+
+
उम्मेदवार प्रोफाइल :

विरोधको ‘पञ्जा दाउ’

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते ८:४४

२० कात्तिक, मकवानपुर । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडा मकवानपुर–२ मा हिजोआज नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूसँगै भोट माग्न हिंड्छन् । उनीसँग कहिले प्रदेश सभामा उठेका कांग्रेसका वागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ हुन्छन् त कहिले माओवादी केन्द्रीय सदस्य तथा वागमतीकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान ।

यस पटकको चुनावमा उनको नियति २०७४ को भन्दा ठ्याक्कै उल्टो छ । पाँच वटा संसदीय चुनावमा खतिवडाका प्रतिद्वन्द्वी रहेकाहरू अहिले सहयात्री बनेका छन् भने उनको पूर्व पार्टी नेकपा एमाले उनको विपरीत कित्तामा छ । प्रतिस्पर्धामा रहेका एमालेका युवा नेता महेश बर्तौला विरोध आफैंले राजनीति सिकाएका ‘शिष्य’ हुन् ।

खतिवडा यसपटक पञ्जा दाउ कुरिरहेका छन्, किनकि फेरि निर्वाचित भए उनी पाँचौं पटक चुनाव जितेर सांसद बन्न पाउनेछन् । २०७४ सालको निर्वाचनमा खतिवडाले कांग्रेसकी नेता महालक्ष्मी उपाध्याय ‘डिना’ लाई हराएर चौथोपटक सांसद बनेका थिए र मन्त्री पनि बन्ने अवसर पाए ।

खतिवडा २०४३ सालमा राष्ट्रिय पञ्चायतमा एमालेका तर्फबाट जनपक्षीय उम्मेदवार बनेका थिए, तर त्यतिबेला हार व्यहोरे ।

खतिवडा २०४८ सालमा जनमुखी नेता रूपचन्द्र विष्टलाई पराजित गर्दै सांसद बने । २०५१ को मध्यावधि निर्वाचनमा खतिवडाले कमल थापालाई हराए । २०५६ सालको चुनावमा पनि खतिवडाले तत्कालीन माले नेता हिरण्यलाल श्रेष्ठलाई हराएका थिए ।

मकवानपुरका पुराना नेता बद्रीप्रसाद खतिवडाका छोरा विरोधकी श्रीमती मुनु सिग्देल पनि राजनीतिमा सक्रिय छिन् । उनी हाल एकीकृत समाजवादीकी केन्द्रीय सदस्य र वागमतीकी निवर्तमान प्रदेश सांसद हुन् ।

हेटौंडा उपमहानगरपालिका–४ घर भएका खतिवडाले हेटौंडाको भुटनदेवी माविको विद्यार्थी संगठनबाट राजनीतिक यात्रा थालेका हुन् । २०३५ सालमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको काठमाडौं जिल्ला कमिटीमा रहेर काम गरेका उनी २०३७ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भए र ‘नेपाल ल क्याम्पस’को स्ववियु सचिव समेत बने ।

एमालेको केन्द्रीय लेखा आयोगको सदस्य रहेका उनी माओवादी र एमाले एकीकरणपछि बनेको तत्कालीन नेकपाको केन्द्रीय सदस्य थिए ।

कानुनमा स्नातक खतिवडाले केही समय कानुन व्यवसाय समेत गरे । २०४८ सालकै संसदमा आफ्नो छाप छाडेका खतिवडा संसदीय राजनीतिमा अनुभवी मानिन्छन् । खतिवडाको विशेषता यो हो कि उनी प्रायः संसद बैठक सञ्चालनका क्रममा नियम मिचेको थाहा पाउनेवित्तिकै ‘नियमापत्ति’ गर्छन् ।

खतिवडा नेपालमा लगाइएको गाँजा प्रतिबन्ध खुलाउनुपर्छ भन्ने अभियानमा लामो समयदेखि सक्रिय छन् । उनको निर्वाचन क्षेत्र पर्ने मकवानपुरको ग्रामीण भेगमा गाँजा खेती हुने भएकाले यसलाई उनले पटक–पटक चुनावी मुद्दा बनाउने गरेका छन् । खतिवडाले २०७६ को प्रतिनिधिसभामा गाँजा खेतीलाई वैध बनाउन माग गर्दै जरूरी सार्वजनिक महत्वको प्रस्ताव समेत पेश गरेका थिए ।

गत स्थानीय तह चुनावमा मकवानपुर–२ मा वडास्तरमा खतिवडाको पार्टी एकीकृत समाजवादीले पाएको मत २ हजार ७१९ मात्रै हो । तर, एकीकृत समाजवादीसँगै गठबन्धनमा रहेको कांग्रेसले यो क्षेत्रमा ३४ हजार २४०, माओवादीले २२ हजार ६०७, र राष्ट्रिय जनमोर्चाले ४६४ मत पाएको छ । यसअनुसार गठबन्धनको मत ६० हजार छ ।

यो निर्वाचन क्षेत्रमा एमालेले वडास्तरमा ३६ हजार ८६६ भोट ल्याएको थियो । एमालेसँग मकवानपुरमा गठबन्धन गरेको कमल थापाको पार्टी राप्रपा नेपालले स्थानीय तह चुनावमा उम्मेदवार नउठाएकोले उसको भोट कति छ भन्ने स्पष्ट छैन ।

गठबन्धनको भोट कायम राख्न सके खतिवडाले सजिलै जित निकाल्ने सम्भावना छ । तर, विगतमा आफ्नै बलमा बनाएको संगठन भएकाले एमालेलाई पराजित गर्न सजिलो नभएको खतिवडाले राम्रोसँग बुझेका छन् । त्यसैले यसपटक उनले गठबन्धनलाई एक ढिक्का राख्न आफ्नो चुनावी अभियानमा केपी शर्मा ओलीलाई तारो बनाएका छन् ।

आफू र पार्टी अध्यक्ष माधवकुमार नेपाललाई हराउन ओलीले १० करोड रुपैयाँ दिएर पठाएको आरोप लगाउँदै उनी चुनावी भाषण गरिरहेका छन् । ओलीले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा लिएर चुनावी मैदानमा पुगेका महेश बर्तौला र ओलीलाई नै ‘धुन्धुकारी’ भनिरहने खतिवडाबीचको प्रतिस्पर्धा निकै रोचक हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?