+
+
उम्मेदवार प्रोफाइल :

ठाकुर गैरे : प्रत्यक्षमा पहिलो अवसर, अनुकूल अंकगणित

पाण्डेयलाई सत्ता गठबन्धनको साथ छ, तर स्थानीय चुनावको परिणाम ठाकुरका लागि बढी अनुकूल देखिन्छ । स्थानीय चुनावमा एमालेले पाएको भोट मात्र जोगाउन सक्दा पनि उनी विजय नजिक पुग्नेछन् ।

कमल अधिकारी कमल अधिकारी
२०७९ कात्तिक ३० गते १५:५२

ठाकुर गैरे नेकपा एमालेभित्रको संघर्षमा बेलाबेला वैचारिक विद्रोह जनाउँदै आएका नेता हुन् । यही कारण उनी अवसरबाट वञ्चित हुँदै आए । पार्टी फुट्दा संस्थापनतिर उभिएपछि भने उनले प्रतिनिधिसभा सदस्यको लागि पाल्पा-२ को टिकट पाएका छन् ।

२०२५ जेठमा उत्तरी पाल्पाको बराङ्दीमा जन्मिएका गैरे स्कुले जीवनमा नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, परोपकार संघ, चारपाते युवा क्लब, गाउँले युवा क्लबलगायत संघ–संस्थामा आबद्ध रहँदै विद्यार्थी राजनीतिमा आए ।

त्रिभुवन विश्वविद्यालयमा आएपछि २०५१ मा उनी स्ववियु सचिवमा निर्वाचित भए । त्यसपछि अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष भएका उनी २०५३ मा केन्द्रीय सदस्य, केन्द्रीय कमिटीको सचिवालय सदस्य, सचिव, महासचिव हुँदै २०६३ मा केन्द्रीय अध्यक्षमा निर्वाचित भए ।

पार्टीको आठौं, नवौं र दशौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चुनिएका गैरे अहिले पोलिटब्यूरो सदस्य छन् । उनले पार्टी जीवनमा संगठित भएको ३२ वर्षमा पहिलो पटक संसदका लागि उम्मेदवार बन्ने अवसर पाएका हुन् ।

चुनावी अंकगणित

गत स्थानीय चुनावमा पाल्पा-२ मा वडाअध्यक्षका उम्मेदवारहरूले प्राप्त गरेको दलगत मतमा नेकपा (एमाले) अगाडि छ ।

एमाले एक्लैले ३० हजार ५६६, नेपाली कांग्रेसले २९ हजार ३९, नेकपा (माओवादी केन्द्र)ले ४ हजार ३१३, मंगोल नेशनल अर्गनाइजेसनले १ हजार १५१ मत पाएको छ । एकीकृत समाजवादीले भने जम्मा ४३३ मत पाएको छ ।

एकीकृत समाजवादीबाट सोमप्रसाद पाण्डेयसहित १३ जना पाल्पा–२ को चुनावी मैदानमा छन् ।  तर ठाकुर गैरेको मुख्य प्रतिस्पर्धा भने आफ्नै राजनीतिक गुरु पाण्डेयसँग हुने देखिन्छ ।

पाण्डेयलाई सत्ता गठबन्धनको साथ छ, तर स्थानीय चुनावको परिणाम ठाकुरका लागि बढी अनुकूल देखिन्छ । स्थानीय चुनावमा एमालेले पाएको भोट मात्र जोगाउन सक्दा पनि उनी विजय नजिक पुग्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?