+
+

‘प्रतिस्पर्धा बढेको छ तर हामी ढुक्कसँग जित्छौं’ 

प्रदीप ज्ञवाली, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, एमाले उपमहासचिव
२०७९ कात्तिक २९ गते ९:३०

गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसँग जिल्लाका समसामयिक विषय र निर्वाचनका सन्दर्भमा गरिएको कुराकानी :

तपाईं यसपटक पनि गुल्मी क्षेत्र नम्बर १ बाट किन उम्मेदवार बन्नुभएको हो ?

एकदम सूत्रात्मक ढंगले भन्ने हो भने चार कुराका लागि । पहिलो, राष्ट्रिय राजनीतिलाई जुन ढंगले गठबन्धनको नाममा दिशाहीन र सत्ताको दोहनको माध्यम बनाइँदैछ त्यसबाट बाहिर निकाल्न । दोस्रो, कमजोर पारिंदै गरेको राष्ट्रियतालाई सुदृढ गर्न । तेस्रो, मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिको अभियान अगाडि बढाउन । र चौथो, गुल्मी जिल्लाको सन्दर्भमा हामीले सुरु गरेका महत्वपूर्ण र दीर्घकालीन पूर्वाधारहरू अगाडि बढाउन ।

हाम्रो चौथो विषयलाई अलिक व्याख्यात्मक रूपमा भन्ने हो भने कालीगण्डकी करिडोर, मदन भण्डारी राजमार्ग, रिडी–खज्र्याङ्ग–सुर्खेत राजमार्ग, प्रत्येक पालिकाका हस्पिटल, विमानस्थल, खानेपानी योजना, टेक्निकल स्कुल यी कामहरूलाई निष्कर्षमा पुर्‍याउनु मेरो जिम्मेवारी हो । यिनीहरूलाई सम्पन्न गर्न र गुल्मीभित्रै युवालाई स्वरोजगार, आत्मनिर्भर र युवा बस्न सक्ने अवसरयुक्त जिल्ला विकास गर्न मेरो उम्मेदवारी हो ।

यी त पुरानै कुरा भए, यसमा नयाँ एजेन्डाहरू के छन् त ?

गुल्मी जिल्लामा हामीले मुख्य भौतिक पूर्वाधार निर्माण सम्पन्न गरेका छौं । अब खोलिएका बाटाहरूलाई कहीं ग्राभेल गर्नु छ, कहीं पक्की गर्नुछ, सुरु भएका हस्पिटलहरूलाई पूर्णता दिनुछ । सुरु भएका खानेपानी आयोजनाहरूलाई पूर्णता दिनुछ । भौतिक पूर्वाधारका दृष्टिले भन्नुहुन्छ भने एकदमै नयाँ कार्यक्रम सुरु गर्नुभन्दा भएका कार्यक्रमहरूलाई गुणस्तरीय बनाउनु जरूरी छ ।

तर भौतिक पूर्वाधारसँगै अब हाम्रो ध्यान तीन वटा कुरामा हुनु जरूरी हुन्छ जस्तो मलाई लाग्छ । एउटा, शिक्षालाई कसरी गुणस्तरीय बनाउने भन्ने हो । यसमा प्राइभेट र सार्वजनिक स्कुलको जुन ‘ग्याप’ छ त्यसलाई कम गर्ने र सरकारी स्कुलमा हाम्रा नानीहरूले एकदमै गुणस्तरीय शिक्षा पाउने गरी यिनीहरूको गुणस्तरीय सुधार गर्ने । यसभित्र भौतिक पूर्वाधारका कुरा छन्, त्यसभित्र पठनपाठनका कुरा छन्, पठनको वातावरणका कुराहरू छन्, त्यसमा हाम्रो फोकस छ ।

