+
+

पोखरामा पनि अन्डरग्राउण्ड संरचनामा डोजर

विकास रोकामगर विकास रोकामगर
२०७९ कात्तिक १५ गते १५:५०

१५ कात्तिक, पोखरा । पोखरा महानगरपालिका–४ चिप्लेढुंगा (मानवअधिकार चोक) अघिल्तिरको आरके भवनको भूमिगत तलामा केही दिन अघिसम्म थुप्रै व्यापारिक पसल थिए । महानगरले त्यहाँ रहेका व्यवसायिक संरचना हटाउन पटकपटक ताकेता गरेपछि केही व्यवसायी त्यहाँबाट हटे । तर, केही हटेनन् ।

भवनको अन्डरग्राउण्ड पार्किङ प्रयोजनमा प्रयोग गर्न सकिने प्रकृतिको थिएन । भुइँतलामा जान सिँढी बनाइएको थियो । र, त्यो सिँढीले फुटपाथसमेत मिचेको थियो । सोमबार (हिजो) सार्वजनिक सूचना नै जारी गरेर मेयर धनराज आचार्यसहित पोखरा महानगरको टोली मंगलबार त्यहाँ पुगेर डोजर चलाएको छ ।

त्यहाँ बाँकी रहेका व्यापारिक पसल ७२ घन्टाभित्र हटाउन र बेसमेन्टमा सवारीसाधन सान मिल्ने ‘स्लोप’युुक्त बाटो बनाउन पनि मेयर आचार्यले निर्देशन दिएका छन् । ‘सांकेतिक रुपमा अहिले डोजर चलाएका छौं । पहिले चाडपर्वले गर्दा केही लचिलो बनेका थियौं’, उनले भने, ‘अब भने हामीले बल प्रयोग गर्नैपर्छ । यो कुरा पहिल्यै जानकारी गराइसक्या छौं ।’

आरके बिल्डिङ्सपछि महानगरको टोली सेलवेज टावरमा पुुग्यो । टावरको अन्डरग्राउण्डमा ‘बिगबजार सेल स्टोर’ सञ्चालनमा थियो । टावरको भूूमिगततलाको उक्त पसलले भने आफ्नो सामान आफैं हटाउन सुरु गरिसकेको थियो ।

दलबलसहित महानगरको टोली पुुगेपछि सञ्चालक जनक कार्कीले आग्रह गरे, ‘हामीसँग अब केही सामानमात्रै हटाउन बाँकी छ । सीसाका सामान भएकाले टुटफुट हुन्छन् । केही समय दिनुहोस्, आफैं हटाइराखेका छौं ।’ मेयर आचार्यले उनलाई पनि ७२ घन्टाकै अल्टिमेटम दिए र यो नै अन्तिम म्याद हुने चेतावनीसमेत दिए ।

पोखरा महानगरपालिकाले मंगलबारदेखि अन्डरग्राउण्डमा प्रयोजन विपरीत बनेका व्यापारिक संरचना हटाउन सुरु गरेको हो । पटकपटक ताकेता गर्दा पनि नहटाएपछि डोजर लिएर आफैं संरचना खाली गर्न थालेको हो । जसमध्ये मापदण्ड मिचेका संरचनामा डोजर चलाएको थियो भने प्रयोजन मिचेकाहरुलाई सम्झाएर बढीमा ७२ घण्टासम्मको म्याद दिएको छ ।

महानगरले चिप्लेढुंगा, महेन्द्रपुल क्षेत्रका ३ संरचनामा डोजर चलाएको थियो भने ४ भवनका व्यवसायीलाई चेतावनी दिएर छोडेको थियो । महानगरले आरके बिल्डिङ, बुद्ध विशाल बजारको एउटा फेन्सी पसल र गरिमा विकास बैंक रहेको भवनको संरचनामा डोजर चलाएको थियो भने सीता भवन, आरबिन्द भवन, सीता भवन लगायतका व्यवसायीलाई सम्झाएर फर्किएको थियो ।

गरिमा विकास बैंकले अन्डरग्राउण्ड नै छेकिने गरी संरचना बनाएर बैंकिङ काम सञ्चालन गर्दै आइरहेको थियो । महानगरका इन्जिनियर सुरेन्द्र पौडेलले अन्य व्यवसायी तथा घरधनीलाई ७२ घन्टे अन्तिम अल्टिमेटम दिए पनि बैंकको हकमा भने महानगरमा छलफलका लागि बोलाइएको जानकारी दिए ।

