+
+
ब्लग :

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन र भविष्य

सौगात लुईंटेल सौगात लुईंटेल
२०७९ कात्तिक १५ गते १२:०५

चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशन भर्खरै सम्पन्न भएको छ। हरेक ५ वर्षमा अक्टोबर वा नोभेम्बरमा हुने पार्टीको सबैभन्दा ठूलो यस सम्मेलनमा चीनभरिबाट कम्युनिस्ट पार्टीका करिब ९ करोड ६७ लाख सदस्यहरूबाट २ हजार २९६ प्रतिनिधि सहभागी भएका थिए।

कम्युनिस्ट पार्टीको सबैभन्दा ठूलो अंगको रूपमा रहेको महाधिवेशन पहिले नेताहरूको खल्तीबाट केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी छान्ने औपचारिकतामै सीमित रहने गरेकोमा पछिल्ला केही दशकयता शान्तिपूर्ण रूपमा सत्ता परिवर्तन हुने थलोको रूपमा विकसित हुँदै आएको थियो। यसका अतिरिक्त चीनको बढ्दो आर्थिक र सामरिक शक्तिको कारण पनि चिनियाँ कम्युनिस्ट पार्टीको यो सम्मेलन अन्तर्राष्ट्रिय रूपमै निकै चासोको साथ हेरिएको थियो।

के भयो त यो महाधिवेशनमा ?

यस महाधिवेशनले आगामी ५ वर्षको लागि नयाँ केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटी चयन गरेको छ। यसका साथसाथै अघिल्लो महाधिवेशनबाट आफ्नो विचारधारा पार्टीको विधानमा लेखाउन सफल भएका पार्टीका महासचिव सी जिन पिङले लामो रस्साकस्सीबीच यस महाधिवेशनबाट आफूलाई तेस्रो कार्यकालको लागि पार्टीको नेतृत्वमा राख्न सफल भएका छन्।

विभिन्न गुट र उपगुट रहेको चिनियाँ कम्युनिस्ट पार्टीको अन्तरिक शक्ति सन्तुलनमा पनि सीले आफूलाई शक्तिशाली बनाएका छन्। संघर्षबाटै शक्तिको प्राप्ति र संचय गरिने चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास यसपालिको महाधिवेशनमा पनि कायम नै भएको छ।

महाधिवेशनमा नेतृत्वमा हेरफेरको इतिहास

चिनियाँ क्रान्तिका नायक कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष माओको १९७६ मा निधन भएपछि पार्टीको नेतृत्वमा ख्रुस्चेवबाट प्रेरित र माओको सांस्कृतिक क्रान्तिका पीडित देंग छ्योपिंग पार्टीको ‘प्यारामाउन्ट लिडर’ को रूपमा स्थापित भए। माओको उत्तराधिकारीको रूपमा अघि बढेका हुवा कुओफेंगलाई हटाएर कम्युनिस्ट पार्टीको नेतृत्वमा आएका देंगले हुवालाई केन्द्रीय कमिटीमा स्थान दिएर चिनियाँ कम्युनिस्ट पार्टीको इतिहासमा रक्तपात र हिंसाको युग सकिएको सन्देश दिएका थिए।

आर्थिक सुधारक देंगले आफ्नो नेतृत्वमा आर्थिक सुधारका कार्यक्रम ल्याएर चीनलाई आर्थिक शक्तिको रूपमा उदय गराउनको लागि अहम् भूमिका निर्वाह गरेका थिए। उमेरको कारणले सेनाको परमाधिपतिको पदमा मात्रै बसेर देंगले आफ्नो उत्तराधिकारीको रूपमा आर्थिक सुधारका निम्ति आफूलाई सहयोग गर्ने हु याओवंग र ज्हाओ जियांगलाई १९८२ को महाधिवेशनमा अघि सारे। तर पार्टीभित्र आर्थिक सुधारको साथसाथै राजनीतिक रूपमा पनि चिनियाँ समाजलाई क्रमश: खुला गर्नुपर्ने कुराको वकालत गर्न थालेपछि देंगका उत्तराधिकारी मानिएका दुवैजना पार्टीका कट्टर समर्थकमाझ अलोकप्रिय हुँदै गए।

हुको १९८९ मा निधन भएपछि पार्थिव शरीरमा श्रद्धाञ्जलि दिन आएका विद्यार्थीले तियानमेन स्क्वायरमा प्रदर्शन गर्न थालेपछि पार्टीभित्र ज्हाओको आलोचना र बहिर्गमनको माग बढ्न थाल्यो। विद्यार्थीको सो प्रदर्शन रोक्नको लागि सेनाले बख्तरबन्द गाडी नै ल्याउनु परेको थियो।

पार्टीभित्र ज्हाओले नै विद्यार्थीलाई प्रदर्शन गर्न लगाएको आरोप लागेपछि र पार्टीमा उनले बहुमत गुमाउन थालेपछि ज्हाओलाई हटाएर शंघाईका पूर्व मेयर जिआंग जेमिनलाई १९९२ को महाधिवेशनमा अघि सारियो।