त्यसपछि हामीले हरेक पालिकामा पन्ध्र वेडको हस्पिटल बनाउने अभियानकै रूपमा सुरु गरेका छौं । गुल्मी जिल्लाका सबै पालिकामा बनाउन सुरु पनि भएको छ । अब आफ्नै आँगनमा नागरिकहरूले स्वास्थ्य सुविधा पाउने स्थिति बन्दैछ । तर त्यसलाई कसरी गुणस्तरीय र दिगो बनाउने ? हस्पिटलबाट नागरिकहरूले पाउने स्वास्थ्य सुविधालाई कसरी सहज तुल्याउने अथवा तिनीहरूलाई कसरी दिगो बनाउने भन्ने चुनौती छ ।

अर्को चाहिं मैले यसचोटि नयाँ ढंगले उठाउन खोजेको युवा स्वरोजगारीको विषय छ । आज हामीले व्यहोर्नु परेको विडम्बना के छ भने, हिजो गाउँमा विकास थिएन तर युवाहरू थिए आज विकास गाउँ पुगेको छ, बाटो पुगेको छ, खानेपानी पुगेको छ, बिजुली पुगेको छ, टेलिफोन इन्टरनेट गाउँमा पुगेको छ । यस्ता सुविधाहरू पुगे तर युवाहरू गाउँमा छैनन् । गाउँबाट युवाहरू शहर परेका छन् र शहरले पनि उनीहरूलाई रोजगारी दिन नसकेपछि विदेश जान बाध्य छन् । तर हाम्रो गाउँलाई कसरी युवाहरूको निम्ति अवसरको थलोका रूपमा विकास गर्ने त्यसका लागि यस पटकको मेरो जोड चाहिं युवा स्वरोजगारीमा छ ।

त्यसका लागि उनीहरूको डाटाबेस तयार गर्ने, उनीहरूको रुचि अनुसारको तालिम दिने र व्यवसाय गर्न आवश्यक पर्ने काउन्सिलिङ गर्ने । त्यसपछि उनीहरूलाई व्यवसाय सुरु गर्न चाहिने बीउ पूँजी र युवाहरूले उत्पादन गरेका अथवा किसानहरूले उत्पादन गरेका उत्पादनको बजार संरक्षण गर्ने । यस हिसाबले हाम्रा गाउँहरूलाई खाली उपभोगको थलो मात्रै नभएर उत्पादनको थलोको रूपमा, रोजगारी सृजना गर्ने थलोका रूपमा लैजान मैले अलि बढी ध्यान केन्द्रित गरेको छु ।

यसअघि पाँच वर्षको अवधिमा तपाईं मन्त्री पनि हुनुभयो, त्यो अवधिमा यो जिल्लाले के पायो ?

मलाई लाग्छ यो कार्यकाल त गुल्मीको विकासको हिसाबले एउटा ऐतिहासिक कार्यकाल रह्यो भन्ने ठान्छु । पाँचवर्षे कार्यकालको अवधिमा १८ अर्ब भन्दा बढीको बजेट आउनु ख्यालठट्टाको विषय होइन । मुख्य कार्यक्रमहरूको कुरा गर्दा हामीले भविष्यमा चीन–भारत जोड्ने एउटा अन्तर्राष्ट्रिय राजमार्गको रूपमा यी बाटा अगाडि बढाएका छौं ।

यस क्रममा कालीगण्डकी करिडोर, जसमा हामीले साढे ६ अर्बभन्दा बढी लगानी गरेका छौं, यही अवधिमा मदन भण्डारी राजमार्गलाई गुल्मी भएर जाने गरी रिडीमा आएर त्यो राजमार्ग तम्घास–सिमलटारी–पुर्कोटहुँदै प्युठान जान्छ । अर्को नयाँ राजमार्ग समेत हामीले सुरु गरेका छौं रिडी–खज्र्याङ्ग–दाङ–सुर्खेत । त्यसमा पनि २ अर्ब २३ करोड भन्दा बढी लागतमा अहिले बाटो पक्की गर्ने काम भइरहेको छ ।

