+
+

देउवा-प्रचण्डलाई ओलीको प्रश्न : अदालतबाट सरकार बनाउने प्रतिगमनकारी तपाईहरु कि म ?

अनलाइनखबर अनलाइनखबर
२०७९ कात्तिक २७ गते १८:१०

२७ कात्तिक, सुर्खेत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहाल ‘प्रचण्ड’ नै प्रतिगमनकारी भएको आरोप लगाएका छन् ।

आइतबार सुर्खेतमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘प्रतिगमन कस्तो हुन्छ देउवा-प्रचण्ड जी ? संसदमा सरकार बनाउने र फेर्ने कुरा अदालतमा गएर बनाएको जस्तै हुन्छ ?’ उनले भने, ‘जनताको जनआदेशमा जान नदिने कुरा नै प्रतिगमन हो । त्यो तपाईहरुले गर्नुभयो ।’

उनले थपे, ‘प्रचण्ड जी, मैले संसद बचाए भन्नु हुन्छ । आज संसद छ त ? प्रतिनिधिसभा सधैँ बाँच्ने होइन । यो समय समयमा चुनाव हुने हो । संसद केही समय चल्छ, फेरि जनताले संसद बनाउँछ । त्यही हैन र नियम ?’

अध्यक्ष ओलीले सकिन लागेको माओवादीलाई साथ लिएर हिँडे पनि प्रचण्डले चुनावको विषयमा गरेको प्रतिबद्धता अनुसार अघि नबढेका कारण प्रतिनिधिसभा विघटन गर्नुपरेको बताए ।

नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष दाहालको आलोचना गर्दै अध्यक्ष ओलीले दुवै प्रतिगमनकारी भएको बताए । फरक प्रसंगमा ओलीले गठबन्धनभित्रका दलहरूले छुट्टाछुट्टै घोषणापत्र ल्याएर जनता झुक्याउन खोजेको आरोप लगाए । ‘गठबन्धनले बनाएको घोषणापत्र आ-आफ्नै घोषणापत्र छ ।

‘यदि जितेको खण्डमा कस्को घोषणापत्र लागू हुन्छ ?,’ ओलीले भने, ‘त्यसैले एमालेको एउटै अभियानमा साथ दिनुहोस्, जोडजाड गरेका स्वार्थहरूको सरकार होइन सुदृढ राष्ट्रिय शक्ति चाहिएको छ, त्यो एमालेले गर्छ ।’

ओलीले देशमा भएका जति सबै काम एमालेले गरेको दावी गरे । गाउँगाउँमा सडकदेखि जेष्ठ नागरिक भत्ता एमालेले सुरु गरेको हो । अहिले दिनको १३३ रूपैयाँ दिने पनि एमाले नै हो, उनको भनाई थियो ।

ओलीले ५ पटक प्रधानमन्त्री भएर देशका लागि एउटा काम के गर्नुभो भन्दै देउवालाई प्रश्न गरे । ‘शेरबहादुरजीलाई म भन्न चाहन्छु– उभिएका ठाउँबाट दायाँबायाँ, अगाडि र पछाडि हेर्नुस्, एमालेले गरेका काम देख्नुहुन्छ । त्यहाँ पनि नदेखे महिला र स्कुल जाने बालबालिकालाई सोध्नुहोस, त्यहाँ पनि एमालेले गरेका काम देख्नुहुन्छ,’ उनले भने ।

यस्तै ओलीले देउवालाई प्रतिपक्ष दलको नेता को बन्नेबारेमा सल्लाह गरिराख्न सुझाव दिए । ‘अब एमालेले बहुमत ल्याउँछ र एमालेको सरकार बन्छ । मंसिर ४ पछि तपाई कि प्रचण्ड को प्रतिपक्षी दलको नेता बन्ने हो, सल्लाह गर्नुहोला’ ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?