बेइजिंगमा आफ्नो पहुँच स्थापित गर्न नपाएका र देंगले पनि नरुचाएका जिआंगले आफूलाई पार्टीका कट्टर कार्यकर्ताबीचमा स्थापित गराउनको निम्ति फलोंन गोंग नामको चिनियाँ धार्मिक आन्दोलनलाई सहारा बनाए। उक्त आन्दोलनले पार्टीको वर्चस्वलाई चुनौती दिन थालेको भन्दै रोक्नको लागि आन्तरिक सुरक्षाको लागि उनले ६१० नामको अर्धसैनिक दस्ताको स्थापना गराए। यही अर्धसैनिक दस्ता जिआंगको भविष्यको शक्तिको कारक हुन गयो।

पार्टीभित्र सामूहिक नेतृत्वको माग र कार्यकर्ताको दबावबीच आफ्नो अनिच्छा हुँदाहुँदै २००२ को महाधिवेशनबाट पार्टीको नेतृत्व युथ लिग गुटका हु जिन्ताओलाई सुम्पिन बाध्य भए। आफ्नो शक्ति गुमाउन नचाहने उनको इच्छा २००४ सम्म सेनाको परमाधिपतिको पदमा आसीन रहने उनको कदमले पनि पुष्टि गरेको छ।

आफूले पार्टीको महासचिव पद त्यागे पनि स्थायी कमिटीमा आफ्ना मानिस राखेर जिआंगले हुको कार्यकालभर शक्तिको व्यापक अभ्यास गरी उनलाई आफ्नै कार्यकालमा कमिटीमा उपेक्षित गरे।

सीको उदय

कम्युनिस्ट पार्टीका नेता सी ज्होंग्सुनको पुत्रको रूपमा जन्मिएका सी चिनियाँ ग्रामीण क्षेत्रमा लामो समय काम गरेर खारिएका कम्युनिस्ट नेताको रूपमा परिचित भएका थिए। आफ्नो बुवा सांस्कृतिक क्रान्तिको सिकार भएपछि गुफामा बसेर पार्टीको काममा लागेका सी शंघाईसहित अरु थुप्रै सहरमा पार्टीको जिम्मेवारी बहन गरिसकेपछि २००७ को महाधिवेशनबाट पार्टीको पोलिटब्यूरोमा चयन भए। पार्टीको केन्द्रीय कार्यालयको सचिवको रूपमा कार्यरत हुँदा उनलाई उपराष्ट्रपति बनाइयो।

पार्टीभित्र त्यस समयमा रहेका दुई गुट, महासचिव हु र भूतपूर्व महासचिव जिआंग बीच त्यस महाधिवेशनमा हुको उत्तराधिकारीको विषयमा संघर्ष चलिरहेको अवस्थामा युथ लिगका भूतपूर्व नेता ली ख्च्यांग र पारिवारिक विरासत थामेर अघि बढिरहेका सीलाई हुको गुटले अघि सार्यो भने भूतपूर्व उपप्रधानमन्त्रीका सुपुत्र बो छिलाई जिआंग गुटबाट अघि सारिएका थिए।

कोरोनाको समय सीलाई आफ्नो शक्ति बढाउने उपयुक्त माध्यम बन्यो। शून्य कोभिड नीति अख्तियार गरेको चीनमा उनले यही नीतिलाई हतियार बनाई करिब दुई वर्ष देश नछोडी आफ्नो शक्तिलाई अझ बढाउँदै लगे।

२०१२ को महाधिवेशन अघि वांग लिजुन काण्डको कारण बो छिलाईको पार्टी प्रमुख हुने ढोका बन्द भएपछि सी दुवै गुटको सहमतिमा पार्टी प्रमुख चयन भए। हुका विश्वासपात्र ली सीको मन्त्रिपरिषद्मा प्रधानमन्त्री चयन भए।

सीको शक्ति र माओपथ

चिनियाँ कम्युनिस्ट पार्टीको सर्वोच्च पदमा पुगेपछि सीले आफूलाई हुको नियतिबाट बचाउन विभिन्न कदम चाल्न थाले। आफूलाई राष्ट्रभित्र शक्तिशाली देखाउन उनले भ्रष्टाचारविरोधी कदमहरू चालेर पार्टीकै शक्तिको पदमा आसीन पदाधिकारीलाई समेत सजाय दिलाए।

आवरणमा भ्रष्टाचारीलाई कारबाही गरेको देखिए पनि सीले नियोजित रूपमा आफ्ना विरोधीहरूलाई तह लगाएका थिए। भ्रष्टाचार मुद्दामा सजाय पाएका अधिकांश जिआंग गुटका मानिस थिए।

यसरी सीले भ्रष्टाचारको मुद्दा लगाएर पार्टीमा फरक मतलाई निमिट्यान्न पार्ने अभ्यासलाई पुनःस्थापित गरेका थिए। अन्तर्राष्ट्रिय समुदायलाई आफ्नो शक्तिको परिचय देखाउन उनले बीआरआई जस्ता महत्वाकांक्षी योजना अगाडि सारे भने साउथ चाइना समुद्रमा मानवनिर्मित टापुहरू निर्माणगरी चिनियाँ हस्तक्षेपको युगको सुरुवात भएको सन्देश दिए।

