+
+
उर्गेन दोङको संगीत संघर्ष :

तेस्रो पटक विदेशिन खोज्दा रोकिए पाइला, अनि भरे सांगीतिक उडान

अंगद सिंह अंगद सिंह
२०७९ कात्तिक १५ गते १६:१६

काठमाडौं । तीन वर्षअघिसम्म उनीसँग बुवाआमाले राखिदिएको नाम ‘उर्गेन’ बाहेक केही थिएन । उनले टेकेको धरातल साँघुरो थियो, अभावका चाङ थिए । दैनिक आवश्यकता पूर्तिका लागि विदेश भासिने कि संगीतको रुमानी सपनाका पछि दौडिने ? बीचबाटोमा जवाफविहीन थियो उनको जीवन ।

तर अहिले उनीसँग आफ्नो नाम छ । नामसँगै दाम कमाएका छन् । अझ भन्दा आफूलाई मन पर्ने काम गर्न पाएका छन् । प्रसिद्धि, वैभव र नाम-दाम दुवै छ अहिले उनीसँग ।

काठमाडौंका साँघुरा गल्लीहरुमा उनले अभाव भोगे । दैनिकी टार्नका लागि गरेको संघर्ष र युवा मनमा पलाएको प्रेमप्रतिको आशक्ति र आकर्षण सबै अनुभूत गरे । उनले ती अभावका दिनलाई महसुस मात्रै गरेनन्, जतनसाथ समयसँगै संगाल्दै गए । तिनै संगालेका अनुभूतिहरु आज उनका रचनाको अनुपम स्रोत बनेका छन् ।

उनका रचना जिन्दगीका भोगाइमा समेटिएका छन् । हरेक रचना फरकफरक छन् । फरक भएर पनि विशेष छन् । विशेष भएरै सबैको मन छोएका छन् ।

टाढा भए पनि मेरो माया गाढा छ नि

काँडा हैन प्रिय फूलैफूलले सजाउला नि

आकाशको तारा यो धर्ती सारा तिम्रै लागि’

प्रेम हृदयको चामत्कारिक भाव हो । जसले मनलाई बहकाउँछ । प्रेममा कल्पनाको मीठो संसार हुन्छ । यसमा रहस्यमय भाव लुकेको हुन्छ । यो भावनाहरुको संगालो हो । भौतिक रुपमा टाढा भएपछि प्रेम बढ्छ भनिन्छ । एक किसिमको लत हो प्रेम । जो हरबखत आफूसँगै रहन्छ । आफ्नै वरिपरि घुमिरहन्छ ।

संगीतले जिन्दगी पार लाग्दैन भन्ने सोचेर उनी पैसा कमाउन दुबई हान्निए । वेटरका लागि १२ सय तलब भनेर गएका उर्गेनले भनेको जस्तो काम पाएनन् । उनलाई कम्पनीले ८०० तलबमा भाडा माँझ्ने काममा लगाइदियो ।

घरपरिवारबाट भौतिक रुपमा टाढा थिए गायक, गीतकार तथा संगीतकार उर्गेन दोङ । घरपरिवार काठमाडौंमा थियो उनी दुवैमा । खासमा उनको प्रेम काठमाडौंमा थियो । उनले भौतिक दूरीले दिएको पीडा अनुभूत गरेका थिए ।

प्रेमिकाबाट भौतिक रुपमा टाढा हुँदा उर्गेनको मनमा भावनाका छालहरु बहन थाले । उनी प्रेमलाई कल्पिन थाले । प्रेम सम्झेपछि उनका मनमा भावनाका शब्दले वाण हान्न थाले ।

नजिक छैनौ छाड्ने त हैनौ बाटोमै

तिमी आउनु गीत गाउनु मेरो गीतमा तिम्रै सरगम

नरुवाउनु माया लाउनु मेरो छाया बनी सधैं सताउनु’

ज्यान परदेशमा प्राण घरमा । सास परदेशमा सास चलाउने प्राणवायु काठमाडौंमा । भौतिक रुपमा टाढा हुँदा कतै प्रेमीले छाडेर पो जाने हो कि भन्ने पीर । म तिमीलाई असाध्यै माया गर्छु छाडेर नजानु भन्ने बिन्ती ।

अर्को जुनी त थाहा नै छैन यही जुनी मायाले बाँधौंला

आइदेऊ न साथमा यो कालो रातमा

जिन्दगी भनेको घाम र छाया दुई दिनको माया होइन

अमर छन् हेर मुना र मदन बिर्सेको छैन’

