+
+
फेवा सिरानको दुःख :

हर्पन खोला बस्ती थर्काउँदै बग्छ, आडैको खेत बाँझै

विकास रोकामगर विकास रोकामगर
२०७९ कात्तिक १९ गते १८:३१

१९ कात्तिक, पोखरा । बस्ती तलतिर कलकल बग्दै फेवाताल मिसिन पुग्ने हर्पन खोला । खोलामाथि लहलह पहेंलपुर धान । यतिबेला पोखरा वडा नं. २३ डुडेफाँट पुग्नेहरुलाई यही दृश्यले लोभ्याउँछ ।

पोखरा शहरदेखि करिब १२ किलोमिटर उत्तर पर्ने डुँडेफाँटका गह्रामा यसरी रहरलाग्दो धान फलाउन भने युद्ध जिते बराबर छ । हरेक वर्ष यहाँका किसानलाई खेत रोप्न पाइने हो कि होइन भन्ने दुविधामा बस्नुपर्छ । कारण हो, सिँचाइ अभाव ।

फेवातालको मुहानमध्ये एक हर्पन खोला किनारका बासिन्दा हर्पन उँधो बग्दै तालमा मिसिएको हेर्न बाध्य छन् । त्यसमाथि बर्खामा खोला बढ्दा बस्ती नै बगाउलाझैं गरेर सुसाउँछ । तर, त्यही खोलाका किनारमा खेतीपाती गर्ने किसानले भने बर्खामा पनि आकासे पानीको भरमा खेत रोप्नुपर्छ ।

‘छेउमै यत्रो खोला छ । तर, खोला हेरेरमात्रै खेतीपाती नहुने रैछ क्यार, आकासको पानी आयो भने धान लगाउने हो, नत्र त बाँझै’, स्थानीय डिल्लीराम अधिकारी (७०) ले दुखेसो पोखे, ‘बर्खामा खोलो बस्ती नै बगाउलाजस्तो गरेर बग्छ । तर खेतबारी बाँझै !’

अनलाइनखबरकर्मी डुँडेफाँट पुग्दा डिल्लीराम अधिकारी, लोकबहादुर विक र गोपाल विक एकआपसमा गफिँदै थिए । ४ मंसिरको चुनावका लागि उम्मेदवारी दर्ता गरेर नेताहरुले घरदैलो सुरु गरे पनि उहाँ भोट माग्न कोही आइसकेका छैनन् । तर, उनीहरुको हातमा निवर्तमान सांसद राजीव पहारीले प्रदेशसभा सदस्य निर्वाचित भएको ५ वर्षमा पोखरा महानगरपालिका–२३ मा गरेका कार्यप्रगतिबारे उल्लेख गरिएको प्रर्चा थियो ।

‘२ करोडको खानेपानी, ३० लाखको सिंचाइ आयोजना सम्पन्न गरें भन्ने रै’छन् । खै कहाँ आयो सिंचाइ ?’ हातमा भएको पर्चामा उल्लेख गरिएको व्यहोरा पढेर सुनाउँदै डिल्लीराम कड्किए, ‘अहिले आउला यही पर्चा देखाएर सोध्ने हो ।’

पहारीले उक्त पर्चामा ‘मझुवा–डुँडेफाँट सिंचाइ आयोजना’ का नाममा ३० लाख र ‘मझुवा–डुडेफाँट खानेपानी योजना’मा २ करोडको योजना ५ वर्षमा आफूले गरेको उल्लेख गरेका थिए । तर, गाउँमा न सिंचाइका लागि कुलो खनिएको छ न त खानेपानीका लागि जोडिएको धारामा नै पानी आउँछ ।

‘यसपालि पनि यो यो गर्छम्, त्यो त्यो गर्छम् भनेर पक्कै आउँछन् । म त कसैलाई भोटै नदिने, जोले जिते नि त्यस्तै रछ’, डिल्लीरामले भने, ‘न पारि गाउँ जान पुल बनाइदिया’छन् ।’ ढिलो गरी मनसुन सुरु हुँदा आफूहरुले खेतीपाती नै गर्न नपाउने हो कि भन्ने चिन्ताले सताउने उनले बाध्यता सुनाए ।

