
२८ कात्तिक, काठमाडौं । युएईसँग पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई)मा पराजित भएपछि नेपालका कप्तान रोहित पौडेलले सुरुमै विकेट झर्दा लक्ष्य पछ्याउन गाह्रो भएको बताएका छन् ।
सोमबार टीयू मैदानमा भएको खेलमा नेपाल युएईसँग ८४ रनले पराजित भएको थियो । तीन खेलको शृंखलामा युएईले १-० को अग्रता समेत लिएको छ ।
यसै खेलबाट ओडीआई कप्तानीमा डेब्यू गरेका रोहितले बलिङमा पनि राम्रो सुरुवात गर्न नसकेको बताए । ‘पावर प्लेमा राम्रो बलिङ भएन । हामीले कन्डिसनको प्रयोग गर्न सकेनौं,’ रोहितले भने ।
यस्तै ब्याटिङमा पनि सुरुको विकेट जाँदा कठिन भएको बताए । ‘ब्याटिङमा पनि सुरुमा कोल्याप्स भयो । ३ विकेट चाँडै गयो । सुरुमा लगातार विकेट नगएको भए हामीले लक्ष्य भेट्टाउन सक्थ्यौं,’ रोहितले भने, ‘खेलको बीचमा हामी सहज अवस्थामा पुग्न लागेका थियौं । तर, योजना लागू भएन । दीप्पी र अर्जुन हुँदा जित्न सकिन्छ भन्ने थियो । तर विकेट गएपछि गाह्रो भयो ।’
आजको खेलमा कुशल भुर्तेलले पुनरागमन गर्दै सातौं नम्बरमा ब्याटिङ गरेका थिए भने आसिफ शेख र र अर्जुनले ओपनिङ गरेका थिए । यस्तै हरिशंकर शाहले डेब्यू गरे ।
कप्तान रोहितले ओनपिङमा आसिफ र अर्जुनले राम्रो गरेकोले कुशल भुर्तेललाई तल्लोक्रममा खेलाएको बताए ।
‘ओडीआईमा अर्जुन र आसिफले ओपनिङ राम्रो गरिरहेका छन् । त्यसैले अहिले कुशलले तल नै ठीक मानेको छ,’ कुशलको ब्याडिङ अर्डरमा सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्नमा रोहितले जवाफ दिए ।
यस्तै हरिशंकर शाहले डेब्यू प्रदर्शनबाट आफू सन्तुष्ट रहेको रोहितले बताए ।
पछिल्लो समय नेपालका लागि राम्रो खेलिरहेका आरिफ शेख र आदिल आलम आजको खेलमा बेन्चमा थिए । नेपालले ललित राजवंशीलाई मात्र स्पीनरको रुपमा खेलाएको थियो ।
कप्तान रोहितले नामिबियामा डिसेम्बरमा हुने क्रिकेट विश्वकप लिग टू को तयारीलाई ध्यानमा राख्दै खेलाडीहरुलाई अहिले अवसर दिइरहेको बताए । ‘हामीले को कहाँ फिट हुन्छ भनेर हेरिरहृका छौं । यो सिरिजमा सबैलाई अवसर दिनेछौं । नामिबियाका लागि सन्तुलन कस्तो हुन्छ भनेर यो तीन म्याचमा हेर्नेछौं ।’
नेपालले बुधबार युएईसँग दोस्रो खेल खेल्नेछ ।
युएईका कप्तान सीपी रिजवनले नेपालको घरेलु दर्शक र माहोलसामू पहिलोपल्ट खेल्न पाउँदा खुसी लागेको बताए । खेलपछिको पत्रकार सम्मेलनमा उनले भने, ‘हामीले सही समयमा विकेट लियौं । आगामी खेलमा पनि ब्याटिङ मोमेन्टमलाई कायम राख्ने प्रयास गर्नेछौं ।’ कप्तान रिजवनले आफ्ना डेब्यूट्यान्ट बलर आयन खानको प्रशंशासमेत गरे ।
तस्वीरः विकास श्रेष्ठ/अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4