+
+

एमालेको घोषणापत्रमा अटेन माधव र झलनाथ नेतृत्वको सरकार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १५ गते १६:२१

१५ कात्तिक, काठमाडौं । नेकपा एमालेले मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा आफ्नो नेतृत्वको तीन वटामात्र सरकारको चर्चा गरेको छ । २०५१ सालको मनमोहन अधिकारी नेतृत्वको सरकार, २०७२ साल र २०७४ सालको केपी शर्मा ओली नेतृत्वको सरकारको मात्र चर्चा गरिएको छ ।

तर २०६६ जेठमा तत्कालिन एमाले नेता माधवकुमार नेपाल र २०६७ माघमा तत्कालिन एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा सरकार बनेको थियो । एमालेले घोषणापत्रमा यी दुई नेता प्रधानमन्त्री हुँदाको भने चर्चा नै गरेको छैन ।

नेपाल र खनाल नेकपा एमालेको संस्थापक नेता हुन् । यी दुई नेताले २६ वर्ष एमालेको नेतृत्व गरेका थिए । २०३९ देखि २०७१ सालसम्मको ३२ वर्षमध्ये ६ वर्षको अवधि मदन भण्डारीले नेतृत्व गरेका थिए ।

२०५१ सालमा गठित मनमोहन अधिकारी नेतृत्वको सरकारले वृद्धभत्ता मार्फत लोककल्याणकारी राज्यप्रणालीको अवधारणा स्थापित गरेको, आफ्नो गाउँ आफैं बनाऊँ कार्यक्रम मार्फत जनसहभागितामा आधारित विकास अवधारणा स्थापित गरेको एमालेले घोषणापत्रमा दावी गरेको छ ।

मनमोहन अधिकारीपछि नेकपा एमालेबाट नेता माधवकुमार नेपाल २०६६ जेठमा प्रधानमन्त्री भएका थिए । त्यसलगत्तै एमालेका तत्कालिन अध्यक्ष खनाल प्रधानमन्त्री भएका थिए । तर एमालेले यी दुबै नेताको सरकारले गरेको कामको चर्चा नै गरेन । गत वर्ष एमाले विभाजन भएपछि नेता नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएको छ र खनाल पनि एकीकृत समाजवादीमा नै छन् ।

एमालेको घोषणापत्रमा मनमोहन अधिकारी नेतृत्वको सरकारपछि २०७२ सालमा बनेको केपी शर्मा ओली नेतृत्वको सरकारको चर्चा गरेको छ । त्यतिबेला ओली नेतृत्वको सरकारले भारतले लगाएको नाकाबन्दीको दृढतापूर्वक सामना गरेको, चीनसँगको व्यापार पारवहन सन्धि गरेको, नेपाली राजनीतिलाई विकास र समृद्धिको बहसतर्फ केन्द्रित गरेको एमालेको दावी छ ।

२०७४ सालमा ओलीकै नेतृत्वमा बनेको सरकारले संविधान र संघीयता कार्यान्वयनको ऐतिहासिक नेतृत्व गरेको, सार्वभौम समानता, अहस्तक्षेप र पारस्परिक लाभ एवं सम्मानमा आधारित परराष्ट्र सम्बन्ध अगाडि बढाएको एमालेले दावी गरेको छ ।

त्यस्तै लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको नयाँ नसामा समेटेको, पृथकतावाद र सशस्त्र द्वन्द्वमा रहेको र असहमत पक्षलाई राजनीतिको मूलधारमा ल्याएको र भूकम्पपछिको पुनर्निर्माणलाई तोकिएकै समयमा पूरा गरेको, कोभिड–१९ महामारीको सफल सामना गरेको, समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षाको थालनी गरेको एमालेको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?