यस बीचमा हामीले रेसुङ्गा विमानस्थल सम्पन्न गरेका छौं । उडानको निम्ति ठिक्क छ । यो अवधिमा हामीले १ अर्ब ६२ करोडभन्दा बढी खर्च गरेका छौं । जिल्लाका ठूला–ठूला खानेपानी योजनाहरू दौंघा, काकाकुल गाउँ जस्तो हुँगा, बलेटक्सार, बिरवास, ग्वाघालगायत धेरै ठाउँमा जटिल खालका खानेपानी समस्या समाधान यस बीचमा गरिएको छ ।

जिल्लाका सबै पालिकामा १५ बेडको हस्पिटल १८ करोड रुपैयाँ लागतमा र जिल्ला अस्पताल सदरमुकाममा ५० बेडको हस्पिटल सुरु गरिएको छ । जिल्ला अस्पतालमै हामीले अक्सिजन प्लान्ट खडा गरेका छौं, आईसीयु कक्ष निर्माण भएको छ, कोरोनाको बेला पीसीआर ल्याव खडा गर्नेदेखि लिएर लाखौं मूल्यका स्वास्थ्य सामग्री वितरण गर्ने कामहरू गरेका छौं ।

प्राकृतिक विपत्तिको बेलामा सत्यवती पहिरो पीडितहरू जसले घरबास गुमाउनुभएको छ, सयौं परिवारलाई पुनस्र्थापित गर्ने काम, मजुवामा सीटीईभीटीमार्फत तीनवर्षे पढाइ हुने बहुप्राविधिक शिक्षालय ल्याउनेदेखि लिएर निकै धेरै कामहरू यसबीचमा भएका छन् ।

रिडी–रुद्रावेनी–वामी सडक भन्दा पछि खुलेका सडक कालोपत्रे भए तर यो सडक किन कालोपत्रे हुन सकेन अहिलेसम्म ?

वास्तवमा यो सडक धेरै पछाडि पर्‍यो । यद्यपि मैले त्यहाँको प्रतिनिधित्व गर्न थालेको बल्ल पाँच वर्ष भयो । त्योभन्दा अगाडिका जनप्रतिनिधिले के गर्नुभयो त्यसको बारेमा मैले धेरै कमेन्ट गर्न चाहन्नँ ।

बेलाबेलामा यही सडकमा पर्ने डहरे खोलाले गाडी बगाएको पनि हामीले देखेका छौं ?

हिजोभन्दा स्वाभाविक हो प्रतिस्पर्धा अलि बढेको छ तर निर्वाचनको परिणामको बारेमा हाम्रो मनमा कुनै सन्देह छैन । हामी ढुक्कसँग चुनाव जित्छौं ।

म २०७४ सालमा निर्वाचित भएर जाँदा त्यो बाटोको अत्यन्तै दुरवस्था थियो । त्यो अघिल्लो केपी ओली प्रधानमन्त्री हुँदा, विष्णु पौडेल अर्थमन्त्री हुँदा हाम्रै समेत पहल हुँदा ५७ करोड छुट्याएर त्यहाँ ठेक्का लगाइएको थियो । तर, अत्यन्तै अस्तव्यस्त टुक्रा–टुक्रा पारेर ठेक्काहरू लगाइएको स्थिति थियो । सबै कुराहरू व्यवस्थापन गर्न हामीलाई करिब दुई वर्ष लाग्यो । अहिले त्यसका सबै खण्डको ठेक्का लागेर धेरै ठाउँमा त पिच भइसकेको छ केही ठाउँमा बाँकी छ र त्यो पनि ठेक्का लागिसकेको छ ।

डहरे खोलाको समस्या देखिसकेपछि मैले २०७६ सालमा सडक विभाग, पुल महाशाखा, पाल्पा सडक डिभिजन, यहाँको मदन भण्डारी सडक कार्यालयका डीजीहरूलाई लगेर हामीले त्यसको गहिरो अध्ययन गर्‍यौं । त्यसको माटोको परीक्षण गर्न केही समय लाग्यो । किनभने त्यहाँ नेपालको सबभन्दा ठूलो पहिरोमध्ये एक पर्छ डहरे खोलाको पहिरो । खोलाले एकदमै धार परिवर्तन गर्छ त्यसो भएको हुनाले चाहिं त्यहाँको माटो परीक्षण राम्रोसँग गरेर मात्रै पुल बनाउनुपर्ने भएकाले माटो परीक्षण र डिजाइनमा केही समय लाग्यो । अहिले काम सबै सम्पन्न भएको छ र चुनावलगत्तै त्यसको ठेक्का लाग्छ ।

विमानस्थल त बन्यो तर उडान नहुँदा टिकटक बनाउने थलो बन्यो नि ?