पहिले डुँडेफाँट भदौरे तामागी गाउँ विकास समिति वडा नम्बर ५ मा पथ्र्यो । तर, तत्कालीन पोखरा उपमहानगर उक्त गाविससँग जोडिएपछि महानगरपालिकाको एउटा वडा (२३) मा सीमित बन्न पुग्यो ।

गाविसबासीबाट सींधै महानगरवासी बनेका स्थानीय सुरुमा त ‘विकासको मूल फुट्ने’ आश्वासनबाट खुसी थिए । तर, फेवातालको अर्को छेउ (बैदाम) लेकसाइड क्षेत्रले गुल्जार बनेर सेवासुविधा पाइरहँदा तालकै मुहानवासीहरु भने उपेक्षामा राखेको सुनाउँछन् ।

एउटा गतिलो सिँचाइ र खोला वल्लोपल्लोको गाउँ ओहोरदोहार गर्न पुलमात्रै बनाइदिए आफूहरुलाई ठूलै सुविस्ता मिल्ने उनीहरुको भनाइ छ । बर्खामा पुल नहुँदा बालबालिका तथा विरामीले सास्ती भोग्नु परिरहेको स्थानीय गोपाल विकको गुनासो छ ।

‘पहिले आउँदा पनि यहाँ पुल बनाइदिन्छम् भनेर भनेका थिए’, घर तल्तिरको हर्पन खोला देखाउँदै गोपाल विकले भने, ‘अहिले पो सानो छ । पछि बर्खामा पल्लो घर जान पनि १ घन्टा घुमेर जानुपर्छ ।’

सिँचाइको अभावकै कारण आफूहरुले एक मासमात्रै खेतीपाती गर्न बाध्य भएको स्थानीयको गुनासो गर्छन् । स्थानीय रेवती पौडेल पनि सिँचाइकै अभावका कारण खेतीपाती पनि राम्रोसँग गर्न नपाएको गुनासो गर्छिन् ।

‘खोला नजिकै भएर के गर्नु खेतबारी माथि छ । बर्खामा पनि भलबाढी छोपेर धान रोप्ने हो’, पौडेलले भनिन्, ‘कहिलेकाहीँ त पानी परेर खेतमा आयो पछि बिदो भएर फर्किनु पनि पर्‍या’छ ।’ उनले पनि प्रत्येक चुनावताका उम्मेदवारले सिंचाइ र पुलकै आश्वासन दिने गरेको सुनाइन् ।

२९ भन्दा बढी घरधुरी भएको डुँडेफाँट क्षेत्रमा करिब ५ सय रोपनी क्षेत्रफलमा धानखेती गरिन्छ । आफ्नो जग्गा नभएपनि अधियाँमा खेतीपाती गरिरहेका लोकबहादुर विक सिंचाइ नहुँदा आफूहरुलाई पनि समस्या पर्ने गरेको सुनाए ।

‘मेरो त आफ्नो खेत छैन, साहुकै अधियाँ लगाउने हो । तर, राम्रोसँग पानी परिदियो भने पो धान पनि राम्रो हुन्छ । दुख गरेको पनि काम लाग्छ’, विकले भने, ‘हुनेको धान फल्यो भने पो हामीले पनि खान पाउँछम् ।’

डुडेफाँट कास्कीको प्रतिनिधि सभातर्फ क्षेत्र नं. ३ र प्रदेश सभामा क्षेत्र नम्बर ३ ‘ख’ पर्छ । अहिले उक्त क्षेत्रमा नेकपा एमालेबाट प्रतिनिधि सभामा दामोदर बैरागी र ५ दलीय गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रामजी बराल चुनावी प्रतिस्पर्धामा छन् ।

प्रदेश सभातर्फ प्रदेशमा नेकपा एमालेबाट राजीव पहारी र सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका प्रकाश बराल उम्मेदवार छन् । यसअघि उक्त क्षेत्रबाट नेकपा एमालेका जगत विश्वकर्मा प्रतिनिधि सभा सदस्य र प्रदेश सभामा राजीव पहारीले जितेका थिए ।

लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?