+
+
उम्मेदवार प्रोफाइल :

सर्वेन्द्र खनाल : संसद पस्ने प्रयासमा पूर्वप्रहरी प्रमुख

चुनावी अंकगणितले एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई बलियो अवस्थामा देखाउँदैन । कांग्रेसभित्र विवाद र माओवादीले गरेको विद्रोहले भने उनलाई केही अनुकूलता सिर्जना गरिदिएको छ ।

गौरव पोखरेल गौरव पोखरेल
२०७९ कात्तिक २७ गते १४:०८

नेपाल प्रहरीमा डीआईजी हुँदासम्म ‘दबङ’ शैलीको छवि बनाएका चर्चित अधिकृत थिए, सर्वेन्द्र खनाल । उनी नेपाली फुटबलको म्याच फिक्सिङ प्रकरण र गुण्डागर्दी नियन्त्रणका कारण बढी चिनिएका थिए । २०७४ चैतमा प्रहरी महानिरीक्षक भएपछि भने अवस्था त्यो रहेन, उनी एकपछि अर्को विवादमा मुछिन थाले ।

खनाल आईजीपी भएको दुई महिनामै सुन तस्करीमा माथिल्ला तहका प्रहरी अधिकृतहरूको संलग्नता उदांगियो । सुनकाण्डको प्रारम्भिक अनुसन्धान गरेको अपराध अनुसन्धान महाशाखाको टोली नै आरोपित बन्यो । अनुसन्धानकर्ताहरू नै थुनामा पुगे ।

त्यो सारा प्रकरणमा मौन बसेको, अनुसन्धान प्रतिवेदन अलपत्र पार्न सघाएको आरोप आईजीपी खनाललाई लाग्यो । त्यसैबीच उनले सुन प्रकरणका एक आरोपीसँग गोप्य भेट गरेको खुलासा भयो ।

आईजीपीमा खनालको बढुवालगत्तै डीआईजी रमेश खरेलले ‘नालायक नेतृत्व’ भन्दै राजिनामा दिएका थिए । खनालको कार्यकालमा प्रहरीको आन्तरिक सरुवा–बढुवामा राजनीतिक हस्तक्षेप उस्तै रह्यो । प्रहरीभित्र ध्रुवीकरण पनि उनको अवकाशसम्मै कायम रह्यो । संगठनको हितभन्दा राजनीतिक नेतृत्वको प्यारो बन्ने काम गरेको आरोप आईजीपी खनाललाई लाग्यो ।

रमेश खरेलले संगठन छाडेपछि प्रहरीमा आईजीपी खनाल र दोस्रो वरीयताका एआईजी पुष्कर कार्कीबीच चर्को ध्रुवीकरण देखियो । कार्कीलाई मिलाएर लैजानुको साटो उनको पक्षका भन्दै कतिपय अधिकृतलाई कारबाही गर्न अग्रसर भए खनाल ।

आईजीपी बन्ने बेला उनलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बलियो साथ थियो । राष्ट्रपति विद्यादेवी भण्डारीको पुष्कर कार्की र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको सद्भाव रमेश खरेलप्रति थियो । ओली पछिसम्मै खनालप्रति रुष्ट रहे ।

कार्यकालको पछिल्लो अवधिमा भने महेश बस्नेतमार्फत ओलीसँग खनाल नजिकिए । आईजीपीबाट अवकाश पाएको केही समयपछि जनता समाजवादी पार्टी (जसपा) का सांसद डा. सुरेन्द्र यादवलाई अपहरणको शैलीमा काठमाडौं ल्याएको घटनामा मुछिए खनाल ।

कोरोना महामारी नियन्त्रणका लागि लकडाउन गरिएका बेला खनाल, महेश बस्नेत र किसान श्रेष्ठ धनुषा पुगेर यादवलाई ‘उठाएर’ काठमाडौं ल्याएका थिए । त्यतिबेला जसपाले आफ्ना सांसदलाई अपहरण गरेको भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंमा खनाललाई समेत प्रतिवादी बनाएर अपहरण तथा शरीर बन्धकसम्बन्धी कसूरमा किटानी जाहेरी दिएको थियो ।

गत ६ असोजमा एमालेको च्यासलस्थित कार्यालयमा आयोजित कार्यक्रमबीच पार्टी प्रवेश गर्दा पूर्वआईजीपी खनालले भनेका थिए, ‘देश–विदेशका नेपालीको आस्थाको केन्द्र र समृद्ध नेपाल सुखी नेपाली नाराका प्रणेताको हातबाट नेकपा एमालेको जस्तो गरिमामय पार्टीको सदस्य लिन पाउँदा हर्षविभोर छु ।’

एमाले अध्यक्ष ओलीले प्रतिनिधिसभाको लागि काठमाडौं-६ को टिकट यिनै खनाललाई दिएका छन्, जहाँ नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान प्रतिस्पर्धी छन् ।

चुनावी अंकगणित

गत स्थानीय निर्वाचनमा वडाअध्यक्षहरूले ल्याएको मत परिणाम हेर्दा काठमाडौं–६ मा कांग्रेस अगाडि देखिन्छ । कांग्रेसले १७ हजार २७७, एमालेले १४ हजार ३०३, माओवादी केन्द्रले २ हजार ४६२ र एकीकृत समाजवादीको १ हजार ८५९ मत छ ।

यो चुनावी अंकगणितले एमालेका उम्मेदवार सर्वेन्द्र खनाललाई बलियो अवस्थामा देखाउँदैन । कांग्रेसभित्र विवाद र माओवादीले गरेको विद्रोहले भने उनलाई केही अनुकूलता सिर्जना गरिदिएको छ ।

त्यसो त, विवादास्पद नवप्रवेशीले एकजना पार्टी अध्यक्षलाई रिझाएर टिकट लिएको भन्दै एमालेभित्रकै पनि एउटा तप्का खनालसँग रुष्ट छ । काठमाडौं–६ को चुनावी मैदानमा प्रधान र खनालसँगै स्वतन्त्र उम्मेदवार शिशिर खनालले पनि प्रचार अभियान बढाएका छन् ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?