+
+

कोमोड कि प्यान ट्वाइलेट : शौच र स्वास्थ्यका लागि कुन ठीक ?

मनोज ढकाल मनोज ढकाल
२०७९ कात्तिक १४ गते १६:१८

शौचका लागि कोमोडको प्रयोग बढ्दो छ । आधुनिक शौचालयमा कोमोड अनिवार्य जस्तै भएको छ । जबकि विगतमा प्यान सिट नै निर्विकल्प रोजाइ हुन्थ्यो । शौचालयमा बदलिएको यो शैलीले स्वास्थ्य खासगरी पाचनयन्त्र र मेरुदण्डलाई कुनै असर पार्छ ? स्वास्थ्यका हिसाबले यीमध्ये कुन बढी उचित हुन्छ ? किन ?

प्यान ट्वाइलेट कि कोमोड ?

शारीरिक स्वास्थ्यको हिसाबले कोमोड र प्यान दुवैको आ–आफ्नो विशेषता छ । प्यान ट्वाइलेट सिटको प्रयोग गर्दा हात मात्र होइन, खुट्टा पनि प्रयोग हुन्छ जसका कारण शरीरमा व्यायामको अवस्था सिर्जना हुन्छ र पसिना पनि आउँछ । जसरी हामी प्यानमा बस्छौं, यो स्थितिले रक्तसञ्चार सुधार गर्छ र हात–खुट्टाको व्यायाममा पनि मद्दत गर्छ ।

कोलोन क्यान्सर र पेटसँग सम्बन्धित अन्य रोग नियन्त्रणका लागि पनि प्यान सिट ट्वाइलेटको प्रयोग लाभदायक हुन्छ । प्यान सिटमा बस्दा हाम्रो शरीरमा कोलोनबाट मल पूर्ण रूपमा हटाउन मद्दत गर्छ ।  यसरी यसले कब्जियत, एपेन्डिसाइटिस, कोलोन क्यान्सर र अन्य प्रकारका रोगको सम्भावनालाई कम गर्न मद्दत गर्दछ ।

प्यान सिटको प्रयोग हाम्रो शरीरमा रहेको फोहोर पदार्थलाई पूर्ण रूपमा बाहिर निकाल्न मद्दत गर्छ ।  यसले शरीरमा पर्याप्त दबाब दिन्छ, ताकि पेट राम्रोसँग सफा होस् । विभिन्न अध्ययनले यस्तो सिटको प्रयोगले कब्जियत र पेटको अन्य समस्यालाई हटाउन सकिने समेत देखाएको छ ।

डा. मनोज ढकाल

गर्भवती महिलाले पनि प्यान सिटको प्रयोग गर्नु राम्रो हुन्छ । प्यान ट्वाइलेट प्रयोग गर्दा पाठेघरमा दबाब आउनबाट रोक्छ । प्यान ट्वाइलेटको प्रयोगले गर्भवती महिलालाई प्राकृतिक प्रसव गर्न तथा सुत्केरीलाई सजिलो र सुरक्षित बनाउन मद्दत गर्छ ।

शौचपछि सरसफाइ धेरै महत्त्वपूर्ण हुन्छ । प्यानको प्रयोग गरेपछि हामी आफ्ना अंगहरुलाई पानीले सफा गर्छौं र त्यसपछि साबुन पानीले हात सफा गर्छौं । यसले विभिन्न प्रकारको संक्रमणबाट पनि बचाउँछ ।

वृद्धवृद्धा र हाडजोर्नी दुख्ने समस्या भएकालाई कोमोड

आजभोलि कोमोड ट्वाइलेट सिटको प्रयोग गर्नेको संख्या निकै बढेको  छ । यसका पनि केही फाइदा छन् । कोमोड सिट बस्नका लागि आरामदायी हुन्छ ।

यसको प्रयोगले कुनै पनि प्रकारको मांसपेशीमा तनाव महसुस हुँदैन । कोमोड ट्वाइलेट सिट विशेषगरी वृद्धवृद्धाका लागि सुविधाजनक छ । घुँडा दुख्ने, नसा च्यापिएका, प्यारालाइसिसका बिरामी र भर्खरै शल्यक्रिया गराएका मानिसका लागि यो उपयोगी हुन्छ ।

शौच क्रियामा बसाइको पोजिसन

बसाइको पोजिसनले शौच क्रियालाई प्रभाव पार्छ । प्रायः मानिस कोमोडमा बस्दा ९० डिग्रीको पोजिसनमा बस्छन् । केही व्यक्ति प्यानमा बस्दा पनि सिधा भएर बस्छन् । तर यसरी ९० डिग्रीको पोजिसनमा बस्दा शौच राम्ररी हुँदैन । त्यसैले कोमोड वा प्यान जेमा बसे पनि ३५ देखि ४५ डिग्रीको पोजिसनमा बस्नुपर्छ । यसरी बस्दा शौच राम्ररी हुन्छ र पेट सफा हुन्छ ।

सरसफाइको हिसाबले कुन बढी प्रभावकारी ?

ट्वाइलेट नै सफा गर्ने कुरा हो भने सरसफाइ गर्न त कोमोड सजिलो हुन्छ । तर मानसिक स्वास्थ्यको हिसाबले हेर्दा प्यान ट्वाइलेट सिटको प्रयोग नै बढी प्रभावकारी हुन्छ । किनकि कोमोडमा बसेर शौच गरिन्छ । एउटा व्यक्तिमा संक्रमण छ र उसले ट्वाइलेट प्रयोग गर्‍यो भने अर्को व्यक्ति फेरि त्यही कोमोडमा बस्दा संक्रमण सर्छ । सार्वजनिक ट्वाइलेट त झन् प्यान सिट भएको नै राम्रो हुन्छ ।

प्यान ट्वाइलेटमा पानीको प्रयोग गरिन्छ । शौचपछि साबुन पानीले हात धोइन्छ, जुन स्वास्थ्यको दृष्टिकोणले प्रभावकारी हुन्छ ।

शौचको समयावधि

साधारणतया दिनमा एकदेखि तीन पटकसम्म शौच हुनु सामान्य हो । समयावधिको कुरा गर्ने हो भने एक पटकमा पाँच मिनेटसम्म शौचका लागि ट्वाइलेटमा बिताउनु राम्रो हो । लामो समय ट्वाइलेटमा बिताउँदा कब्जियत, पायल्स जस्ता समस्या देखा पर्न सक्छन् ।

शौचको लागि उपयुक्त समय भनेको बिहानको समय हो । बिहान ५ देखि ७ बजेसम्मको समय शौचको लागि उपयुक्त हुन्छ ।

(प्राकृतिक चिकित्सक मनोज ढकालसँग सुमित्रा लुइटेलले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?