+
+

काठमाडौं उपत्यका घेर्ने तीन वटा चक्रपथ बनाउने एकीकृत समाजवादीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १४ गते १५:२४
प्रतीकात्मक तस्वीर

१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाहरूलाई एकीकृत राजधानी सहरका रूपमा विकास गर्ने घोषणा गरेको छ । समाजवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा काठमाडौं, भक्तपुर र ललितपुरलाई सुन्दर, स्वस्थ, स्वच्छ तथा पर्यावरणमैत्री ऐतिहासिक सम्पदा सहरका रूपमा विकास गर्न पहल गर्ने र राजधानीको विकासका लागि छुट्टै ऐन निर्माणका लागि पहल गरिने उल्लेख छ ।

‘ऐतिहासिक तथा पुरातात्विक संरचना र वस्तीहरुलाई संरक्षित गर्ने, अव्यवस्थित संरचनालाई उचित मुआब्जा दिई अधिग्रहण गर्ने, राजधानीलाई फोहोर, हिलो, धुलो र प्रदूषणमुक्त बनाउने, राजधानीका नदी, खोला–नाला र तालमा ढल र फोहोर पानी मिसाउन प्रतिबन्ध लगाउने,’ घोषणापत्रमा भनिएको छ, ‘वागमती, बिष्णुमति, मनोहरा, हनुमन्तेलगायत नदी र खोलाहरूलाई सफा एवं स्वच्छ राख्ने, पशु छाडा छोड्न रोक लगाउने र पेट्रोलियम वाहनहरूलाई विद्युतीय वाहनमा परिणत गर्न प्रोत्साहन गर्ने तथा २०८५ साल पश्चात राजधानीमा सञ्चालन हुने सबै सवारी साधन विद्युतीय हुने गरी व्यवस्था मिलाउने ।’

‘हरित सहर, राम्रो सहर’ अवधारणा अनुसार सडकहरूको दायाँ–बायाँ फल–फूलका बिरुवा लगाई सडकको सौन्दर्य बढाउने र तिनको संरक्षण गरी राजधानीलाई हरियाली सहरको रूपमा विकास गर्ने व्यवस्था मिलाउन पहल गर्ने र ‘मेरो सहर, म बनाउछु’ भन्ने उद्घोषका साथ सफा, सुरक्षित र सभ्य सहर बनाउन पहल गर्ने घोषणापत्रमा उल्लेख छ ।

काठमाडौं उपत्यकामा भित्री, बाहिरी र बृहत गरी तीनओटा चक्रपथ निर्माण, विस्तार तथा विकास गर्न पहल गर्ने पनि उल्लेख छ । काठमाडौं उपत्यकाको भूमीगत जल स्तर प्रत्येक वर्ष घटिरहेको छ र जसले गर्दा यहाँको जमिन भासिंदै गइरहेकाले प्रत्येक घरले पानी पुनर्भरणका लागि आवश्यक संरचना अनिवार्य रूपमा बनाउनु पर्ने कानुनी व्यवस्था गरी लागु गर्ने र सम्भव भएसम्मका सबै घरहरू आकाशे पानी संकलन तथा प्रयोग परियोजना लागु गर्ने विषयमा पनि घोषणापत्रमा समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?