+
+

नवलपुरका बोटे समुदाय भन्छन् : लालपुर्जा दिनेलाई भोट

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २० गते १४:१४
फाइल तस्वीर

२० कात्तिक, नवलपुर । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरू मत माग्दै घरदैलोमा व्यस्त छन् । आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न घरदैलोमा पुगेका उम्मेदवारसँग मतदाताले विभिन्न माग राख्ने गरेका छन् ।

नारायणी नदी किनारमा बसोबास गर्दै सीमान्तकृत समुदायमा पर्ने बोटे समुदायले भने लालपुर्जा उपलब्ध गराउने उम्मेदवारलाई मतदान गर्ने बताएका छन् । वर्षौँदेखि खोला किनारमा बस्ने र माछा मारेर जीविका चलाउँदै आएको यस समुदायले माछा मारेर जीविकोपार्जनमा समस्या भएको जनाउँदै आफूहरूलाई जमिन र पुर्जा दिनुपर्ने माग गर्दै आएका छन् ।

अहिले अधिकांश ती समुदायका व्यक्तिको घर भए पनि त्यो घर भएको जग्गाको पुर्जा भने उनीहरूको नाममा नभएको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–३ ब्रम्हस्थानका बोटे अगुवा मङ्गुराम बोटेले बताए ।

‘हामी बाबुबाजेको पालादेखि खोला किनारमै बस्दै आयौँ, हामी र हाम्रा सन्तान पनि खोला किनारमै जन्मिने र हुर्किने गरे’, उनले भने, ‘अबको समय भने बदलिएको छ, नयाँ पुस्ता माछा मार्न जानै छाडे, आफ्नो नाममा जमिन छैन ।’

जुन उम्मेदवारले जमिन र लालपुर्जा दिने प्रतिबद्धतासहित विश्वस्त पार्छन् उनै उम्मेदवारलाई मतदान गर्ने आफूहरूको सोच भएको बोटेले बताए । ती समुदायका मानिस बस्दै आएको ठाउँमा विभिन्न समयमा जग्गा नापी गरिएको भए पनि हालसम्म आफूहरूको हातमा लालपुर्जा प्राप्त नभएको उनीहरूको भनाइ छ ।

ब्रम्हस्थानकै डम्मरबहादुर बोटेले विसं २०५२/२०५४ लगायत विभिन्न समयमा आफूहरू बसोबास गरेको ठाउँमा नापी भएको उल्लेख गर्दै हालसम्म लालपुर्जा नपाएको गुनासो गरे । ‘ २०५२/५४ सालपछि पनि धेरैपटक यहाँ जग्गा दिने भन्दै आश्वासन बाँड्न नेता आएका छन्’, उनले भने, ‘भोट माग्न आउने नेतालाई जिताएर पठायौँ तर उनीहरुले लालपुर्जा दिनु त परको कुरा हो, चुनाव जितेपछि फर्केर पनि आउँदैनन् ।’

निर्वाचनका बेला बोटे समुदायलगायत सुकुमबासीको मत निर्णायक हुने भए पनि निर्वाचन जितेपछि उनीहरुको अवस्थाका बारेमा कमैले जानकारी लिने गरेको उहाँको भनाइ छ ।

जग्गा र लालपुर्जासँगै आफूहरूलाई सीप र रोजगारीको आवश्यकता भएको आइतीमाया बोटेले बताइन् । ‘हामीसँग माछा मारेर खानेबाहेकका अन्य कुनै पनि सीप छैनन्”, उनले भनिन्, ‘सधैँभरि माछा मारेर खान पनि पुग्दैन, हिजोआज त नारायणीमा माछा मार्नका लागि पनि निकुञ्जले अवरोध गर्ने गरेको छ । त्यसैले अब सीप सिकाएर हामीलाई रोजगार दिनुपर्छ ।’ आफ्ना बालबालिका विद्यालय जानै नमान्ने अवस्था रहेको भन्दै बोटेले बालबालिकालाई विद्यालय पुगेर पढ्ने–लेख्ने वातावरण गराउनु पनि जनप्रतिनिधिको दायित्व भएको बताए ।

पहिलोपटक मतदानमा सहभागी हुने तयारीमा रहेका बोटे समुदायका युवा भने मतदानमा उत्साहीसँगै आफूहरूको अवस्था परिवर्तन आउनेमा आशावादी छन् । ‘बोटे समुदायका केही युवाले उच्च शिक्षासमेत हासिल गरेका छन्’, पहिलोपटक मतदान गर्ने तयारीमा रहनुभएका युवा प्रमोद बोटेले भने, ‘उनीहरूलाई योग्यताअनुसारको रोजगारी र बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बन्न प्रेरित गर्नुपर्छ ।’ नारायणी नदीले छोएको जिल्लाको स्थानीय तहहरूमा बोटे समुदायको बसोबास रहेको छ ।

जिल्लाको गैँडाकोट , देवचुली , कावासोती , मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा पर्ने नारायणी नदी किनारका गाउँमा सो समुदायको बसोबास छ । यहाँ बसोबास गर्ने अधिकांश बोटे समुदायका मानिस सुकुम्बासी अवस्थामा छन् ।

एघारौँ राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १० हजार तीन सय ९७ जना बोटे समुदायका मानिस रहेका छन् भने सबैभन्दा बढी नारायणी तथा कालीगण्डकी नदी किनारमा बसोबास गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?