+
+

को बन्ला राष्ट्रिय क्रिकेट टिमको कप्तान ?

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ कात्तिक १५ गते १०:१७

१५ कात्तिक, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार नेपाल र युएईबीच तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृंखला आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ ।

कात्तिक २८ देखि २ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र यूएईबीच तीन खेल हुने पक्का भएको छ । नेपाल र यूएईबीच कात्तिक २८, ३० र मंसिर २ गते खेल हुनेछ ।

तर नेपाली राष्ट्रिय क्रिकेट टिम भने अहिले कप्तान विहीन छ । यसअघिका कप्तान सन्दीप लामिछानेलाई नाबालिग बलात्कारको आरोप लागेपछि क्यानले उनलाई निलम्बन गरेको छ र अदालतमा मुद्दा चलिरहेको छ ।

अनुशासन तोडेको आरोपमा क्यानले तात्कालीन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई पदबाट हटाएर सन्दीपलाई कप्तान बनाएको थियो । तर सन्दीप एक वर्ष पनि कप्तान रहन पाएनन् । त्यसैले अब यूएईविरुद्ध कप्तानी कसले गर्ला भन्ने चासो बढेको छ ।

क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल छनोट समिति र प्रशिक्षकसँग सल्लाह गरेर नयाँ कप्तान नियुक्त गर्ने बताउँछन् । ‘खेल नजिक आइसकेकाले अब कोच र सेलेक्सन कमिटीको सल्लाहमा नयाँ कप्तान चाँडै नियुक्त गरिनेछ,’ उनले भने ।

मल्लले यूएईविरुद्धको शृंखलाको लागि क्यानले २४ खेलाडी छनोट गरेर आन्तरिक प्रशिक्षण सुरु गर्ने बताए । ‘हामीले २४ जना छनोट गरेर आजदेखि नै आन्तरिक रुपमा क्याम्प राख्नेछौं । अहिले प्रधानमन्त्री कपमा आफ्नो खेल नभएका दिन उनीहरु प्रशिक्षणमा सहभागी हुनेछन्,’ मल्लले भने, ‘२४ जनाबाट अन्तिम १४ जना छनोट गरिनेछ ।’

कप्तानका दाबेदारहरू

नेपाली टिममा अहिले अन्तर्राष्ट्रियस्तरमा कप्तानी गरिसकेकादेखि उमेर समूहमा कप्तानी गरिसकेका र घरेलु क्रिकेटमा पनि कप्तानी गरिसकेका खेलाडीहरु छन् । उनीहरुबाटै एक जना कप्तान बन्नेछन् ।

पछिल्लो पटक भदौमा नेपालले केन्या भ्रमण गर्दा पाँच टी-२० अन्तर्राष्ट्रिय खेलमा सन्दीपले नै कप्तानी गरेका थिए ।

त्यसपछि उनी क्यारेवियन प्रिमियर लिग (सीपीएल) खेल्न गएपछि उपकप्तान रोहित कुमार पौडेलले ५० ओभरको तीन खेलमा नेपालको कप्तानी गरिसकेका छन् ।

उक्त एकदिवसीय शृंखला नेपालले नै जितेको थियो । रोहितले केन्याबाट भविष्यका लागि राम्रो सम्भावना देखाएका थिए । त्यसैले रोहित कप्तानको लागि मुख्य दाबेदारको रुपमा छन् ।

यस्तै केन्या टुरबाटै राष्ट्रिय टिममा पुनरागमन गरेका ज्ञानेन्द्र मल्ल पनि कप्तानको दाबेदार हुन् । उनले यसअघि नेपालको लागि कप्तानी गरिसकेका छन् । ज्ञानेन्द्र कप्तान हुँदा उपकप्तान रहेका दीपेन्द्र सिंह ऐरी पनि कप्तानको दाबेदारको रुपमा छन् ।

अहिले भइरहेको प्रधानमन्त्री कपमा ज्ञानेन्द्रले बागमती प्रदेशको कप्तानी गरिरहेका छन् । यस्तै दीपेन्द्रले नेपाल पुलिसको कप्तानी गरिरहेका छन् । रोहित भने विनोद भण्डारीको कप्तानीमा त्रिभुवन आर्मी क्लबबाट खेलिरहेका छन् ।

यस्तै घरेलु क्रिकेटमा सफल कप्तान र अनुभवी खेलाडी शरद भेषावकरले नेपाल एपीएफ क्लबको कप्तानी गरिरहेका छन् । शरद राष्ट्रिय टिममा नखेलेको धेरै भइसक्यो भने विनोद टिममा पर्ने/बाहिरिने भइरहेका छन् ।

यसबाहेक घरेलु क्रिकेटमा कप्तानी गरिसकेका खेलाडीमा सोमपाल कामी र करण केसी पनि छन् । तर सिनियर टिमको कप्तानी गरेको अनुभव भने उनीहरुसँग छैन । त्यसैले अहिले कप्तानको लागि मुख्य दाबेदारको रुपमा रोहित, ज्ञानेन्द्र र दीपेन्द्र नै देखिएका छन् ।

प्रधानमन्त्री कपमा दुई खेल खेलिसकेका दीपेन्द्रले एक शतक बनाइसकेका छन् । उनले ब्याट र बल दुवैमा राम्रो गरेका छन् । रोहितले आर्मीका लागि पहिलो खेलमा एपीएफविरुद्ध अर्धशतक प्रहार गरेका थिए । ज्ञानेन्द्रले भने पहिलो खेलमा पुलिसविरुद्ध राम्रो प्रदर्शन गर्न सकेनन् ।

क्यानका कार्यवाहक सचिव मल्लले कप्तानका लागि सबै खेलाडी योग्य रहेको र जो पनि कप्तान नियुक्त हुनसक्ने बताए ।
विभिन्न पक्षलाई ध्यान दिएर कप्तान छनोट गर्ने मल्ल बताउँछन् । ‘यो गहन विषय हो । सिधै नियुक्त गरेर पनि भएन ।

उसको प्रदर्शन कस्तो छ । कति लामो समयसम्म खेल्न सक्छ । भविष्य सबै हेरेर नै कप्तान बनाइनेछ,’ मल्लले भने, ‘यसअघि सन्दीपलाई पनि लामो समय हेरेर नै कप्तानी दिइएको हो । तर दुर्भाग्यवश घटना भयो ।’

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?