+
+

कृषि औजार कारखानाका ५४ मध्ये ४३ वटा मेसिन ‘चल्ने अवस्थामा’

अच्युत पुरी अच्युत पुरी
२०७९ कात्तिक २२ गते १४:५३

२२ कात्तिक, काठमाडौं । वीरगञ्जस्थित कृषि औजार कारखानाका ५४ वटा मध्ये ४३ वटा मेसिन चल्ने अवस्थामा रहेको पाइएको छ । सरकारले यो कारखानाको सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई दिएको छ । केन्द्रले पहिलो चरणको सरसफाइ र मर्मत सम्भारको काम सम्पन्न गरेको छ । पहिलो चरणको कामपछि प्राप्त प्रारम्भिक प्रतिवेदन अनुसार कारखानामा ५४ वटा मेसिन रहेकोमा ४३ वटा मेसिन चल्ने अवस्थामा रहेको केन्द्रका सञ्चालक महावीर पुनले जानकारी दिएका छन् ।

उनका अनुसार यी मेसिनलाई मर्मत गर्दा चल्ने अवस्था देखिएको हो । यद्दपि यी मेसिनबाट मात्र कारखाना भने नचल्ने समेत उनले उल्लेख गरेका छन् । यी औजार पुरानो प्रविधिका रहेको र यसको क्षमता समेत कम हुने उनको भनाइ छ । कारखानालाई पूर्ण रुपमा चलाउन अत्याधुनिक प्रविधि भित्राउनु पर्ने उनले उल्लेख गरेका छन् । यसका लागि नेपाल सरकारसँग अपेक्षा गरिएको उनको भनाइ छ ।

सरकारले १० वर्षका लागि कारखाना केन्द्रको जिम्मा लगाएको छ । ३१ भदौको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको थियो । सोही अनुसार केन्द्रले कारखानामा सरसफाइ तथा उपकरणहरुको चेकजाँच थालेको हो । अर्थ मन्त्रालय र केन्द्रबीच भएको सम्झौता अनुसार मेसिनरी औजार थप गर्न आवश्यक रकम समेत कारखाना सञ्चालक समितिको सिफारिसका आधारमा नेपाल सरकार, अर्थ मन्त्रालयले बजेट उपलब्ध गराउने छ । केन्द्रले आधुनिक कृषि औजार उत्पादन र बिक्रीको जिम्मा पाएको छ । बिक्री वितरणबाट प्राप्त भएको रकम कारखानाको सञ्चालन तथा स्तरोन्नतिमा खर्च गर्ने गरी कोषमा राख्ने र बाँकी ५० प्रतिशत नेपाल सरकारको राजस्व खातामा राख्ने गरी सहमति भएको छ ।

सञ्चालनको जिम्मा लिएको राष्ट्रिय आविष्कार केन्द्रले प्राप्त सम्पूर्ण भौतिक सम्पत्ति, जायजेथाको रक्षा गर्ने र संरक्षण गर्ने दायित्व पुरा गर्नु पर्नेछ । कारखाना करिब तीन दशकदेखि बन्द रहेको थियो । सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा बन्द तथा रुग्ण रहेका कारखाना पुनः सञ्चालनमा ल्याउने घोषणा गरेको थियो । सोही अनुसार कारखाना सञ्चालन प्रक्रियामा अगाडि बढेको हो ।

कारखानाको सरसफाइमा विभिन्न संघ संस्था तथा व्यक्तिले स्वतस्फूर्त सहयोग समेत गरेका छन् । २०२३ सालमा शिलान्यास भएको यो कारखाना २०५९ सालमा खारेजीमा परेको थियो । कारखाना परिसर भित्र मुल कारखाना भवनसहित प्रशासकीय भवन, स्टोर भवन, वर्कसप, बिक्री प्रदर्शन कक्ष भवन तथा सुरक्षा भवन रहेका छन् ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?