+
+

डाक्टरलाई नसोधी किन खानु हुँदैन औषधि ?

रोशन ज्ञवाली रोशन ज्ञवाली
२०७९ कात्तिक २४ गते १८:३२

कुनै पनि औषधि खानुअघि चिकित्सकको परामर्श जरुरी हुन्छ । उक्त औषधि कसका लागि ? कुन समस्याका लागि ? कति मात्रामा ? कुन समयमा ? कसरी ? भन्ने जस्ता कुरा उल्लेख गरिन्छ । स्वास्थ्य समस्या, उमेर, तौल, लिंग अनुरुप औषधिको मात्रा फरक हुन्छ । यद्यपि कतिपय औषधि खान हामी हतार गर्छौं, चिकित्सकको कुनै परामर्श लिदैनौं ।

हुन त चिकित्सक सधैं हाम्रो पहुँचमा हुँदैनन् । अस्पताल वा चिकित्सकलाई भेट्ने अनुकूलता हुँदैन । कतिपय स्थितिमा औषधि खानैपर्ने हुन्छ र यस्तो अवस्थामा हामी आफ्नो मर्जी अनुसार औषधि खाइदिन्छौं ।

अहिले इन्टरनेटको जमाना छ । मान्छेले आफ्नो समस्या खोज्न गुगलमा जान्छन् । युट्युबमा चहार्छन् । त्यहीअनुसार उनीहरु आफूलाई भएको समस्या र त्यसबारेको औषधिको जानकारी पनि लिन्छन् । तर चिकित्सकको परामर्श बिना आफ्नै मनोमानीमा यसरी औषधि खानु कति भयानक हुनसक्छ ? हामीले बुझ्न जरुरी छ ।

चिकित्सा भाषामा यसलाई ‘सेल्फ मेडिकेसन’ भनिन्छ । यो आज विश्वव्यापी चिन्ताको विषय बनेको छ । यद्यपि विश्व स्वास्थ्य संगठनले सेल्फ मेडिकेसनलाई रोग तथा लक्षणका आधारमा व्यक्तिले आफ्नो हेरचाहका लागि आफैं औषधि चयन वा प्रयोग गर्नु भनी परिभाषित गरेको छ ।

टाउको दुखेमा, खोकी लागेमा, शरीर दुखेमा, भाइरल इन्फेक्सन भएमा मान्छेले औषधि किन्न चिकित्सकलाई सोध्दैनन्, मनोमानी खाइदिन्छन् । त्यति मात्र होइन, एन्टिबायोटिक्स जस्ता संवेदनशील औषधि खान पनि मान्छेले गुगल र युट्युबकै भर पर्छ, चिकित्सकको परामर्श वा प्रेस्किप्सन खोज्दैन ।

यस किसिमको प्रवृत्ति अहिलेको चिकित्सा विज्ञानकै लागि टाउको दुखाइको विषय बनेको छ । यसले एन्टिबायोटिक्स रेसिस्टेन्स (प्रतिरोध) मुख्य कारण बन्न जाने जोखिम उत्तिकै छ ।

सेल्फ मेडिकेसनका कारण प्रतिकूल औषधि प्रतिक्रिया (एडर्भस ड्रग रियाक्सन), रोग छोपिनु तथा रोगको गलत निदान हुनु, रोगले बढी च्याप्नु, औषधिको हानि बढ्नु लगायत समस्या देखिन्छ । साथै यसभन्दा पनि ठूलो जोखिम एन्टिबायोटिक्स रेसिस्टेन्स निम्त्याउने, जसलाई चिकित्सा विज्ञानमा विभिन्न अध्यन तथा अनुसन्धानले पुष्टि गरिसकेका छन् ।

के हो एन्टिबायोटिक्स ?

एन्टिबायोटिक्स एक प्रकारको जीवाणु तथा ब्याक्टेरिया विरोधी पदार्थ हो, जो सानो मात्रामा पनि सूक्ष्म जीवाणुविरुद्ध निकै सक्रिय हुन्छ । एन्टिबायोटिक्स औषधि संक्रमणको उपचार तथा रोकथामका लागि ब्यापक रुपमा प्रयोग गरिन्छ, जसले या त ब्याक्टेरिया अथवा सूक्ष्म जीवाणुलाई मार्छ अथवा विकास हुन दिंदैन ।

यो एक शताब्दीमा नाटकीय रुपमा एन्टिबायोटिक्स औषधिको आविष्कार र उत्पादनले औसत मानव जीवनकाललाई २३ वर्ष बढाइदिएको पुष्टि विभिन्न अध्ययनहरुले गरेका छन् । आस्र्पेmनामाइन विश्वको पहिलो एन्टिबायोटिक्स हो, जसलाई १९१० मा विकास गरिएको थियो । सन् १९२८ मा पेनिसिलिन समूहको एन्टिबायोटिक्सको आविष्कारलाई मेडिकल साइन्सको इतिहासको सुनौलो युग मान्न सकिन्छ । संक्रमणबाट बचाउनुका साथै एन्टिबायोटिक्सले क्यान्सर उपचार, अंग प्रत्यारोपण, ब्रेन र मुटको अपे्रसन जस्ता आधुनिक उपचार पद्वतिलाई बाटो खुल्ला गरिदिएको छ, जो नहुँदो हो त आजको मेडिकल साइन्सका उपलब्धिहरुको परिकल्पना पनि गर्न असम्भव थियो ।

एन्टिबायोटिक्स रेसिस्टेन्स के हो, कसरी हुन्छ ?