जहाज नउडुन्जेल मान्छेले एयरपोर्ट हेर्नु त स्वाभाविकै हो, यसलाई सकारात्मक रूपमा लिऊँ । जहाज उड्छ भन्ने कुरा त हामीले कच्ची रोडहुँदै २०७६ सालमै परीक्षण उडान गरेको तपाईं सबैलाई थाहा छ । म आफैं त्यो परीक्षण उडानको बेलामा आएको थिएँ ।

त्यसले के बतायो भने गुल्मीमा जहाज उडान अवतरण सम्भव छ । त्यसपछि आएर हामीले करिब २० करोड बढीको लागतमा ‘रन वे’ पिच र टावर निर्माण गर्‍यौं । त्यसपछि टर्मिनल भवन निर्माण गर्‍यौं । अहिले चुनाव अगाडि नै जहाज उडाउने तयारी थियो अलिकति यसमा राजनीतिक स्वार्थहरू मिसिए ।

दुर्भाग्यवश केही साथीहरू चुनाव भन्दा अगाडि जहाज आयो भने यहाँ खास पार्टीका उम्मेदवारले लाभ लिन्छन्, उनीहरूले श्रेय पाउँछन् भनेर त्यसलाई रोक्नतिर लाग्नुभयो । विकासका काममा यस्तो गरेर उहाँलाई के फाइदा भयो मलाई थाहा छैन । फाइदा त गुल्मेली जनतालाई हुन्थ्यो । बिरामीहरूलाई सजिलो हुन्थ्यो । धेरै कुरामा समय बचत हुन्थ्यो, त्यही प्रयोजनका लागि ल्याइएको हो ।

तर म यहाँहरूलाई प्रष्ट पार्न चाहन्छु, सबै कुराको अध्ययन गरेर नै त्यहाँ एयरपोर्ट बनाइएको हो, जहाजको नियमित उडान हुन्छ । कतिपय प्राइभेट संस्थाहरूले नागरिक उड्डयन प्राधिकरणमा हामीले नियमित रूपमा उडान गर्न पाउँ भनेर आफ्नो ‘बिजनेस प्लान’ सहित निवेदन दिइसकेका छन् । अब चुनावलगत्तै त्यहाँ नियमित उडान हुन्छ ।

विकास भएका कुरामा जस लिन खोज्ने तर नभएका कुराहरूमा अपजस चाहिं अरूलाई दिने परिपाटी छ नि ?

मलाई त्यस्तो लाग्दैन । म गुल्मीको साबिक २ नम्बर क्षेत्रमा २०५६ सालदेखि निर्वाचित छु । २०७० को एक कार्यकाल छोडेर यहाँको विकासका कामको पहल पनि मैले गरेको छु । केही कामहरू कमी भएका छन् भने त्यसमा जनताले यो गर्नुपर्दथ्यो भन्नु स्वाभाविकै हो । मैले त्यसलाई स्वाभाविक रूपमा ग्रहण गरेको छु ।

अब पारिबाट मैले प्रतिनिधित्व गरेको पहिलो चोटि हो । साबिकको क्षेत्र नम्बर १ का अधिकांश क्षेत्र त्यसमा पर्दछन् । त्यसमा पाँच वर्षमा गरेका कामका निम्ति गर्न सकिने केही कामहरू छुटेका छन् भने त्यो जिम्मेवारी मेरो हो । तर, दशकौंदेखि अलपत्र पारिएका कुराका निम्ति त त्यहीबेला जो जनप्रतिनिधि हुनुहुन्थ्यो उहाँहरू पनि त जिम्मेवार हुनुपर्‍यो नि ! मैले त्यस अर्थमा भन्न खोजेको हो, हामी राम्रा कामको जस मात्रै लिने होइन कि, केही काम अधुरा छन् भने त्यसको पनि जिम्मेवारी लिन्छौं ।

गठबन्धनसँग एमालेको प्रतिस्पर्धा कस्तो होला ?

