+
+
चितवन १ बाट स्थलगत :

‘मिलीजुली चोक’मा तीनतिर फर्केका कांग्रेस, घन्टीको ध्वनिसँग झस्किरहेका पाण्डे

बसन्त बस्नेत, गौरव पोखरेल, सुवास पण्डित बसन्त बस्नेत, गौरव पोखरेल, सुवास पण्डित
२०७९ कात्तिक २६ गते १९:५९

२६ कात्तिक, रत्ननगर । ‘मिलीजुली चोक’को चुनाव प्रचारमा मिलीजुलीको भाव प्रसारित थिएन । तैपनि चितवनको रत्ननगर नगरपालिकाका विभिन्न वडामा भोट माग्दै हिंडेका कांग्रेस कार्यकर्ताको चुनावी सफारी वडा नं १५ माधवपुरको यही चोकमा रोकियो ।

चितवन–१ को यो सबैभन्दा ठूलो पालिकाभित्र कांग्रेसकै कार्यकर्ताबीच मिलिजुली हिँड्ने परिस्थिति भने अझै बनिसकेको छैन । ज्यामितीका स्वयंसिद्ध तथ्यझैं स्थानीय कांग्रेस कार्यकर्ता बोल्छन्, ‘कांग्रेसले भोट दिए भने हाम्रा उम्मेदवार विश्वनाथ पौडेलले चुनाव जित्नुहुन्छ ।’

शुक्रबार मध्याह्नदेखि अपराह्नसम्म यही चुनावी टोली पछ्याउँदै उम्मेदवार, मतदाताको अन्तर्क्रिया नियालिरहेको अनलाइनखबर टिमले सत्ता गठबन्धनको मुख्य घटकभित्र व्याप्त चिसोपना प्रष्टै अनुभव गर्‍यो । गठबन्धनमा आवद्ध माओवादी केन्द्र, एकीकृत समाजवादीका कार्यकर्ताहरु खुला दिलले रुख चिह्नमा भोट हाली विश्व पौडेललाई जिताउन अपिल गरिरहेका थिए ।

मिलिजुली चोकमा पुग्न सफारीमा चढ्नुअघि उनीहरुले पिठुवा बजारको धुलो उड्नेगरी नाचे, गाए । आफैं प्यारोडी बनाएर एमाले अध्यक्ष केपी ओलीलाई उडाए ।

आफ्नै दलबाट संघीय संसदको उम्मेदवार पाएर पनि स्वयं कांग्रेस कार्यकर्ताहरु भने विभाजित देखिए । विगतदेखि नै दलभित्र झाँगिएको गुटगत तुष, अनि कार्यकर्ता र मतदाताबीच तुलनात्मक रुपमा कम चिनिएका उम्मेदवार विश्व पौडेलको आगमन यसको मूल जड देखिएको छ । कांग्रेस क्षेत्रीय कार्यसमिति चितवन–१ का एक पदाधिकारीले हामीसँग भने, ‘एमालेका उम्मेदवार सुरेन्द्र पाण्डे हराउन हामीलाई कठिन छैन, तर त्यसका लागि आन्तरिक एकता निर्माण नै चुनौती बनिदियो ।’

मिलीजुली चोकको सभामा विश्व पौडेललगायत उम्मेदवार ।

दुईपल्ट यो क्षेत्रबाट लगालग जितेका एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको ट्र्याक रेकर्ड आफैंमा विवादित या नकारात्मक छैन । तर निरन्तर चुनिनेप्रति मतदातामा स्वभावैले बढ्ता प्रश्न उठ्ने गर्छन्, जसलाई ‘एन्टी इन्कम्बेन्सी सेन्टिमेन्ट’ भन्ने गरिन्छ । पाण्डे प्रत्येकको चित्त बुझाउन द्रुत गतिमा घरदैलो गरिरहेका छन् ।

विगतमा एमालेभित्र माधव नेपाल पक्षका नेता भनी चिनिएका, अनि प्रतिनिधिसभा विघटन गर्ने ओली कदमको विरोध गर्दै अदालतमा हस्ताक्षर बुझाउन गएका उनलाई स्थानीय कार्यकर्ताहरुका समेत प्रश्नैप्रश्न छन् ।