पार्टीभित्र भने सीले जिआंगको गुटको विरुद्ध हुको गुटसँग नजिक भएर शक्तिको अभ्यास गरिरहे। अति महत्वाकांक्षी सीले २०१७ को महाधिवेशनसम्म आउँदा आफूलाई देंग स्तरकै शक्तिशाली बनाइसकेका थिए।

उक्त महाधिवेशनबाट आफ्नो विचारधारा पारित गराएर उनले आफूलाई माओपछि चीनको सबैभन्दा शक्तिशाली नेताको रूपमा प्रस्तुत गरे। आफ्नो तेस्रो कार्यकालको बीउ उनले यही महाधिवेशनबाट रोपेका थिए। यस महाधिवेशनपछि कमजोर बनिसकेको जिआंगको गुटबाट खतरा नहुने विश्लेषण गर्दै उनले हुको गुटसँगको निकटता पनि क्रमश: घटाउँदै लगे।

कोरोनाको समय सीलाई आफ्नो शक्ति बढाउने उपयुक्त माध्यम बन्यो। शून्य कोभिड नीति अख्तियार गरेको चीनमा उनले यही नीतिलाई हतियार बनाई करिब दुई वर्ष देश नछोडी आफ्नो शक्तिलाई अझ बढाउँदै लगे।

त्यसकै नतिजा अनुसार यस महाधिवेशनबाट प्रधानमन्त्री ली र सभामुख ली झान्सुसहित आफ्नो समकालीन नेताहरू र हुको गुटका नेताहरूलाई केन्द्रीय कमिटीबाटै अवकाश गराउन सी सफल भए। यससँगै अब चिनियाँ कम्युनिस्ट पार्टीमा सीको एकल युगको सुरुवात भएको मान्न सकिन्छ।

केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी कमिटीमा सी पक्षीय नेताहरूको बाहुल्य यही महाधिवेशनले चयन गरिसकेको छ। २०औं महाधिवेशनले आगामी ५ वर्षको लागि चयन गरेको ७ सदस्यीय स्थायी कमिटीमा सीले आफ्नो गुटका ५ जनालाई समावेश गर्न सफल भएका छन् भने ज्हाओ लेजी र वांग हुनिंग जिआंग गुटका हुन्।

आफ्नो गुटबाट चयन भएका ५ मध्ये शंघाईका पार्टी सचिव लि छियांग र बेजिङका पार्टी सचिव चाइ छि विगतको प्रचलन जस्तो पोलिटब्यूरोको सदस्य नभई सीधै स्थायी कमिटीमा प्रवेश गरेका छन्। शून्य कोभिड नीतिको व्यवस्थापनमा कमजोरी गरेको आरोप लागेका लि छियांग त चीनको नयाँ प्रधानमन्त्रीको प्रबल दावेदार मानिएका छन्।

हुको अपमान ?

यो महाधिवेशनको समापनको बेला भएको एउटा दृश्यले विश्वको ध्यान खिच्न सफल भएको थियो। पत्रकारलाई ग्रेट हल अफ द पिपलमा प्रवेशको अनुमति दिनासाथ पूर्वराष्ट्रपति हु जिन्ताओलाई उनको इच्छा विपरित बैठक कक्षबाट बाहिर निकालिएको दृश्य फोटोपत्रकारहरूले कैद गर्ने अवसर पाएका थिए।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र र संचारमाध्यमले हु अस्वस्थ रहेको र त्यही कारणले उनलाई अर्को कोठामा आराम गर्न लगिएको जानकारी गराएका छन्।

यसअघिको कार्यक्रमहरूमा पनि हुलाई सहयोग गर्न मञ्चमै उनको सहयोगी पुग्ने गरेको र यो महाधिवेशनमा उनलाई सहयोग गरेको सहयोगी पनि हुको आफ्नै सहयोगी रहेको कुरा संचारमाध्यमहरूले चीनमा उल्लेख गरेका छन्। तर हरेक कदम सीको निर्णय पछि मात्रै हुँदै आएकोमा उक्त कदम पनि उनकै आदेशमा भएको भनेर खासगरी पश्चिमा संचारमाध्यमहरूले हेडलाइन बनाउन थालेका छन्।

वर्तमान उपप्रधानमन्त्री हु चुन्हुवा आगामी कार्यकालको पोलिटब्यूरोमै नपरेपछिको असन्तुष्टि हु जिन्ताओले बैठकमा व्यक्त गर्न सक्ने हुँदा उनलाई बैठकमै सहभागी हुन नदिने निर्णय सीले लिएको विश्लेषण गरिएको छ।

हु चुन्हुवालाई रोक्नको लागि नै २५ सदस्यीय पोलिटब्यूरो यस महाधिवेशनबाट २४ सदस्यीय बनाइएको छ। उक्त कदम लिनुको पछि सीले हु र उनको गुटलाई अब उनीहरूको उपादेयता सकिएको सन्देश दिन खोजिएको लख काट्न थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?