दुवैमा बहने तातो हावासँगै उनका भावना बहन थाले र फुर्‍यो ‘टाढा भए पनि’ । ‘मनमा पलाएको प्रेम र टाढा हुँदा मन पराएको मान्छेले छाडेर जान्छिन् भन्ने भयलाई डरैडरले शब्दमा उतारेको हुँ,’ गायक तथा संगीतकार उर्गेन भन्छन्, ‘प्रेममा छाडेर जान्छिन् कि भन्ने डर लागिरहँदो रहेछ ।’

यूएईको दुबईमा हुँदा उनले अरु दुई गीत पनि रचना गरे । ‘माया तीतो मीठो’ र ‘प्यारी आमा’  ।

दुई वर्षअघि सार्वजनिक भएको ‘टाढा भए पनि’ गीतले दोङलाई ‘लाइमलाइट’ मा ल्याइदियो । र उनी त्यसपछि यत्रतत्र सर्वत्र छाए । उनका सबै गीत करोड क्लबमा उक्लिएका छन् । अझ भन्दा श्रोता–दर्शकको मनमा राज गर्न सफल भएका छन् ।

माया तीतो मीठो कस्तो हुन्छ थाहा थिएन

अहिले जस्तो पहिले यस्तो कहिल्यै भा थिएन’

मीठो मायाको अनुभव बटुलेका उनका हरेक शब्दले भाव बोकेका छन् र हरेक भावले प्रेम । उनका हरेक गीतमा शब्द–संगीतको सुरतालको तादम्यता निकै मिलेको छ । जसले श्रोतालाई आफूतर्फ तान्छ ।

म त तिम्रै लागि आए

मनभरि माया ल्याए

मेरो जिन्दगीका सारा खुसी तिमीभित्रै पाएँ

पराई हैन म त तिम्रै हो नि

यो मुटुमा हेर मेरो तिमी नै छौ नि’

उर्गेनका हरेक गीतका फरक कथा छन् । र, हरेक कथाका पात्र प्रेमको प्रभावमा परेका । संगीत र शब्द सिर्जनाको गुणवत्ताले उनका रचनालाई खास बनाइदिएको छ ।

‘टाढा भए पनि’ देखि ‘लजालु मायालु’सम्म हेर्दा लाग्छ उनले केवल गीत–संगीत मात्रै दिएका छैनन् । त्यसमा उनले सामान्य जनजीवनका भोगाइ समावेश गरेका छन् ।

‘जिन्दगीमा प्रेम एकपटक सबैले अनुभूत गर्छ । त्यही अनुभूतिलाई मैले सामान्य तरिकाले शब्दमा उतारेको हुँ,’ उनी सुनाउँछन् ।

तिमीलाई नहेरी ननिदाउने आदत मेरो कहिल्यै नहटोस्

घाउ बिर्सिने तिम्रै मायाको त्यो रहर कहिल्यै नघटोस्

मै जसरी तिमी पनि रुन नपरोस्

तिमीबाहेक अरुको म हुन नपरोस्’

उर्गेनका हरेक गीतमा प्रेम बगेको छ । र, ती प्रेम बगाउने पात्रले गर्ने तीतो–मीठो अनुभव पनि प्रेम हो । उनले कोरेका हरेक शब्दमा प्रेम लुकेको छ । सबै गीतका शब्दले प्रेमको वरिपरि फन्का मारेका छन् ।

तिम्रै माया लाग्छ मलाई तिम्रै पीर तिमीलाई खुसी दिन पाए हुन्थ्यो मेरो जीत

हाम्रो यो माया कहिल्यै नछुटोस्

पिउँदा पानीमा तिम्रै जुठो होस्

दुई मन सिसा झैं कहिल्यै नफुटोस्’

मनमा पलाएको मायादेखि विछोड हुने डर । सुख–दुःखमा साथ दिने वचनदेखि सात जुनी काट्नेसम्मका वाचा कसम छन् उनका गीतमा ।

एउटै छाताले घामपानी सहुँला

सँगै जिउँला तिमीसँगै मरौंला

तिमीले चुमेका हातहरु धुँदिनँ

तिम्रै भा’छु दुःख मानी रुँदिनँ

उर्गेनले जीवनमा भोगेका र सहेका कुरालाई मीठो तरिकाले संगीतमार्फत बाहिर ल्याउँछन् ।

मैले भुलबस कराए तिमीले मन नदुखाऊ

रिसाएर नबोली मेरो मन नरुवाऊ

तिमी टाढा नहुनु प्रिय म त तिमीबिना अधुरो थिएँ’