‘बैंक अरुजस्तो सजिलो हुँदैन । त्यहाँ धनराशीदेखि लकरसम्म हुन्छ र तत्काल सार्न पनि समस्या हुने भएकाले महानगरमा छलफलका लागि बोलाएका छौं’, इन्जिनियर पौडेलले भने, ‘छलफलमा उहाँहरुले के कति समय माग्नुहुन्छ । त्यही अनुसार हुन्छ ।’

पोखरा महानगरले भदौ १३ गते ३५ दिने म्याद दिएर भवनका भूमिगत तलालाई प्रयोजनअनुरुप नै पार्किङमा प्रयोग गर्न सूचना जारी गरेको थियो । म्याद सकिनै लाग्दा महानगरले असोज १२ गते सिर्जनाचोकमा एक औपचारिक कार्यक्रम गर्दै भूमिगत पार्किङ सुरु भएको उदघोष पनि गरेको थियो ।

तर, समयसीमा सकिएपछि केही व्यापारी, घरधनीले अटेरी गरेपछि सूचना सकिएको १० दिनपछि असोज २१ गते अन्डरग्राउण्ड भवनका व्यावसायिक संरचनाको अनुगमन पनि गरेको थियो । अनुगमनका क्रममा मेयर धनराज आचार्यले चाडपर्वका कारण महानगर लचिलो बनेको तर, त्यसपछि भने महानगर कठोर बन्ने चेतावनी दिएका थिए ।

पोखरामा २ सय ५२ वटा भवनमा अन्डरग्राउण्ड छन् । महानगरको सूचना पछि आधाभन्दा बढीले तोकिएकै समयमा आफैं आफ्नो संरचना हटाए पनि केहीले भने अटेर गरेको इन्जिनियर पौडेलले जानकारी दिए । व्यावसायिक अन्डरग्राउन्डमा दोहोरी साँझदेखि मोटरसाइकल वर्कसपदेखि सञ्चालन हुँदै आएका छन् ।

भवन आचारसंहिताले पनि भवनको भूमिगत तलालाई पार्किङ प्रयोजनकै लागि प्रयोग गर्नुपर्ने उल्लेख गरेको छ । यता, पोखरा महानगरले पनि अन्डरग्राउण्डलाई पार्किङ प्रयोजनकै लागि प्रयोग गर्न राजश्व छूटको समेत व्यवस्था गरेको छ ।

तर, घरधनीले भने महानगरदेखि अन्डरग्राउण्डको राजश्व छूट लिएर प्रयोजनविपरीत व्यापारका लागि भाडामा दिएका छन् । ‘पहिले पूरै राजश्व छूटको व्यवस्था थियो । तर, पछि ५० प्रतिशत छूट दिने व्यवस्था महानगरले गरेको छ,’ त्यसरी छूट लिने १६, १७ वटा भवन छन् । बाँकी हामी तथ्यांक निकाल्दै छौं ।’

मेयर आचार्यले मंगलबारबाट सांकेतिक रुपमा केही भवनका प्रयोजनविपरीतका अन्डरग्राउण्ड संरचना हटाएको र बाँकी संरचना पनि हटाउँदै जाने बताए । ‘यो एउटा सुरुआतमात्रै हो । बाँकी बेसमेन्ट पनि कुन प्रयोजनका लागि बनाइएको हो, त्यही प्रयोजनका लागि प्रयोग गरिनुपर्छ’, उनले भने ।

‘न्युरोडका सडकमा अब पार्किङ हुँदैनन्’

व्यावसायिकसँगै ट्राफिकको चर्को चाप हुने न्युरोड क्षेत्रका सडकमा महानगरले सडक नै पार्किङका लागि ठेक्कामा दिएको छ । निवर्तमान मेयर मानबहादुर जिसीको पालामा सडकलाई नै पार्किङ ठेक्कामा दिइएको थियो ।

तर, मेयर धनराज आचार्यले उक्त ठाउँमा अब सडक पार्किङ बन्द हुने बताएका छन् । उनले ती सडक वरिपरि रहेका भूूमिगतमा अब पार्किङ सुरु हुने र बाँकी ठाउँका लागि जग्गा खोजिरहेकोे जानकारी दिए ।

महानगरले कात्तिक ४ गते एक सूचना जारी गर्दै ३० दिनभित्र अपेक्षित भाडा रकमसहित आवेदन दिन आग्रह गरेको थियो । ‘मुख्यमुुख्य सडकका खाली जग्गा हामीलाई लिजमा दिनुहोस् । अस्थायी संरचना बनाएर त्यहाँ पार्किङ प्रयोजनमा प्रयोग गर्छौं र जग्गाधनीले नक्सा पास गराउन आएको २४ घन्टाभित्र खाली गरेर उहाँहरुलाई बुझाउँछौं’, उनले भने ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?