+
+

प्रधानमन्त्री कप क्रिकेटमा किन कमजोर देखियो सुदूरपश्चिम ?

नमिता दाहाल नमिता दाहाल
२०७९ कात्तिक १८ गते २०:५०

१८ कात्तिक, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद अन्तगर्त दुई महिना अघि काठमाडौंमा भएको क्रिकेट प्रतियोतिामा कांस्य पदक जितेको सुदूपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा समूह चरणबाटै बाहिरिएको छ ।

तर जारी प्रतियोगितामा समूह चरणमा १ खेल खेल्न बाँकी रहे पनि यसअघि आफूले खेलेका सबै तीन खेल हारेको उसको सेमिफाइनल पुग्ने कुनै संभावना छैन ।

अन्य घरेलु प्रतियोगितामा ३ विभागीय टोलीपछि बलियो मानिएको सुदूरपश्चिम प्रधानमन्त्री कप क्रिकेटमा भने अहिलेसम्म सेमिफाइनलमा पुग्न सकेको छैन । तर यस पटक उसको प्रदर्शन विगतमा भन्दा पनि खराब रह्यो । उ सबै पक्षमा चुक्यो । यसअघिका प्रतियोगितामा बलिङमा राम्रो पकड जमाउने गरेको सुदूरपश्चिम यसपालि बलिङ, ब्याटिङ र फिल्डिङमा पनि चुक्यो ।

अभ्यासको कमी

सुदूरपश्चिमका प्रशिक्षक खेमराज भट्ट यसपटक अभ्यासको कमीले टिम कमजोर देखिएको बताउँछन् । ‘हामीलाई तयारी गर्ने समय नै भएन । क्षेत्रीय छनोट लगत्तै तिहार भयो । त्यसपछि खेलाडीले सँगै अभ्यास गर्ने मौका पाएका थिएनन् । जसका कारण हामीले नतिजा ल्याउन सकेका छैनौं’, उनले भने ।

अभ्यासका लागि उचित मापदण्दको खेल मैदान सुदूरपश्चिको अर्को आवश्यकता हो । ‘हामीसँग मैदान भनेकै कैलाली र कञ्चनपुरमा मात्रै छ । नत्र पहाडी जिल्लामा भएको मैदान ३० यार्डका छन् । जसमा हाम्रा खलाडीले धेरै प्रशिक्षण गरे । त्यहाँको र यहाँको मैदान देखि हरेक कुरा फरक हुन्छ’, प्रशिक्षक भट्टले भने ।

सुदुरपश्चिमको क्षेत्रीय छनोटको कुनै पनि खेल ५० ओभरको भएन । फाइनल खेल मात्रै ४० ओभरको भयो । ‘सुदूरका खेलाडीलाई टी–२० फम्र्याटमा खेल्ने बानी प¥यो जसका कारण उनीहरु क्रिजमा धेरै समय टिक्न सकेनन्,’ भट्टले भने, ‘हाम्रो छनोट प्रक्रिया छोटो फम्र्याटमा भयो, खेलाडीलाई ५० ओभर खेलको अनुभव नै धेरै हुन पाएन ।’

खेलाडीले क्षमता अनुसार खेल्न नसक्नु

घरेलु प्रतियोगितामा नाम कमाएका बलरहरु शेर मल्ल, बसन्त कार्की तथा कप्तान राजु रिजाल नै चल्न सकेनन् ।

प्रशिक्षक भट्ट भन्छन्, ‘खेलाडीले क्षमताअनुसार प्रदर्शन गर्न सकेनन् । बसन्त कार्की, राजु रिजाल, शेर मल्लबाट आशा थियो ।’

प्रशिक्षकले यसपाली खेलाडीलाई देखाएको विश्वासमा खेलाडी खरो उत्रिन नसक्दा टिमले लगातार हार बेहोर्नु परेको उनको भनाइ छ । प्रशिक्षक भट्ट भन्छन्, ‘हाम्रो टप अर्डर र मिडल अर्डर दुवै फ्लप भयो । कप्तान राजु देखि कुनै पनि ब्याटरले क्रिजमा टिकेर रन बनाउन सकेनन् ।’

