+
+
नुवाकोट :

बदला लिने कांग्रेसको दाउ, जित जोगाउने कसरतमा एमाले

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २३ गते १४:०८

२३ कात्तिक, काठमाडौं । नुवाकोटमा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभा निर्वाचन क्षेत्र छन् । यी क्षेत्रमा २०७४ को निर्वाचनमा तत्कालिन बाम गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका थिए । सबै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार पराजित भए ।

तर यसपटक चुनावी समीकरण फेरिएको छ । पहिले नेकपा एमालेसँग मिलेको नेकपा माओवादी केन्द्र यसपटक नेपाली कांग्रेससँग मिलेको छ । कांग्रेस, माओवादी र नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनले जिल्लामा साझा उम्मेदवार तय गरेका छन् ।

जस अनुसार नुवाकोट–१ मा माओवादी केन्द्रका हितबहादुर तामाङ र नुवाकोट–२ मा कांग्रेसका अर्जुन नरसिंह केसी उम्मेदवार छन् । त्यस्तै नुवाकोट–१ बाट एमालेका बद्री मैनाली र नुवाकोट-२ बाट नारायणप्रसाद खतिवडा उम्मेदवार छन् ।

२०७४ को निर्वाचनमा नुवाकोट–१ बाट माओवादीका हितबहादुर तामाङले ३६ हजार ४७३ मत ल्याएर चुनाव जित्दा नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतले २७ हजार ९२० मत ल्याएर पराजित भएका थिए ।

तामाङ यसपटक जित दोहोर्‍याउने योजनामा छन्, त्यसका लागि विगतमा आफ्नो विपक्षमा मत दिएका कांग्रेसका मतदाताको सहयोग पाउनुपर्नेछ । विगतमा उनले एमालेको मत पाए पनि यसपटक एमालेको आफ्नै उम्मेदवार छन् । गत स्थानीय तह निर्वाचनमा दलहरुले वडामा पाएको मतको आधारमा सत्तारुढ गठबन्धन अगाडि देखिन्छ ।

वडा तहमा दलहरुले पाएको मतका आधारमा कांग्रेस सबैभन्दा ठूलो दल हो । कांग्रेसले २८ हजार ९६२, नेकपा माओवादी केन्द्रले २३ हजार २००, नेकपा एमालेले १८ हजार २६७, राप्रपाले ४ हजार ७८, नेकपा एकीकृत समाजवादीले २ हजार २४५, स्वतन्त्रले ४४५, मंगोल नेशनल अर्गनाइजेसनले २१८ मत पाएको छ ।

खतिवडा र केसी पुरानै प्रतिस्पर्धी

०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेका नारायणप्रसाद खतिवडाले ३६ हजार ८९२ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका अर्जुननरसिंह केसी २६ हजार ३३५ मत ल्याएर पराजित भएका थिए । यसपटक अघिल्लो पटककै उम्मेदवार पुनः प्रतिस्पर्धामा छन् । तर पहिले खतिवडालाई साथ दिएको माओवादीले यसपटक कांग्रेसलाई साथ दिएको छ ।

एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीले पनि कांग्रेसलाई सहयोग गरेको छ । खतिवडालाई विगतका सहयात्रीविनै जित जोगाउने चुनौती छ भने केसी माओवादी र एकीकृत समाजवादीको साथ पाएर हारको बदला लिने योजनामा छन् ।

गत स्थानीय निर्वाचनमा वडा तहमा दलहरुले पाएको मतका आधारमा पनि केसीलाई सहज देखिन्छ । यस क्षेत्रमा वडा तहमा पाएको मतका आधारमा कांग्रेस अघि छ । जहाँ कांग्रेसले २९ हजार ८६१, नेकपा एमालेले २६ हजार ३६६, माओवादी केन्द्रले १६ हजार ६७ मत पाएको छ । त्यस्तै राप्रपाले २ हजार २११ र एकीकृत समाजवादीले जम्मा ९६१ मत पाएको छ ।

एमाले उम्मेदवार खतिवडा पार्टी भित्रको विवादमा केही समय माधव नेपाल पक्षमा खुलेका थिए । अन्तिममा उनी एमालेमै रहे । यसकारण एमालेभित्रकै केपी ओली पक्षको खेमाका कतिपय नेता/कार्यकर्ताको साथ पाउन समस्या हुने एमालेका कतिपय कार्यकर्ता बताउँछन् ।

तर, आफूले सांसद भएर गरेको कामका आधारमा व्यक्तिगत भोट समेत बढेको खतिवडाको दाबी छ । चुनाव प्रचार प्रसारमा रहेका खतिवडा निराश हुनुपर्ने अवस्था नरहेको बताउँछन् । उनी अनलाइनखबरसँग भन्छन्, ‘गठबन्धन छ भन्ने तनाव छैन । एकदमै उत्साही छु । जनताको माया पाएको छु । दोहोरिन्छु भन्नेमा ढुक्क छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?