+
+

२५ हजार मत ल्याएर चुनाव जित्छु : किरण केसी

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १०:००

१७ कात्तिक, काठमाडौं । काठमाडौं–७ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार किरण केसी २५ हजारभन्दा बढी मत ल्याएर चुनाव जित्ने दाबी गर्छन् । काठमाडौं–७ मा ६० हजार मतदाता छन् । तीमध्ये ४२ हजार मत खस्ने आकलन उनको छ । ४२ हजार मत खस्दा १५ हजार मत ल्याउँदा नै चुनाव जित्न सकिने हिसाब पनि उनले सुनाए ।

माछापोखरीका बासिन्दा इन्जिनियर केसी विगत दुई महिनादेखि नै घरदैलो गरिरहेका छन् । २८ वर्षका उनी भन्छन्, ‘उदाहरणीय बन्छु र विदेशमा रहेका नेपालीलाई नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।’ केसीसँग गरिएको छोटो कुराकानी :

मतदातासँगको भेटघाटमा के पाउनुभयो ?

म साधारण ढंगले जनताको कुरा बुझ्न घरघरमा गएँ । उहाँहरूको मुख्य चासो अर्थतन्त्रमा छ । नीतिनिर्माण राम्रो हुनुपर्‍यो भन्ने छ । म जनतालाई मेरा एजेण्डा बुझाउन मिहिनेत गरिरहेको छु । मन्टेसरीलाई सरकारी स्कुलमा गाभ्ने कुरा गरेको छु, यसले प्राथमिक तहमा शिक्षामा धनी र गरिबको विभेद अन्त्य गर्छ ।

प्राविधिक शिक्षामा ध्यान दिने, १० कक्षाबाटै प्राविधिक शिक्षा अनिवार्य गर्ने मेरो एजेण्डा छ । यसले गर्दा बेरोजगारको समस्या हट्छ, यही कुरा मतदातालाई भनेको छु । फेल भए पनि बेरोजगार नहुने, विदेश गए पनि सीप सिकेर जानुपर्ने शिक्षा नीति ल्याउनुपर्छ भन्दा खुशी हुनुभएको छ । यो निर्वाचन क्षेत्रमा खानेपानी र बाटोघाटोमा धुलो–धुँवाको समस्या मैले पाएको छु ।

मतदाताको चाहना र तपाईंको एजेण्डा मिल्छ कि मिल्दैन ?

म स्वतन्त्र उम्मेदवार हुँ, म काम हुनुपर्छ भन्ने भावना राख्छु । मतदाताले पनि के–के काम गर्नुपर्छ भनेर सुझाव दिनुभएको छ । त्यसैले मेरो र मतदाताको प्राथमिकता मिलेको छ ।

बोलेको कुरा पूरा गर्ने र पाएको समयको भरपुर उपयोग गर्न सक्छु । जनताको आवाज संसदमा प्रस्तुत गर्न सक्छु । स्थानीय तह र प्रदेश सरकारबाट भएका कामहरूको अनुगमन गरेर खबरदारी गर्न सकिन्छ भन्ने आत्मविश्वास बढेको छ ।

कुरा गर्ने तर काम नगर्ने त आम प्रवृत्तिजस्तो भइसक्यो, तपाईंको पनि के विश्वास ?

राम्रो देखाउनका लागि घोषणापत्र बनाएको होइन । डिटेल प्रोजेक्ट रिपोर्ट पनि छ । यी सबै अध्ययन गरेर ल्याइएको हो ।

तपाईंको घोषणापत्रमा के के छन् ?

अहिले मतदाताहरूलाई पनि काम गर्ने भनेकै स्वतन्त्र उम्मेदवार हो भन्ने विश्वास छ । स्थानीय तहको चुनावले पनि यो कुरा प्रमाणित गरेको छ । म आफ्नो खुट्टामा उभिएको छु र आफ्नो परिवार पाल्न सक्छु । अर्थात् म सांसद भएपछि पाइने भत्तामा लोभ गर्दिनँ, बरु त्यो पैसा सामाजिक काममा लगाउँछु । भत्ताको रकमले सार्वजनिक स्थलमा डस्टबिन राख्न सकिन्छ । यी  विषय कार्यान्वयन गर्न कुनै समस्या छैन ।

कति मत पाउने अनुमान छ ?

काठमाडौं–७ मा ६० हजार मतदाता छन् । मेरो विचारमा ४२ हजार जति मत खस्छ । म ढुक्क छु २५ हजार मत ल्याएर जित्छु । हुनत १५ हजार मत ल्याउँदा पनि चुनाव जितिन्छ । म निस्वार्थ भावनाले केही गर्छु भनेर लागेको छु, २८ वर्षको युवक हुँ, उदाहरणीय बन्छु र विदेशमा रहेका नेपालीलाई नेपालमै केही गर्न सकिन्छ भन्ने विश्वास दिलाउन चाहन्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?