+
+

सन्दीप लामिछाने प्रकरण : अदालतले माग्यो पीडितको जन्मदर्ताको अभिलेख

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १८ गते १८:१९

१८ कात्तिक, काठमाडौं । जिल्ला अदालत, काठमाडौंले सन्दीप लामिछानेविरुद्ध जबर्जस्ती करणीको कसूरमा किटानी जाहेरी दिने किशोरीको जन्मदर्ताको अभिलेख किताबको सक्कल प्रति झिकाउन आदेश दिएको छ ।

उक्त मुद्दाको मुद्दाको थुनछेक बहसका क्रममा लामिछाने पक्षका वकिलले जाहेरीकर्ता नाबालिग नभएको दाबी गर्दै उनको जन्ममितिमा विवाद भएको बताएका थिए । उनीहरुले किशोरीको जन्ममिति २०६१ जेठ १८ गते रहेको विवरण अदालतमा पेश गरेका थिए ।

तर जिल्ला प्रहरी परिसर, काठमाडौंले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेको कागजातमा उनको जन्ममिति २०६२ जेठ १८ गते छ ।

लामिछाने पक्षका वकिलले बलात्कार आरोपको प्रतिवाद गर्नुभन्दा बढी जाहेरीकर्ताको उमेरमाथि बहस गरेका थिए ।

थुनछेक बहसपछि शुक्रबार न्यायाधीश माधवप्रसाद घिमिरेले ‘लामिछाने निर्दोष रहेछन् भनी मान्न मिलेन’ भन्दै उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका छन् । अदालतको आदेशपछि उनलाई केन्द्रीय कारागार, सुन्धारा चलान गरिएको छ ।

थुनामा पठाउने आदेशसँगै न्यायाधीश घिमिरेले पीडितको जन्मदर्ताको अभिलेख किताबसहितको सक्कल प्रति पनि सम्बन्धित कार्यालयबाट झिकाउन आदेश गरेका छन् । साथै, पीडितले नागरिकता प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपी पनि झिकाउन भनेका छन् ।

आदेशमा मुद्दा निरन्तर सुनवाइ गर्नुपर्ने प्रकृतिको भएको बताउँदै जाहेरवाला, पीडित, बुझिएका मानिसहरु र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई ७ मंसिरमा बकपत्रका लागि उपस्थित गराउन भनिएको छ । त्यसका लागि सरकारी वकिलको कार्यालय, काठमाडौंमार्फत सम्बन्धित प्रहरी कार्यालयलाई पत्राचार गर्न पनि भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?