उर्गेनका गीतमा नेपाली भाषाका साथै अन्य भाषा समेत मिसाइएको हुन्छ । ‘टाढा भए पनि’ लगायत केही गीतमा तामाङ भाषा मिसाएका छन् भने उनको पछिल्लो हिट गीत ‘लजालु लजालु’मा थारु भाषा मिसाएका छन् । भाषाको मिश्रणले उनका गीत पृथक र मीठो बनेका छन् ।

‘लजालु लजालु’ गीत सार्वजनिक भएको एक महिनामा एक करोड ८० लाख बढी पटक हेरिएको छ ।

‘मैले हरेक गीतमा तामाङ भाषाका साथै अन्य भाषा मिसाउने प्रयास गरिरहेको छु । यो संगीतमा नयाँ प्रयोग पनि हो । यस्तो शैलीलाई श्रोता–दर्शकले निकै मन पराएका छन्,’ अनलाइनखबरसँग उनी भन्छन् ।

‘टाढा भए पनि’देखि ‘लजालु मायालु’सम्म आउँदा उनले पछाडि फर्केर हेर्नु परेको छैन । कसरी श्रोता–दर्शकसामु राम्रो गीत–संगीत दिने उनी यसबारे सचेत छन् । चार–पाँच गीत निकै हिट हुँदा अब के कसो गर्ने ? कसरी अगाडि बढ्ने ? भनेर उनलाई दबाब पर्न थालेको महसुस भएको छ ।

संगीतको भूत

उर्गेनको पारिवारिक पृष्ठभूमि सांगीतिक होइन । उनका बुवा दैनिक गुजाराका लागि काठमाडौंमा ट्याम्पो चलाउँथे भने आमा ज्याला मजदुरी गर्थिन् ।

उर्गेनलाई स्कुल पढ्दादेखि नै संगीतप्रति मोह जागिसकेको थियो । उनका कानले कतै गीत बजेको सुन्नै नहुने, कुदिहाल्थे । काठमाडौंमा हुने हरेक कन्सर्टमा उनी पुगेकै हुन्थे ।

गायक, गायिकाले स्टेजमा दिएको प्रस्तुति, तिनीहरुले पाएको शान र सम्मानले उर्गेनलाई संगीततर्फ तान्दै लग्यो । उनका नसा–नसामा संगीत बग्न थाल्यो । घरमा बुवाआमा पढाइमा ध्यान दिनुपर्छ भन्न थाले । तर कलिलो मनमस्तिष्कमा बसेको संगीतको भूतले उनलाई कहाँ छाड्थ्यो र ?

उर्गेनलाई गीत गाउन गितार चाहिएको थियो । तर घरको आर्थिक अवस्थाले किन्न सक्ने अवस्था थिएन ।  गितार किन्नकै लागि कक्षा आठमा पढ्दै गरेको बेला उनी आमासँग मजदुरी गर्न गए ।

‘एक महिना आमासँग मजदुरी गर्न गएर गितारको सौख पूरा गरें । केही पैसा मैले कमाएँ, आमाले केही थपिदिनुभयो,’ उनी सुनाउँछन्, ‘गितार छुन पाउँदा मेरो खुट्टा नै भुईंमा थिएन ।’

एसएलसी दिएपछि उर्गेनले ‘खै किन’ गीत निकाले । तर त्यो गीत चलेन । त्यसपछि उनी विरक्तिए । गीत–संगीत आफ्ना लागि होइन जस्तो उनलाई लाग्न थाल्यो ।

सांगीतिक संघर्ष

घरको आर्थिक अवस्था कमजोर भएकाले उर्गेनले काठमाडौंमा विभिन्न खालका काम गरे । कहिले फर्निचर पसलमा काम गरे भने कहिले कपडा पसलमा । कहिले सुन्धारामा बसेर फुटपाथमा कपडा बेचे, अनि कहिले ज्यामीको काम पनि ।

‘घरको आर्थिक अवस्था र मेरो संगीतप्रतिको लगावका कारण काठमाडौंमा सानो फुच्चेले गर्न सक्ने सबै काम गरें,’ उनी विगत सम्झिन्छन् ।

एसएलसी दिएपछि उनले चार–पाँच जना साथीसँग मिलेर राति पबमा गीत गाउन थाले । मिल्ने साथीहरुको समूह लिएर राति सामाखुसी, लाजिम्पाट लगायत क्षेत्रका पब तथा रेस्टुरेन्टमा गाउन थाले । उनीहरु हप्ताको दुई–तीन दिन त्यहाँ गाउन जान्थे । गीत गाएर आएको खर्चबाट आफ्ना आवश्यकताको पूर्ति गर्थे । यसरी उनले काम गर्दा आफ्नो खर्च चलाएका थिए । आमाबुवाको आर्थिक भार कम भएको थियो ।