रत्ननगरकै विभिन्न वडामा घरदैलो गरेका एमाले उम्मेदवार सुरेन्द्र पाण्डे विगतमा आफू बलियो रहेकै आधार क्षेत्रबाट बढ्ता भोट पाउने अपेक्षा राख्छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले सिंगापुरका ली क्वान यु, अनि मलेसियामा महाथिर मोहम्मदजस्तै पटक पटक दोहोरिने बलिया नेताले मात्रै डेलिभरी दिन सक्ने भन्दै नयाँको नाममा छिनछिनको फेरबदलले रिजल्ट नदिने बताए ।

उनले कांग्रेस विगतभन्दा बढ्ता विभाजित रहेको भन्दै आफ्ना लागि झन् सहज अवस्था रहेको दाबी गरे । ‘गठबन्धनभित्रको भोट छरिएको छ, कतिपयले एमालेलाई नै भोट हाल्नेछन्, कति चाहिँ घन्टी भन्न थालेका छन्’, पाण्डेले भने, ‘त्यसैले मलाई चुनाव जित्न पहिलेभन्दा सहज छ ।’

रत्ननगर नगरपालिका–१०, मेनरोडमा घरदैलो अभियानका क्रममा सुरेन्द्र पाण्डे ।

उनको दाबी जेसुकै भए पनि विगतदेखि दोहोरिने उम्मेदवारप्रतिको स्वभाविक असन्तुष्टि पाण्डेका लागि प्रतिकुलता हो । त्यसैले गठबन्धन उनीविरुद्ध मजबुत ढंगले पेश हुने तयारीमा छ । केवल उनीहरुलाई एउटै चिन्ता छ, कांग्रेसकै समर्थकहरुको भूमिका के कस्तो हुने हो ?

रत्ननगर–१४ पिठुवाका एकीकृत समाजवादी कार्यकर्ता टेकबहादुर पोखरेलले भने, ‘हामी त गठबन्धनको मर्म र धर्म सम्झेर कांग्रेसलाई भोट दिँदैछौं । कांग्रेसले हाम्रा उम्मेदवारलाई भोट दिनेमा शंका छ । त्योभन्दा ठूलो शंका उसैका भोटरले आफ्नै दलबाट उठेका उम्मेदवारलाई भोट देलान् भन्नेमा छ ।’

कांग्रेस क्षेत्रीय कार्यसमितिका सचिव उमेश गिरीले केही समयअघिसम्म पार्टीभित्र आशंका, असहयोग र अविश्वास रहेको स्वीकारे पनि प्रचार अभियानका क्रममा त्यो लगभग समाधान भइसकेको दाबी गरे । विश्व पौडेल नयाँ उम्मेदवार भए पनि पार्टीको आन्तरिक खिचातानीमा भाग नलिएका अनुहार भएकाले सबै वैचारिक समूहहरुले उनलाई साथ दिने उनको भनाइ छ ।

‘हामी त गठबन्धनको मर्म र धर्म सम्झेर कांग्रेसलाई भोट दिँदैछौं । कांग्रेसले हाम्रा उम्मेदवारलाई भोट दिनेमा शंका छ । त्योभन्दा ठूलो शंका उसैका भोटरले आफ्नै दलबाट उठेका उम्मेदवारलाई भोट देलान् भन्नेमा छ – एकीकृत समाजवादी कार्यकर्ता टेकबहादुर पोखरेल

‘विद्वान मान्छे हो विश्व, देशलाई चाहिने नयाँ नेता हो भन्ने कुरा कार्यकर्ताले बुझिसके । हामीलाई चाहिएको परिवर्तन उनले मात्रै दिन सक्छन्’ गिरीले भने ।

कांग्रेसभित्र विगतदेखिको कोइराला– देउवा द्वन्द्वको बढ्ता असर परेका जिल्लामध्ये चितवन एउटा हो । देउवा पक्षले अर्को क्षेत्र चितवन–३ मा माओवादीका उम्मेदवार भोजराज अधिकारीलाई समर्थन दिएको छ । अनि क्षेत्र नं २ मा रवि लामिछानेविरुद्ध लड्न तुलनात्मक कमजोर उम्मेदवार उमेश श्रेष्ठलाई उभ्याएको छ ।

क्षेत्र ३ मा माओवादीलाई दिने भएपछि बागी उठेका दिनेश कोइरालालाई एमालेले समर्थन गरेको छ । चितवन कांग्रेसभित्रको भाँडभैलोले चुनावमा नराम्रोसँग असर पारेको छ । स्थानीय चुनावमा समेत यही घात र अन्तर्घातको श्रृंखला चलेको थियो ।

आम चुनावमा पनि त्यस्तै भयो । चितवन १ मा चर्चा थियो विश्व पौडेल, उमेश श्रेष्ठ, राजेन्द्र बुर्लाकोटी र स्वर्णिम वाग्लेको । त्यसमध्ये योेजना आयोग उपाध्यक्ष विश्व पौडेललाई केन्द्रबाट टिकट दिइँदा त्यसका अनेकन असरहरु स्थानीय स्तरमा देखिन पुगे ।

पार्टीका स्थानीय कार्यकर्ताको भनाइमा केन्द्रमा देउवा र इतर पक्षबीच जेसुकै टकराब भएको भए पनि दुईजना विद्वान मिलिदिएको भए यस्तो स्थिति आउने थिएन । ती विद्वान हुन् विश्व पौडेल र स्वर्णिम वाग्ले ।

दुई अर्थविद्को ईख

शेखर कोइराला र गगन थापा निकट स्वर्णिम वाग्लेले चाहेको क्षेत्रमा टिकट नपाएपछि काठमाडौं–४ या ५ मा जान चाहेका थिए । विभिन्न कारणवश उनले टिकट नपाउने अवस्था बने पनि चितवनका कांग्रेस कार्यकर्ताले चाहेका थिए, जुनसुकै कारणले स्वर्णिमले नपाएको, अनि विश्वले पाएको भए पनि अब चुनावका बेला ईख लिएर बस्ने समय छैन । स्वर्णिमले विश्वका लागि भोट मागिदिउन् ।

तर त्यस्तो भएन । केही दिनअघि चितवन रत्ननगरका कांग्रेस महासमिति सदस्य वासुदेव ढुंगानाकी दिवंगत आमाको श्रद्धाञ्जली कार्यक्रममा यहाँ निम्त्याइएका वाग्लेले पौडेलको पक्षमा बोल्नु त के, नाम उच्चारणसमेत गरेनन् । पौडेल आफैंले पनि त्यहाँ कुनै राजनीतिक सन्देश त दिएनन्, तर श्रद्धाञ्जली सभामा आयोजकले सोचेभन्दा भिन्न परिस्थिति देखिएको स्थानीय कांंग्रेस नेताले अनलाइनखबरलाई बताए ।

स्वर्णिम वाग्ले र विश्व पौडेल ।

वाग्लेको त्यो शैलीबाट आजित एक ‘फ्यान’ कार्यकर्ताले मुखै फोरेर भने, ‘पल्लो क्षेत्रमा आएर उमेश श्रेष्ठका लागि भोट मागिसक्नुभो, एकपल्ट यो क्षेत्रमा आएर बोल्नुहोस् । विश्वको लागि होइन, तपाईंकै लागि ।’

उनीलगायत कार्यकर्ताकै दबावमूलक अनुरोधका कारण वाग्ले केही दिनपछि रत्ननगर आएर पौडेलका लागि भोट माग्ने टुंगो भएको छ । यसका लागि कांग्रेस निकट केही वुद्धिजीविहरुले भूमिका समेत खेलेका छन् ।

कांग्रेस क्षेत्रीय कार्यसमितिले बताएअनुसार उक्त कार्यक्रमको मुख्य वक्ता वाग्ले नै बन्नेछन् । दुई वौद्धिकलाई नवलपरासीको कावासोतीसम्म लगेर विवाद मत्थर पार्न भूमिका खेलेका कांग्रेसका एक पदाधिकारीले हामीसँग भने, ‘अरुलाई भने छिटो मनाउन सकिन्थ्यो क्यार । विद्वानहरुलाई मनाउन धेरै कठिन पर्दोरहेछ ।’

सुरुमा यो विवाद दुई अर्थविद्‍बीचको देखिए पनि यसअघि एमाले उम्मेदवार पाण्डेविरुद्ध उम्मेदवार बनेर पराजित भएका राजेन्द्र बुर्लाकोटी समेत विश्व पौडेलका लागि व्यवधान बन्न गए । जब बालुवाटारले पौडेललाई गठबन्धनको उम्मेदवारका रुपमा अघि सार्यो, बुर्लाकोटीले सरक्क निर्वाचन कार्यालय गएर बागीका रुपमा स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले नै सम्झाएपछि मात्रै बल्लतल्ल बुर्लाकोटीको उम्मेदवारी निष्क्रिय बन्न पुग्यो ।

अब पौडेललाई एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेसँगको प्रतिस्पर्धा पहिलेभन्दा सहज बनेको छ । पाण्डेले विगतमा लगालग दुईपल्ट यहाँबाट चुनाव जितेको हुँदा के काम भयो, के काम भएन भनी मतदातालाई बढ्तै सम्झाउनु परिरहेको छ ।

पौडेलले रत्ननगर पिठुवामा अनलाइनखबरसँग भने, ‘मतदाताले उहाँ (पाण्डे) लगातार जित्दै आए पनि पश्चिम चितवनको तुलनामा पूर्वी चितवन झन् पछाडि पर्दै गएको यथार्थ बुझेका छन्, त्यसमाथि उहाँले प्रतिनिधिसभाको अवैधानिक विघटन गर्ने केपी ओलीको कदमविरुद्ध अदालतमा हस्ताक्षर गरेर पछि उहाँसँगै आत्मसमर्पण गर्नुभयो । उहाँको यस निर्णयको नैतिक पक्षलाई पनि मतदाताले याद राखेका छन् ।’

सौराहमा विश्व पौडेल ।

पौडेलले कांग्रेसभित्रको आन्तरिक एकताबारे सुरुमा प्रश्नहरु उठेका भए पनि पछिल्ला दिनमा समस्या नरहेको दाबी गरे ।

यति भन्दाभन्दै पनि विश्व पौडेल चुनौतीरहित छैनन् । किनभने एमाले उम्मेदवारलाई उनले जति कमजोर ठानेका छन्, घरदैलोका दृश्य अनि पाण्डेको व्यक्तिगत प्रभाव त्यति कमजोर छैन । पाण्डेले आफू अर्थमन्त्री हुँदाको बेलादेखिका योगदानलाई उपलब्धिका रुपमा प्रचार गर्दैछन् ।

अर्थशास्त्री भएर नपुग्ने, त्यो ज्ञानलाई जनताको पीरमर्कासँग जोड्ने ल्याकत नभए त्यस सीप र प्रज्ञाको कुनै अर्थ नहुने तर्कलाई बलियोगरी राखिरहेका छन् । पौडेल भन्छन्, ‘पाण्डेमा इच्छाशक्ति छैन ।’ पाण्डे भन्छन्, ‘पौडेलमा आधारभूत ज्ञान र त्यसलाई जनतासँग जोड्ने सीप नै छैन ।’

बरु उनीहरु दुवैका लागि नयाँ टाउको दुखाइ बनेर आएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका घन्टी चिह्नबाहक उम्मेदवार हरि ढकाल । विगतमा एमाले पृष्ठभूमिका ढकालले कांग्रेसको भन्दा बढी भोट एमालेतर्फको काट्ने भन्दै पाण्डे तर्सिरहेको बुझिन्छ ।

जनमतमा बजिरहेको घन्टी

गठबन्धनका साझेदार दलहरुमध्ये अधिकांशको मत रुख चिह्नमै खस्ने कांग्रेस क्षेत्रीय नेताहरुको अपेक्षा छ । घन्टी चिह्नका उम्मेदवार ढकालले भने एमालेमात्रै नभई कांग्रेसतर्फ ढल्किँदै आएको परम्परागत भोट उत्तिकै काट्न सक्ने सम्भावना देखिन्छ ।

रत्ननगरको घरदैलो तथा कोणसभामा एमाले उम्मेदवार सुरेन्द्र पाण्डेले खुलेरै भने, ‘स्वतन्त्र भनेर आएका केही नयाँ साथीभाइमा जवाफदेहिताको कमी छ, तपाईंलाई केही समस्या पर्दा कसलाई भन्ने ? कहाँ गएर गुनासो गर्ने ?’

तर सौराहामा भेटिएका केही स्थानीयले भने विगतमा पाण्डे स्वयंले आफूहरुको मर्का सुनुवाइ नगरेको हुँदा अब यस्ता तर्कले आफूहरुलाई फरक नपार्ने बताए । उनीहरुले विगतमा जेजसो चिह्नमा भोट दिँदै आए पनि अब भोट बदल्ने निश्चय गरेको सुनाए ।

‘उहाँ (पाण्डे) लाई केही भन्न गयो भने उहाँ कुरै सुन्न चाहनुहुन्न । नजिकका मान्छेका होटलतिर आउँछन्, आफ्नो घेराभन्दा बाहिर निस्केर जनतासँग कुरै गर्दैनन्’, सौराहामा होटल चलाइरहेका व्यवसायी पुरुषोत्तम खनालले भने, ‘त्यसैले हामीलाई कसले के भन्छ भन्दा पनि अब कसले के गर्छ भन्नेमा ध्यान छ । केही नयाँ कुरा हुन्छ यसपल्ट ।’

चितवन क्षेत्र नं १ मा १ लाख ३९ हजार ८४५ मतदाता छन् । २०७४ को चुनावमा १ लाख १९ हजार ९९८ मतदाता भएकामा यसपटक १९ हजार ८४७ मतदाता थपिएका हुन् । क्षेत्र नं। १ मा तीन वटा पालिकाहरु राप्ती, खैरहनी र रत्ननगर नगरपालिका छन् । गएको स्थानीय तहको निर्वाचनमा कांग्रेसले खैरहनी नगरपालिका र रत्ननगर नगरपलिकाको नगर प्रमुख जितेको थियो, भने गठबन्धनबाट नै एकीकृत समाजवादीले राप्ती नगरप्रमुख जितेको थियो ।

घरदैलोका क्रममा नेकपा एमालेका उम्मेदवारसहितको टोली ।

४२ वडामा वडाध्यक्षहरुको समग्र मत एमालेले सबैभन्दा बढी ३९ हजार ६०६ मत, कांग्रेसले ३६ हजार ७८३ मत, माओवादी केन्द्रले ५ हजार २५२ र एकीकृत समाजवादीले ४ हजार ५ मत पाएको छ । गठबन्धनको सबै दलबाट पाएको वडाध्यक्षको मत जोड्दा ४६ हजार ४० हुन आउँछ ।

यो मत एमालेको भन्दा ६ हजार ३३४ ले बढी हो । गठबन्धनको मत एकैठाउँमा झर्दा विश्व पौडेललाई केही सहज देखिन्छ । २०७४ सालको संसदीय निर्वाचनमा समानुपातिकमा चितवन १ बाट एमालेले ३९ हजार ९ सय मत पाएको थियो भने नेपाली कांग्रेसले ३० हजार ७ सय ५० र माओवादी केन्द्रले ८ हजार ७८ मत पाएको थियो ।

समानुपातिक मत र वडाध्यक्षहरुमा पार्टीले पाएको मत हेर्दा एमालेको र माओवादीको केही घटेको देखिन्छ भने कांग्रेसले बढाएको देखिन्छ । २०७४ को चुनावमा वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले नेता सुरेन्द्र पाण्डेले ५१ हजार ८० मत ल्याएर कांग्रेसका राजेन्द्र बुर्लाकोटीलाई १५ हजार ७२० मतान्तरले पराजित गरेका थिए ।

२०७० सालको निर्वाचनमा पनि पाण्डेले १८ हजार ७६० मत ल्याएर जित्दा राजेन्द्र बुर्लाकोटीले १३ हजा ७४५ मत ल्याएका थिए भने, माओवादीका तत्कालिन उम्मेदवार यमबहादुर परियारले ४ हजार ७१५ मत ल्याएका थिए । त्यसबेला चितवन क्षेत्र नं। १ मा रत्ननगर नगरपालिकासहितको भूभाग समेटिएको थिएन ।

रत्ननगरको बजार क्षेत्रका बासिन्दा विगतमा कांग्रेसका लागि बलियो आधार थिए । गाउँ इलाकाका मतदातामा एमालेको बढ्ता पकड थियो । बजार क्षेत्रका कांग्रेस मतदातामध्ये थुप्रैले यसपल्ट भोट बदल्ने बताए ।

‘सधैं तिनै पार्टीहरुको ठाउँमा धेरैले नयाँ परिवर्तन हेरौं भन्न थालेका छन्’, रत्ननगर २ टाँडीमा हार्डवेयर पसल चलाउँदै आएका आलोक थापाले भने, ‘पहिले दुईचोटी हारिसकेको भएर यसपल्ट कांग्रेसको पक्षमा राम्रै सहानुभूति आउनुपर्ने हो । गठबन्धन बनाएर एमालेसँग लडेको भए पनि सजिलो चाहिँ छैन ।’

चितवन १ मा कांग्रेसको चुनावी घरदैलो ।

रत्ननगरमा हामीसँग कुरा गर्नेमध्ये केहीले स्थानीय चुनाव र अघिल्लो आम चुनावको नतिजा जेसुकै भए पनि अब ती तथ्यांकले काम नगर्ने जिकिर गरे । ‘मतदातामा जुन किसिमको ‘मास फ्रस्ट्रेसन’ छ, त्यसलाई रोक्न जतिसुकै जनाधारको तथ्यांक देखाए पनि गाह्रो पर्न सक्छ ।’

शहरी क्षेत्रमा कांग्रेसलाई जति टाउको दुखाइ छ, त्यस्तै टाउको दुखाइ छ गाउँका बस्तीहरुमा । पिठुवा, मिलिजुली चोक खैरहनी, राप्ती लगायत क्षेत्रमा विगतमा एमालेले ठूलो अनुपातमा पाउँदै आएको मतलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रभावित पार्न थालेको प्रष्ट छनक मिल्छ । कतिसम्म कांग्रेस र एमाले गरी दुवै पार्टीका लागि प्रचारमा हिँडिरहेकै कतिपय सहभागीले भोट यसपल्ट बदल्ने भन्दै घन्टीको पक्षमा कुरा गरिरहेको पाइयो ।

विगतमा एमालेमा सक्रिय राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ढकाल पछिल्ला वर्षहरुमा शेयर कारोबारीका रुपमा चिनिँदै आएका छन् । उनका लागि पार्टी सभापति रवि लामिछानेसमेत क्षेत्र १ आएर पटक पटक भोट मागिसकेका छन् । क्षेत्र २ मा लामिछाने आफैं उठेका छन्, जहाँ उनको प्रभुत्व पछिल्ला दिनमा झन् स्थापित हुँदै गइरहेको हामीले हिजो शुक्रबारको रिपोर्टमा लेखिसकेका छौं ।

क्षेत्र १ मा पनि रास्वपाको निश्चित भोट उपेक्षा गर्न नमिल्ने गरी खस्ने, तर त्यो पाण्डे र पौडेलबीचको प्रतिस्पर्धा बराबर अनुपातमा आइनपुग्ने बुझ्न सकिन्छ । बिरलै चल्ने राजनीतिक लहरबाट प्रभावित बन्ने अवस्था नदेखिए रास्वपा उम्मेदवार ढकाल तेस्रो स्थानमा खुम्चिन सक्छन् ।

तर कांग्रेस र एमालेभित्रको घात अन्तर्घातको अन्तर्विरोधभित्र उनी कति खेल्न सक्छन् भन्ने पनि परीक्षणमै छ । कांग्रेस रत्ननगर १५ का सचिव राजन बगालेले एमालेसँग भिड्ने हो भने समयमै गुट उपगुट व्यवस्थापन गर्नैपर्ने आवश्यकता औंल्याए । सायद उनकै जस्तो आवाज बुझेर हुनुपर्छ, गठबन्धनले गीतै बनाएको छ :

गन्तव्यमा नपुगुन्जेल दिनुपर्छ साथ
सँगै हिंड्दै बीच बाटोमा नहोस् अन्तर्घात
खोलीखेत जोगाउने तटबन्धनले हो
संविधान जोगाउने गठबन्धनले हो ।

तस्वीरहरुः शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?