+

पुलिसको लोभलाग्दो लय

२०७९ कात्तिक  १७ गते १९:०८ २०७९ कात्तिक १७ गते १९:०८
पुलिसको लोभलाग्दो लय

१७ कात्तिक, काठमाडाैं । सुरुवाती तीन खेलमा फराकिलो अन्तरसहितको स्पष्ट तीन जित । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवशीय क्रिकेटमा विभागीय टोली नेपाल पुलिस क्लबको लय शानदार देखिएको छ । नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेको नेपाल पुलिस दुई महिनाको अन्तरमा प्रमुख दुई प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा छ ।

नवौं राष्ट्रिय प्रतियोगिताबाट निकै लयमा देखिएको पुलिसले त्यतिबेला अर्को विभागीय क्लब त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको थियो ।

जारी प्रधानमन्त्री कपको समूह ‘बी’मा रहेको पुलिसले पहिलो खेलमा राष्ट्रिय टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल नेतृत्वको वागमती प्रदेशमाथि १९२ रनको शानदार जितसहित आफ्नो प्रभाव कायम राखेको थियो ।

पाँच टिम सम्मिलित प्रतियोगितामा लगातार तीन जित निकालेपछि पुलिस सेमिफाइनलमा पुगेको छ । पुलिसले समूहमा मधेश प्रदेशसँग खेल्नै बाँकी छ ।

राष्ट्रिय टिमका प्रभावशाली अलराउण्डर दीपेन्द्र सिंह ऐरीको नेतृत्वमा पुलिसले बलिङ र ब्याटिङ दुवैमा समान लय कायम राख्न सकेको छ । पछिल्ला तीन खेलमा पुलिसले वागमती प्रदेशमाथि १९२ रन र प्रदेश १ माथि ८ विकेट र विहीबार लुम्बिनीमाथि ७ विकेटको जित हासिल गरेको छ ।

‘नवौंमा स्वर्ण जितेपछि हाम्रो मनोबल निकै उच्च छ । जसका कारण अहिले पनि हामी राम्रो गरिरहेका छौं,’ प्रतियोगिताको पहिलो शतक बनाएका पुलिसका कप्तान दीपेन्द्र भन्छन् ।

अलराउन्डर कप्तान दिपेन्द्र

दिपेन्द्र सिंह ऐरी राष्ट्रिय टिमको पनि एक महत्वपूर्ण अलराउन्डर हुन् । प्रधानमन्त्री कपमा उनको ब्याट र बलमात्र होइन ‘क्विक फिल्डर’का रुपमा बनेको पहिचानलाई अझै मजबुद बनाएका छन् । त्यसबाहेक नेतृत्वदायी क्षमतामा पनि अग्रणी देखिएका छन् ।

नवौैं राष्ट्रिय प्रतियोगितादेखि नेपाल पुलिस टिमको कप्तानी गरिरहेका दीपेन्द्रको प्रदर्शन कप्तान बनेपछिको झनै सुधारिएको छ । पहिलो खेलमै वागमती प्रदेशविरुद्ध १०८ रनको शतकीय पारी र बलिङतर्फ ३ विकेट लिएर फराकिलो जितको शुत्रधार यिनै दीपेन्द्र हुन् । अहिले दीपेन्द्र फिट छन् र लयमा देखिन्छन् । ‘अलिअलि समस्या त भइरहन्छ तर, पहिलाको जस्तो फिटनेसमा समस्या छैन ।’

जारी प्रतियोगिताको सुरुवाती तीन खेलमा दिपेन्द्रले ब्याटिङतर्फ शतकसहित १६५ र बलिङतर्फ ९ विकेट लिएका छन् । हरेक खेलमा उनको ब्याटबाट रन बनिरहेको छ, विकेट लिइरहेका छन् । उनले पहिलो खेलमा ३, प्रदेश १ विरुद्ध दोस्रो खेलमा २ र लुम्बिनीविरुद्ध तेस्रो खेलमा ४ विकेट लिए । तीनमध्ये दुई खेलमा प्लेयर अफ द म्याच बनेका छन् ।