जीविकोपार्जनका लागि परदेशिए

काठमाडौंमा जेनतेन चलिरहेको उर्गेनको दैनिकी २०७२ सालमा भूकम्प गएपछि बिथोलियो । उनीसँग ब्याण्डमा काम गर्ने साथीहरु घरको आर्थिक अवस्थाका कारण परदेश भासिए ।  घरको जेठो छोरा भएकाले जिम्मेवारी उनको काँधमा आयो । उर्गेनलाई पनि परदेश जानैपर्ने भयो ।

संगीतले जिन्दगी पार लाग्दैन भन्ने सोचेर उनी पैसा कमाउनलाई यूएईको दुबई हान्निए । वेटरका लागि १ हजार २ सय दिराम तलब भनेर दुबई गएका उनले भनेको जस्तो काम पाएनन् । कम्पनीले ८०० तलबमा भाडा माँझ्ने काममा पो लगाइदियो ।

उनले नौ महिना भाडा माँझ्ने काम गरे । घर फर्केर आउनलाई घरको अवस्था राम्रो थिएन । कमाउँछु भनेर विदेश गएका थिए, काम गरौं भने भाडा माँझ्ने काममा पैसा थिएन ।

संगीत मेरा लागि होइन भन्ने सोचेका उनी एक दिन बजार डुल्न निस्केका थिए । सपिङ मलमा सजाएर राखेको गितार देखे । उनको मन थामिएन, तुरुन्तै किने ।  उनी समय भएको बेला गितार बजाउँदै दुबईमा पनि गुन्गुनाउँथे ।

उर्गेनलाई गीत गाउन गितार चाहिएको थियो । तर घरको आर्थिक अवस्थाले किन्न सक्ने अवस्था थिएन ।  गितार किन्नकै लागि कक्षा आठमा पढ्दै गरेको बेला उनी आमासँग मजदुरी गर्न गए ।

अल्फा गट ट्यालेन्टले दिलाएको विश्वास

दुबईमा २१ वटा कम्पनी मिलेर कम्पनीका कामदारहरुबाट उत्कृष्ट प्रतिभा छान्ने प्रतियोगिता आयोजना भयो । उर्गेनका केही साथीभाइलाई उनी गाउँछन् भन्ने थाहा थियो । प्रतियोगितामा सबैले आ–आफ्नो कला देखाए । उर्गेनले गीत गाए ।

उर्गेनको कम्पनीबाट प्रतिस्पर्धीको रुपमा उनी नै छानिए । उनले २० कम्पनीका प्रतियोगीसँग प्रतिस्पर्धा गरे । उर्गेनले प्रतियोगिता जिते । त्यसबाट उपहारस्वरुप ल्यापटप, तीन लाख नेपाली रुपैयाँ र सिंगापुरको हवाई टिकट पाए ।

तर उनी सिंगापुर गएनन् । कारण उनलाई बिदामा नेपाल आउनु थियो । उनी नेपाल आए । नेपाल आएर गायक गिरीश खतिवडा र चेतन कार्कीसँग मिलेर माया मार्‍या छैन नि, माग्ने हैन नि र प्यारी आमा गीत बजारमा ल्याए ।

उनलाई नाम चलेका गायकसँग काम गरे कसो गीत नचल्ला र भन्ने लागेको थियो । तर उनले सोचेजस्तो भएन । ट्यालेन्टले दिएको खुसी र उत्प्रेरणा हराउँदै गयो । ‘नेपाल आएर तीन गीत निकाल्दा पनि नचलेपछि मेरो संगीतप्रतिको मोह मर्दै गयो । संगीतप्रतिको आशा मारिसकेको थिएँ,’ उनी सुनाउँछन् ।

नेपाल फर्केर तीन गीत निकालेका उनका कुनै गीत चलेनन् । उनलाई फेरि विरक्त लाग्न थाल्यो । ‘तीन गीतमा एउटा पनि नचलेपछि संगीत मेरा लागि होइन, जसरी पनि पैसा कमाउँछु भनेर फेरि विदेश गएँ,’ उनी सुनाउँछन् ।

तीन वर्ष विदेश बसेर पसिना बगाइरहेका उनी बेलामौकामा गितारको धुनसँग गुन्गुनाइरहन्थे । त्यही बेला ‘टाढा भए पनि’, ‘माया तीतो मीठो’ र ‘प्यारी आमा’का केही शब्द उतारे । जसले नेपाल आएपछि मूर्त रुप पायो ।