फाइल तस्वीर

सामान्य अर्थमा एन्टिबायोटिक्स रेसिस्टेन्स भन्नाले ब्याक्टेरिया वा सूक्ष्म परजीवीहरुले एन्टिबायोटिक्सको उपस्थितिमा पनि आफ्नो असर देखाइरहने अवस्था हो ।

एन्टिबायोटिक्सले ब्याक्टेरिया निष्क्रिय पार्न नसक्नु, एन्टिबायोटिक्सको कुनै असर नहुनु र एन्टिबायोटिक्स विरुद्वको बचाउ भन्ने बुझिन्छ । एन्टिबायोटिक्सले खासगरी ब्याक्टेरिया वा सूक्ष्म परजीवीहरुलाई मार्ने वा वृद्वि विकासलाई कम गरी निष्क्रिय पार्ने गर्छ । तर एन्टिबायोटिक्स रेसिस्टेन्स विकास हुँदा निम्न मेकानिजमबाट रेसिस्टेन्स (प्रतिरोध)को विकास हुन्छ ।

इफलक्स पम्प मेकानिजम : सूक्ष्म जीवको कोष भित्रबाट एन्टिबायोटिक्सलाई बाहिर फालिदिने ।

निष्क्रिय : एन्टिबायोटिक्समा हुने कुनै इन्जाइम अथवा केमिकललाई रासायनिक प्रतिक्रियाद्वारा निष्क्रिय गराइदिने ।

टारगेट मोडिफिकेसन : ब्याक्टेरिया वा सूक्ष्म जीवले कोषहरुको स्वरुप परिवर्तन गरी एन्टिबायोटिक्सलाई टाँसिन नदिने ।

कोष छिद्रता परिर्वतन : ब्याक्टेरिया वा सूक्ष्म परजीवीहरुले कोषको छिद्रता परिर्वतन गरी एन्टिबायोटिक्सलाई कोषभित्र छिर्न रोक लगाउने ।

जैविक आवरण : ब्याक्टेरिया वा सूक्ष्म परजीवीहरुले आफूबाहिर विभिन्नखाले सुगर तथा प्रोटिनको आवरण बनाई बचाउ गर्ने ।

मानव स्वास्थ्यमा एन्टिबायोटिक्स रेसिस्टेन्स हुने मुख्य कारण

एन्टिबायोटिक्स रेसिस्टेन्स विकास हुनुलाई प्राकृतिक र मानवीय कारण गरी दुई भागमा विभाजन गरिएको छ ।

प्राकृतिक कारण : वंशाणुगत, जिनको सरुवा, जीवाणु परिवर्तन र लगातार सम्पर्क

मानवीय कारण : एन्टिबायोटिक्सको गलत प्रयोग, एन्टिबायोटिक्सको मात्रा पूरा नगर्नु, एन्टिबायोटिक्सको अत्यधिक प्रिस्क्रिाइब, इन्फेक्सन नियन्त्रण अभ्यास राम्रो नहुनु, जिउँदो माछा, मासुजन्य जनावरमा अत्यधिक एन्टिबायोटिक्सको प्रयोग र नयाँ एन्टिबायोटिक्सको विकास नहुनु

सेल्फ मेडिकेसन र एन्टिबायोटिक्स रेसिस्टेन्सको सम्बन्ध

हालसम्मका खोज तथा अनुसन्धानबाट विभिन्न कारण पत्ता लागे पनि सेल्फ मेडिकेसन प्राक्टिसका कारण एन्टिबायोटिक्स रेसिस्टेन्स आगामी दिनमा ठूलो संकटका रुपमा देखापर्ने अनुमान छ । किनकि जथाभावी गलत तरिकाबाट एन्टिबायोटिक्स प्रयोग तथा औषधिको पूर्ण  ज्ञान र साइड इफेक्ट, उपयुक्त डोज, औषधि सेवन अवधि, ओभर डोज जस्ता संवेदनशील जानकारीका अभावले सेल्फ मेडिकेसन प्राक्टिसले एन्टिबायोटिक्स रेसिस्टेन्स (प्रतिरोध) निम्त्याउनुमा भूमिका खेल्ने देखिन्छ ।

एन्टिबायोटिक्स रेसिस्टेन्सका चुनौती

विभिन्न अध्ययन अनुसार अल्पविकसित मुलुकका नागरिकमासेल्फ मेडिकेसनको अभ्यास बढी रहेको पाइएको छ । अहिलेको अवस्थामा विश्व स्वास्थ सेवा प्रदायक प्रणालीको सबैभन्दा ठूलो चुनौती भनेको सर्वसाधारणलाई एन्टिबायोटिक्स, यसको साइड इफेक्ट र अन्धाधुन्ध एन्टिबायोटिक्सको प्रयोग रोक्न चेतना जगाउनु आवश्यक छ ।

एन्टिबायोटिक्स रेसिस्टेन्सकै कारण उपचार गर्न नसकिने संक्रामक रोग लाग्ने बिरामीको संख्या दिनानुदिन बढ्दो क्रममा छ । यो समस्यासँग जुध्न फर्मास्युटिकल्स र अन्य सम्बन्धित औषधि विज्ञान क्षेत्रले ढिलो नगरी नयाँ किसिमका एन्टिबायोटिक्स औषधिको आविष्कार गर्न अपरिहार्य भइसकेको छ ।

बेलायतको एक सरकारी प्रतिवेदनअनुसार एन्टिबायोटिक्स रेसिस्टेन्सका लागि तत्काल कुनै कदम नचालिएमा सन् २०५० सम्ममा वर्षमा एक करोड मानिसको एन्टिबायोटिक्स रेसिस्टेन्सकै कारण मृत्यु हुन सक्छ ।

(फर्मासिस्ट ज्ञवाली रुपन्देहीस्थित एसियन फर्मास्युटिकल्स प्रालिमा कार्यरत छन् ।)    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?