‘अभ्यास नै महत्वपूर्ण हो । मैले जुन तरिकाले मिहिनेत गरेँ, अभ्यास गरेँ सोही अनुसारको नतिजा मैदानमा आउने हो,’ उनले भने ।

उनले अघिल्लो मेयर कपमा पनि शतक प्रहार गरेका थिए । यहि वर्ष दिपेन्द्रले दोस्रो शतक बनाएका हुन् । यहि लयलाई उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि कायम राख्ने बताए । ‘यो एउटा रिदम हो, फर्म हो । अब अहिलेको शतकको अनुभव लिएर अन्तर्राष्ट्रियमा पनि प्रदर्शन सुधार्दै जानेछु ।’

ओपनिङमा ढुक्क

पुलिस टिममा कुशल भुर्तेल र सुनील धमलाले ओपनिङ गर्छन् । एकदिवशीयमा सुनीलको दक्षता राम्रो छ । कुशलले पनि क्रमसः आफूलाई लामो फम्र्याटमा अभ्यस्त बनाउँदै छन् । पछिल्ला तीन खेलको प्रदर्शन हेर्ने हो भने यी दुईको संयमित सुरुवातले पुलिसलाई लक्ष्य पछ्याउन सहज हुने गरेको छ ।

सुनील नवौं राष्ट्रिय खेलकुदयता लयमा छन् । ‘दुुवै ओपनरले राम्रो गरिरहेका छन् । ओपनर ब्याटरहरुले राम्रो साझेदारी गर्दा पछाडिका ब्याटरहरुलाई सहज भइरहेको छ । धमलाको आक्रमक र संयमित ब्याटिङले आज पनि पछि आउने ब्याटरहरुलाई निकै सहज भयो,’ कप्तान दीपेन्द्र भन्छन् ।

पहिलो खेलमा बागमतीविरुद्ध कुशल र सुनील दुवैले समान ३७ रनको योगदान गरे । उनीहरुले ३९ रनको साझेदारी गरेका थिए । दोस्रो खेलमा प्रदेश १ विरुद्ध सुनील सुरुमै आउट भए पनि कुशलले पारी संहाल्दै ४२ रन बनाए । लुम्बिनीसँगको तेस्रो खेलमा कुशलले ३६ र सुनीलले ३२ रन बनाए । यो जोडीले ५५ रनको ओपनिङ साझेदारी गरेको थियो ।

ललितको पुनरागमनले निखारिएको बलिङ

राष्ट्रिय टिमबाट खेलिसकेका ललित नारायण राजवंशी चोटबाट फर्केर आक्रामक कमब्याक गर्नु पुलिसका लागि सकारात्मक पाटो हो । जसले स्पिन बलिङमा कप्तान दीपेन्द्रलाई साथ दिइरहेका छन् ।

यस प्रतियोगितामा पहिलो खेलमा बागमतीसँग ४ ओभर बलिङ गर्दा १९ रन खर्चेर विकेट लिन नसके पनि प्रदेश १ विरुद्ध ५ विकेट लिए । उनले १० ओभरमा २६ रनमात्र खर्चिए । विहीबार लुम्बिनीविरुद्ध ७ ओभरमा २ मेठन राख्दै २५ रन खर्चेर २ विकेट लिए ।

राष्ट्रिय टिमका तीव्र गतिका बलर करण केसी, मध्य गतिका आरिफ शेख, स्पिनर सागर ढकाल, तीव्र गतिका बलर गुल्सन झासहितले पुलिसको बलिङलाई बलियो बनाएको छ ।
‘ललित कमब्याकले हाम्रो बलिङ डिपार्ट झन बलियो बनेको छ । ‘भेराइटी’ भएकाले हामी बलियो छौं,’ दीपेन्द्र भन्छन्, ‘अहिले बलरहरुले ठाउँमा बल फालिरहेका छन् । जसले विपक्षीलाई कममा समेट्न सहज भएको छ ।’

तस्वीरहरूः विकास श्रेष्ठ/अनलाइखबर

दीपेन्द्रसिंह ऐरी नेपाल पुलिस क्लब पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
नमिता दाहाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय