+
+
उम्मेदवार प्रोफाइल :

जनार्दन शर्मा : चौथो जितका लागि सहज चुनावी अंकगणित

विनोद घिमिरे विनोद घिमिरे
२०७९ कात्तिक २६ गते १२:३०

२०१९ वैशाखमा रुकुमको सेरीगाउँमा जन्मिएका जनार्दन शर्मा राजनीतिमा पूर्णकालीन हुनुअघि सरकारी जेटीए थिए । २०५२ सालमा नेकपा (माओवादी)ले सत्ता विरुद्ध सशस्त्र संघर्ष थालेपछि उनी पनि त्यसमा सामेल भए ।

शर्मा २०५२ पछि १० वर्ष माओवादीको डेपुटी कमाण्डर भएर लडे, पार्टी शान्ति प्रक्रियामा आएपछि ऊर्जामन्त्री बनेका उनले १८ घण्टे लोडसेडिङ हटाउने भूमिका खेले । अर्थमन्त्री भएपछि भने उनी गभर्नर हटाउनेदेखि बाहिरियालाई बोलाएर बजेटको बुँदा हेरफेर गर्नेसम्मका विवादमा परे ।

तिनै शर्मा आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा फेरि रुकुमपश्चिमबाट लड्दैछन् । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव समेत रहेका उनी चुनाव जित्नेमा ढुक्क पनि छन् ।

यो क्षेत्रबाट २०६४, २०७० र २०७४ मा लगातार चुनाव जितेका शर्माको फेरि विजयी हुने दाबीमा ठोस आधार पनि देखिन्छ । रुकुमपश्चिममा बलियो पकड बनाएको माओवादी केन्द्रलाई यसपटक सत्ता गठबन्धनको साथ पनि छ । नेपाली कांग्रेसका नेता एवम् पूर्व राज्यमन्त्री गोपाल जीजंग शाह नै निर्वाचन परिचालन समितिको संयोजक छन् । शर्मा विरुद्ध नेकपा (एमाले)का उम्मेदवार नन्दराम देवकोटा चुनावी मैदानमा छन् ।

युद्ध लडेर आएपछि २०६४ को संविधानसभा निर्वाचनमा रुकुमको क्षेत्र नं. २ बाट जितेपछि शर्मा पहिलो पटक मन्त्री बन्ने क्रममा शान्ति मन्त्रालय हाँके । त्यसपछि ऊर्जामन्त्री र छोटो समय गृहमन्त्री पनि बने । हाल अर्थमन्त्री छन् । ऊर्जामन्त्री बन्दा उनी नेपालबाट लोडसेडिङ अन्त्य गराउन सफल भए ।

आर्थिक वर्ष २०७९/८० को बजेटमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि उनी केही समय मन्त्रीबाट हटे । संसदीय छानबिन समितिले अनधिकृत व्यक्ति संलग्न भएको प्रमाण फेला नपारेपछि उनी पुनः अर्थ मन्त्रालय फर्किए ।

शर्माको पृष्ठभूमि

पञ्चायतविरोधी जनआन्दोलन उत्कर्षमा पुगेका बेला २०४६ चैत २४ गते केही युवक दरबारमार्गमा रहेको राजा महेन्द्रको सालिकमाथि चढे । तीमध्ये एक थिए– जनार्दन शर्मा । त्यसबेला प्रहरीको गोलीबाट जोगिनेमध्ये पनि उनी परे ।

त्यस घटनापछि रुकुम फर्केका उनले जेटीएको जागिर सुरु गरेका थिए । तर, पहिल्यैबाट कम्युनिस्ट राजनीतिमा तानिएका उनी २०५२ मा माओवादीको सशस्त्र संघर्षमा लागेर भूमिगत भए । त्यसक्रममा उनले धेरै वटा साना–ठूला युद्धको नेतृत्व गरे । केहीमा सफल र केहीमा असफल भए ।

माओवादीको गण्डक क्षेत्रको सैन्य नेतृत्व गरेका शर्मा पार्टीको सेती–महाकाली इन्चार्जको जिम्मेवारीमा पनि रहे । उनले ‘सैन्य दर्शन’ नामक पुस्तक समेत लेखेका छन् ।

उनका पिता स्कन्द शर्मा रुकुममा कम्युनिस्ट फैलाउने नेतामध्ये एक थिए । स्कन्द शर्माका ६ सन्तानमध्ये सबै माओवादीको युद्धमा सामेल भए । तीमध्येका जेठा जनार्दन शर्माले सहज र नरमसँगै खरो नेताको परिचय बनाएका छन् ।

उनले गृहजिल्लामा गरेका काममध्ये ‘उज्यालो रुकुम’ अभियान उल्लेख्य छ । यो अभियान अन्तर्गत सौर्य ऊर्जा र साना जलविद्युत् आयोजनामार्फत घर–घरमा बिजुली पुगेको छ ।

चुनावी अंकगणित

गत वैशाखको स्थानीय चुनावमा शर्माको घर भएको मुसिकोट नगरपालिकामा माओवादीको हार भयो । र पनि, रुकुमपश्चिममा वडाअध्यक्षका उम्मेदवारहरूले पाएको दलगत मतमा माओवादी केन्द्र अगाडि छ । माओवादीले ३७ हजार १०२, नेपाली कांग्रेसले २६ हजार ६२० र नेकपा (एमाले)ले ६ हजार १२४ मत पाएको छ । यस हिसाबले सत्ता गठबन्धनका साझा उम्मेदवार शर्मा मजबुत देखिन्छन् ।

२०७४ को संसदीय निर्वाचनमा पनि उनी ३४ हजार ४०२ मतका साथ विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका गोपालजीजंग शाहले १५ हजार ६५९ मत पाएका थिए । यसपटक पनि शर्मा विजयी हुनेमा शंका नभएको माओवादी केन्द्रका रुकुमपश्चिम संयोजक गोविन्द रोका बताउँछन् ।

लेखकको बारेमा
विनोद घिमिरे

घिमिरे अनलाइनखबर डटकमका डेस्क सम्पादक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?