गुल्मीमा नेकपा एमाले एक्लै छैन, गुल्मेली जनताको माया, विश्वास छ । त्यही भएर नै उहाँहरू एक्लै चुनाव लड्न नसकेर भए–भरका साथीहरू एक ठाउँमा हुनुभएको छ । एमाले कमजोर भएको भए त उहाँहरू एक्लै लड्नुहुन्थ्यो होला नि हैन र ? त्यसैले गठबन्धन गर्नुभएको छ । हिजोभन्दा स्वाभाविक हो प्रतिस्पर्धा अलि बढेको छ तर निर्वाचनको परिणामको बारेमा हाम्रो मनमा कुनै सन्देह छैन । हामी ढुक्कसँग चुनाव जित्छौं ।

तपाईं चुनावमा हार र जितको कुरा गर्नुहुन्छ, गाउँघर वृद्धाश्रम जस्तै भए, युवालाई कसरी टिकाउनुहुन्छ ?

पहिलो कुरा त यो समस्यालाई हेर्ने दृष्टिकोण बदल्नु पर्‍यो । गठबन्धनका नेताहरू भाषण गरिरहनुभएको छ— हामीलाई भोट देऊ हामी सित्तैंमा खाडी, मलेशिया पठाइदिन्छौं । यो लज्जास्पद कुरा हो । त्यस्तो नेतृत्वको हातमा यो देशको बागडोर जानेबित्तिकै युवाको कहिल्यै पनि उद्धार हुँदैन । नेकपा एमालेसँग प्रष्ट मान्यता छ, खास गरेर बाध्यात्मक वैदेशिक रोजगारीको जुन पीडा छ त्यो पीडालाई हामीले अन्त्य गर्नैपर्छ र अन्त्य गर्न सकिन्छ ।

भोलि राम्रा मान्छे, ट्यालेन्ट मान्छे कामको सिलसिलामा अन्तर्राष्ट्रिय श्रम बजारमा जानु स्वाभाविक कुरा हो । विश्वव्यापीकरणमा कसैलाई तपाईंले रोकेर रोक्न सक्नुहुन्न । तर, बाध्यताले लेवर काम गर्न जानुपर्ने, पच्चीस–तीस हजारका निम्ति जानुपर्ने र त्यहाँबाट दुर्घटनामा परेर कहिले लास बनेर फर्किनुपर्ने, कहिले अपाङ्ग बनेर फर्किनुपर्ने यो नियतिलाई अन्त्य गर्नैपर्छ ।

त्यसको लागि सबभन्दा पहिले शासकहरूको दृष्टिकोण बदलिनुपर्‍यो । दुई–चार भोटका लागि सित्तैंमा मलेशिया पठाइदिन्छु, एउटा वडाबाट ६ जनाका दरले ‘विना पैसा’ बाहिर जान पाइन्छ भन्ने जस्ता भ्रमहरू तोड्नु पर्‍यो, भ्रमहरू राख्न भएन । हामी चाहिं मैले अघि पनि भनें चारवटा कुराहरू– युवाको डाटाबेस, युवाको लागि काउन्सिलिङ र तालिम, युवाहरूका लागि काम सुरु गर्न बीउ पूँजी र युवाले उत्पादन गरेका वस्तुको बजार संरक्षणमार्फत युवालाई रोक्न सकिन्छ भन्नेमा छौं ।

तपाईंको क्षेत्रमा आलोपालो जस्तो मतदाताले नेतृत्वमा पुर्‍याएका छन् । यसपालि चन्द्रजीको पालो भन्ने पनि सुनिन्छ नि कता कता ?

