काठमाडौं । नेपालमा दर्ता नभएका औषधि चिकित्सककै सिफारिसमा बिक्री वितरण भइरहेको पाइएको छ । भिटामिन तथा खनिज मिश्रित फर्मास्युटिकल बनावटका औषधि न्युट्रास्युटिकल्सका नाममा र औषधि मिश्रित आइन्टमेन्ट, क्रिम सौन्दर्य प्रसाधन सामग्रीका नाममा आयात गरी बिक्री वितरण भइरहेको हो ।
औषधि व्यवस्था विभागले बजार अनुगमनको क्रममा न्युट्रास्युटिकल्स तथा सौन्दर्य प्रशाधनका नाममा प्रतिबन्धित र दर्ता नभएका औषधि बिक्री भइरहेको फेला परेको भन्दै तत्काल रोक्न सार्वजनिक सूचना निकालेको छ ।
विभागले अनुमगनका क्रममा फार्मेसीहरुमा यस्ता सामग्री फेला परेमा कारबाही गर्ने चेतावनी पनि दिएको छ । विभागले निरीक्षणका क्रममा सरकारबाट २०४९ सालमा नै प्रतिबन्धित गरिएका भिटामिन तथा खनिज समिश्रण समेत बजारमा भेटिएको भन्दै कारबाहीको चेतावनी दिएको हो ।
‘विभागमा दर्ता नभएका र नेपाल सरकारबाट प्रतिबन्धित औषधिहरु समेत बिक्री वितरण भइरहेको पाइएकोले यस्ता औषधिहरुको बिक्री वितरण अविलम्ब रोक्नुहुन अनुरोध गरिन्छ,’ सूचनामा भनिएको छ, ‘यस सूचनाको अवज्ञा गरी त्यस्ता उत्पादनहरु निरीक्षणको क्रममा बिक्री वितरण गरेको पाइएमा कानुनअनुसार जफत तथा औषधि ऐन, २०३५ बमोजिम कारबाही हुनेछ ।’
दर्ता नभएका सामग्रीले स्वास्थ्यकर्मी र बिरामीमा भ्रम सिर्जना भइरहेको उल्लेख गर्दै विभागले दर्ता नभएका यस्ता औषधि तथा सामग्रीमा औषधिको सुरक्षा, गुणस्तर र मूल्य सार्थकता एकिन नहुने हुँदा जनस्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने जोखिम सिर्जना भएको उल्लेख गरेको छ ।
विभागमा दर्ता भएका औषधिसँगको सक्रिय तत्व र ब्रान्ड नामसँग दुरुस्त देखिने गरी न्युट्रास्युटिकल्स तथा सौन्दर्य प्रसाधनका नाममा विभागमा दर्ता नै नगरी आयात गरी औषधि पसल मार्फत बिक्री वितरण भइरहेको समेत फेला परेको भन्दै विभागले यस्ता गैरकानुनी काम रोक्न निर्देशन दिएको छ ।
प्रतिक्रिया 4