+
+

वाणिज्य बैंकहरुको निक्षेप ११ दिनमा २३ अर्बले घट्यो

८७.५८ प्रतिशत पुग्यो सीडी रेसियो 

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १६ गते १९:१५

१६ कात्तिक, काठमाडौं । असोज अन्तिम सातासम्म लगातार बढेको बैंकहरुको निक्षेप कात्तिक लागेसँगै पुनः घट्न लागेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको तथ्यांक अनुसार असोज मसान्तको तुलनामा ११ कात्तिकमा आउँदा वाणिज्य बैंकहरुको निक्षेप २३ अर्बले घटेको छ ।

असोज मसान्तमा ४५ खर्ब ४७ अर्ब पुगेको निक्षेप ४ कात्तिकमा ४५ खर्ब ४१ अर्बमा झरेको थियो । पछिल्लो साता निक्षेप थप १७ अर्बले घटेर ४५ खर्ब २४ अर्बमा झरेको नेपाल बैंकर्स संघले जनाएको छ । तिहार र छठ पर्वको कारण पछिल्लो साता सर्वसाधारणले नगद झिक्दा निक्षेप घटेको हुनसक्ने बैंकरहरु बताउँछन् ।

निक्षेप घटे पनि कर्जा भने असोज लागेपछि ५ अर्बले वृद्धि भएको छ । बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको कुल कर्जा लगानी असोज मसान्तमा ४२ खर्ब २० अर्ब रहेकोमा ४ कात्तिकमा ५ अर्बले बढेर ४२ खर्ब २५ अर्ब पुगेको थियो । तर, गत साता आइतबार बाहेक बिदा नै रहेकोले कर्जा वृद्धि भएको देखिएन । ११ कात्तिकमा पनि वाणिज्य बैंकहरुको कर्जा लगानी ४२ खर्ब २५ अर्ब नै रहेको बैंकर्स संघले जनाएको छ ।

गत आर्थिक वर्षको अन्तिम असार मसान्तमा ४५ खर्ब ४१ अर्ब पुगेको वाणिजय बैंकहरुको कुल निक्षेप साउन मसान्तमा ४४ खर्ब ३३ अर्बसम्म झरेको थियो । भदौमा बढेर ४४ खर्ब ८६ अर्ब पुगेको निक्षेप असोजमा ४५ खर्ब ४७ अर्बसम्म पुगेको थियो । यस्तै कर्जा लगानी असार मसान्तमा ४१ खर्ब ७५ अर्ब रहेकोमा साउन मसान्तमा ४१ खर्ब ७७ अर्ब, भदौ मसान्तमा ४१ खर्ब ९० अर्ब र असोज मसान्तमा ४२ खर्ब २० अर्ब पुगेको थियो ।

कर्जा वृद्धि नभएपनि निक्षेप घटेसँगै कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) बढ्दै गएको छ । असोज मसान्तमा ८७ प्रतिशतबाट तल झरेको सीडी रेसियो ४ कात्तिकमा ८७.२३ प्रतिशत र ११ कात्तिकमा आउँदा ८७.५८ प्रतिशत पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?