काममा ठगिएका उर्गेन

विदेश जाँदा कम्पनीले वेटरका लागि भन्दै उनलाई दुबई पठायो । तर उनले सोचेजस्तो काम पाएनन् । उनले दुबईमा नौ महिना भाडा माँझेर बस्नुपर्‍यो । ‘वेटरमा भनेर पठाएको कम्पनीले भाडा माँझ्ने काममा राख्यो । कमाउन विदेश गएको न घर फर्किनु न काम गर्नु जस्तो भयो । तर घरको अवस्थाले नौ महिना दुःख कटाएँ,’ उर्गेन विगत सम्झिन्छन् ।

काम गर्न थालेको नौ महिनापछि उनी काम गर्ने कम्पनीका केही साथी आफ्नो देश फर्के । त्यही मौकामा उनको तलबका साथै काम पनि परिवर्तन गरियो । भाँडा माझेर ८०० दिराम तलब खाइरहेका उनी क्यासियरको काम गर्न थाले । तलब २२ सय दिराम पुग्यो । यतिबेलासम्म उनले अल्फा गट ट्यालेन्ट जितिसकेका थिए ।

उर्गेनले अब कमाउन थालिसकेका थिए । उनले सोचेजस्तो तलब सुविधा पनि पाइरहेका थिए ।

नेपाल आइडलको अडिसन राउन्डबाटै बाहिरिंदा

नेपाल आइडलका प्रतिस्पर्धी हेर्दा उनी यत्तिको त म पनि गाउन सक्छु भन्ने सोच्थे । त्यही सोचका साथ उनी नेपाल आएर नेपाल आइडलको सिजन दुईमा भाग लिए । तर अडिसन राउन्डबाटै बाहिरिए ।

आइडलमा उनले आफ्नै गीत ‘माया मार्‍या छैन नि’ गाएका थिए । अडिसन राउन्डबाट बाहिरिएपछि उनी निकै रोएको बताउँछन् ।

‘मैले गाउन सक्छु भनेर गएको थिएँ । तर राम्रो गाउन सकिनँ र बाहिरिएँ । त्यसबेला म निकै रोएको थिएँ,’ उर्गेन सुनाउँछन् । आइडलबाट बाहिरिएपछि उनी एक सातासम्म घरबाहिर निस्किन सकेनन् । नेपाल आइडल उनको सपना थियो, त्यो टुट्यो ।

अस्ट्रेलिया सपना

एकातिर आफूले निकालेका तीन-चारवटा गीत नचल्नु, अर्कोतिर नेपाल आइडलको अडिसन राउन्डबाटै बाहिरिंदा उनी ‘फ्रस्टेड’ भइसकेका थिए । उनलाई फेरि पैसा कमाउन विदेश जानुपर्छ लाग्न थाल्यो । उनले डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया जाने तयारी गर्न थाले । भिसाका लागि सम्पूर्ण तयारी गरिसकेका थिए ।

तर कागजात बुझाउने अन्तिम दिन उनको मनले ‘विदेश नजा’ भन्न थाल्यो । उनलाई नेपालमै केही गरौं भन्ने लाग्यो । कागजात बुझाउन हिंडेका उनले बुझाएनन् । होटलमा चियाको चुस्कीसँगै लामो सास फेरेर संगीत सम्झिए । र, नेपालमै केही गर्छु भन्ने संकल्प गरे ।

उनका काका वीरेन्द्र दोङले तैंले संगीतमा केही गर्छस् भनेर ढाडस र हौसला दिइरहे । उनी काकालाई आफ्नो सांगीतिक जीवनको अहम् पाटो रहेको बताउँछन् ।

त्यसपछि उनले काकाको सल्लाह बमोजिम बौद्धमा बिरुन स्टुडियो खोले । अनि त्यहींबाट उनी नेपाली सांगीतिक क्षेत्रमा चम्किन थाले । उर्गेनको सांगीतिक यात्रा सुरु गरेको धेरै लामो समय त भएको छैन, तर उनी छोटो समयमै उदाएका छन् । उनले सांगीतिक उडान भरिरहेका छन् ।

‘बडो मुस्किलले अड्याएर राखेका सपनाहरुले विस्तारै टेको पाउँदैछन् । मैले संगीतलाई गरेको माया र विश्वासले मलाई यहाँसम्म ल्याइपुर्‍याएको छ । यसमा मैले आफूलाई भाग्यमानी मानेको छु,’ खुसी हुँदै उनी भन्छन् । उनका चार गीत बजारमा आउने तयारीमा छन् ।

तस्वीरहरु : उर्गेन दोङको फेसबुकबाट

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?