+
+
Shares

दिदीबहिनीलाई जनता बनाएर यो घरको बुइँगलमा भाषण गर्थे गिरिजाप्रसाद (भिडियो)

‘यहाँनेर गिरिजा बुबाले नोना आमा, दिदीबहिनीहरुलाई जनता बनाएर भाषण गर्नुहुन्थ्यो,’ पानाले बुइँगलमा लगेर भन्दा त्यहाँको अँध्यारोमा हाम्रा आँखा चम्किइरहेका थिए । उनले थपिन्, ‘उहाँले यहीँको अँध्यारोमा फोटो धुलाउनुहुन्थ्यो ।’

बसन्त बस्नेत बसन्त बस्नेत
२०७९ कात्तिक १५ गते १३:४२

१५ कात्तिक, विराटनगर । पाना उराँव ०३४ सालमा विराटनगरको कोइराला निवास आइन् । बीपी कोइराला त्यसबेला जीवितै थिए । त्यसयता घरका सदस्य कति बिते, कति नयाँ थपिए । पाना उराँव त्यही घरको रक्षा र सेवामा अनवरत छिन् ।

पानाले बिहे गरिनन् । आफ्नो छुट्टै परिवार बनाइनन् । कृष्णप्रसाद कोइरालाले जमिन किनेर बनाएको कोइराला निवासलाई नै आफ्नो परिवार मानेर ६२ वर्षको उमेरसम्म उनी यहीँ छन् ।

अनलाइनखबरले यसपल्ट उनै पानाको आँखाबाट कोइराला निवासलाई चिहायो । यो परिवारभित्रका अक्षुण्ण आदर्शहरु, नेपाली समाजलाई यो परिवारले दिएका संस्कार, अनि पारेका प्रगतिशील प्रभावहरु पानाले देखिन् ।

विराटनगर कोशी अस्पताल नजिकै कोइराला निवास छ । पानाको आफ्नो पुरानो घर यहाँबाट हिँड्दै गए पुगिने दूरीमै छ । उनका दाजुभाइ यहाँ आइराख्छन् । उनी पनि गइराख्छिन् ।

तर उनको मूख्य काम कोइराला परिवारको विरासत जोगाउनु नै हो । कांग्रेस वरिष्ठ नेता शेखर कोइराला अहिले पनि यसै घरमा बस्छन् । उनकी आमा नोना कोइरालाले जतनले स्याहारेको घरमा बास बस्न गिरिजाप्रसाद कोइराला पुगिराख्थे । अनि नोनासँग समेत परामर्श लिँदै दूरगामी महत्वका, कहिलकाहिँ विवादास्पद वक्तव्य पनि दिन्थे ।

अनलाइनखबरका विराटनगर सहकर्मी हरि अधिकारी, अनि काठमाडौंबाट मसँगै आएका भिडियोकर्मी शंकर गिरिसहित हामीले पछ्यायौं, उनै पाना उराँवलाई । यो भिडियोमा उनले इतिहासका महत्वपूर्ण घटनाहरु सम्झेकी छन् ।

उनले कोठाचोटाहरु घुमाइन् । भान्छा, पुस्तकालय, भेटघाट कक्षदेखि बुइँगलसम्मै पुर्‍याइन् । गिरिजाबाबुले चढ्ने मोटरदेखि उनले बाथरुममा नुहाउँदा प्रयोग गर्ने जग र बाल्टीसमेत हामीले देख्यौं । अनि देख्यौं, कोइरालाहरुकै जस्तो लामो नाक भएका देउताका मुर्तिहरुसमेत । यी सबै वृत्तान्त भिडियोमा छ ।

‘यहाँनेर गिरिजा बुबाले नोना आमा, दिदीबहिनीहरुलाई जनता बनाएर भाषण गर्नुहुन्थ्यो,’ पानाले बुइँगलमा लगेर भन्दा त्यहाँको अँध्यारोमा हाम्रा आँखा चम्किइरहेका थिए । उनले थपिन्, ‘उहाँले यहीँको अँध्यारोमा फोटो धुलाउनुहुन्थ्यो ।’

पहिले कोइराला निवास ठूलो थियो । अहिले मातृका, बीपी, जीपीका सन्तानहरुले घरमा बार र पर्खालहरु लगाएर चर्चिन थालेका छन् ।

परिवार भनेको यस्तै हो । कहिले एक्लाएक्लै, कहिले साथमा ।

पाना उराँवलाई पनि यस्तै लाग्छ ।

फोटो/ भिडियो :  शंकर गिरी

 

 

 

लेखक
बसन्त बस्नेत

बस्नेत अनलाइनखबरका सम्पादक हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?