+
+

भैरहवाबाट उडान नगरेपछि २ एयरलाइन्सको काठमाडौंबाट हुने उडान कटौती

विदेशी एयरलाइन्सलाई छुट, पूर्वाधार नै नदिई बाध्यकारी नियम

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने गरी तालिका नबनाएको भन्दै सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १३ गते १७:५५

१३ कात्तिक, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने गरी तालिका नबनाएको भन्दै सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले त्रिभुवन विमानस्थलबाट गर्ने नियमित उडानहरू कटौती गरेको छ । सञ्चालन खर्च समेत नउठेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाली अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई विन्टर सिजनको तालिकामा भैरहवाबाट उड्न बाध्यकारी गराउन थालेको हो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार त्रिभुवन विमानस्थलबाट दैनिक प्रति तीनभन्दा बढी अन्तर्राष्ट्रिय उडान गर्ने कम्पनीले कम्तीमा एउटा उडान भैरहवा विमानस्थलबाट गर्नुपर्ने नियम बनाइएको छ । यसअनुसार आइतबारदेखि हिमालय र नेपाल वायुसेवा निगमले त्रिुभवन विमानस्थलबाट गर्ने दुई-दुई वटा उडान भैरहवामा सार्नुपर्ने थियो ।

तर, दुबै कम्पनीले भैरहवाबाट उडान गर्ने गरी नयाँ तालिका नबनाएपछि प्राधिरकणले आइतबार नेपाल वायुसेवा निगमको दिल्लीमा हुने उडान रोकिदिएको छ ।

सूचना अधिकारी भुलका अनुसार राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम, हिमालय एयरलाइन्सबाहेक एयर अरेबिया, फ्लाइ दुबई र कतार एयरवेजले पनि दैनिक तीनभन्दा बढी उडान त्रिुभवन विमानस्थलबाट गर्छन् । तर, उनीहरुलाई भैरहवमा उडान सार्ने म्याद १५ डिसेम्बर २०२२ सम्म दिइएको छ । यसअनुसार सो दिनसम्म तीन विदेशी एयरलाइन्सले त्रिभुवन विमानस्थलबाटै नियमित उडान गर्न सक्नेछन् । सो मितिसम्म पनि उनीहरुले भैरहवा विमानस्थलबाट तोकिएअनुसार भैरहवा विमानस्थलबाट उडान नगरे उडान रोकिने भुलले बताए ।

त्रिभुवन विमानस्थलबाट ३ उडानभन्दा बढी उडान गरिरहेका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सलाई कम्तीमा एक उडान भैरहवाबाट गर्न सर्कुलरसहितको पत्र पहिल्यै पठाइएको भुलले बताए ।

३० अक्टोबर २०२२ (आज) देखि २५ मार्च २०२३ सम्म ६ महिनाको ‘विन्टर सिजन’को उडान तालिका तय हुन्छ । सो तालिकाअनुसार उडान गर्नेगरी योजना बनाउन कम्पनीहरुलाई भनिएको , तर उनीहरुले अटेरी गरिएकाले उडान रोकिएको भुलले बताए ।

भैरहवामा जजिरा एयरलाइन्सले कुवेतबाट हप्तामा ३ वटा मात्रै उडान गरिरहेको छ । त्यसैले अब थपिने उडान पनि उडान पश्चिम र मध्य नेपालबाट वैदेशिक रोजगारीमा जाने गन्तब्यहरुमा केन्दि्रत हुनुपर्ने बाध्यता छ । त्योबेला काठमाडौंबाट उड्न चाहनेले पनि भैरहवा पुग्नुपर्ने अवस्था बन्न सक्छ ।

छैनन् पूर्वाधार, खर्च उठाउने रणनीति

अहिले भैरहवामा जजिरामा यात्रा गरिरहेकामध्ये अधिकांश एक पटक विदेश गएर सोही कम्पनीमा फर्किन श्रम स्वीकृति नवीकरण गर्नेहरु धेरै छन् । कतिपय म्यानपावर कम्पनीले टिकट काटेर श्रमिकलाई भैरहवा पठाइरहेका छन् ।

भैरहवामा म्यानपावरको सेवा, मेडिकल, नयाँ श्रम स्वीकृति, अभिमुखीकरण लगायत सबै सेवा उपलब्ध छैनन् ।

विमानस्थलका अधिकारीहरुका अनुसार, भैरहवामा विमान कम्पनीलाई पार्किङ, नेभिगेसन, ग्राउन्ड हृयान्डलिङ लगायत शुल्कमा छुट भएकाले केही सस्तो दरमा टिकेटिङ भइरहेको छ ।

म्यानपावर कम्पनीहरुले काठमाडौंबाट ‘टिकट पाइएन’ भन्दै भैरहवा पठाएकाले झापादेखिका यात्रु त्यहाँबाट उड्न पुग्छन् । भैरहवाबाट उड्दा औसत ८ हजार रुपैयाँ सस्तो पर्ने भएपनि म्यानपावर कम्पनीहरुले श्रमिकबाट बढी असुलेर पठाइरहेको विमानस्थलका अधिकारीहरु बताउँछन् ।