कप्तान राजुुको नाजुक प्रदर्शन

सुदूरपश्चिमका सबैभन्दा अनुभवी खेलाडी कप्तान राजु रिजाल हुन् । राष्ट्रिय टिमबाट समेत खेलिसकेका उनले त्यसको अनुभवको फाइदा राष्ट्रिय प्रतियोगितामा लिन सकेनन् ।

राष्ट्रिय टिममा पुनरागमन गर्न खोजिरहेका उनी गण्डकी प्रदेशसँग १ रन, एपीएफसँग २४ रन र आर्मीसँग २ रनमा आउट भए ।

‘म आफैंले आफ्नो प्रदर्शन देखाउन सकेको छैन । नयाँ खेलाडीलाई के दोष दिनु’, यू–१९ देखि राष्ट्रिय टिमसम्म खेलेका उनी भन्छन्, ‘मैले राम्रो खेले पो दाइले राम्रो खेल्नु भएको छ । हामीले नि साथ दिनुपर्छ भनेर उनीहरुले पनि खेल्छन् ।’

उनका अनुसार नयाँ आएका र घरेलु प्रतियोगितामा राम्रो गरिरहेका खेलाडीले पनि यस पटक राम्रो मनोबलमा खेल्न सकेनन् । आफूले उनीहरुलाई गाइड गर्न नसकेको कारण सोचे अनुरुपको नतिजा नआएको कप्तान रिजालले बताए ।

‘अरु युवा छन् । म छु अनुभवी मैले नै गर्न सकिरहेको छैन । सबैभन्दा ठूलो गल्ती मेरै हो । क्रिकेटमा युवा भन्ने हुँदैन । यहाँ आएपछि सबै कुरा फरक हुन्छ । जिल्ला र प्रदेश जस्तो हुँदैन’, उनले भने ।

३० घण्टाको यात्रा र खेलाडीको थकान

पहिलो खेल खेल्न एक दिन अघि मात्र काठमाडौं आइपुगेको सुदूर पश्चिमको टिमले लगातार बसमा ३० घन्टा बिताएको थियो ।

३० घण्टाको बसको यात्राले केही खेलाडीलाई ज्वरो पनि आएको थियो, सबै खेलाडी थकित थिए ।

‘मलाई ज्वरो आइरहेको थियो । अन्य खेलाडी पनि धेरै थकित थियौं । ब्याक टु ब्याक दुई दिन खेल थियो । हामीले यो प्रतियोगितामा सोचेजस्तो खेल्न नसक्नुको एक कारण यो पनि हो’, सुदूरपश्चिमका एक खेलाडीले भने ।

१२ गते बिहान हिँडेका उनीहरु १३ गते राति मात्र गौशलास्थित होटल आइपुगेका थिए । साढे ९ बजे सुरु हुने गण्डकीसँगको खेलका लागि १४ गते बिहान साढे ८ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा पुगेका थिए । उनीहरुलाई होटलबाट मैदानसम्म लैजाने बसको टायर पञ्चर भएकाले उनीहरुलाई मैदान पुग्न ढिलो भएको थियो । जसले पनि उनीहरुलाई तनाव भएको थियो ।

सुदूरको प्रधानमन्त्री कपको यात्रा

सन् २०१७ देखि प्रधानमन्त्री कपको मात्र इतिहास हेर्ने हो भने पहिलो सिजनमा सुदूरपश्चिम २ खेलमा हार व्यहोरेको थियो भने १ खेल नतिजा विहीन भएको थियो ।

२०१८ मा सुदूरपश्चिम ४ खेलमा २ जित र १ खेलमा हार व्यहोरेको थियो भने एउटा खेल नतिजा विहीन भएको थियो । तर पनि समूह बीमा तेश्रो भएपछि सुदूरपश्चिम फाइनलमा पुग्न सकेन ।

२०१९ मा २ हार १ जित र एक नतिजा विही खेल खेल्दै सुदूरपश्चिम तेश्रो भयो ।

२०२०÷२१ को सिजनमा ४ खेलमा ३ हार र १ मात्र जित सहित जम्मा २ अंक जोड्दै समुह बी को चौथो स्थानमा रहँदै समुह चरणबाटै बाहिरिएको थियो । २०२१/२२ मा भने नेपाल क्रिकेट संघले प्रधानमन्त्री कपको ओभर घटाइ टी–२० फम्र्याटमा खेल गराएको थियो । जसमा उसले ४ खेलमा २ जित र २ हार व्यहोरेको थियो ।

लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?