हा…हा… राजनीति जुवा होइन ! राजनीति भनेको आलोपालोको खेल हुँदै हैन । त्यस कारणले पहिलो कुरा त अनुमानै गलत छ कि आलोपालो हुन्छ, यसपटक चन्द्रजीको पालो, त्यसो भए अर्को पटक चुनाव नगरे भयो मेरो पालो ! यो एकदमै गलत कुरा हो ।

दोस्रो, निर्वाचित नहुने कुरा म परिकल्पना गर्दिनँ तर यति भन्न चाहन्छु म जुनसुकै हैसियतमा हुँ, सरकारमा रहूँ, प्रतिपक्षमा रहूँ, जुनसुकै भूमिकामा रहूँ, जुन जिल्लाले मलाई यो ठाउँमा ल्याइपुर्‍यायो त्यो जिल्लाप्रति, जिल्लावासीप्रति, जिल्लाका मतदाताप्रति, समग्र राष्ट्रप्रति मेरो निष्ठा र क्रियाशीलताप्रति एकरत्ति पनि कमी आउने छैन । म जुनसुकै भूमिकामा रहे पनि मलाई मत हालेबापत कहिल्यै पनि गुल्मेली जनताको शिर निहुरिन दिने छैन ।

निर्वाचनपछिको राजनीतिक परिदृश्य कस्तो देख्नुभएको छ ?

निसन्देह नेकपा एमालेको सरकार बन्छ । तपाईंले देखिरहनुभएको छ देशभरि नेकपा एमालेप्रति जनलहर र आकर्षण बढिरहेको छ । हरेक कार्यक्रममा एमाले प्रवेश गर्नेको ताँतीबाट थाहा हुन्छ– राष्ट्रियता, देश विकासको स्पष्ट खाका भएको पार्टी नेकपा एमाले हो भन्ने जनताले बुझिसकेका छन् ।

तपाईंले बुझिसक्नुभएको छ गठबन्धन निकै नै अन्योलमा छ । यदि गठबन्धनले चुनाव जितेमा को प्रधानमन्त्री बन्ने भन्ने अहिलेसम्म पनि अन्योल छ । शेरबहादुरजी प्रधानमन्त्री बन्ने भन्ने कुरा आउँदा प्रचण्डजी तर्सनुहुन्छ, प्रचण्डजी प्रधानमन्त्री बन्छु भन्दा चुनाव नै नजितिने, कांग्रेसका भोट नै नपाउने स्थिति छ । यदि उनीहरूले जितेमा देशमा फेरि अस्थिरता, महङ्गी, कालोबजारी बढ्ने जनताले बुझिसकेका छन् । तसर्थ जनताले हाम्रा अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी अभिमत जाहेर गर्ने निश्चित छ ।

तपाईंले गुल्मीमा गर्नुपर्ने ठानेका प्राथमिकताका आधारमा भन्नुपर्दा मुख्य तीन काम के हुन् ?

पहिलो, हामीले जुन काम सुरु गरेका छौं तिनीहरूलाई तीव्रता दिनु जरूरी छ । कतिपय ठाउँमा एकदमै ढिलासुस्ती भएको छ, अस्पतालको पैसा पठाइरहेको छैन सरकारले, ठेक्का लगाएका सडकहरूको पैसा पठाइरहेको छैन । हामी त्यसलाई निर्धारित समयमा सम्पन्न गर्नेछौं ।

यसरी हेर्दा सुरुवाती कामहरूलाई अगाडि बढाउने, दोस्रो युवाहरूसँग बसेर नियमित परामर्श गर्ने ताकि के गरेर युवालाई यहाँ अड्याउन सकिन्छ त्यसमा फोकस हुने । र, तेस्रो चाहिं शिक्षा, स्वास्थ्यको गुणस्तर सुधारमा बढी जोड दिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?