वैदेशिक रोजगारीमा जानेका लागि गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक पर्ने पूर्वाधारहरु भने छैनन् । कुनै म्यानपावर कम्पनीको कार्यालय पनि छैन । अहिले त सरकारले नै म्यानपावर कम्पनीको शाखा खोल्न अनुमति रोकेर राखेको छ । न त भैरहवालक्षित नयाँ म्यानपावर कम्पनीको लाइसेन्स दिने योजना छ ।

विदेश जानेहरुको मेडिकल जाँच पनि भैरहवामा हुँदैन । त्यसका लागि सरकारले अनुमति जारी गरेर स्तरीय डाइग्नोस्टिक सेन्टरहरु खोल्नपर्छ ।

श्रम स्वीकृतिबाहेकका सबै प्रक्रिया पुरा गर्न काठमाडौं आउनैपर्ने हुँदा विदेश जाने श्रमिकको खर्च थपिने जोखिम पनि छ । वैदेशिक रोजगारमा जानेले नयाँ श्रम स्वीकृत लिएर अभिमुखीकरण कक्षा लिन पनि काठमाडौं नै आउनुपर्ने अवस्था छ ।

यस्तो अवस्थामा काठमाडौं आउ-जाउको दोहोरो खर्च लाग्ने भएकाले यात्रुले भैरहवाबाट उड्ने गरी टिकट नै सम्भावना पनि छ । हालको अवस्थामा काठमाडौंमा सबै प्रक्रिया पुरा गरेर काठमाडौंबाट उड्न सहज छ ।

अहिले कतार र यूएईका भिसा सेन्टर पनि काठमाडौंमा मात्रै छन् । अन्य कतिपय देशमा जान ‘बायोमेटि्रक’ दिनुपर्ने सुविधा पनि कठमाडौंमै केन्दि्रत छ ।

उड्ययन प्राधिकरणका सूचना अधिकारी भुल वैदेशिक रोजगारी सम्बद्ध सबै सेवा भैरहवामा सुरु गराउने पहल गर्न श्रम मन्त्रालयलाई आग्रह गरेको र प्रधानमन्त्री शेरबहाअुर देउबाल त्यसका लागि मन्त्रालयहरुलाई निर्देशन दिएको बताउँछन् ।

नेपालका मुख्य गरी तराई क्षेत्रबाट विदेश जानेको संख्या धेरै रहेको र भैरहवा विमानस्थल पूर्वपश्चिम राजमार्गको मध्यविन्दुबाट नजिकै रहेकाले यहाँबाट हवाई सेवा लिने यात्रुको संख्या धेरै हुनेमा प्राधिकरणका अधिकारीहरु विश्वस्त छन् । त्यसैले वैदेशिक रोजगारीमा जाने र फर्किनेहरुलाई भैरहवाको विकल्प दिने योजना बनाइएको हो ।

विमानस्थलको व्यवसायिक सफलताका लागि पनि यस्तो रणनीति आवश्यक भएको प्राधिकरणको भनाइ छ । अहिले जजिरा एयरलाइन्सको मात्र उडान भएको गौतमबुद्ध विमानस्थल घाटामा चलिरहेको छ । विमानस्थल सञ्चालन खर्च वाषिर्क सवा एक अर्बसम्म लाग्ने अनुमान छ ।

दैनिक ४० वटा उडान गर्नसक्ने विमानस्थल हप्तामा ३ वटा उडानमा सीमित छ । यसले गर्दा आम्दानी निकै न्युन छ । जबकी, विमानस्थललाई चौबिसै घण्टा खुला राखिएको छ । त्रिभुवन विमानस्थलको विकल्पको रुपमा चौबिसै घण्टा खुला राखिएको विमानस्थलको खर्च धान्नका लागि नै उडानलाई बाध्यकारी बनाउन लागिएको सूचना अधिकारी भुलले बताए ।

‘त्रिभुवन विमानस्थलको ट्याक्सी-वेको काम पनि गर्नुपर्ने भएकाले यहाँको चाप घटाउन भैरहवामा यस्तो बाध्यकारी रुपमा उडान गराउन लागिएको हो,’ उनले भने,’नियमअनुसार भैरहवमाबाट उडान नभर्ने कम्पनीलाई अहिले उडान भइरहेका क्षेत्रमा थप उडान अनुमति पनि दिंदैनौं ।’

अहिले भैरहवाको विमानस्थलमा आकस्मिक अवस्थामा भैरहवा विमानस्थल प्रयोग गर्नुपर्ने अवस्था आउने भएकाले एयर ट्राफिकदेखि सुरक्षाकर्मी, कर्मचारी सबैलाई २४ घण्टा नै काममा लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?