+
+

कोरियोग्राफीमा नौलो कीर्तिमानको तयारीमा जेडी तमु

अंगद सिंह अंगद सिंह
२०७९ कात्तिक २५ गते १६:४९

काठमाडौं । जगदीश गुरुङ, अर्थात् जेडी तमु । कोरियोग्राफीमा उनको खास चिनारी छ । उनै जेडी यतिबेला भने अनौठो दौडधुपमा छन् ।

उनी हिमाललाई साक्षी राखेर सर्वाधिक उचाइमा नृत्य गर्ने तारतम्य मिलाइरहेका छन् । जेडीलाई यसमा साथ दिंदैछिन्, छिरिङ शेर्पाले । भनिहालौं, छिरिङ शेर्पा समुदायको पहिलो नायिका हुन् ।

‘यो कीर्तिमानी अभियान मात्र होइन,’ जेडी भन्छन्, ‘अरुको ध्यान तान्ने ध्येय पनि हो । किनभने यसै माध्यमबाट हामी जलवायु परिवर्तनबारे सतर्क गराउन चाहन्छौं ।’

जेडी र छिरिङको जोडी ‘हाइस्ट अल्टिच्युट कोरियोग्राफर डान्स अन ल्याण्ड (पेयर)’ शीर्षकमा डान्स गर्दैछन् । समुद्री सतहबाट पाँच हजार ६ सय मिटरको उचाइमा उनीहरुले नृत्य गर्ने भएका हुन् । सगरमाथा आधार शिवरभन्दा पनि माथि कालापत्थरमा नृत्य गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डमा सूचीकृत गराउने तयारीमा रहेको जेडीले बताए ।

जेडीले सहकार्य गरिरहेकी छिरिङ शेर्पा चर्चित डान्स रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’ की विजेता समेत हुन् । उनले कोरियोग्राफर सरोज प्रजासँग मिलेर डान्सिङ स्टार्सको शीर्ष उपाधि जितेकी थिइन् ।

जेडी ‘डान्सिङ स्टार्स नेपाल’को अन्तिम चरणमा पुगेका थिए । उनले अभिनेत्री परमिता राणासँग नृत्यमा आफ्नो जोडी बनाएका थिए ।

केही नयाँ गरौं भन्ने सोच

नृत्यमा मोहनी र आकर्षण मात्र हुँदैन, शक्ति पनि हुन्छ । यसैलाई आत्मबोध गरेर जेडीलाई नृत्यकै माध्यमबाट ‘केही गरौं’ भन्ने हुटहुटी जागिरह्यो । यो हुटहुटीले त्यसबेला थप मलजल पायो, जब उनी हिमालय टेलिभिजनको डान्सिङ रियलिटी शो ‘डान्सिङ स्टार्स’को मञ्चमा पुगे ।

‘नृत्यमा त्यति शक्तिशाली आवाज हुन्छ, जसको माध्यमबाट समाजलाई केही भन्न सकिन्छ,’ जेडीलाई लाग्यो, ‘यो फगत नृत्य मात्र होइन । यसले धेरै सूचना र सन्देश सम्प्रेषण गर्न सक्दो रहेछ ।’

अतः उनको दिमागमा नृत्यको माध्यमबाट जलवायु परिवर्तनले कति भयानक ढंगमा खतराको घण्टी बजाइरहेको छ भनेर देखाउने सोच पलायो । यसैका लागि उनले सर्वाधिक उचाइमा पुगेर युगल नृत्य गर्ने योजना बुने । यसै योजनाले डोहोर्‍याउँदै उनलाई सोलुखुम्बु पुर्‍याएको छ ।

‘हाम्रो यस अभियानले प्राकृतिक स्रोतको संरक्षण, जलवायु परिवर्तनले पारिरहेको असर र नेपालमा पर्यटनको सम्भावनालाई देखाउँछ । यो नेपाललाई विश्वसामु चिनाउने अभियान हो,’ जेडीले भने ।

जेडी तमु र छिरिङको वल्र्ड रेकर्डको यात्रा बुधबारदेखि सुरु भइसकेको छ । नोभेम्बर १० मा उनीहरुको टिमले गिनिज बुकमा नाम लेखाउनेछ । जेडीका अनुसार यो प्रोजेक्ट १५ देखि १७ दिनको हो ।

‘वातावरण जोगाउनका लागि हामीले विश्वलाई सन्देश दिने प्रयास गरेका छौं,’ जेडी भन्छन्, ‘पहिले कालापत्थर हिउँले भरिपूर्ण हुन्थ्यो अहिले न हिउँ देखिन्छ न हिमाल नै । कालापत्थर अहिले उजाड छ ।’

हाईएस्ट अल्टिच्युड कोरियोग्राफर डान्स अन ल्याण्ड (पेयर)को कोरियोग्राफी सरस्वती धिमालले गरिरहेकी छन् भने सिनेम्याटोग्राफर प्रेम पौडेलले ।

अनि जेडीले नृत्य रोजे

इलामको सन्दकपुर गाउँपालिका–५ जमुनाका जेडी नृत्य र कोरियोग्राफीमा लागेको डेढ दशक भइसक्यो । कक्षा १० सम्मको पढाइ इलाममा सकाएर प्लस टु पढ्न थालेपछि उनी नृत्यतर्फ मोडिए । उनी नृत्य सिक्नकै लागि भारत गए ।

उनले मुम्बईको टेरेन्स लुइस प्रोफेसनल स्कुलबाट तीन वर्ष कन्टेम्परोरी डान्समा डिप्लोमा गरे । नेपाल फर्किएपछि उनले स्कुल तथा थिएटरमा नृत्य प्रशिक्षण गराइरहेका छन् ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?