहुविशिष्टीकृत बाल अस्पताललाई सहयोग गर्न पनि सकिन्छ । पुस्तक पढ्न पनि पाइने, पुण्य पनि मिल्ने । पुस्तकका लेखक डा. कोइराला तथा प्रकाशकलाई बधाई तथा शुभकामना ।

कृति : हृदय
लेखक : डा. भगवान कोइराला
प्रकाशक : फाइन प्रिन्ट
पृष्ठ : २२७
मूल्य : ६५० रुपैयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?