+
+

लगातार १३ हजार ५६० किलोमिटर उडेर चराले राख्यो विश्व किर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १७ गते १५:१२

काठमाडौं । एउटा कुनै चरा कतै पनि नरोकिइकन लगातार कति दूरीसम्म उड्न सक्छ होला ? कतिपय चराहरु साइबेरियाबाट हजारौँ किलोमिटरको यात्रा गरेर नेपालसम्म आउने गरेको हामीले पढेकै हो ।

यस्ता चराहरु यात्राको क्रममा ठाउँठाउँमा रोकिने अर्थात् थकाई मार्ने गर्दछन् । तर एउटा चरा चाहीँ अमेरिकाको अलास्काबाट अष्ट्रेलियाको तस्मानियासम्म लगातार कतैपनि नरोकिइकन उडेर नयाँ विश्व किर्तिमान कायम गरेको छ ।

बार टेल्ड गडविट नामक जम्मा ५ महिना उमेरको उक्त चरा अलास्काबाट उडेर ननस्टप तस्मानियासम्म आइपुग्दा १३ हजार ५६० किलोमिटर दूरी पार गरेको छ । यो चराले एकै उडानमा पार गरेको अहिलेसम्मकै सबैभन्दा लामो दूरी हो ।

अलास्काबाट तस्मानिया पुग्नको लागि यो चरा लगातार ११ दिन १ घण्टा उडेको थियो । गत अक्टोबर १३ मा अलास्काबाट यात्रा सुरु गरेको यो चरामा फाइभ जी स्याटेलाइट ट्याग लगाइएको हुनाले यसको किर्तिमानी उडान ट्रयाक गर्न सकिएको हो । यसले अक्टोबर २५ मा आफ्नो यात्रा पूरा गरेको थियो ।

म्याक्स प्लांक इन्स्टिच्यूटको पंक्षीविज्ञान विभागका वैज्ञानिकहरुले उक्त चरामा स्याटेलाइट ट्याग जडान गरी अध्ययन गरेका थिए ।

११ दिनको यात्राका क्रममा यो चरा कहीँपनि रोकिएन र जमिन वा रुखमा कतै खुट्टा टेकेन । यात्रामार्गमा ओशिनिया, भानुआटु तथा न्यु केलडोनिया जस्ता टापुहरु पनि थिए, तर ऊ कतै रोकिएन र सिधै तस्मानिया पुगेर मात्र रोकियो ।

यो चराले गतवर्ष 4BBRW नामक भाले चराले राखेको किर्तिमान तोडेको छ । सन् २०२१ मा उक्त चराले अलास्कादेखि न्युजिल्याण्डसम्म लगातार उडेर १३ हजार ५० किलोमिटर दूरी पार गरेर किर्तिमान राखेको थियो । त्यसलाई बार टेल्ड गडविटले भंग गरेको हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?