+
+

सत्ता सुरक्षित गर्न खोजिरहेका शेरबहादुर

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक १९ गते १३:४३

३१ जेठ २००३ मा डडेलधुराको गन्यापधुरामा जन्मिएका शेरबहादुर देउवा काठमाडौं बूढानीलकण्ठका स्थायी बासिन्दा हुन् ।

उनी २०१७ सालको राजनीतिक घटनाक्रमपछि राजनीतिमा सक्रिय भए । २०२८ सालमा उनी नेविसंघको प्रथम सभापति निर्वाचित भए । कांग्रेसको विभिन्न संगठनमा रहेर जिल्लादेखि केन्द्रसम्मको नेतृत्वमा पुगेका देउवा शिक्षामा स्नातकोत्तर हुन् ।

उनको राजनीतिक संघर्षको कथा पनि कम रोचक छैन । पञ्चायती शासन व्यवस्थाविरुद्धको संघर्षका क्रममा उनले पटक–पटक प्रहरी हिरासतमा चरम यातना व्यहोरे । जीवनको ९ वर्ष त जेलमै बिताए ।

नेपाली कांग्रेसको तत्कालीन संस्थापन अर्थात् गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्षको उत्कर्षमा देउवाले २०५९ मा पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरे । २०६४ मा पार्टी एकीकरण गरेर वरिष्ठ नेता बनेका देउवा २०७२ मा सम्पन्न कांग्रेसको १३औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित भए ।

उनको संसद यात्रा २०४८ को निर्वाचनमा डडेलधुरा–१ बाट सुरु भयो । मध्यावधि निर्वाचन २०५१ र प्रतिनिधिसभा सदस्य निर्वाचन २०५६ मा पनि उनी त्यहींबाट निर्वाचित भए । दुवै संविधानसभा र २०७४ को आम निर्वाचनमा पनि डडेलधुरा–१ बाटै विजयी भएर चुनावी सफलताको अविराम यात्रालाई निरन्तरता दिए । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी डडेलधुराबाटै उठेका छन्, सातौंपटक निर्वाचित हुने लक्ष्यसहित । यसपटक त उनी सत्ता गठबन्धनको साझा उम्मेदवार पनि हुन् ।

पहिलो पटक २०४८ सालमा गृहमन्त्री बनेका शेरबहादुर देउवा २०५२, २०५८, २०६१, २०७४ र २०७८ गरी पाँचपटक त मुलुकको कार्यकारी अर्थात् प्रधानमन्त्री नै भइसके । उनी पहिलोपटक प्रधानमन्त्री बनेको बेला नेपालमा माओवादी ‘युद्ध’ सुरु भयो । पछि उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष बने । अहिले त्यही माओवादीसँग गठबन्धन गरेर छैटौं पटक प्रधानमन्त्री बन्ने उद्देश्यसहित चुनावी मैदानमा छन् ।

गत स्थानीय तह निर्वाचनमा डडेलधुरामा वडाअध्यक्षहरूले दलगत रूपमा पाएको मत परिणाम पनि देउवाको लागि अनुकूल नै छ । उक्त चुनावमा कांग्रेस २१ हजार ७३५, माओवादी केन्द्रले १२ हजार ८७८, एमालेले १० हजार ४४९, नेकपा (एकीकृत समाजवादी)ले ५ हजार ४१, नेपाली कांग्रेस (बीपी)ले ३ हजार ६०४ र स्वतन्त्र उम्मेदवारले १ हजार ६६७ मत प्राप्त गरेका थिए ।

यो आँकडाअनुसार देउवा गठबन्धनको ३९ हजार ६५४ मतसहित चुनावी प्रतिस्पर्धामा छन् । एमालेले देउवासँग विद्रोह गरेर नेपाली कांग्रेस (बीपी) खोलेका कर्णबहादुर मल्ललाई समर्थन गरेको छ । स्थानीय तहमा एमालेले पाएको समेत जोड्दा मल्लसँग १४ हजार ५३ मत देखिन्छ । यो अवस्थाले देउवालाई डडेलधुरामा सबभन्दा सुरक्षित उम्मेदवार देखाउँछ ।

त्यसो त स्वतन्त्र उम्मेदवार सागर ढकाल पनि देउवाविरुद्ध आक्रामक चुनावी अभियानमा छन् । यद्यपि, प्रधानमन्त्रीसमेत रहेका चुनावी गणितका उस्ताद देउवा यसपटक हारे भने विद्रोही/विपक्षहरूले डडेलधुरामा चमत्कारै गरेको मानिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?