+
+

कुन्ती पोखरेल : पुरानो एजेन्डा बोकेकी नयाँ उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २४ गते १२:५८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा सर्वाधिक मत पाएकी केन्द्रीय सदस्य युवा उद्यमी कुन्ती पोखरेल अहिले काठमाडौं-२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी छन् ।

एक दशकअघिदेखि राप्रपाको राजनीतिमा सक्रिय उनी सामाजिक काम र महिला हिंसा विरुद्धका अभियानमा सक्रिय छिन् । उनी राष्ट्रिय गैरसरकारी संस्था समन्वय विभागको अध्यक्ष पनि हुन् ।

आफ्नो निर्वाचन क्षेत्रको घरदैलो अभियानमा रहेकी पोखरेलले पटक-पटक चुनाव जितेर काम नगर्ने, क्षेत्र परिवर्तन गर्दै हिंड्ने उम्मेदवारलाई बिदाइ गर्नुपर्ने बताइन् । चुनाव जितेर महत्वपूर्ण पदमा पुग्दा पनि जनताका पीरमर्का बुझ्न फर्केर नआउने नेताहरूलाई यसपटक मतदाताले विस्थापित गर्ने उनको अपेक्षा छ ।

पोखरेलको विचारमा राजनीति भनेको पेशा होइन, समाजसेवा हो । आफू समाजसेवाबाटै सक्रिय राजनीतिमा आएकाले जनताको सेवामै निरन्तर रहने उनले बताइन् ।

‘राष्ट्र, राष्ट्रियता र गतिशील समाजको निम्ति आवाज उठाइरहन्छु । युवा पुस्ताको प्रतिनिधित्वको लागि लड्छु’ पोखरेलले भनिन्, ‘देशमा व्याप्त भ्रष्टाचार, विकृति, विसंगति र राष्ट्रघात विरुद्ध सडकदेखि सदनसम्म आवाज उठाउन मेरो उम्मेदवारी हो ।’

हिजोको हिन्दू राजतन्त्रात्मक शासन व्यवस्था फर्काउने राप्रपाको दीर्घकालीन एजेन्डालाई पनि उनले खुलस्त पारिरहेकी छन् ।

चुनावी अंकगणित

गत स्थानीय तह निर्वाचनमा दलगत रूपमा वडाअध्यक्षहरूले पाएको मतभार हेर्दा काठमाडौं-२ मा नेकपा (एमाले) अगाडि छ । उक्त चुनावमा एमालेले १७ हजार ३२८, नेपाली कांग्रेसले १४ हजार १२८, राप्रपाले ७ हजार २०० र नेकपा (माओवादी केन्द्र)ले ३ हजार १३१ मत पाएका छन् ।

यो क्षेत्रमा एमालेका स्थानीय उम्मेदवार मणिराम फुँयाल, माओवादी केन्द्रकी ओनसरी घर्ती र रास्वपाकी सोविता गौतम प्रतिस्पर्धामा छन् । मतबाटै बलियो जनाधार भएको प्रमाणित गरेका उनीहरूको तुलनामा राप्रपाकी पोखरेलको चुनावी अंकगणित कमजोर देखिन्छ ।

यद्यपि, मतदातासँग घुलमिल हुनसक्ने क्षमता र धर्म जस्तो ज्वलनशील एजेण्डा उनीसँग छ । उनको प्रयासले यसपटक काठमाडौं-२ का सचेत मतदातालाई कति उद्वेलित पार्न सक्छ भनेर हेर्न चाहिं निर्वाचनसम्म पर्खिनै पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?