+
+
१९ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

एमालेको मत जोगाएर गठबन्धनको तान्ने चुनौतीमा राजन

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २१ गते १५:३१

परराष्ट्र मामिलाका विज्ञ राजन भट्टराई काठमाडौं–४ मा कांग्रेस नेता गगन थापासँग दोस्रो पटक प्रतिस्पर्धामा छन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा थापासँग करिब साढे ३ हजार मतले पराजित भएका भट्टराई दोस्रो प्रतिस्पर्धामा जित हासिल गर्ने लक्ष्यमा छन् ।

तर २०७४ मा भट्टराईलाई साथ दिएको नेकपा माओवादी केन्द्रले यसपटक थापालाई साथ दिएको छ । २०४८ यता भएका ६ वटा निर्वाचनमध्ये यो क्षेत्रबाट ३ पटक नेकपा एमाले र ३ पटक नेपाली कांग्रेसले चुनाव जितेका छन् ।

भट्टराईले आफूले यो क्षेत्रमा गत निर्वाचनमा पराजय भए पनि विकास निर्माणका धेरै योजना ल्याएको र स्थानीय तह निर्वाचनमा पनि पार्टी सदृढ भएर आएको भन्दै आफूले जित्ने दावी गरेका छन् ।

२०२५ असारमा सिन्धुपाल्चोकको सिन्धुकोटमा जन्मिएका भट्टराईले अंग्रेजी विषय लिएर त्रिचन्द्र कलेजबाट स्नातक र युनिभर्सिटी अफ लण्डनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरे ।

त्यसपछि २०६९ सालमा जवाहरलाल नेहरू विश्वविद्यालयबाट विद्यावारिधि गरे । डा.भट्टराईको शोधको शीर्षक ‘भारत–चीन सम्बन्धका सन्दर्भमा नेपालको बदलिंदो सुरक्षा दृष्टिकोण’ थियो । उनको ‘जियोपोलिटिक्स अफ नेपाल एण्ड इन्टरनेशनल रेस्पोन्सेज टु कन्फ्लिक्ट ट्रान्सफर्मेशन’ शीर्षकको पुस्तक प्रकाशित छ ।

काठमाडौंको पुतलीसडकस्थित पद्मोदय माविमा पढ्दा २०३७÷३८ ताका उनी अनेरास्ववियुमा संगठित भएका थिए । पद्मोदयमा प्राक अध्यक्ष बनेका उनी २०४० मा अनेरास्ववियुको काठमाडौं नगर विद्यालय कमिटी सचिव र २०४१ मा काठमाडौं जिल्ला कमिटी सदस्य चुनिए ।

२०४३ मा अनेरास्ववियु काठमाडौं जिल्ला सहसचिव, २०४४ मा जिल्ला सम्मेलन आयोजक कमिटी संयोजक र नवौं राष्ट्रिय सम्मेलन आयोजक कमिटी सदस्य बनेका भट्टराई २०४६ मा केन्द्रीय सचिव निर्वाचित भए ।

त्यसपछि २०४८/४९ मा अनेरास्ववियुको विदेश विभाग प्रमुख र २०४९ सालमा ‘एसियन स्टुडेन्ट एशोसिएसन’ (आसा) को सह–महासचिव चुनिएका भट्टराई २०५३–५८ को अवधिमा नेकपा (एमाले)को विदेश विभाग सचिव र २०५४–५८ सालमा उपत्यका समन्वय कमिटी सदस्य भए ।

२०६०–६२ मा पनि उनी एमालेको विदेश विभाग सचिव रहे । २०६४ देखि सोही विभागको सदस्य र २०६९ देखि राष्ट्रिय प्रतिनिधि परिषद सदस्य रहेका भट्टराई पार्टीको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भए ।

विद्यार्थी राजनीति गर्दा उनी २०४०–४६ सालका बीचमा १२ पटक पक्राउ परे । २०४२ सालमा ८ महिना र २०४४ मा ४ महिना जेल सजाय भोगे ।

पछिल्लो पटक एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको परराष्ट्र सल्लाहकारको भूमिका पाएका डा. भट्टराई यसबीचमा नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी)का सदस्य पनि रहे ।

त्यसअघि माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि परराष्ट्र सल्लाहकार रहेका भट्टराई दोस्रो संविधानसभामा समानुपातिक सभासद भए ।

२०७४ मा थापाले २१ हजार ५५१ र भट्टराईले १८ हजार १४० मत पाएको यो क्षेत्रमा गत वैशाखको स्थानीय चुनावमा वडाअध्यक्षहरूले पाएको दलगत मतमा एमालेको सुधार देखिएको छ ।

३० वैशाखमा भएको चुनावमा एमालेले १६ हजार ९८१, कांग्रेसले १६ हजार ८४, नेकपा (एकीकृत समाजवादी)ले २ हजार ६८८, राप्रपाले २ हजार ३७६, स्वतन्त्र उम्मेदवारले १ हजार ५६४, नेकपा (माओवादी केन्द्र)ले ८७३ र जनता समाजवादी पार्टी (जसपा) ले ३१७ मत पाए ।

यो आँकडाले थापालाई एमालेका भट्टराईभन्दा अगाडि देखाउँछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष प्रधान चौधरीले थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डा. ठाकुर मोहन श्रेष्ठ उठेका छन् । पुनर्जागरण पार्टीका अध्यक्ष श्याम गौतम पनि मैनबत्ती चुनाव चिह्न देखाउँदै चुनाव प्रचारमा जुटेका छन् ।

यो चुनावी परिदृश्यले डा. भट्टराईलाई एमालेको मत एकमुष्ट जोगाउँदै गठबन्धन दलहरूको मत उल्लेख्य रूपमा तान्न सक्दा मात्र थापालाई रोक्न सक्ने अवस्थामा रहेको देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?